लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको अध्यक्षमा शाह

धनगढी, १४ बैशाख ।
लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिबेशनले निरन्जन शाहको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । नेपाली कांग्रेस कैलालीका कार्यबाहक सभापति खेमराज डगौराको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले शाह नेतृत्वको कार्य समिति निर्बिरोध चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा किरण रावल र नेत्र मगर निर्वाचित भएका छन । त्यस्तै महासचिवमा डम्बर चन्द, उपमहासचिवद्वयमा टेकराज जोशी र दीपक सिंह ऐर, कोषाध्यक्षमा सिद्धराज भट्ट, सहकोषाध्यक्षमा जयन्ती शाह निर्वाचित भएका छन ।

यसैगरि सदस्यहरुमा महेन्द्र शाह, प्रतापजंग कुंवर, छपेन्द्र कडाल, नरेन्द्रराज अवस्थी, ऋषिकेश चौधरी, दिलिप रोकाया, उमेशराज पाण्डेय र रुद्र पन्त निर्वाचित भएको निर्वाचन अधिकृत ओम राज पाठकले जानकारी दिए ।

लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिबेशनमा नेपाल निर्माण ब्यबसायी संघका उपाध्यक्ष प्रकाश सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, केन्द्रीय सदस्यहरु दिनेश सिंह, किशोर ठकुराठी, यमुना भट्ट, लगायत निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।

साँफे हाट बजारमा आगलागी, ११ पसल जलेर नष्ट

साँफे(अछाम), १३ बैशाख ।

अछामको साँफेबगर नगरपालिका ३ स्थित हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल, मासु पसल लगायत ११ पसल जलेर नष्ट भएका छन् ।

आगलागीबाट लाखौं रुपैयाको क्षति भएपनि क्षतिको पूर्ण विवरण आईनसकेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा करीव दुई घण्टापछि आगलागी नियन्त्रणमा आएको छ । विहान चार बजे लागेको आगो छ बजे नियन्त्रणमा आएको स्थानीय व्यवसायी अशोक कुवँरले बताए ।

प्रहरीका अनुसार हाटबजारको सुभेच्छा मःम सेन्टरमा बिहान बिजुली सर्ट फैलिएर आगोले बजारका एक दर्जन पसलमा जलेर नष्ट भएका हुन् ।

केही दिनमै डा. भट्ट गभर्नर नियुक्त हुने, सहमती अनुसार प्रधानमन्त्री ओली अघि बढ्ने

काठमाण्डौं, १३ बैशाख ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा स्वदेश फिर्ता भएसंगै एक सातादेखि अवरुद्ध नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकृया अघि बढेको छ । संभवत अवको केही दिनमा गभर्नर नियुक्ति हुनेछ ।

नेपाली राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने नेपाली काँग्रेसका सभापति देउवाको प्रस्तावमा प्रधानमन्त्री ओलीले सहमती जनाएपछि भट्टले पदबाट दिएको राजिनामा काम गभर्नर निलम ढुंगानाले पेन्डिङमा राखेपछि गभर्नर नियुक्ति प्रकृया अघि बढ्न सकेको थिएन ।

यसैबीच गभर्नरमा भट्टको सिफारिस वा नियुक्ति नहुदै अनुमानका भरमा उनको नियुक्ति प्रकृयालाई गिजोल्न अदालतमा रीट दायर गरिएको थियो । त्यसमाथि गभर्नर सिफारिस समितिका सदस्य बिजयनाथ भट्टराईले राजिनामा दिएपछि अन्यौलता कायम भयो ।

नेपाली काँग्रेसका सभापति देउवा स्वदेश फिर्ताभएसंगै गभर्नर नियुक्ति प्रकृया अघि बढाउन सरकारलाई देउवाले दवाव दिएका छन् ।

गभर्नर नियुक्तिमा भएको ढिलाईमा चासो व्यक्त गर्दै देउवाले प्रधानमन्त्री ओलीसंग बिलम्ब नगरी भट्टलाई गभर्नर नियुक्ति दवाव दिएको स्रोत बतायो ।

नेपाली काँग्रेसका सभापति देउवाका स्वकीय सचिव भानु देउवाले डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न प्रधानमन्त्री ओलीसंग सहमती भईसकेको र केही दिनमै भट्ट गभर्नर नियुक्त हुने बताए । प्रधानमन्त्री ओलीसंग भएको सहमती अनुसार भट्टलाई गभर्नर बनाउने प्रकृया अघि बढ्ने उनले बताए ।

गभर्नर सिफारिस समितिका एक जना सदस्यले राजिनामा दिएको र सो समितिमा नयाँ सदस्य नियुक्त गरेपछि गभर्नर नियुक्तिको प्रकृया टुंगिने स्वकीय सचिव देउवाले बताए ।

कामु गभर्नर ढुंगानाले भट्टको राजिनामा स्वीकृत नगरेको विषयमा पनि प्रधानमन्त्रीसंग कुरा हुने उनले बताए ।
ढुंगानाले आईतवारसम्म भट्टको राजिनामा स्वीकृत नगरे उनलाई कामु गभर्नरको जिम्मेवारीबाट हटाउने गरी समेत काँग्रेसभित्र छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले सहमती अनुसार भट्टलाई गभर्नर नियुक्त गर्न ढिलाई गरेपछि नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने समेत चर्चा चलेको थियो ।

मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षक प्रतिनिधि

काठमाडौँ। सरकारसँग वार्ता गर्न गएका नेपाल शिक्षक महासंघका पदाधिकारीहरु मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्,’शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’

यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेको थियो ।

युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताएका छन् ।

यद्यपि, विदेशमन्त्रीले केही तत्वहरूलाई “उचित रूपमा समायोजन” गर्न आवश्यक रहेको पनि स्पष्ट पारे ।

“संयुक्त राज्य अमेरिकाका राष्ट्रपति विश्वास गर्नुहुन्छ र म पनि सही रूपमा विश्वास गर्छु कि हामी सही दिशामा अघि बढिरहेका छौं,” उनले सीबीएसलाई भने ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेर उनीसँग वार्ता गर्न सक्छन् ।

युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्स्कोले रुससँगको कुनै पनि शान्ति सम्झौताको भागको रूपमा देशले आफ्नो भू-भाग त्याग्नुपर्ने बताएका छन् ।

तीनकुने घटना हिंसात्मक होइन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनियोजित रूपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रदर्शनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण भएको बताएका हुन् ।

उनले भने,‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घट्यो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर । त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनियोजित रूपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शकारीहरुबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता लाग्यो त ?त्यसैले आयोग गठन गरेर निष्पक्ष छानबिन गरी रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्छु  ।’

उनले बजेट अधिवेशन सुरु हुन लाग्दा बजेट फेरि पनि नेताहरूको गोजीबाट बन्ने  र नेताहरूको निर्वाचन क्षेत्र केन्द्रित हुने भन्दै आशङ्का व्यक्त गरे । उनले भने,‘बजेट अधिवेशन सुरु हुन लागेको छ । बजेट फेरी पनि नेताहरूको गोजीबाट बन्ने नै हो । नेताहरूको निर्वाचन क्षेत्र केन्द्रित हुने नै हो । तर पनि कामना गर्छु सुधार होस् ,बजेट पुस्तिका च्यात्नुपर्ने विरोध गर्नुपर्ने नबनोस् । अहिलेको कमजोर अर्थतन्त्रलाई सम्बोधन गर्ने र सुधार गर्ने खालको बनोस् ।’

त्यस्तै उनले राजतन्त्रको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु रहेको भन्दै राजतन्त्र र प्रजातन्त्र एक अर्कोको विकल्प नभएको बताए । राप्रपाले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरुद्धको हो भन्ने गलत भाष्य नबनाउन पनि उनले आग्रह गरे ।

७ दिनभित्र दर्ता नभए नेपालमा फेसबुक प्रतिवन्ध हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए।

उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए। मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए।
उनले भने, ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम होला, चलिरहेका छन्। यत्रो धेरै चलिरहेका छन्। हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा। नेपालमा सबभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ। हाम्रो पैसा त्यसरी लुट्ने? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन? पर्छ नि। तीन पटक भयो। म आउने बित्तिकै सूचना जारी गरेँ, त्यसपछि फेरि सूचना जारी गरेँ। तेस्रो पटक फेरि सूचना जारी गरेँ, अस्ति भर्खर म्याद सकियो। अब ७ दिनभन्दा बढी दिन्नँ मैले। यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिँड्यौं। देशभन्दा ठूलो रे उनीहरू। उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र ? इत्ति। हाम्रो संस्थाभन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ। मुलुकको स्वाधीनता पैसामा जोडिँदैन।’

उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए।

सरकार फेरिने कुरा मनोरञ्जनका लागि मात्रै हो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ – पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार फेरिने दाबीलाई हल्लाको संज्ञा दिएकी छिन्।

शुक्रबार थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप)८१ औँ सम्मेलनमा भाग लिएर शुक्रवार स्वदेश फर्किने क्रममा राणाले सरकार फेरिने कुरामा सत्यता नभएको दाबी गरेकी हुन्।

राणाले सरकार फेरिने समाचार ‘हल्ला र मनोरञ्जनका लागि आउने गरेको’ बताइन्। सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उनको भनाइ छ।

परराष्ट्रमन्त्री राणाले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको जानकारी दिइन्।

भूपरिवेष्ट्रि तथा ९२ साना राष्ट्रहरु सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरु हासिलका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको सुनाइन्।

थाइल्यान्डमा विमान दुर्घटना, ६ जना प्रहरी अधिकारीको मृत्यु

बैंकक। थाइल्यान्डमा शुक्रबार एउटा ठुलो दुर्घटना भएको छ। विमान अचानक दुर्घटनाग्रस्त भएर समुद्रमा खसेपछि दुई टुक्रा भएको छ। विमान भित्र ६ जना प्रहरी थिए। यस घटनामा सबै जनाको मृत्यु भएको छ।

दुर्घटना शुक्रबार बिहान ८ः१५ बजे भएको थियो। विमान दुर्घटनाग्रस्त भएपछि विस्फोटको आवाज टाढासम्म सुनिएको थियो। थाइल्यान्डको फेत्चाबुरी राज्यको चा–आम रिसोर्ट नजिकै भएको यो दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। घटनाबारे छानबिन सुरु भएको छ। विमानको ब्ल्याक बक्स फेला परेको छ। यसबाट दुर्घटनाको वास्तविक कारण पत्ता लाग्ने आशा गरिएको छ।

विमानले आपत्कालीन अवस्थामा प्रहरीलाई प्यारासुट तालिम दिँदै थियो। अचानक विमानले सन्तुलन गुमायो र समुद्रमा खस्यो। पाँच जना अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो भने छैटौँ व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार विमान जमिनबाट १०० मिटर तल समुद्रमा दुर्घटनाग्रस्त भएको थियो। विमान अचानक दुई भागमा टुक्रिएको थियो। मृतक सबैको शव समुद्रबाट निकालिएको छ।

 

संयुक्त राष्ट्रसंघका कर्मचारीको गोली हानि हत्या मृत्यु

तेल अभिभ । गत महिना गाजापट्टीमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीलाई ट्याङ्कबाट चलाइएको गोली लागेर मृत्यु भएको इजरायली सेनाले स्वीकार गरेको छ ।

यो आक्रमणको जिम्मेवारी लिन पहिला सेनाले अस्वीकार गरेको थियो । तर, अब भने यो आक्रमण आफ्ना सेनाबाट भएको स्वीकार इजरायली सेना बलले गरेको छ । मार्च १९ मा देइर अल–बलाहमा रहेको यूएनको परिसरमा भएको आक्रमणमा यूएनका एक कर्मचारीको मृत्यु आईडीएफले उक्त स्थलमा कुनै पनि आक्रमण नगरेको भनेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट आफ्ना सैनिकहरूले गल्तीले भवनलाई ‘शत्रुको उपस्थिति’ ठानेर आक्रमण गरेको तर त्यहाँ यूएनका कर्मचारीको मृत्यु भएको देखाएको बिहीबार आईडीएफले भनेको छ ।

शत्रुको उपस्थितिको अनुमानका कारण भवनमा आक्रमण गरिएको अनि आफ्नो सेनाले यसलाई यूएनको भवनको रुपमा पहिचान नगरको पनि एउटा विज्ञप्तिमा आईडीएफले भनेको छ । गाजामा गत महिना १५ जना आपतकालीन कामदारहरूको भूलवस मृत्यु भएको यस हप्ताको सुरुमा आईडीएफले भनेको थियो ।

नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने

काठमाडौं । नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभाग ९डोज०ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो ।

तर, सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित सेनेगल, मङ्गोलिया र आइभरी कोष्टमा परियोजना बन्द नहुने एमसीसीका एक कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मङ्गोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् ।

“यो विकासका लागि व्यापार र पूर्वाधारमा केन्द्रित परियोजना हो । यो अमेरिकाको हितमा पनि छ,” ती कर्मचारीले रोयटर्ससँग भने ।

नेपालमा एमसीसीअन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग प्राप्त भएको छ । परियोजनाअन्तर्गत नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।

 

काश्मिरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीका वास्तविक तस्विर सार्बजनिक

काठमाडौँ, १२ वैशाखः  मंगलबार दिउँसो आतंकवादीहरूको एक समुहले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूलाई आक्रमण गरेका थिए । जसमा तीन विदेशी पर्यटकहरू सहित २७ जनाको मृत्यु भएको थियो भने २० जना बढी घाइते भएका थिए ।

भारतीय मिडियाका अनुसार कश्मीरमा आतंकवादको नयाँ पर्याय बनेको लश्कर ए तैयबाको हिट स्क्वाड रेजिस्टेन्स फ्रन्टले सो आक्रमणको जिम्मेवारी लिएको छ। पर्यटकीय नगरीमा भएको सो आतंकवादी हमलापछि भारतीय सरकारले आतंकवाद बिरूद्द एकजुट भएर सामाना गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो भ्रमण छोटाएर एकदिन अगावै साउदी अरबबाट भारत फर्केका छन् ।

सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । प्रधानमन्त्री मोदी पनिआज जम्मू कश्मीर जाने सम्भावना रहेको जनाइएको  छ।

सो आतंकवादी हमलामा नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका  सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मिर घुम्न गएका थिए ।

सो घटनाका बारेमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले निन्दा गरेका छन भने प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर दुःख ब्यक्त गरेका छन । र, साथ साथै ओलीले आतंकबादको बिरूद्दमा भारतका साथ रहेको पनि प्रतिबद्दतासमेत जनाएका छन् ।

यसैबिच, भारतीय मिडिया दैनिक जागरणले सो हमलामा संलग्नहरूको तस्विर सार्बजनिक गरेको छ । तर, नाम भने अझै खुलाइएको छैन ।

नेपालमा एक दशकमा ८३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

कैलाली: नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट सबैभन्दा बढी काठमाडौं आसपासका जिल्ला प्रभावित भएका छन् । त्यसपछि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरा प्रभावित भएका छन् ।

यो अवधिमा सबैभन्दा बढी भूकम्प जाने जिल्ला दोलखा रहेको छ, जहाँ १० वर्षमा साना, ठूला परकम्प गरी १ सय ९१ पटक भूकम्प गएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा १०३ पटक, धादिङमा ५५, बझाङमा ५१, गोर्खामा ४०, नुवाकोटमा ३८, बाजुरामा ३०, रसुवामा २९ र ताप्लेजुङमा २० पटक भूकम्प गएको छ ।

 

उच्च जोखिममा पश्चिम नेपाल

भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिना नेपालमै पनि पश्चिम नेपाल बढी जोखिममा रहेको बताउँछन् । उनका अनुसार सुदूर तराईकाभन्दा पनि पहाडी जिल्लाहरू भूकम्पको उच्च जोखिममा रहेका छन् । पश्चिम नेपालको भूगोलमुनि ठूलो भूकम्पीय शक्ति जम्मा भएको पाँच सय वर्ष बितिसकेकाले जतिखेर पनि भूकम्प जान सक्ने उनको दाबी छ ।

विगत केही वर्षयता पश्चिम नेपालमा साना तथा मझौला भूकम्पले निरन्तर धक्का गइरहेको छ । गत वर्ष जाजरकोटमा गएको ६।४ म्याग्निच्युडको मझौला भूकम्पले ठूलो जनधनको क्षति गराएको थियो । त्यसअघि र पछि पनि सुदूरका बझाङ, बाजुरा, डोटीलगायतका स्थानमा बारम्बार भूकम्प जाने र जनधनको क्षति गराउने गरिरहेको छ ।

०७९ माघ १० गते बाजुराको बिछ्या केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस भूकम्पपछि ४ म्याग्निच्युडमाथिका सात वटा परकम्प गएका थिए । यस्तै, ०८० साल वैशाख १४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । ०७९ कात्तिक २२ गते डोटीको डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पले ६ जनाको मृत्यु भएको थियो भने अन्य ५ जना घाइते भएका थिए ।

भूकम्पविद् चिन्तन तिमिल्सिना भूकम्पको जोखिम कम गर्न नसके पनि भूकम्प प्रतिरोधी संरचना बनाएर क्षति कम गर्न सकिने बताउँछन् । पश्चिम नेपालमा जुनसुकै बेला पनि भूकम्प जान सक्ने भएकाले विपत् पूर्वतयारी भएर बस्नुपर्ने उनको भनाइ छ ।

