सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीच शैक्षिक सहकार्यका लागि समझदारी

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (एमओयु) आदानप्रदान गरिएको छ ।
काङ्वोन युनिभर्सिटीकातर्फबाट विभाग प्रमुख प्राध्यापक डाक्टर वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डिन किसन दत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा आदानप्रदान गरिएको हो ।
दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको समझदारीमा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ ।
समझदारीपत्र पाँच वर्षसम्म प्रभावकारी रहने छ । यस अवधिमा दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।