राजसंस्था र गणतन्त्र पक्षधर एकसाथ सडकमा आउँदा नेपाली राजनीतिले लिन सक्ने मोड

देशमा दुई ठूला परिवर्तन निम्त्याएका जनआन्दोलन सुरु भएको चैत महिनामा यस पटक गणतन्त्रवादी र राजतन्त्र पक्षधर शक्तिहरूले एकै दिन राजधानी काठमाण्डूका सडकमा शक्ति प्रदर्शन गर्दै छन्।

शुक्रवार माओवादी नेतृत्वको विपक्षी दलहरू सम्मिलित समाजवादी मोर्चाले ‘परिवर्तन रक्षार्थ शक्ति प्रदर्शन’ गर्ने भनेको छ।

शुक्रवार नै हिन्दू राष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापनाको माग गरिरहेको विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको अभियानले अहिलेका ‘परिवर्तन उल्ट्याउने घोषणा गर्दै’ सडकमा समर्थकहरू उतार्दै छ।

दुवै पक्षले दशौँ हजारको सङ्ख्यामा आफ्ना समर्थकहरू सडकमा ल्याउने बताएका छन्।

सरकारी निकायहरूले प्रदर्शनका लागि अलग अलग स्थान तोकेर सुरक्षा निकायहरूलाई चनाखो अवस्थामा राखिएका प्रतिक्रिया दिइरहेका छन्।

विपरीत अजेन्डासहितका सडक सङ्घर्ष

विपक्षी दलको समाजवादी मोर्चाको विरोध दुईतिर फर्किएको छ – पहिलो राजावादीविरुद्ध, दोस्रो सरकारविरुद्ध।

पूर्व राजा ज्ञानेन्द्र र राजसंस्था पक्षधर दलहरूले पछिल्लो समय सक्रियता बढाएपछि नेपालमा विगतमा १० वर्ष सशस्त्र विद्रोहको नेतृत्व गरेको माओवादीसहितका दल सम्मिलित नेतृत्वको विपक्षी समाजवादी मोर्चाले परिवर्तन रक्षा गर्न ‘शक्ति प्रदर्शन’ गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी ओलीले वर्षौँको लोडशेडिङ अन्त्य गराएर लोकप्रियता कमाएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई यसै हप्ता बर्खास्त गरेपछि विपक्षी दलहरू एकताबद्ध भएर संसद्‌ पनि अवरुद्ध बनाइरहेका छन्।

अर्कोतिर, मेडिकल कलेज व्यवसायी र विभिन्न मुलधारका दल निकटस्थ व्यक्ति हुँदै पछिल्लो समयमा पूर्व राजा समर्थक नेताको छवि बनाएका दुर्गा प्रसाईँ नेतृत्वको अभियानले आफ्नो कार्यक्रमलाई ‘जनविद्रोह’को संज्ञा दिएको छ।

उक्त अभियानले हिन्दू राज्यसहित राजसंस्था स्थापना, सङ्घीयता खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने सहितका विभिन्न माग राखेको छ जो अन्य राजावादी शक्तिहरूको मागसँग मिल्छ।

नारायणहिटी राजदरवारबाहिर तैनाथ नेपाल प्रहरी

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन,नारायणहिटी राजदरवारबाहिर तैनाथ नेपाल प्रहरी

सो अभियानका प्रदर्शनलाई राजसंस्था पक्षधर विभिन्न समूहहरूलाई एकताबद्ध गर्ने उद्देश्यले हालै नवराज सुवेदीको नेतृत्वमा बनाइएको समितिले समर्थन गरेको छ।

तर सो समिति गठन भएयता मागमा एकमत भए पनि आन्दोलनको नेतृत्व र स्वरूपलाई लिएर पूर्व राजा समर्थक पुराना दल: राप्रपा र राप्रपा नेपालको नेतृत्व सन्तुष्ट देखिँदैनन्।

आफ्ना कतिपय ‘उग्र टिप्पणीहरू’ का कारण पनि चर्चामा रहने प्रसाईँ र विगतमा व्यवस्था परिवर्तनका लागि दशक लामो युद्ध गरेको माओवादीका समर्थकहरू एकैदिन काठमाण्डूका सडकमा ओर्लिँदा उत्पन्न हुनसक्ने चुनौतीलाई धेरैले नजिकबाट नियालिरहेको पाइन्छ।

अघिल्लो वर्ष प्रसाईँ नेतृत्वको समूहले राजधानीमा प्रदर्शन गर्दा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसम्बद्ध युवा सङ्घका कार्यकर्ताहरूसँग झडप भएको थियो।

पूर्व प्रधानमन्त्री ओली

तस्बिर स्रोत,RSS

काठमाण्डूस्थित देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे भन्छन्, “दुवै पक्षलाई अलग अलग स्थान तोकिएको छ। उनीहरूले कस्तो व्यवहार देखाउँछन् त्यो अहिले प्रस्ट छैन। मुठभेड रुचाउने खालका पक्ष दुवैतिर भएकाले सुरक्षा निकायहरू चाहिँ केही डराएको जस्तो लाग्छ।”

उनले भिड नियन्त्रण गर्ने पर्याप्त तालिम र सामग्रीहरूको पनि अभाव रहेको चिन्ता नेपाली सुरक्षा निकायहरूले व्यक्त गर्ने गरेका उल्लेख गर्दै यस्ता प्रदर्शनीहरूले चुनौती खडा गर्ने सम्भावना रहेको उल्लेख गरे।

‘सडक तताउने मौसम’

तर कैयौँ राजनीतिक टिप्पणीकारहरू राजनीतिक अस्थिरताको चक्रबाट वर्षौँदेखि गुज्रिरहेको नेपालमा यस्ता प्रदर्शनहरू नौलो नभएको भन्दै अहिले नै ठूलो जोखिम देखा परिनसकेको ठान्छन्।

राजनीतिक विश्लेषक सीके लालले बीबीसीसँग भने, “चैत वैशाख सडक तताउने मौसम हो। सबै पक्ष आआफ्नो उपस्थिति देखाउन चाहन्छन्। मलाई आश्चर्य लाग्दैन। फेरि अहिले जनताको असन्तुष्टि चुलिएको बेला यसको केही फाइदा उठाउन सकिन्छ कि भन्ने उद्देश्य पनि हुन सक्छ।”

उनी प्रदर्शनहरूमा उत्तेजक अभिव्यक्ति दिने अभ्यास नेपालमा पुरानै रहेको उल्लेख गर्दै प्रहरी प्रशासन संयमित भएको खण्डमा झडपको सम्भावना खासै देख्दैनन्।

दुवै पक्षले आफ्ना कार्यक्रमलाई लक्षित गरी राजधानीबाहिरबाट समेत मानिसहरू ल्याएका खबरहरू आएका छन्।

विक्रम संवत् २०६२-२०६३ को जनआन्दोलन १९ दिन चलेको थियो

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,विक्रम संवत् २०६२-२०६३ को जनआन्दोलन १९ दिन चलेको थियो

राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल ठूलो जनआन्दोलनमार्फत् नेपालमा गणतान्त्रिक शासन व्यवस्था स्थापना भएको सम्झाउँदै भन्छन्, “संसारमा ठूला परिवर्तनपछि विस्थापित शक्तिहरूले पुनरागमनका प्रयत्नहरू गर्छन्। त्यसलाई परिवर्तनकारी शक्तिहरूले चुपचाप हेरेर बसिरहने भन्ने पनि उपयुक्त हुँदैन।”

उनले ‘सडकमा सोझै मुठभेड हुने’ वा ‘बाहुबल’ प्रदर्शन गर्ने परिस्थिति राम्रो नभएको भन्दै ‘वैचारिक बहस’का आधारमा जनमत परिचालन हुनुपर्ने टिप्पणी गरे।

दुई तिहाइको सरकार किन ‘अलोकप्रिय’

दुई तिहाइ बहुमत सहितको नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकार गणतन्त्रात्मक शासन व्यवस्थाको तेह्रौँ सरकार हो।

नेपालमा हालैका वर्षहरूमा आर्थिक अनियमितता र सुशासनका कैयौँ गम्भीर प्रश्नहरू उठेका छन्।

पत्रकार घिमिरे राजतन्त्र पुनर्स्थापनाबाहेक कैयौँ मुद्दाहरूमा राजसंस्था पक्षधहहरूले गर्न लागेको आन्दोलनले जबाफदेहिता खोजेको बताउँछन्।

उनले भने, “राजनीतिक पार्टीहरूले शासन चलाउन सकेनन् सबै विफल भए भन्ने ठान्नेहरू छन्। चरम भ्रष्टाचार, संविधानमा देखिएको अस्पष्टता जस्तै सङ्घीयताबाट वाक्क भएर र संस्थापनको विरोधमा पनि मानिसहरू आइरहेका छन्। राजतन्त्र तत्काल पुनर्स्थापित हुन्छ कि हुँदैन भन्ने यो आन्दोलनमा मानिसहरू कसरी अघि बढ्छन् भन्ने कुराले निर्धारण गर्छ। तर यसले सरकार र संविधानको अपर्याप्ततालाई छर्लङ्ग पारिदिएको छ र यसमा सरकारले भाग्ने कुनै बाटो पाउँदैन।”

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड बिहीवार एउटा कार्यक्रममासँगै देखिएका थिए

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,प्रधानमन्त्री ओलीसँग दुई पूर्व प्रधानमन्त्री एउटै मञ्चमा

अनि सत्तामा रहेको पक्षसँग नागरिकहरू असन्तुष्ट हुनु सामान्य भएको र तत्कालै नेपालको राजनीतिक परिवर्तनहरू नै उल्टने सम्भावना सीके लाल र कृष्ण खनालजस्ता विश्लेषकहरू देख्दैनन्।

सीके लालले भने, “जनआन्दोलनजस्ता शब्दहरूलाई हामीले एकदमै सस्तो बनाइदियौँ। अहिले कसले कसका लागि सडकमा ओर्लिने? जनआन्दोलन त्यसबेला हुन्छ जब स्वतःस्फूर्त रूपमा मानिसहरू सडकमा देखिन थाल्छन्। अभियान भनेको प्रायोजित हुन्छ, आन्दोलन भनेको स्वतःस्फूर्त हुन्छ। स्वतःस्फूर्त रूपमा आएको त्यति साह्रो देखिँदैन।”

राजनीतिशास्त्री खनालले थपे, “सरकार र संसद्‌मा भएका दलहरूप्रति मानिसहरूको असन्तोष छ, आक्रोश छ। तर सरकार सबै ठाउँमा अलोकप्रिय नै रहन्छ। संसद्भित्रको प्रक्रियाबाट समीकरण बन्ने र भत्कने जुन चलखेल (नेपालमा) भइरहेको छ त्यसबाट मानिसहरू वाक्क भइरहेको परिस्थिति हो।”

“यसको फाइदा राजवादीहरूले लिन खोजिरहेको देखिन्छ। नजिकैको इतिहासमा ज्ञानेन्द्रले दलहरूको अलोकप्रियताको मौका छोपेर सबै म गर्छु भनेर निस्किएका थिए। त्यो हामीले देखिसक्यौँ। तर समाज अग्रगमनबाट फर्कन सम्भव म देख्दिनँ।”

देशभित्रको राजनीतिबारे बहस चलिरहँदा देशबाहिरको चलखेलको कुरा पनि सतहमा आउने गर्छ, यद्यपि त्यस्ता चलखेल पुष्टि गरेर वा औपचारिक रूपमा हुने गरेको पाइन्न।

नेपालको ईतिहासमा दुई पटक राजगद्दीमा बस्ने दुर्लभ मौका ज्ञानेन्द्रले पाएका थिए

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,नेपालको इतिहासमा दुई पटक राजगद्दीमा बस्ने दुर्लभ मौका ज्ञानेन्द्रले पाएका थिए

काठमाण्डू-दिल्ली सम्बन्धले दिइरहेका सङ्केत

उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर अङ्कित प्लेकार्ड पूर्व राजाको स्वागतमा आयोजित र्‍यालीमा प्रदर्शन गरिएको थियो

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर अङ्कित प्लेकार्ड पूर्व राजाको स्वागतमा आयोजित र्‍यालीमा प्रदर्शन गरिएको थियो

पछिल्लो पटक प्रधानमन्त्री ओलीले सत्ता सम्हाले यता नयाँ दिल्लीसँग उनको सरकारको सम्बन्धमा सहजता नदेखिएको चर्चा काठमाण्डूको राजनीतिक वृत्तमा छिपेको छैन।

सत्ता सम्हालेपछि नेपालका प्रधानमन्त्रीहरूलाई भारतले भ्रमणको निम्तो दिने परम्परा रहँदै आएको छ।

सत्ता सम्हालेको आठ महिना हुँदा पनि दिल्लीबाट निम्तो नपाएका ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा निम्त्याउने प्रयास गरे पनि त्यो सफल भएको छैन।

भारत भ्रमण नपाएपछि ओलीले गत डिसेम्बरमा चीनको भ्रमण गरेर चिनियाँ बेल्ट एन्ड रोड परियोजनाअन्तर्गतको फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतसँगको सम्बन्ध सामान्य बनाउन ओलीले चुनौती खेपिरहेका बेला उनको दलका महासचिव शङ्कर पोखरेलले यसै साता पार्टीको कार्यक्रममा पूर्व माओवादीहरूले ‘भारत र राजवादीको संरक्षणमा सशस्त्र द्वन्द्व चलाएको’ आरोप लगाएका थिए।

यो बीचमा राजवादीको प्रदर्शनमा ‘भारतको भूमिका’ रहेको भन्ने धारणा प्रधानमन्त्री ओली स्वयंले पार्टीको बैठकमा राखेको भन्ने सञ्चारमाध्यममा आएको विवरणको एमालेले खण्डन गरेको थियो।

पूर्वराजा शाहको नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ।

उनको स्वागतमा राजधानीमा भएको एउटा प्रदर्शनमा राखिएको योगी आदित्यनाथको तस्बिरले भारतीय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको थियो।