पाकिस्तानी नागरिकलाई भारतमा भिसा सेवा बन्द

काठमाडौं । भारतले बिहीबार पाकिस्तानी नागरिकका लागि तत्काल कार्यान्वयन हुने गरी भिसा सेवा निलम्बनको घोषणा गरेको छ । यो जानकारी दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, “पहलगाममा भएको आतंकवादी हमलालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।”

पाकिस्तानी नागरिकलाई जारी गरेका सबै विद्यमान वैध भिसाहरू अप्रिल २७ देखि रद्द भएको मानिने विदेश मन्त्रालयले जनाएको छ । यस्तै, पाकिस्तानी नागरिकलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ सम्ममात्रै मान्य हुनेछ ।

विदेश मन्त्रालयले आफ्ना नागरिकलाई पाकिस्तान यात्रा नगर्न सल्लाह दिएको छ । हाल पाकिस्तानमा रहेका सबै भारतीय नागरिकलाई पनि सकेसम्म चाँडो भारत फर्कन विदेश मन्त्रालयले आग्रह गरेको छ ।

मंगलबार जम्मु कश्मीरको पहलगाममा आतंककारीले आक्रमण गरी २६ जनाको हत्या गरेका थिए ।

बुधबार नै नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस)को बैठकले धेरै निर्णय गरेको थियो ।

भारतका विदेश सचिव विक्रम मिश्रीले भने, “यस आतंकवादी आक्रमणको सीमापार सम्बन्ध फेला परेको छ ।”

पहलगाम कश्मीरको सबैभन्दा आकर्षक पर्यटकीय स्थलमध्येको एक हो ।

गाजामा इजरायली आक्रमण: २९ जनाको मृत्यु

गाजा । गाजा पट्टीमा बिहीबार भएका इस्रायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो।

यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ। घाइतेहरूलाई गाजा सहरको अल-शिफा अस्पताल लगिएको छ। उद्धारकर्मीहरूले आवाश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन्।

इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ।

अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल-बालाह क्षेत्रमा पनि भएको जनाइएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक हजार ९७८ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु संख्या ५१ हजार ३५५ पुगेको छ। सिन्ह्वा

चीनको रोबोटिक क्षेत्र विश्व बजारमा अगाडि

काठमाडौं । अमेरिकी ट्यारिफका कारण अहिले विश्वभर चिन्ता छ । धेरै देशहरू र त्यहाँ काम गर्ने कम्पनीहरूले अब आफ्नो नाफा–नोक्सानको मूल्यांकन गर्नुपर्ने अवस्था आएको छ । चीन पनि यसको असरबाट अछुतो रहने छैन, तर त्यहाँको एउटा सेक्टरलाई भने कुनै फरक परेको छैन् । चीनसँग यस्तो एक प्रविधि छ, जसलाई अमेरिकी ट्यारिफले समेत रोक्न सक्दैन् । सरल भाषामा भन्नुपर्दा, चिनियाँ उत्पादनहरू यति विशेष छन् कि ट्यारिफ पनि तिनका अगाडि झुक्न बाध्य छन् । यो हो चीनको रोबोटिक क्षेत्र, जहाँ बन्ने धेरै रोबोटहरू विश्वमै अनौठा र अनुपम छन् ।

साउथ चाइना मोर्निङ पोस्टको एक रिपोर्टमा चीनको सबैभन्दा ठूलो व्यापार मेलाको चर्चा गरिएको छ । मेलामा एक स्वचालित क्याफे विशेष आकर्षण बनेको छ । यो क्याफेमा एक रोबोटिक हातले काम गरिरहेको छ, जसले धेरै प्रकारका पेय पदार्थहरू अत्यन्तै छिटो बनाउँछ ।

रिपोर्ट अनुसार, सो क्याफेले ८ मिलियन युआनभन्दा बढीको अर्डर प्राप्त गरिसकेको छ । चीनले यस्तै अरु उत्पादनहरू, जस्तै – स्काईस्क्रेपर सफा गर्ने रोबोट र बायोनिक अंग बनाइरहेको छ, जुन अमेरिकी ट्यारिफको असरबाट जोगिनेछन। यस्ता उत्पादनहरूको लागि चीनले अमेरिका बाहेकका देशहरूबाट पनि ग्राहकहरू पाएको छ ।

रिपोर्टमा भनिएको छ कि यस्ता उत्पादनहरू अमेरिका स्वयंले बनाइरहेको छैन् । युरोप वा दक्षिण कोरियाले केही रोबोट बनाएका छन्, तर चिनियाँ रोबोटहरू तुलनात्मक रूपमा धेरै सस्ता छन् । त्यसैले ट्यारिफ लागू भए पनि चिनियाँ उत्पादनहरूले बजारमा प्रतिस्पर्धा कायम राख्नेछ । यद्यपि, ट्यारिफ धेरै बढेमा मूल्य बढ्न सक्छ ।

चीनका सफाइ रोबोटहरू अमेरिकामा आवश्यकताका रूपमा देखिन थालेका छन्, किनभने त्यहाँको सफाइ सेवा धेरै महँगो छ । चिनियाँ सफाइ रोबोटले एक भवनको बाहिरी भागलाई कम खर्चमा सफा गर्न सक्छ, त्यो चौबीसै घण्टा काम गर्न सक्छ र यसको औसत आयु झण्डै ८ वर्ष हुन्छ । यसको अर्थ, अमेरिकीले यदि यस्ता रोबोट खरिद गर्छन् भने दुई वर्षमै लगानी फर्काउन सक्नेछन् ।

रिपोर्टमा भनिएको छ कि व्यापार मेलामा चीनका धेरै कम्पनीहरूले भियतनामदेखि मध्यपूर्वसम्मका ग्राहकबाट ठूला अर्डरहरू प्राप्त गरेका छन् । सुरुमा चिनियाँ कम्पनीहरूलाई ट्यारिफको असरको डर थियो, तर अहिलेसम्म त्यस्तो असर देखिएको छैन् । यसको मुख्य कारण हो – यस्ता प्रविधिमा चीनसँग ठूला प्रतिस्पर्धी छैनन् । न अमेरिका, न जर्मनी, न जापानले यस्ता उपकरणहरू बनाएका छन् । दक्षिण कोरिया वा युरोपले केही बनाएका भए पनि, चीनको मूल्यसँग कसैले प्रतिस्पर्धा गर्न सकेको छैन् ।

विशेषज्ञहरूको भनाइ छ कि अमेरिकी ट्यारिफ भएता पनि पनि स्काईस्क्रेपर क्लिनिङ रोबोट, बायोनिक लिम्ब्स र अन्य चिनियाँ स्मार्ट उत्पादनहरू बजारमा टिकिरहनेछन् । यिनमा ट्यारिफको खासै असर नपर्ने अनुमान छ । रिपोर्ट अनुसार, चीनको झेजियाङ कियाङनाओ टेक्नोलोजी कम्पनीले आफ्ना बायोनिक खुट्टा र हातजस्ता उत्पादनहरू अमेरिकी बजारमा उतार्ने तयारी गरिरहेको छ ।

यी उत्पादनले अमेरिकाबाट आवश्यक प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । रिपोर्ट भन्छ – ट्यारिफ लागे पनि यी चिनियाँ उत्पादनहरू विश्वमै अझै पनि सबैभन्दा सस्ता छन् ।

गभर्नरमा भट्टको नियुक्तिलाई विवादित बनाएर ढुंगानालाई बनाउने जालझेल

काठमाण्डौं, ११ बैशाख ।

नियोजित रुपमा डा. गुणाकर भट्टलाई विवादित बनाएर आफू अनुकूलको व्यक्तिलाई गभर्नर बनाउने जालझेल शुरु भएको छ ।

गभर्नरको दौडमा रहेका व्यक्तिहरुमध्ये कहिल्यै कुनै विवादमा नपरेका र सबै जिम्मेवारी र भूमिका कुशलतापूर्वक निर्वाह गरेका डा. भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच सहमती भईसकेको साता बित्दा पनि भट्टलाई गभर्नर हुन नदिन काठमाण्डौंको एलिट र बिचौलिया बर्गले जालझेल गरिरहेको हो ।

एलिट र बिचौलियाको कब्जामा रहदै आएका ठूला नियुक्तिहरुमा आफ्नै बलबूता र क्षमतामा उठेका योग्य व्यक्तिहरुले सामान्यतया नियुक्त नै हुन पाउदैनन् । सुदूर डोटीको बिकट गाउँबाट आफ्नै बलबुता र मिहिनेतमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेका डा. भट्टलाई काठमाण्डौंको एलिट र बिचौलिया बर्गले गभर्नर पदमा नियुक्त भएको रुचाउने कुरै भएन् । त्यो बर्ग उनलाई कसरी रोक्न खोजिरहेको छ, यस सम्बन्धमा केही तथ्य प्रस्तुत गरिरहेका छौ ।

