कैलाली भन्सार प्रमुखमाथि कुटपिटमा संलग्न चार नगर प्रहरी पक्राउ

धनगढी : कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरका चार जना नगर प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले कैलालीले पक्राउ गरेको छ ।
सुदूरपश्चिमको प्रमुख भन्सारका रुपमा रहेको कैलाली भन्सार कार्यालयको हाताभित्रै प्रवेश गरेर भन्सार प्रमुख तिम्सिनामाथि नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहित नगर प्रहरीको टोलीले कुटपिट गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले नगर प्रहरी निरीक्षक धामी, नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतनबहादुर मल्ललाई पक्राउ गरिएको छ । भन्सार कार्यालय प्रमुख तिम्सिनाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।
शनिबार राति तीव्र गतिमा गुडाइएको गाडीले धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली जीपले भत्काएको सूचनापछि नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सार नाकासम्म पुगेको थियो । त्यही क्रममा भेटिएका भन्सार कार्यालय प्रमुख तिम्सिना र नगरप्रहरीको टोलीबीच विवाद भएको थियो । विवाद चर्किएपछि नगर प्रहरीको टोलीले तिम्सिनामाथि कार्यालय परिसरभित्रै पुगेर कुटपिट गरेको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो ।
घटनाको चौतर्फी आलोचना भएपछि धनगढी उपमहानगरपालिकाले पनि नगर प्रहरी प्रमुख धामीलाई आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।