अहिले व्यक्तित्वको टकराबका कारण प्रधानमन्त्री ओली र नेता प्रचण्डबीच ‘वैमनश्यतापूर्ण सम्बन्ध’ रहेको ठान्ने पत्रकार घिमिरे विपक्षी मोर्चाको अहिलेको आन्दोलनमा रणनीतिक उद्देश्य पनि देख्छन्।

उनले भने, “गणतन्त्र बचाउने जिम्मा मेरै हो भन्ने हिसाबले प्रचण्ड आउँछन्। माओवादीलाई शान्ति र राजनीति मुलधारमा ल्याउने १२ बुँदे परिवर्तनमा भारतले भूमिका खेलेको थियो। अहिले त्यो सरकार नभए पनि, भारतका एजेन्सी र कर्मचारीतन्त्रभित्र एउटा समूह छ जसले अहिलेको भारतको नेपाल नीतिको विफलता उनीहरूको विफलता भन्ने ठान्छ। त्यो समूहका लागि यो प्रतिष्ठाको मुद्दा बनेको भए पनि भारतीय सरकारमा उनीहरूको प्रभाव कम छ।”

केही समयअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा नेपालमा संविधान जारी हुँदाको समयमा भारतका राजदूत रहेका रणजीत रेले हिन्दूवादी नेताहरू व्यक्तिगत रूपमा नेपालमा हिन्दू राष्ट्र वा राजसंस्थाको पक्षमा भए पनि त्यो भारत सरकारको नीति नरहेको बताएका थिए।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा सन् २००६ नोभेम्बर (विसं २०६३ मङ्सिर) मा हस्ताक्षर गरेका थिए

तस्बिर स्रोत,DEVENDRA M SINGH/AFP/GETTY IMAGES

तस्बिरको क्याप्शन,नेपालको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भारतले सहजीकरण गरेको बताउने गरेको छ ।

हिन्दू राष्ट्र पुनर्स्थापनाको तयारी चल्न थालेको हो?

हालै नेपाली कांग्रेसले सातै प्रदेशबाट सङ्कलन गरेको संविधान संशोधनसम्बन्धी सुझावको एउटा प्रतिवेदनमा हिन्दू राष्ट्र स्थापनाको माग पनि परेको थियो जुन राजसंस्था पक्षधर शक्तिहरूले लामो समय उठाउँदै आएका छन्।

नेपालमा हिन्दू राष्ट्र स्थापनाको मुद्दाप्रति भारतको अहिलेको सत्ता संस्थापनको झुकाव रहेको धेरैले ठान्ने गरेको पाइन्छ। कतिपयले त त्यस्तो शक्तिले नेपालमा दीर्घकालमा हिन्दूवादी राजनीतिक दल नै स्थापना होस् भन्ने चाहेको हुन सक्ने ठान्छन्।

यसै हप्ता भारतीय हिन्दूत्ववादी कट्टरपन्थीको आडमा नेपालमा राजतन्त्र फर्काउन प्रयास भइरहेको भन्दै एउटा नागरिक समूहले विज्ञप्ति नै जारी गरेको थियो।

राजनीतिक विश्लेषक सीके लाल भन्छन्, “दिल्लीले हस्तक्षेप गर्नुभन्दा पनि उसलाई निम्त्याउने प्रवृत्ति (राजा) त्रिभुवनकै पालादेखि छ। कोही भनिरहेका होलान् हामी हिन्दू राष्ट्र गरिदिन्छौँ अनि कोही हामी भुटान जस्तै बन्न तयार छौँ पनि भनिरहेका होलान् तर त्यतिले मात्र हुँदैन। भारत एक्लैले चाहेर हुँदैन। चीन कम्ती शक्तिशाली छैन भन्ने कुरा सन् २०१५ को संविधान जारी भएको ताका नै देखियो।”

तर उनी यतिबेला नेपालका राजावादी र गणतन्त्रवादी दुवै शक्तिहरू छिमेकीहरूका नजरमा ‘विश्वसनीय नदेखिएको’ ठान्छन्।

प्रधानमन्त्री केपी ओलीले अहिलेको कार्यकालमा भारतबाट भ्रमणको निम्तो पाएका छैनन्

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,प्रधानमन्त्री केपी ओलीले अहिलेको कार्यकालमा भारतबाट भ्रमणको निम्तो पाएका छैनन्

उनले भने, “राजावादी र गणतन्त्रवादी दुवैको नेतृत्व विदेशीहरूको दृष्टिकोणबाट हेर्दा विश्वसनीय देखिएको छैन। दुवै पक्ष अविश्वसनीय भएपछि लड्न दिने अनि जो जित्न लागेको छ, त्यसको पक्षमा उभिने त हो उनीहरू।”

उनले नेपालमा अराजकता उत्पन्न भएर त्यसले आफ्नो सामरिक हितमा धक्का दिने अवस्था देखिएको खण्डमा भने बाह्य शक्तिहरूले ‘एक्लै वा अरू शक्तिसँग मिलेर हस्तक्षेपको कुरा’ सोच्न सक्ने बताए।

कतिपयले हिन्दू राष्ट्रको अभियान लक्षित राजनीतिले केही समय गति लिन सक्ने आकलन गरिरहँदा त्यस्तो परिवर्तन सहज नभएको राजनीतिशास्त्री खनालजस्ता धेरैले ठान्छन्।

खनालले भने, “संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिन्छ। अस्ति एउटा अध्यादेशमा त त्यति गाह्रो भयो। कांग्रेस र एमालेले मात्रै चाहेर हुँदैन। आन्तरिक राजनीतिक चलखेलभन्दा पर संवैधानिक परिवर्तनकै सम्भावना मैले देखेको छैन।”

राजतन्त्र पक्षधर शक्तिहरूले राजसंस्था पुनर्स्थापना बिनाको हिन्दू राष्ट्र स्थापना आफूलाई मान्य नहुने बताउने गरेको पाइन्छ।

१७ वर्षअघि गद्दी त्याग्दा आफू देश छाडेर नजाने बताएका पूर्व राजा ज्ञानेन्द्रले हालै आलमदेवीदेखि गोरखनाथको मन्दीर पुगेर पूजा गरेका थिए।

त्यसलाई कतिपय राजवादीहरूले प्रतिकात्मक कदम भन्दै राजसंस्था पुनर्स्थापनाको आन्दोलनको उद्घोषका रूपमा उल्लेख गरिरहेका छन्।

राजावादी र गणतन्त्रवादी यी दुई परस्परविरोधी राजनीतिक दर्शनका अनुयायी या पक्षधरले काठमाण्डूका सडक तताउने क्रम केही समय जारी रहने सङ्केतहरू छन्।

काठमाण्डूका सडकमा सुरु हुन लागेका प्रदर्शनहरू प्रतिकात्मक मात्रै हुनेछन् वा कुनै ठोस परिणाम दिनेछन् अहिले नै भन्न गाह्रो देखिन्छ।

  • फणीन्द्र दाहाल/बीबीसी न्यूज नेपाली

महिला एसियन कप छनोट : नेपाल समूह ‘एफ’ मा

काठमाडौँ : एएफसी महिला एसियन कप २०२६ को छनोटमा नेपाल कठिन समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार गरेको समूह विभाजनमा नेपाल समूह ‘एफ’ अन्तर्गत रहेर खेल्नेछ।