पहिलो, डा. भट्टले राजनैतिक नेतृत्वको सल्लाहमा बैशाख ५ गतेदेखि लागु हुने गरी बैशाख ४ गते कार्यकारी निर्देशक पदबाट राजिनामा दिए । गभर्नर नियुक्तका लागि राजिनामा दिने प्रचलन भएपनि गभर्नरमा नियुक्ति हुन राजिनामा नदिदा पनि फरक पर्दैन ।

गभर्नरको दौडमा रहेकी डेपुटी गभर्नर निलम तिम्सिना ढुंगानाले भट्टको राजिनामा आजका मितिसम्म स्वीकृत गरेकी छैनन् । राजिनामा दिईसकेको व्यक्तिको राजिनामा अस्वीकृत गर्ने वा पेन्डिङमा राख्न पाउने ढुंगानालाई अधिकार छैन् । उनले अधिकार विपरित एकहप्तादेखि भट्टको राजिनामा थन्क्याएर राखेकी छन् । कतिपयले राजिनानामा स्वीकृत नभएका कारण भट्टलाई गभर्नर नियुक्त गर्न नहुने तर्क सारिरहेका छन् । कानूनवीदहरु भन्छन्, यो तर्क कानूनसम्मत छैन ।

ढुंगाना आफू गभर्नर हुन नपाउने भएपछि भट्टलाई रोक्न पुरै कसरत गरिरहेकी छन् । प्रधानमन्त्री ओलीको आडमा उनले यस्तो गरिरहेको स्रोतको दावी छ । राजनैतिक नेतृत्वको आड बिना ढुंगाना यो हदसम्म जान सक्ने कुरा विश्वास गर्न गाह्रो हुने स्रोत बताउछ ।

गभर्नर सिफारिस समितिबाट सदस्य बिजयनाथ भट्टराईको राजिनामा आउन संयोग मात्र मान्न सकिदैन्, स्रोत भन्छ, यो नियोजित ढंगले आएको हो ।

पूर्व गभर्नर भट्टराईलाई प्रधानमन्त्री ओलीले समितिमा मनोनित गरेका हुन् । ओली र भट्टराई दुबैजनाको ईच्छा ढुंगानालाई गभर्नर बनाउने थियो । प्रधानमन्त्री ओलीले सरकार जोगाउन गभर्नर छोड्नु प¥यो । गभर्नर नियुक्ति गिजोल्न र भट्टलाई रोक्ने नियतबाटै भट्टराईको राजिनामा आएको बताईन्छ ।

उनको राजिनामाको कारण अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक एक महिनासम्म नबोलाउनु भनिएपनि गभर्नर प्रकृयालाई विवादित बनाईरहेका बिचौलिया र स्वार्थ समूहलाई सहयोग पु¥याउने खेलमा भट्टराई पनि जानी नजानी प्रयोग भएको स्रोतको दावी छ । यद्दपि उनको राजिनामा पनि स्वीकृत भईसकेको छैन् ।

सिफारिस सिमितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्छ । एक जनाको नाम मात्र सिफारिस गर्न मिल्दैन् । सरकारले सिफारिस गरेकामध्येबाट एकजनालाई गभर्नर बनाउने हो । पहिले नै भट्ट गभर्नर हुने अनुमानका भरमा भट्टराई निर्णय गर्नबाट पछि हटेको चर्चा छ ।

यो प्रकृयालाई जति गिजोल्यो, जति विवादित बनायो, जति लम्ब्यायो, त्यसले भट्टलाई रोक्न सकिने बुझाईबाट यो प्रकृयालाई गिजोल्ने र लम्व्याउने प्रयास भईरहेको छ ।

यो प्रकृयालाई विवादित बनाउन तत्कालिन नायव महान्यायधिवक्ता कृष्ण प्रसाद प्रसाईले २०६१ मंसिर २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई गभर्नर नियुक्तिका लागि दिएको राय सुझाव सल्लाहको पत्र र सोही मितिमा मुख्य सचिव बिमल कोईरालाले महान्यायधिवक्तालाई पठाएको पत्र यतिबेला समाचार बनाईदैछ ।

ती दुबै पत्रमा बहालवाला कर्मचारी र डेपुटी गभर्नर बाहेकको व्यक्तिलाई गभर्नर नियुक्त गर्नु कानूनसम्मत नहुने भनेर राय सुझाव दिईएको छ । २० वर्षअघिको त्यही पत्रका आधारमा डा. भट्टलाई गभर्नर बनाउदा कानूनसम्मत नहुने भन्दै भ्रम फैलाउने कार्य भईरहेको छ । राय, सुझाव भनेको कानून वा अकाट्य कुरा पनि होईन । तर त्यसैलाई कानून सरह मानेर हल्ला गरिदैछ ।

तर पदबाट राजिनामा दिईसकेका भट्ट यतिबेला राष्ट्र बैंकको कर्मचारी वा कुनै भूमिकामा रहेका छैनन् । अर्को कुरा, बैंक कार्यकारी निर्देशक रही सकेका डेपुटी गभर्नर बाहेकका व्यक्तिहरु नियुक्त गर्न सक्ने कानूनी व्यवस्था र पर्याप्त नजिरहरु छन् ।

गभर्नर नियुक्त भएका दीपेन्द्र बहादुर क्षेत्री र युवराज खतिवडा राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका व्यक्ति हुन् । खतिवडा कार्यकारी निर्देशकबाट अवकाश पाएपछि योजना आयोगको उपाध्यक्ष भएका थिए । र, त्यसपछि राष्ट्र बैंकको गभर्नर नियुक्त भए । उनीहरु दुबै जना डेपुटी गभर्नर भएका थिएनन् ।

त्यस्तै चिरञ्जिवी नेपाल बाहिरबाट गभर्नर भए । र, महाप्रसाद अधिकारी पनि कार्यकारी निर्देशकबाट अवकाश पाएपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त भए । लगानी बोर्डको कार्यकाल सकिएपछि राष्ट्र बैंकका गभर्नर पदमा नियुक्त गरिए । बिजयनाथ भट्टराई भने डेपुटी गभर्नरबाट गभर्नर नियुक्त भएका थिए ।

बिगतका नजिर र नियुक्ति, गभर्नरका लागि तोकिएका मापदण्ड र योग्यताका आधारमा डा. भट्टलाई गभर्नर नियुक्त गर्दा कुनै विवाद वा कानून अड्चन नआउने कानूनवीदहरुको निष्कर्ष छ । पूर्व मुख्यन्यायधिवक्ता खम्म खाती, बारका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु र बरिष्ठ कानूनवीदहरुसंगको साताव्यापी परामर्श र छलफलपछि गृहमन्त्री रमेश लेखक डा. भट्टलाई गभर्नर बनाउने निष्कर्षमा पुगेका छन् ।

गृहमन्त्री लेखक कानूनवीदहरुको परामर्शका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी दिएर गभर्नर नियुक्तिको प्रकृया अघि बढाउन जुटेका छन् । गृहमन्त्री लेखकलाई गभर्नर नियुक्तिको जिम्मेवारी दिएर पार्टी सभापति देउवा एक साता लामो उपचारका लागि थाईल्याण्ड गएका छन् ।

डा. भट्टलाई गभर्नर नियुक्तिमा फेरि पनि प्रधानमन्त्री ओलीले जालझेल गरे भने नेपाली काँग्रेसले सत्तागठबन्धलाई नजोगाउने नेपाली काँग्रेसका एक नेताले बताए । देउवा डा. भट्टलाई गभर्नर नियुक्त गर्ने निर्देशन दिएर उपचारमा गएका हुन् । उनले भने, डा. भट्टलाई गभर्नर हुन नदिने खेलमा प्रधानमन्त्री ओली वा अरु कोही लागे सत्तागठबन्धन टुट्ने निश्चित छ ।

गभर्नरमा सिफारिस वा नियुक्त नहुदै अनुमानका भरमा भट्टको योग्यतामाथि प्रश्न उठाएर अदालतमा रीट दायर गरियो । कहीकतै, कहिल्यै कुनै कुरामा विवादित नभएका भट्टलाई विवादित बनाउन गरिएको यो पहिलो षडयन्त्र थियो । त्यसयता स्वार्थ समूह, विचौलियाहरु र गभर्नरको दौडबाट बाहिरिएकाहरु उनलाई रोक्न पुरै कोसिस गरिरहेका छन् । यो क्रम जारी छ ।