समूह विजेताले मात्र छनोट चरणमा स्थान बनाउने भएकाले नेपालका लागि उज्बेकिस्तान सर्वाधिक बलियो टोलीका रुपमा रहने छ। समूहमा ५०औं बरियताको उज्बेकिस्तानसँगै लाओस र श्रीलंका यो समूहमा रहेका छन्। नेपाल फिफा वरियतामा ९९ औं स्थानमा रहेको छ।

लाओस १०७ र श्रीलंका १५८औं स्थानमा रहेका छन्। यो समूहका खेल उज्बेकिस्तानमा हुने तय भएको छ। दुई समूहमा पाँच टोली र ६ समूहमा चार टोली रहने छन्। समूह विजेता एएफसी महिला एसियन कप २०२६ को लागि अस्ट्रेलिया जानेछ।

बिहार संग्रहालयमा रागिनी उपाध्यायको ‘तेस्रो रेट्रोस्पेक्टिभ प्रदर्शनी’

काठमाडौं,१३ चैत ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व तथा पहिलो महिला कुलपति रागिनी उपाध्यायको ‘तेस्रो रेट्रोस्पेक्टिभ प्रदर्शनी’ भारतको पटनास्थित बिहार संग्रहालयमा सुरु भएको छ ।

मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रदर्शनी सुरु भएको हो ।

बिहार संग्रहालयको आयोजना, बीपी कोइराला भारत नेपाल फाउन्डेसनको सहयोग र रागिनी उपाध्याय आर्ट फाउन्डेसनको संयोजनमा भएको प्रदर्शनीमा कलाकार उपाध्यायले सन् १९७८ देखि (विद्यार्थीकालदेखि) हालसम्म बनाएका सय भन्दा बढी कलाकृति रहेका छन् ।

प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहपूर्ण सहभागिता रहेको र यसले आफूले थप प्रोत्साहित बनाएको उपाध्यायले बताए ।

बिहार संग्रहालयले नेपाली कलाकारहरूको सामूहिक प्रदर्शनी गरेता पनि एकल प्रदर्शनीका लागि भने पहिलोपटक कलाकार उपाध्यायलाई छनोट गरेको हो ।

कलाकार उपाध्यायको ७१ औं एकल कला प्रदर्शनी हो भने सङ्ग्रहालयमा गरिएको पहिलो एकल कला प्रदर्शनी हो ।

समग्रमा यो उपाध्यायले यसअघि सन् २०२३ मा क्रमशः नेपाल र बेल्जियममा रेट्रोस्पेक्टिभ प्रदर्शनी गरिसकेका छन् । प्रदर्शनी अप्रिल ७ सम्म चल्नेछ ।

प्रदर्शनीको उद्घाटन समारोहमा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, पद्म श्री विजेता निर्मला देवी, बिहार संग्रहालयका डाइरेक्टर अन्जनीकुमार सिंह, एडिस्नल डाइरेक्टर अशोककुमार सिन्हालगायतको विशेष उपस्थिति रहेको थियो ।

इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु

कायरो । इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि छ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन् ।

लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपत्कालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ । पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए ।

पनडुब्बी किन डुब्यो भन्ने कुरा तुरुन्तै स्पष्ट भएन । इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो । उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो ।

पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो तर धेरै पर्यटक कम्पनीहरूले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् वा सीमित गरेका छन् । -एपी

 

सरकारविरुद्ध यस्तो छ कुलमानको रिट

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

रिटमा घिसिङले आफू खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट ठहर भइ चार वर्षका लागि नियुक्त भएर पाएको सफलताका आधारमा पुनर्नियुक्ति लिएको उल्लेख गरेका छन् । आफूले कहालीलाग्दो लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा आशा जगाएको पनि उल्लेख गरेका छन् ।

०७३ कात्तिकदेखि काठमाडौं उपत्यका र ०७५ जेठदेखि देशभर लोडसेडिङ अन्त्य गरेकै कारण अवकाशको ११ महिनापछि ०७८ साउन २५ मा नियुक्त भएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो कार्यकाल अझै पाँचमहिना बढी बाँकी भएको भन्दै मन्त्रिपरिषद्को बर्खास्त गर्ने निर्णय, हितेन्द्रदेवलाई नियुक्त गर्ने निर्णय र आफूलाई दिएको अवकाशको पत्र पनि बदर गर्न माग गरेका छन् ।

विश्वविद्यालयतहमा स्ववियु राजनीतिको दलीयकरण र प्रभाव

– लाल बहादुर बोहरा ।

विश्व दुनियाँमा झैं हाल नेपालमा पनि शैक्षिक गुणस्तरका बारेमा आम चर्चा र चाँसो बढेको छ। नहोस् पनि किन? विद्यालय तह देखि उच्चसम्मै विद्यार्थीहरु दुर्गमबाट सुगम तिर पलायन हुने तथा क्रमशः सुगम हुँदै बिदेशिने क्रम अकल्पनीय तवरले बढेको बढेइछ। परिणाम स्वरुप विद्यालयतहको शिक्षाकालागि नेपाल बसाइ वालवालिकाहरुका लागि वाध्यताको उपज भएर विद्यालयहरु भरिभराउ देखिएता पनि कलेज तथा विश्वविद्यालयहरु प्रायः उजाड हुने अवस्थामा छन्। यावत परिस्थितिका पछाडि तमाम कारणहरु छन् र होलान पनि। ती मध्य नेपाली समाजमा व्याप्त रोजगारीका अवसरहरुको कमि, शैक्षिक संघ/संस्थामा हुने अपवित्र राजनीति, अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षकहरुमा प्राज्ञिक संस्कारको कमि, आदिलाई मुख्य मान्न सकिन्छ। बिशेषतः पढ्नु पर्ने विद्यार्थी र पढाउनु पर्ने शिक्षकहरु नै यो वा त्यो रुपमा राजनीतिक गतिविधिहरुमा संलग्न हुँदा शिक्षाको अवस्था कमजोर त हुने नै भयो। यावत परिस्थितिका बिच हिजोआज नेपालका केही विश्वविद्यालयहरुमा स्ववियु निर्वाचनको माहोल चलेको छ। त्रिभुवन विश्वविद्यालयका कतिपय क्याम्पसहरुमा झण्डै हप्तादिन अगाडि उक्त निर्वाचन सम्पन्न भैसकेको छ भने, केहीमा निकट भविस्यमै हुने तयारी छ। त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, आदिमासमेत यसै चैत्र महिना भित्र सम्पन्न हुनेगरी कार्यतालिका सार्वजनिक भएका छन्। यो लेख मार्फत मैले विश्वविद्यालयतहमा विद्यार्थी राजनीतिको थिति, व्यथिति, चुनौति र आम रुपमा पार्न सक्ने सम्भाव्य असरका बारेमा चर्चा गर्ने अनुमति चाहँन्छु।

कुरा सुरु गरौं छिमेकी मुलुक भारतको एउटा विश्वविद्यालयमा मैले अनुभूती गरेको विद्यार्थी चुनावको। केही बर्ष अगाडि एउटा प्राज्ञिक कामको सिलसिलामा त्यहाँ जाने अवसर पाएको थिए। विश्वविद्यालयमा चुनावी मावल चलेको थियो। मैले मनमनै सोचे, यहाँ पनि भाजपा, काँग्रेस आई, भारतीय कम्युनिष्ट लगायतका दलहरुका भातृसंगठनहरु चुनावमा लड्दै होलान्। ती संघ/संगठनका माउ दलहरुका नेताहरुले समेत त्यहाँको चुनावी अवस्थालाई प्रत्यक्ष प्रभाव पार्लान। तर, बुझ्दै जाँदा अवस्था नितान्त फरक पाए। त्यहाँ राजनीतिक दलहरुका विद्यार्थी संघ/संगठनहरु भन्दा पनि स्वतन्त्ररुपमा युवाहरु आ-आफ्ना समहु बनाएर लड्दै थिए। ती समुहहरुले निरपेक्षरुपमा कुनै अमुक दलको प्रतिनिधित्व गर्दैनथे; बरु विद्यार्थी कल्याण र हकहितकालागि एउटा परिषद (काउन्सिल) का नामबाट तिनीहरु चुनावमा होमिएको पाए। मतदाता विद्यार्थीहरुले चुनावमा होमिएका विद्यार्थी नेताहरुलाई व्यक्तिगत रुपमा चिन्ने तर सांगठनिकरुपमा नचिन्ने गरेको पाए। मनमनै सोचे नजिकैको छिमेकी मुलुकको विश्वविद्यालयमा आहा कति सभ्य र सापेक्षित रुपमा गैर राजनीतिक संस्कार! छिमेकी मुलुक भारतको मात्र कुरा हैन, हाम्रै नेपालको काठमाँडौ विश्वविद्यालयमासमेत यस खालको चुनावि परम्परा छ। केही बर्ष अगाडि म एम्.फिल. तहको अध्ययनको सिलसिलामा काठमाँडौ विश्वविद्यालयको हात्तिवन शाखामा थिए। त्यति नै बेला त्यहाँ विद्यार्थी राजनीतिको चुनावि माहोल थियो।

त्रिभुवन विश्वविद्यालयमा हुने गरेको स्ववियुको निर्वाचनको आँखाबाट मैले त्यहाँ हुन लागेको चुनावलाई नियाले; तर मेरा नजर अनि अनुभूतीहरु एकाएक असान्दर्भिक भए। मैले न त्यहाँ संगठन बिशेषका झण्डाहरु देखे; न त नाराहरु नै। केवल देखे विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुका मित्रतापूर्ण प्रचारशैली तथा व्यवहारहरु। त्यतिमात्र हैन त्यहाँ दलगत संघ/संगठन बिशेषका चुनावि कार्यक्रम तथा बुरुकबुरुक उफ्रेर भाषण गर्ने नेताहरु पनि थिएनन्। उता भारतको एउटा विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको चुनाव झैं त्यहाँ पनि त्यही नामले सौहार्दपूर्णतवरले चुनावि हार्दिकता मञ्चन गरिदै थियो। मनमनै सोचे, विचारे र अभिव्यक्त गरेः आखिर नेपालमा पनि विश्वविद्यालय तहमा दलगत राजनीतिको प्रभावलाई कम गर्न त सकिदो रहेछ त! चुनावि समयमा मात्र हैन मेरो दुइबर्षको बसाइमा विश्वविद्यालय भित्र न कुनै दलीय विद्यार्थी संघ/संगठनका राजनीति केन्द्रित गतिविधि देखे न त दलबिशेषका नेतालाई बोलाएर कुनै भाषणभुषण गरेको। केवल त्यहाँ देखे प्राज्ञिक, जनचेतनामुलक तथा अध्ययन/अध्यापन संग सम्बन्धित कार्यक्रमहरु। माथिका अनुभूतिहरु त केवल प्रतिनिधिमुलक उदाहरणमात्र हुन, त्यस खालका प्रयासहरु विश्वदुनियाँमा जहाँतही छन्। सुनिन्छ, विश्वका प्रायः विकसित देशहरुमा विद्यार्थी राजनीति, त्यो पनि प्राज्ञिकतासहितको, गर्नका निम्ति कुनै निस्चित कलेजहरु हुन्छन्, जहाँ प्रायः राजनीति गर्न चाँहने विद्यार्थीहरु भर्ना हुन्छन् तथा गतिविधिहरुमा सरिक हुन्छन्। ती इतरका कलेज वा विश्वविद्यालयहरुमा न कुनै राजनीतिक दल बिशेषका सांगठनिक गतिविधिहरु हुन्छन् न त त्यस खालका चुनावहरु नै। त्यहाँ त केवल अध्ययन, अनुसन्धान, लेखन, बैचारिक मन्थन, अनुभव आदानप्रदान तथा मानवस्रोत विकासका विविध आयामहरुका बारेमा चर्चापरिचर्चा हुन्छ। तर नेपालका विश्वविद्यालयहरु विगत देखि नै राजनीतिक गतिविधिहरुका अखडा बन्दै आएका छन्। विश्वविद्यालय तथा मातहतका क्याम्पस/कलेजहरुमा प्राज्ञिक भन्दा पनि गैरप्राज्ञिक गतिविधिहरुले आमरुपमा प्रसय पाउँदासमेत त्यस सम्बन्धी सरोकारवाला निकायहरु बेखबर झैं छन्। परिणामस्वरुप शैक्षिक गुणस्तर ओरालिदो अवस्थामा छ भने विद्यार्थीहरुको बिदेश पलायन निरन्तर उकालिदो। प्रष्ट छ, यो परिस्थिति आमन्त्रणको एउटा कारण विद्यार्थी राजनीति पनि हो। नेपालका विश्वविद्यालयतहमा विद्यार्थी राजनीति र स्ववियु निर्वाचनको अवस्था र असर केकस्तो छ भन्ने कुरा हालै त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरुमा सम्पन्न भएका चुनावि माहोलहरुबाट प्रष्ट हुन्छ। निर्वाचनताका कतै दलीय राजनीतिका गुटगत झडपहरु देखीए भने कतै क्याम्पस प्रशासनमा तालाबन्दी, तोडफोड, आदि। पक्कै पनि सामाजिक सन्जालमा छताछुल्ल यी र यस्तै घट्नाक्रमहरुबाट विश्वदुनियाँमा हाम्रो उच्चशिक्षाका बारेमा के-कस्ता सन्देशहरु सम्प्रेशण भए होलान्? पार्न सक्ने दुर्गामि असरकाबारेमा देश र बिदेशमा केकस्तो समिक्षा भयो होला? विद्यालयतहका वालवालिकादेखि नेपालमै बसेर उच्चशिक्षा हाँसिल गरिरहेका तर दलीय राजनीतिबाट टाढै बस्न रुचाउँने ती होनहार प्रतिभाहरुको मानसिकतामा कस्तो असर पर्‍यो होला? यी र यस्तै तमाम प्रसङ्गहरु यसपटकको स्ववियु निर्वाचनताका पक्कै पनि छछल्किए; जुन विकसित विश्वदुनियाँकालागि नितान्त अपाच्य र चिन्ताजनक कुरा हो। तर, यस बिचमा नेपालका कतिपय स्थापित राजनीतिक दलहरुका माउ नेताहरु निकै हौसिए। स्ववियु निर्वाचनलाई मिनि आम निर्वाचनको उपमा दिदैं क्याम्पस/क्याम्पसमा पार्टीका नेताहरुलाई नै कमाण्ड सम्हाल्ने गरी जिम्मेवारी तोकेको खबरसमेत बाहिरिए।परिणामको पूर्वसन्ध्यादेखि होजोआजसम्मै कुन दलसंग केकति जनमतछ, त्यसको समेत जोखाना गर्न थालिसकेका छन्। शैक्षिक गुणस्तर, प्राज्ञिक संस्कार,शिक्षाको अन्तर्राष्ट्रियकरण,आदिका बारेमा चिन्तन/मनन् गर्नुपर्नेमा नेपालका मुख्यराजनीतिक दलहरु फरक खालको भाष्यमा तल्लिन हुनु निकै चिन्ताजनक कुरा हो।