जति जालझेल र गभर्नर प्रकृयालाई गिजोल्ने प्रयास भएपछि अवको केही दिनमा डा.भट्ट गभर्नरमा नियुक्त हुने ती नेताले विश्वस्त हुदै बताए ।

नेत्रेश्वरीद्धारा वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

काठमाण्डौँ,१० बैशाख ।
नेत्रेश्वरी ईञ्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि काठमाण्डौंले नवौं वार्षिकोत्सवका अवसरमा असहाय तथा आश्रित व्यक्तिहरुलाई सहयोग गरेको छ ।

नेत्रेश्वरी प्रा.लिले मानव सेवा आश्रम रानीबन काठमाण्डौलाई खाद्यान्न र नगद सहयोग गरेर वार्षिक उत्सव मनाएको हो । आश्रममा दुई सय भन्दा बढि असहाय बृद्धबृद्धाहरु रहेका छन् ।

उनीहरुका लागि नेत्रेश्वरीले चामल तीन बोरा, ५ केजी दाल, आँटा दश केजी, एक कार्टुन तेल, विस्कुट दुई कार्टुन, ५ केजी आलु र ३ हजार ५ रुपैया रकम प्रदान गरिएको कम्पनी सञ्चालक भक्तराज जोशीले बताए ।

योसँगै कम्पनीले सितापाइलामा रहेको आफ्नै कार्यालयमा शुभकामना आदानप्रदानका साथै कम्पनीको प्रगतीबारे समिक्षा गरेको थियो ।

उक्त कम्पनीले हाल सम्म १ सय ६५ भन्दा बढि खानेपानी आयोजनाको डीपीआर, ५ भन्दा बढि रोड आयोजनाको डीपीआर, १० भन्दा बढि ढल आयोजना डीपीआर, ५ भन्दा बढि पुल आयोजना, ५ भन्दा बढि सिचाई आयोजना, १ भन्दा बढि फोहोर ब्यबस्थापन आयोजक एबम बिभिन्न अनुसन्धानमुलक कार्य डिपिआर कार्य गरेको छ । यसका साथै मास्टर प्लान पनि गरेको छ भने यस अन्तर्गत बिभिन्न जिल्लाहरुमा काम गर्दै सफलताका साथ काम सम्पन्न गरेको छ ।

कम्पनीबाट इन्जीनियरिङ सम्बन्धि सवै किसिमका काम र परामर्श सेवा समेत दिइदै आएको छ । आगामी दिनहरुमा इन्जीनियरिङ सम्बन्धि कामलाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने सञ्चालक जोशीको भनाई छ । जोशीले भने, ‘यहाँसम्म आउनमा सल्लाह सुझाव र साथ सहयोग गर्नु हुने सम्पुण बौद्धिक व्यक्तित्वहरू, स्थानीय अधिकारीहरू, विशिष्ट व्यक्तिहरू, सल्लाहकारहरू विगत र वर्तमानसम्मका कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।’

सञ्चालक जोशी विगत ११ वर्षदेखि इन्जीनियरिङ क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।

कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

काठमाडौं– काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो ।

हिजो कश्मिरमा आतंककारीहरुको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा परेर रिमकला घाइते थिए ।  

मन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन् । मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए ।

सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौँ हवाई जहाजमा तथा लखनौबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो । 

दिल्लीबाट लखनौंको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ ।

त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरूलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छन् ।

घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो ।

सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । हिजोको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।

शिक्षामन्त्री बने रघुजी पन्त

काठमाण्डौ – नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गरेका हुन ।

शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियो । पन्तको शपथ ग्रहण भोलि हुनेछ ।

राष्ट्रपतिको कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ ।

मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा

काठमाडौं- भारतको जम्मू-कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् ।

मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू-कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् ।

ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ ।

उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक (सुदीप न्यौपाने) को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न ।

उनले उक्त क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको पनि ओलीलाई आश्वासन दिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयशवालले उक्त आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका पनि मोदीले बताएको उल्लेख गरेका छन् ।

कश्मीर हमलामा आफन्तहरूसँग घुम्न गएका एक नेपाली पर्यटकको पनि मृत्यु भएको पुष्टि

भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका नेपाली नागरिक रूपन्देहीका बासिन्दा भएको र उनी आफ्नी आमासहित कश्मीर घुम्न गएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मृतकमध्ये अर्को एक जना यूएईका नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘भारतको स्विट्जरल्यान्ड’ भनेर चिनिने कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मङ्गलवार त्यहाँ घुम्न गएका पर्यटकहरूलाई निसाना बनाएर आक्रमण गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई “आतङ्कवादी हमला” भनेका छन् र त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने उद्घोष गरेका छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आक्रमणको निन्दा गर्दै “आतङ्कवादविरुद्धको लडाइँमा” भारतसँगै उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताहरूले उक्त घटनाको भर्त्सना गरेका छन्।

कश्मीरमा गोली प्रहार भएपछि प्रतिकार्यमा खटेका भारतीय सैनिकहरू

तस्बिर स्रोत,PTI

घटनामा परेका नेपालीबारे के थाहा छ

नेपाली राजदूतावासका अनुसार बुटवल घर भएको एउटा परिवार कश्मीर घुम्न भएको थियो। मृतक धरानमा अध्ययरत सुदीप न्यौपाने भएको उनका आफन्तहरूले पुष्टि गरेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार आफन्तहरूसँग घुम्न गएका बुटवलका नेपाली युवकको गोली प्रहारबाट मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।

“उहाँकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको रहेछ तर अवस्था सामान्य छ,” थापाले भने। दूतावासका अनुसार उनीसँगै उनकी आमा, बहिनी र ज्वाइँ पनि थिए।

बुटवल-४ का वडाध्यक्ष दधिराम न्यौपालेले मृतक आफ्ना भतिज रहेको बीबीसीसँग बताए। उनका अनुसार सुदीप न्यौपाने र अरू आफन्त शनिवार नेपालबाट हिँडेका थिए।

“सुदीप आफ्नी आमा अनि पोखरा बस्ने बहिनी र ज्वाइँलाई समेत लिएर गएका थिए। बाँकी तीन जना सकुशल छन् भन्ने आएको छ,” उनले टेलिफोनमा भने।

वडाध्यक्ष न्यौपानेका अनुसार सञ्चारमाध्यममा कश्मीर घटनामा मृत्यु भएका व्यक्तिको नाम सार्वजनिक भएपछि मृतक सुदीप आफ्नै भतिज भएको आशङ्कामा उनले सोधखोज सुरु गरेका थिए।

बुधवार बिहान सुदीपका ज्वाइँले सुदीपको मृत्युको पुष्टि गरेको उनले बताए। “बिहान ज्वाइँले भोइस मेसिज पठाएर ‘दाजुलाई बचाउन सकिएन’ भन्नुभयो,” उनले बीबीसीसँग भने।

मृतकका बुवा भने बुटवलमै छन्।

सुदीप न्यौपाने स्नातक तहमा पढ्दै गरेको र अविवाहित रहेको बुझिएको छ।

भारतीय सञ्चारमाध्यमले नेपाली नागरिकको मृत्यु भएको विवरण प्रकाशित गरेपछि नेपाली अधिकारीहरूले त्यसबारे खोजी गरेका थिए।

थापाका अनुसार मृतकको परिवार नेपाली अधिकारीहरूको सम्पर्कमा आइसकेको छ।

उक्त क्षेत्रमा घुम्न र मौसमी कामदारका रूपमा पनि नेपालीहरू जाने गरेको नेपाली दूतावासले जनाएको छ।

प्रधानमन्त्री ओलीले के भने

कश्मीरमा गोली प्रहार भएपछि पहरा दिँदै सुरक्षाकर्मी

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

बुधवार बिहान नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहलगाममा भएको घटनामा नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूबारे बुझ्ने प्रयास भइरहेको बताएका थिए।

“पीडितमध्ये नेपाली नागरिक पनि रहेको भन्ने विवरणको पुष्टि गर्न र आवश्यक सहायता उपलब्ध गराउन नजिकबाट समन्वय भइरहेको छ,” ओलीले एक्समा लेखेका थिए।

आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले आतङ्कवादविरुद्धको लडाइँमा भारतसँगै उभिने प्रतिबद्धता जनाएका छन्।

“नेपाल आतङ्कवादका कुनै पनि गतिविधिको निन्दा गर्छ र बलियो गरी भारतसँगै उभिन्छ,” ओलीले भनेका छन्।

घटनापछि साउदी अरबको भ्रमण छोट्याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा हमलाको कडा शब्दमा निन्दा गरेका छन्।

“आतङ्कवादविरुद्ध हाम्रो अठोट डगमगाउँदैन र यो अझै बलियो हुन्छ,” उनले लेखेका छन्।

गृहमन्त्री अमित शाह मङ्गलवार नै कश्मीरको सबैभन्दा ठूलो सहर श्रीनगरको भ्रमण गरेर  सुरक्षा अवस्थाको बारेमा आपत्कालीन बैठक राखेका थिए।

खासै नाम नसुनिएको एउटा इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको छ।

घटनास्थलमा सेना र प्रहरी परिचालन

जम्मू कश्मीरमा आक्रमणमा परेकाहरूको उपचार हुँदै

तस्बिर स्रोत,EPA

आक्रमणमा धेरै जना घाइते भएको विवरणहरू आएका छन्। प्रहरीले गोली लागेका कैयौँ पर्यटकलाई अस्पताल लगिएको बताएको छ।

राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई “पछिल्ला वर्षहरूमा सर्वसाधारणप्रति लक्षित सबैभन्दा ठूलो आक्रमण” भनेका छन्। यो क्षेत्रका उपराज्यपाल मनोज सिन्हाले घटनास्थलमा सेना र प्रहरी परिचालन भएको बताए।

घटनापछि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र सुरक्षाकर्मीहरूले त्यस क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनहरूलाई जाँच गरिरहेका छन्।

आक्रमणमा संलग्न भएकाहरूको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन्।

मुस्लिम समुदायको बाहुल्य भएको यो क्षेत्रमा सन् १९८९ देखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनाहरूमा कमी आएका थिए।

यो क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकहरूमाथि यस्तो ठूलो स्तरमा विरलै आक्रमण भएको थियो।

आक्रमण भएको स्थान पहलगामदेखि पाँच किलोमिटर टाढाको बैसरन घाँसे मैदान हो। यो मनोरम स्थान पहाडको टुप्पोमा अवस्थित छ। पर्यटकहरूमाझ लोकप्रिय यो स्थान अहिले वर्षको सबैभन्दा धेरै पर्यटकहरू आउने समय हो।

जम्मू कश्मीरका प्रहरी प्रमुख विधिकुमार विर्दीले गोली प्रहार भएको स्थानमा सवारीसाधनहरू नपुग्ने बताएका छन्।

आक्रमणमा परेको समूहमा रहेका गुजरातका एक पर्यटकले “अचानक गोली प्रहार सुरु भएपछि अवस्था तनावपूर्ण भएको र मानिसहरू भाग्न, रुन र चिच्याउन थालेको” बताए।

भारतीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका भिडिओहरूमा भारतीय सैनिकहरू आक्रमण भएको स्थानतर्फ दौडिँदै गरेको देखिन्छ।

कतिपय अन्य भिडिओहरूमा पीडितहरूले बन्धुकधारीले “गैरमुस्लिमलाई मात्रै निसाना बनाइएको” बताइरहेको सुनिन्छ।

सामाजिक सञ्जालमा फैलिएका र बीबीसीले पुष्टि गर्न बाँकी रहेका भिडिओहरूमा शवहरू घाँसे मैदानमा छरिएका र मानिसहरू रुँदै सहयोगका लागि चिच्याइरहेका देखिन्छ।

दशौँ हजारको ज्यान लिएको कश्मीर द्वन्द्व

कश्मीरमा प्रहरी तथा सेना परिचालन भएपछिको दृश्य

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथक्तावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण समेत गरी दशौँ हजारको ज्यान गइसकेको छ।

ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो। त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुइटा युद्ध र अन्य कैयौँ द्वन्द्वका घटना पनि भए।

भारतले यो क्षेत्रमा करिब पाँच लाख सैनिकहरू स्थायी रूपमै परिचालन गरेको छ।

भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ। यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन्।

पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्ष्यित आक्रमण भएको थियो। हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए।

त्यसअघि सन् २०१९ मा भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए। त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो।

भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगामसहितका क्षेत्रको प्रवर्धन गरिरहेको छ।

गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्याङ्कहरूले देखाएका छन्।

वीवीसीबाट

अब भ्रष्टाचारमा दोषी ठहरिएका कर्मचारीले पेन्सन नपाउने

काठमाडौं- अवकाशप्राप्त कर्मचारी अदालतबाट भ्रष्टाचारी ठहरिए निवृत्तिभरण रोकिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा अन्तिम चरणमा रहेको सङ्घीय निजामती सेवा विधेयकमा यस्तो व्यवस्था राख्न सांसदहरू सहमत भएका हुन्।

सङ्घीय निजामती सेवा विधेयकमा सरकारले अवकाश भई निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राज्य विरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरेमा निवृत्तिभरण नपाउने प्रस्ताव गरेको थियो।

तर अदालतबाट कुनै कर्मचारीले पुनरावेदनमार्फत सफाइ पाएमा बिचको अवधिको पेन्सन पाउने उल्लेख थियो। तर अब नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वमा रहेको उपसमितिले यो व्यवस्थालाई हटाएर दोहोरो सुविधा लिन नपाउने व्यवस्थामा सहमति गरेको थियो ।

समितिको प्रतिवेदनमा निजामती सेवा वा अन्य सरकारी सेवा प्राप्त गरेको व्यक्ति अन्य लाभको पदमा नियुक्त भएमा सो अवधिभर मासिक तलब सुविधा र निवृत्तिभरणमध्ये एक मात्र छनोट गरी लिनुपर्ने सहमति भएको थियो । उपसमितिको प्रस्तावलाई हटाएर सरकारले गरेको प्रस्तावलाई निरन्तरता दिइएको छ ।

डोटीको जोरायलमा मिनिट्रक दुर्घटना, तीन जनाको मृत्यु

धनगढी, १० बैशाख ।
धनगढी बाट बझाङजादै गरेको मिनिट्रक आज बिहान डोटीको जोरायलमा दुर्घटना हुदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका १ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।

धनगढीबाट बझाङतर्फ जादै गरेको सु.प.प्र.०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक बझाङ जिल्ला बुङ्गल नगरपालिका–२ दहबगरका अन्दाजी ३२ बर्षीय अर्जुन धामी, ४२ वर्षीय उज्जल जाग्री र ४१ वर्षीय जगत धामी रहेका छन्।

खाद्यान्न लिएर बझाङ गइरहेको मिनीट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

जम्मु कश्मीर आतङ्कवादी हमलामा एक नेपालीको मृत्यु

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलामा नेपालीको समेत मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कडा शब्दमा निन्दा गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । सरकारले दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गरेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

काठमाडौँ – यही वैशाख २० देखि २२ गते सम्म ( मे ३-५, २०२५) मा काठमाडौँमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ।
“निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ।  एनआरएनए उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौँ,”   प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले भन्नु भयो।  उहाँले संघको विधानको मर्म तथा  उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको आधारमा पारदर्शी र कानुन सम्मत तरिकाले निर्वाचन सम्पन्न गरिने पनि जनाउनु भयो।
सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्न र नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गराउनका लागि  वरिष्ठ अधिवक्ता घिमिरे  प्रमुख निर्वाचन आयुक्त  र अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहनु भएको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।  महाधिवेशन मा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ।
उच्चस्तरीय समितिले सोमबार एक पत्रकार सम्मेलन गर्दै महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो।

काठमाण्डौंका आँखा र सुदूरका ‘सुईना’

मूलधारका भनिने नेपाली मिडियाले गभर्नरको चर्चा गरिरहदा पुछारमा पनि नअटाएका डा. गुणाकर भट्ट गभर्नर हुने निश्चितप्रायः भएपछि केही मिडिया र स्वार्थ समूहको निन्द्रा उडेको छ । नहोस पनि किन देशमा ठूला नियुक्तिको चर्चा हुदा सुदूर पश्चिमका मान्छेलाई काठमाण्डौंको चश्माले योग्य देख्दैन । डा. भट्ट उनीहरुका लागि अपवाद हुने कुरै भएन ।

सुदूर डोटीको कफल्लेकी गाउँको सामुदायीक विद्यालयबाट एसएलसी गरेर उच्च शिक्षा अध्ययनका लागि धनगढी झरेका भट्ट, जसले निजी विद्यालयको शिक्षकको जागीर खाएर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकको पढाई पुरा गरे ।

त्यसपछि त्रिभुवन विश्वविद्यालयमा एमबीएमा गोल्ड मेडल हात पारे । यो उपलब्धी उनका लागि मात्र नभएर सुदूरको सुदूर गाउँबाट काठमाण्डौं पस्ने जो कोहीका लागि सपना जस्तै हुन्थ्यो । उनको सपनाको उडान त्यतिमै रोकिएन, अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरे ।