हाल सम्मका अभ्यासबाट हेर्दा केही अपवाद बाहेक स्ववियु समितिले गर्नेगतिविधिहरु बढी राजनीतिक तथा कम प्राज्ञिक हुँदै आएका छन्। स्ववियु समिति जुन संघ/संगठन तथा दलसंगको बर्चस्वमा निर्वाचित छ, बर्षभरि तिनकै बिचारलाद्‍ने, क्याम्पस तथा विश्वविद्यालयहरुमा राजनीतिक सौदावाजी गर्ने र प्राज्ञिक भन्दा गैर-प्राज्ञिक (राजनीतिक) गतिविधिहरुमा संलग्न हुँदा स्ववियु निर्वाचन,यसको क्षेत्राधिकार तथा यथार्थतालाई पुनर्भाषित गर्न आवश्यक छ। तर यस खालको चिन्ता चाँसोले हालसम्म मुलधारको राजनीतिमा स्पेस नपाउँनु दुःखको कुरा हो। चिन्ताजनक कुरा त के भने नेपालका मुख्य राजनीतिक दलहरुले नै स्ववियु निर्वाचनलाई आ-आफ्नो दलगत जनमतको आधार परिक्षण तथा प्रतिष्ठाको लडाईको रुपमा लिँदा नेपालको विश्वविद्यालयतहको शिक्षालाई थप अनुदारतातर्फ धकेल्दै लगेको छ। यसरी भोलिको सुन्दर भविस्यको निर्माणमा लाग्नुपर्ने युवाविद्यार्थीहरुलाई पूर्णतयाः राजनीतिमा होमिन उद्यत गराउँनु पटक्कै राम्रो होइन। आजकाल त यस्तो लाग्न थाल्यो कि, हाम्रा विश्वविद्यालयहरुमा उचित शैक्षिक वातावरण नहुँदा आफ्नो उज्वल भविस्यप्रति प्रायः चिन्तित हुँने विद्यार्थीहरु नेपालमा बस्नै चाँहदैनन्। उकालिदो ब्रेनड्रेनलाई रोक्नका लागि समेत सरोकारवाला पक्षले सोच्नैपर्ने वाध्यता छ।

अन्तमा, नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन यहीका विश्वविद्यालयहरुले गर्ने हुन्। निश्चयनै, विश्वविद्यालयहरुमा प्राज्ञिक संस्कार छ भने तिनले गर्ने उत्पादन पनि संस्कारयुक्त र राम्रो होलान्; अन्यथा बेरोजगारी उत्पादन गर्ने कारखाना सिवाय थप हुन सक्ने छैनन्। हाम्रा विश्वविद्यालयहरुमा प्राज्ञिक संस्कार नहुनुका पछि तमाम कारणहरु होलान; तिनको समिक्षा पनि गरिनु पर्दछ।ती मध्यको एउटा महत्वपूर्ण कारक तत्व विद्यार्थी राजनीतिको अनावस्यक हस्तक्षेप पनि हो। दलीय राजनीतिबाट धुर्विकृत विद्यार्थी कल्याण परिषदको आवश्यकता विश्वविद्यालयतहमा अनुमान गर्न सकिए पनि हिजोआजको जस्तो दलीय राजनीतिसंगको आवद्धतासहितको विद्यार्थी राजनीतिका बारेमा भने पूनर्विचार गर्नै पर्ने देखिन्छ। यसको अन्तर्यलाई मध्यनजर गरी यथासिघ्र सुधारको बाटोमा लाग्नु आजको महत्वपूर्ण आवश्यकता हो।

(लेखक जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङका उपप्राध्यापक हुन् ।)

२०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

हाइनान (चीन) । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी चा दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो

 

कुलमानको बर्खास्ती पछि कसले के भने ?

काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ दलदेखि विपक्षी अनि जनस्तरसम्म पनि सरकारको चर्को आलोचना भइरहेको छ।

कुलमानलाई हटाउने सरकारी निर्णयको सत्तारूढ कांग्रेसका दुवै महामन्त्रीले विरोध गरेका छन्।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्दै कुलमान हटाउने निर्णयको विरोध गरेका हुन्।

कुलमानलाई हटाउने ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै नेता हुन्। ऊर्जामन्त्रीकै दलका दुई महामन्त्रीले भने सार्वजनिक रूपमा यो निर्णयको विरोध गरेका छन्।

सामाजिक सञ्जालमा असन्तोष प्रकट गर्दै महामन्त्री थापाले लेखेका छन्, ‘आमनागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफैं असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’

महामन्त्री थापाले सरकारले आफूहरूको सुझाव लत्याएको भन्दै उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न नसकिने बताएका छन्।

थापाले भनेका छन्, ‘हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो… तर विडम्बना त्यो भएन। निर्णय गलत छ सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयप्रति विमति प्रकट गरेका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो। कारबाही योग्य केही भए पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समायोचित बिल्कुलै भएन। यसप्रति खुला र प्रस्ट रूपमा विमति छ।’

नेपाली कांग्रेसका नेता डा.  शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्। आज बिहान सामाजिक सञ्जालमा लेखेर सरकारको कुशासनको निरन्तरताको अर्को कडीभन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताएका छन्। ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, उनले लेखेका छन्, ‘यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ’

नेकपा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयलाई गलत र आपत्तिजनक भनेका छन्।

उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन जनमा जानकारी छ।’

प्रचण्ड अगाडि लेख्छन्, ‘कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक पटक स्पष्टीकरण सोधेर अन्याय गरिँदै आएको थियो। आज भने सरकारले मन्त्रिपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ। आशा गरौं यो खबर असत्य साबित होस्। सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ।दुईतिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको निर्णयविरुद्ध मैनबत्ती बालेर विरोध जनाएका छन्।

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै गएराति १ मिनेट मैनबत्ती बालेर विरोध जनाएका हुन् ।

उनले फेसबुक लाइभमा आएर मैनबत्ती बालेर एक मिनेट मौन विरोध गरेका थिए। साथै उनले कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिने बताएका छन्। उनले फेसबुकमा यस्तो स्टाटस लेखेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुलमानलाई कार्यकालको अन्तिम समयमा हटाएर सरकारले अपमान गरेको टिप्पणी गरेका छन्। कुलमानलाई राम्रो काम गरेकाले सम्मानसाथ बिदाइ गर्नुपर्नेमा अपमान गरिएको उनको भनाइ छ। यस विषयमा संसद्‍मा आवाज उठाइने उनले बताए।
घिसिङको कार्यकाल सकिन चार महिना मात्र बाँकी रहेका बेला मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।