सायद उनलाई माटोको माया हुदैनथ्यो भने, उनी त्यहीबेला विश्व बैंक वा संसारकै कुनै ख्यातिप्राप्त संस्थाको उच्च ओहोदामा जागीर हुन्थे । आफूले हासिल गरेको डिग्री, अनुभव, अन्तर्राष्ट्रिय ज्ञानलाई देशका आर्थिक उन्नयनमा समर्पित गर्ने सोचले उनी सबै सुखसुबिधा र अवसरहरु त्यागेर स्वदेश फर्किए । यसको अर्थ उनी यसरी फर्किने एक्लो हुन् भन्ने होईनन् ।

अढाई दशकदेखि नेपाली राष्ट्र बैंकको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका भट्ट कुनै पनि भूमिकामा चुकेनन् । हरेक भूमिका र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । कहिले विवादमा परेनन् । राजनैतिक दलको फेर समातेर कुनै सिढी उक्लेनन् । फेर समातेका भए उहिल्यै डेपुटी गभर्नर भईसक्थे । भट्टले आफ्नै मिहिनेत र बलबूतामा यो मुकाम हासिल गरेका हुन् ।

यद्दपि काठमाण्डौंका मिडियाले शुरुवाती चरणमा भट्टको चर्चा गर्न नै जरुरी नै ठानेनन् । काठमाण्डौंका आँखाले ‘सुदूरका सुईना’ (सपना) कहिले देखेन । न त यहाँका संभावना देख्यो । न सुदूरका मान्छेमा उसले क्षमता देख्यो । सजिलो र आँखा अगाडिको कुरालाई उसले समाचार बनायो । तर सुदूर उसको नजरमा कहिल्यै परेन ।

यो देशका मिडियाले डा. सन्दुक रुईतको चर्चा गर्छ तर डा. विद्या प्रसाद पन्तको चर्चा गर्न जरुरी ठान्दैन । ईथियोपियाको राजधानीमा सन्दुक रुईतले चलाएको आँखा शिविर देख्ने मिडियाले त्यही समयमा ताञ्जनियाको ग्रामिण ईलाकामा आँखाको शिविर चलाईरहेका पन्तलाई देखेन । त्यसको अर्थ यो होईन कि रुईत चर्चा गर्न योग्य छैनन् । तर संसारमै सबैभन्दा बढि (अढाई लाख) मान्छेको आँखाको शल्यक्रिया गरेका डा. पन्त, जसले एकदिनमा सबैभन्दा बढि (३१२ जना) मान्छेको आँखाको शल्यक्रिया गरेका छन्, उनको चर्चा गर्न जरुरी नै ठान्दैन् ।

सुदूर पहाडका जनताका लागि भगवान सरह रहेका डा. मन्दीप पाठक काठमाण्डौंका मिडियामा अटाउदैनन् । उनीहरुलाई डा.भगवान कोईरालाईको भने चर्चा गर्न भ्याईनभ्याई छ । यद्दपि कोईरालाको योगदान प्रशंनीय छ । यसमा कुनै शंका छैन् ।

काठमाण्डौंका मिडिया पक्षपाती छन् , पूर्वाग्रही पनि । उनीहरुले यो देशको बिबिधता अझै स्वीकार गर्नै सकेका छैनन् ।

अनलाईन खवरका प्रधान सम्पादक शिव गाउँले  नेपाली मूलधारका मिडियाले नेपालको सांस्कृतिक र भौगोलिक बिबिधता विविधतालाइ अनुभुत गर्न नसकेको स्वीकार गर्छन।

मिडियाको बिबिधतामा हेर्ने दृष्टिकोणमा समस्या छ । त्यही कारण बिबिधताले पाउनु पर्ने स्पेश पाएन, पत्रकार गाउँले भन्छन्, त्यसको असर काठमाण्डौंबाट तुलनात्मक रुपमा टाढा रहेको सुदूर पश्चिममा पनि प¥यो ।

गभर्नर नियुक्ति प्रकृयामा पनि यही दृष्टिकोण हावी भएको उनी ठान्छन् ।

गभर्नर नियुक्ति प्रकृयामा व्यक्तिको बीज्ञतामाथि छलफल नै भएन । गभर्नर कसको भागमा पर्छ भन्ने मात्र छलफल भयो । र, समाचारहरु पनि त्यसैगरी आए, वरिष्ठ पत्रकार गाउँले थप्छन्, १० जनाको रोष्टर बनाएर छलफल बनाएर छलफल गराएको भए भट्टका विषयमा पनि चर्चा हुन्थ्यो होला । त्यहाँ त एमाले र काँग्रेस कसको भागमा पर्ने भन्ने सैद्धान्तिक लफडा भयो ।

पत्रकार आरती चटौतका मनमा पनि यो प्रश्न खट्कीरहन्छ । काठमाण्डौंले सुदूरपश्चिमलाई किन वास्ता गर्दैन ? किन दिदैन महत्व ? चटौत भन्छिन्, गभर्नरको विषय हाईप्रोफाईल भयो । साना साना कुरामा वेवास्ता गर्ने मूलधारका मिडिया र काठमाण्डौंले यो मुद्दामा त नजरअन्दाज गर्ने नै भयो ।

काठमाण्डौंले सुदूरपश्चिमलाई वेवास्ता गरेको यो कुनै नयाँ घट्ना होईन,वरिष्ठ पत्रकार कुन्द दीक्षित भन्छन्, मूलधारका मिडिया पनि काठमाण्डौं केन्द्रित छन् । उनीहरुको नजरमा सुदूरपश्चिम अहिलेसम्म परेको छैन् ।

सुदूरपश्चिमलाई हेर्ने काठमाण्डौंको दृष्टिकोणमै समस्या रहेको पत्रकार दीक्षित बताउछन् । भन्छन्, त्यही दृष्टिकोण उसको व्यवहारमा देखिने गरेको छ ।

काठमाण्डौंका कतिपय साथीहरु भन्छन्, तिमी सुदूरपश्चिमेलीहरु भेगीय भावना राख्छौ ।

म उनीहरुलाई भन्छु, हामी देशलाई केन्द्रमा राखेर सोच्छौ । र, त्यो देशको केन्द्रमा पुग्ने क्षमता राख्ने सुदूरपश्चिमेलीहरुलाई रोक्न काठमाण्डौंले गर्ने षडयन्त्र र बहानाबाजीका बिरुद्ध भने हामी पार्टी र भूगोल नभनेर एक ठाउँमा उभिन्छौ ।

भन त, साथी सुदूरलाई अलग राखेर देश कसरी बलियो बन्छ ? सुदूरलाई अयोग्य देखेर देश कसरी योग्य हुन्छ ।

डा. वीएस बोहराहरुले चर्चामा नआएरै अवकाश पाए, जसले पुरै जीवन सुदूरपश्चिमका जनताको स्वास्थ्योपचारमा बिताए । दीर्घसिंह बम, अनुप उपाध्याय र चेतराज पन्तहरु यही माटोले जन्माएका हुन् । सुदूरमा जन्मिने र यो माटोमा सेवा गर्नेहरुको क्षमता र योग्यतामाथि काठमाण्डौंले सधै शंका गरिरह्यो । सधै अविश्वास गरिह्यो ।

पदक, तक्मा र नियुक्तिका लागि योग्यता, क्षमता, योगदान र निष्ठाको मूल्यांकन हुने दिन कहिले आउला ?

सुदूरपश्चिम भूगोल मात्र होईन । यो भावना पनि हो । संघीयतामा मुलुक जादा,जसको एक अंश पनि राज्य सञ्चालकहरुले अलग गर्न सकेन । यही हो, सुदूर पश्चिमको तागत । जसका अगाडि सत्ता सञ्चालकहरु झुक्न बाध्य भए ।

केआईसिंहपछि अर्को प्रधानमन्त्री कुर्न सुदूरपश्चिमले तीन दशक कुर्नु प¥यो । लोकेन्द्र बहादुर चन्दपछि शेर बहादुर देउवा सुदूरपश्चिमबाट प्रधानमन्त्री भए । अर्को शेर बहादुर जन्मिन अव युग कुर्नुपर्नेछ ।

बानेश्वरमा सुदूर पश्चिमेलीहरु भेटिन्छन् कि भनेर खोज्ने ५० को दशकका ती दिनहरु सम्झिनेहरुलाई थाह छ, त्यही काठमाण्डौंमा रहेको सिंहदरवार उनीहरुका लागि टाढा थियो । धेरै टाढा । अझ काठमाण्डौंमा सुदूरपश्चिमेली हूँ भन्न हिच्किचाउने दिनहरुको अन्त्य भएको धेरै भएको छैन ।

आफ्नै बलबूता र क्षमतामा मात्र यस्ता नियुक्ति र उपलब्धी हासिल गर्नु असंभव छ, त्यसका लागि राजनैतिक नेतृत्वको सदाशयता र विश्वास आवश्यक रहेको मुलुकमा देउवाकोपछि सुदूरपश्चिमेलीहरुले त्यो तहमा नियुक्त हुने संभावना विरलै हुनेछ । यो सत्य  हो ।

सत्ता गठबन्धनको प्रमुख दलको सभापतिसंग प्रधानमन्त्रीले गरेको सहमती कार्यान्वयन हुन त यति अलमल हुन्छ भने, के राजनैतिक नेतृत्वसंग पहूँच नै नभएको व्यक्ति यो देशमा क्षमता र योग्यता हुदैमा नियुक्त हुने अवस्था रहला र ?

सुदूरमा घन्किने देउडा टुडिखेलमा खेलिनुअघिका धेरै वर्ष काठमाण्डौंमा दविएको थियो । हाम्रो जीवन पद्धति बनेको गौरा र देउडालाई सगर्व हाम्रो संस्कृति हो भनेर भन्न सक्ने अवस्था धेरैपछि मात्र काठमाण्डौंमा बनेको हो । आज जसरी टुडिखेलमा देउडामा पैताला मिलाउन गौरा कुरिरहनु पर्दैन ।

सत्ताको सधै केन्द्रमा रहेका देउवासंग सुदूरपश्चिम समृद बनाउने धेरै अवसरहरु थिए । ती सबै अवसरहरु उनले के कति कारणले गुमाए वा पुरा गर्न सकेनन्, त्यो उनलै जानुन । तर यस पटक देउवासंग सुदूरले सधैभरीका लागि सम्झिने एउटा ठूलो अवसर छ, त्यो हो डा. भट्टलाई गभर्नर बनाउने ।

देउवा बोलीको पक्का मानिन्छन् । कम बोल्ने र आफ्नो अडानमा कायम रहने देउवाको त्यो स्वभावले उनका धेरै अवगुणहरु मानिसहरु सहजै बिर्सिन्छन् । सुदूर पश्चिम, जुन माटोमा उनी जन्मिए, हुर्किए, र जुन भूगोलले उनलाई देशकै सर्वोच्च पदमा पटक पटक पुग्ने अवसर प्रदान गरिरह्यो, यस पटक त्यो माटोलाई गुन लगाउने अवसर उनले गुमाउने छैनन भन्ने विश्वास छ ।

नेपाली मूलधारका मिडियालाई राम्रोसंग थाह छ, भट्ट लप्पन छप्पन जान्दैनन् । उनी आफ्नो कर्ममा विश्वास गर्छन् । र, आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छन् । र, अधिकारको दुरुपयोग गर्दैनन् । उनी कसैको स्वार्थमा काम गर्दैनन् । सायद भट्टको कमजोरी नै यही हो ।

राजनैतिक नेतृत्वबीच भट्टलाई गभर्नर बनाउने सहमती भएको कुरा बाहिर आयो । तर न सिफारिस समितिले भट्टलाई गभर्नरमा सिफारिस गरेको छ । न त भट्ट गभर्नर नियुक्त भएका छन् । तर अनुमानका भरमा अदालतमा रीट दायर हुन्छ । अदालतले पनि त्यस्तो रीट दर्ता गरिदिन्छ ।

गभर्नर प्रकृयालाई गिजोल्न र भट्टलाई नभएको बिवादमा पारेर अमूक समूहको स्वार्थमा अर्कै व्यक्तिलाई गभर्नर बनाउने नियतबाट यस्ता हर्कतहरु भईरहेका हुन् भन्ने बुझ्न गाह्रो हुदैन् ।

हरेक राजनैतिक दलको सदस्यता खल्तीमा राखेर उनले हिड्न जानेका छैनन् । मिडिया, विचौलिया र नेतालाई मिलाउन नजान्नु उनको कमजोरी ठानिन सक्छ ।

नभएका कमजोरी खोजेर उनलाई गभर्नर बन्नबाट रोक्न षडयन्त्र हुनु, त्यही कमजोरीको उपज हो भन्दा अन्यथा हुदैन् ।

मिडियाले समेत नपत्याएका भट्ट पहिले नै गभर्नरका रुपमा चर्चामा आएको भए, यो देशको पुरै शक्ति उनलाई त्यतिबेलै सक्थ्यो । उनी सबैभन्दा पछि चर्चामा आएका कारण सबैभन्दा कम निशानामा परे । ढिलो चर्चामा आउनु उनका लागि फाईदाजनक भयो । यद्दपि आफ्नो नाफाघाटा हरेर नियुक्ति प्रकृयामा हावी हुने स्वार्थ समूहहरु अर्काको नोक्सान गरेर रमाउनु कुनै नयाँ कुरा होईन् । अहिले भट्टका विरुद्ध जे भईरहेको छ, यो त्यही सोचको उपज हो ।

अझ कतिपय स्वार्थ समूहले नियुक्त हुनुअघि नै प्रतिबद्धता खोज्ने गरेको बिगतका घट्नाक्रमले देखाएको छ । त्यस्तो प्रतिबद्धता खोज्ने समूहहरुमा को पर्छन, को पर्दैनन, जगजाहेर छ ।

भट्टलाई गभर्नर बन्नबाट रोक्न सकिदैन भनेर राम्रैसंग बुझेकाहरुले जे जति बाधा, व्यवधान र विवादहरु सृजना गरिरहेका छन्, त्यसको पछाडिको कारण यत्ति हो ।

सुदूर पश्चिमले आरक्षण मागेको होईन । दया मागेको होईन । सदाशयता र कृपा चाहेको होईन । बाँकी भूगोलसंग प्रतिस्पर्धा गरेर आफ्नै क्षमतामा गभर्नर बन्न खोजिरहेका भट्टहरुले कहिल्यैसम्म योग्यताको परीक्षा दिईरहनु पर्ने हो ?

यो पनि होईन कि उनी गभर्नर नभए देशकै अर्थतन्त्र बिग्रिन्छ । र, यो पनि होईन कि, उनी गभर्नर भए देशको अर्थतन्त्र रातारात सुध्रिन्छ । तर एउटा कुरा पक्का हो, उनी गभर्नर भए, देशको अर्थतन्त्र सुधार गर्न उनले ईमान्दारीपूर्वक कोशिस गर्नेछन् । आफ्नो विवेक, सामथ्र्य,अध्ययन, अनुभवको भरपुर प्रयोग गर्नेछन् । यसमा दुबिधा छैन् । उनलाई गभर्नर बनाउनु पर्ने कारण पनि यही हो ।

आशा छ, बिलम्व नगरी भट्ट नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुनेछ ।

जम्मू-कश्मीरको पहलगाममा चरमपन्थी हमला – २० भन्दा बढी पर्यटकको मृत्यु

जम्मू-कश्मीर

मंगलबार, जम्मू-कश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गर्दै भएको चरमपन्थी हमलामा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाएका छन्, जसमा कम्तिमा २६ व्यक्तिको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। आक्रमणमा नेपाली नागरिक सन्दिप न्यौपाने सहित कम्तिमा २६ जना मारिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाको कडा निन्दा गर्दै यसलाई आतङ्ककारी हमला बताएका छन् र दोषीहरूलाई उन्मुक्ति नदिइने बताएका छन्।

गृह मन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै जिम्मेवारहरूलाई कडा जवाफ दिने बताए। उनले यस सन्दर्भमा श्रीनगर पुगेर आपतकालीन सुरक्षा बैठकमा भाग लिने बताएका छन्।

जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनास्थल सुरक्षा बलले घेराबन्दी गरी कारबाही भइरहेको जानकारी दिएका छन्।

पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले यो हमला पछिल्ला वर्षहरूमा नागरिकहरूलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो हमला भएको बताएका छन्।

स्वास्थ्य मन्त्री सकीना इटूका अनुसार केही घाइतेहरूलाई अनन्तनाग मेडिकल कलेजमा भर्ना गरिएको छ। तीन जनाको अवस्था सामान्य छ भने एक जना गम्भीर छन्। एक जना घाइतेलाई श्रीनगर लगिएको छ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन। हमला पर्यटन सिजनको उच्च बिन्दुमा भएको हो।

घटना पहलगामबाट करिब ५ किलोमिटर टाढा भएको हो, जहाँ हरेक वर्ष हजारौं पर्यटक घुम्न जान्छन्। प्रत्यक्षदर्शीहरूका अनुसार, पर्यटकहरूलाई विशेष रूपमा निशाना बनाइएको थियो।

पीडीपी प्रमुख महबूबा मुफ्ती र कांग्रेस नेता राहुल गान्धीले कायराना र निन्दनीय हमला भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी वेंसले पनि यो विध्वंसकारी घटनाप्रति श्रद्धाञ्जली दिँदै आफू र आफ्नी पत्नी उषाको तर्फबाट गहिरो शोक व्यक्त गरेका छन्।

सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

खोज्नुहोस