 

मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान अदालत जाने

काठमाडौँ, १२ चैतः नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। तर कुलमाननिकट स्रोतका अनुसार उनले मन्त्रिपरिषद्को निर्णयपत्र पाएलगत्तै अदालत जाने तयारी गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट थिए। उनले कुलमानलाई हटाउन पाँचचोटि त स्पष्टीकरण नै सोधेका थिए।

मन्त्री खड्काले कुलमानसँग स्पष्टीकरण लिन मन्त्रिपरिषद्मै प्रस्ताव लगेका थिए। मन्त्रिपरिषद्ले सोधेपछि पनि कुलमानले स्पष्टीकरण बुझाएका थिए। उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै आज उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो।

कुलमानलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ,११ चैत ।
सरकारले कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

उर्जामन्त्री दीपक खड्कासंग विवादपछि सरकारले कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएको हो । सरकारले कुलमानलाई पटक पटक स्पष्टिकरण सोधका थियो । लामो समय चलेको सरकार र कुलमानबीचको विवादपछि सोमवार उनी पदमुक्त भएका हुन् ।

२०७३ भदौ २९ को पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो ।

 

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य, कुलमान बर्खास्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

 

संक्रमणकालिन आयोगमा पदाधिकारी छान्न नयाँ समिति बन्ने

काठमाडौं । प्रमुख तीन दलका नेताहरू सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा पदाधिकारी सिफारिसका लागि नयाँ समिति गठन गर्न सहमत भएको प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सल्लाहकारले बताएका छन्।
सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार अपराह्न छलफल भएको थियो। प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि समिति बनाउने प्रक्रिया अघि बढाउन छलफल गरेका थिए।
“अब सिफारिस समिति गठनको प्रक्रिया अघि बढ्छ,” प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले बैठकपछि भने। यसअघि गठन भएको यस्तै समितिले निर्धारित समयभित्र पदाधिकारीहरूको नाम सिफारिस गर्न नसकेपछि सरकारले नयाँ समिति गठनको गृहकार्य अघि बढाएको हो। दुवै आयोगमा अध्यक्ष र सदस्य सहित पाँच-पाँच जना पदाधिकारी रहने व्यवस्था छ।
समितिले गरेको सिफारिसका आधारमा सरकारले दुवै आयोगका प्रमुख र सदस्यहरू नियुक्त गर्ने कानुनी व्यवस्था छ। गत अगस्टमा संसद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेपछि दुवै आयोगको काम अघि बढाउन लामो समयदेखि रहेको कानुनी रिक्तता पूर्ति भएको थियो।

अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु

रियाद – वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको द्रुत अन्त्यका लागि जोड दिइरहेका छन् र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन्।

दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ।

द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने छ। यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ।

रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो।

ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताए।

क्रेमलिनले भने द्रूत समाधानको अपेक्षालाई कम महत्व दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी टेलिभिजनसँग भने, ‘हामी यो बाटोको सुरुआतमा मात्र छौँ।’

उनले सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा धेरै प्रश्नहरू रहेको बताए।

 

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : महिला विधाको वर्ष खेलाडी मनोनयन सार्वजनिक

धनगढी : धनगढीमा यही चैत १९ गते आयोजना हुने ‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को वर्ष खेलाडी महिला विधाको मनोनयन आज सार्वजनिक गरिएको छ ।

खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा परेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । छनोट समितिका संयोजक सीताराम ओझाले खोखोकी धामी प्रथम विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी रहेको जानकारी दिए ।

उक्त विश्वकपमा उनी दुई खेलमा वेष्ट अट्याक, एकपटक वेष्ट प्लेयर र वेष्ट डिफेन्डरको उपाधि जित्ने खेलाडी हुन् । बक्सिङकी तिरुवा बहराइनमा भएको आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । कबड्डीकी विष्ट नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलोपटक कास्य पदक जिताउने कप्तान हुन् । इरानमा भएको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनसिपमा उनले नेपाली महिला टोलीलाई दुई दशकपछि कास्य पदक दिलाएकी थिइन् ।

स्पोट्स अवार्डमा आठ विधामा अवार्ड प्रदान गर्न लागिएको छ । यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छन् ।

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेकी छन् ।

उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधाका विजेतालाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारले पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो  ।

सुदूरपश्चिम आइकन महिला तथा पुरुष विधाका विजेतालाई जनही रु २० हजारसहित ट्रफी प्रदान गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको स्पोट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) धनगढीले गरेको छ ।

मञ्चले बर्सेनि स्पोट्स अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गर्ने गरेको छ ।

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुईजना पक्राउ

काठमाडौं। बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ। हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई ताकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले गौशाला-बत्तीसपुतली क्षेत्रबाट बुद्ध एयरको सफ्टवेयर ह्याक गरेका थिए।

पन्ध्र दिनअगाडिबाट उनीहरूले बुद्ध एयरको सफ्टवेयर ह्याक गरेको प्रहरीलाई बताएका छन्। ‘अहिलेसम्म २० जनाको टिकट बिक्री गरी उक्त रकम आफूले लाभ लिएको खुल्न आएको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

आफ्नो सफ्टवेयर ह्याक भएर टिकट धमाधम बिक्री भइरहेको थाहा पाएपछि बुद्ध एयरले उजुरी दिएको थियो।

पक्राउ परेका दुबैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

सांग्रिला प्लाई उद्योग आगलागी : करोडौँको क्षति

घोराही । घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् ।

ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए ।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।

आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् । रासस

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ४२ वटामा स्ववियु चुनाव

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भएको छ । ५ गते ३८ वटा क्याम्पसमा र त्यसपछि चारवटा क्याम्पसमा चुनाव भएको हो । त्रिभुवन विश्वविद्यालयका २० वटा आंगिक क्याम्पसमा चुनाव हुन बाँकी छ ।

अमृत साइन्स क्याम्पस काठमाण्डौ र पृथ्वीनारायण क्याम्पस पोखरामा हिजो चुनाव भएको छ । अमृत साइन्स क्याम्पमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना आज हुँदैछ ।

अहिलेसम्म ४२ वटा आंगिक र २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु चुनाव भएको विश्वविद्यालयले जनाएको छ । नेविसंघले १६ आंगिकसहित ११५, अनेरास्ववियुले १३ आंगिकसहित १०३ र अखिल (क्रान्तिकारी) ले १० आंगिकसहित ८५ वटा क्याम्पसमा स्ववियु चुनाव जितेका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, रत्नराज्य क्याम्पस (आरआर), त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, पाटन बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, शिद्धनाथ साइन्स क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी लगायत आंगिक क्याम्पसहरूमा स्ववियु चुनाव हुन बाँकी छ ।

 

प्रमुख तीन दलको बैठक बस्दैँ

काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।

संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेकाे बेलामा याे बैठक आवहान भएकाे हाे ।

गाजामा इजरायली हमलाबाट मारिनेको संख्या नाघ्यो ५० हजार

एजेन्सी  : गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या ५० हजार नाघेको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  युद्धअघि गाजामा २३ लाख जनसंख्या थियो। हाल मारिएको जनसंख्या ५० हजार २१ भनेको सो जनसंख्याको २.१ प्रतिशत हो। अर्थात् हरेक ५० जनामा एक जनाको हत्या इजरायलले गरिसकेको छ।
जम्मा १ लाख १३ हजार २७४ जना घाइते भएको सो मन्त्रालयले जनाएको छ। इजरायलले भने सो मन्त्रालयको तथ्यांकमा प्रश्न उठाउँदै आएको छ। तर, स्वतन्त्र रुपमा त्यहाँको तथ्यांक सार्वजनिक गर्ने पत्रकारहरूलाई इजारायलले गाजामा प्रवेश गर्न दिएको छैन। राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सो मन्त्रालयकै तथ्यांकलाई विश्वास गर्दै आएका छन्।
नोभेम्बरमा राष्ट्रसंघीय मानव अधिकार कार्यालयले मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका भएको जनाएको थियो। जनवरीमा द ल्यान्सेट जर्नलमा प्रकाशित शोधमा मारिनेहरूको संख्या मन्त्रालयले भनेभन्दा ४१ प्रतिशत ज्यादा हुनसक्ने उल्लेख थियो।
जनवरी तेस्रोको साताबाट हमासले बन्धक छाड्ने र इजरायली सेना गाजाबाट हट्ने सहमतिसहित सुरु भएको युद्धविराम इजरायलले मार्च १८ मा तोडेर आक्रमण सुरु गरेको थियो।

‘भ्वाइस अफ अमेरिका’ बन्द गर्न ट्रम्पको आदेश

एजेन्सी । सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरिसकेका छन्।

डोनाल्ड ट्रम्पले उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ‘उग्रवादी’ भएको आरोप लगाएका छन्।

बीबीसीका अनुसार भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले उनी र उनका लगभग १३०० कर्मचारीहरूलाई सशुल्क बिदामा राखिएको बताएका छन्।

भ्वाइस अफ अमेरिका सन् १९४२ मा नाजी र जापानी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो। यसले रेडियो, टेलिभिजन, र अनलाइन प्लेटफर्महरू मार्फत धेरै भाषाहरूमा समाचार र कार्यक्रमहरू प्रदान गर्दछ।

 

पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने बताएका छन्। सरकारले पूर्वविशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेको विषय बाहिरिएसँगै नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्।

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेको समयमा सरकारले पूर्वउच्च पदस्थहरूको सेवा सुविधा बढाउने कुरा गर्न देश र जनताको हितमा नहुने उनको भनाइ छ। ‘अर्थतन्त्र अप्ठ्यारोमा छ। यो पूर्वउच्च पदस्थहरूको सेवा बढाउने नभइ पाइरहेको सेवालाई समेत केही कटौति गरेर देश र जनताको पक्षमा काम गर्ने समय हो,’ उनले भने।

राज्यबाट राजनीतिक तवरमा सुविधा खानेहरूको अर्थतन्त्र सुदृढ नहुँदासम्म पाउने पारिश्रमिकसमेत कटौति गर्न आवश्यक रहेको उनले बताएका छन्। ‘यो जनतालाई सुविधा प्रदान गर्ने बेला हो। कांग्रेस ठूलो सत्तारुढ दल भएकाले यस्ता जनभावना विपरितका निर्णयमा सरकारलाई साथ दिनु हुँदैन। निर्णय सच्याउन पहल गर्नुपर्छ,’ उनले भने।

अर्थतन्त्र अप्ठ्यारोमा रहेको अवस्थामा देशको नेतृत्व गर्ने व्यक्तिले मिल्न सक्ने खर्च कटौती गर्नु उपयुक्त हुने उनको धारणा छ। आफैँले आफ्ना लागि कानुन निमार्ण गरी पूर्वउच्च पदस्थका हैसियतमा सरकारी सुविधाको दोहनलाई आमनागरिकले प्रश्न गरिरहेको समयमा थप सुविधा बढाउँदा जनतामा राम्रो सन्देश नजाने र यो मुलुकको हितका लागि उपयुक्त नहुने महरले बताएका छन्।

‘आजको दिनमा राजनीतिप्रति आमनागरिकमा वितृष्ण बढ्दै गएको यथार्थ सर्वविदितै छ। नेता तथा दलको यस्तै सामान्यभन्दा सामान्य कुरामा ध्यन नदिँदा वितृष्णालाई बढावा दिइरहेको छ। नेता तथा दलले सरकारी सेवा सुविधाको मोहलाई त्याग्न सक्नु नै उपयुक्त हुन्छ,’ उनले भने। यस्तो हुन सके मात्र जनतामा लोकतन्त्रप्रतिको विश्वास बढ्ने महरको धारणा छ।

एमसीसी परियोजनाले निरन्तरता पाउने

काठमाण्डौं,१० चैत ।
रोकिएको अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले निरन्तरता पाउने भएको छ ।

अमेरिकी सरकारले एमसीसी अन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले जनाएको छ ।

अमेरिकी सरकारको अनुमतीपछि एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएको हो ।

‘अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ, शुक्रबार एमसीसी नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने कुनै संकेत गर्दैन ।

अमेरिकी सरकारले एमसीसी परियोजनाका ९० दिनको समीक्षा अवधि जारी गरेकोले यसले पूर्णरुपमा निरन्तरता पाउने नपाउने भन्ने विषयमा भने दुविधा छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो । एमसीसीले गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो । अहिले त्यही स्थगित परियोजना पुनः सुरु हुने भएको छ ।

एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । ०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको हो । सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ । गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो ।

जोखिम व्यवस्थापन र बीमामा समसामयिक मुद्दाहरू सम्बन्धी गोष्ठी धनगढीमा सम्पन्न

धनगढी, ९ चैत ।
नेपाल ईन्स्योरेन्स प्रोफेसनल सोसाईटी(निप्स) को आयोजना तथा नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेण्ट एशोसिसयन(निरमा) को सहकार्यमा जोखिम व्यवस्थापन र बीमामा समसामयिक मुद्दाहरू सम्बन्धी गोष्ठी शनिवार धनगढीमा सम्पन्न भएको छ ।

गोष्ठीका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला राज्य मन्त्री प्रकाश बमले बीमा दुख पर्दाको साथी भएकोले बीमामा सबैको पहूँच सुनिश्चित गर्नुपर्ने बताए ।

“बीमा दुख पर्दाको साथी हो । तर बीमा भित्रका समस्या र बीमाका बारेमा जानकारीको अभावमा बीमामा सबै नागरिक जोडिन सकेका छैनन्,” आर्थिक मामिला राज्यमन्त्री बमले भने, “प्रदेश सरकार बीमा सम्बन्धि सचेतना र बीमामा सबैको पहूँच सुनिश्चित गर्न सहकार्य र सहयोग गर्न तयार छ । ”

कार्यक्रममा विशिष्ट अतिथिद्वय नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख हृदयश्वर पण्डित र नेपाल री-ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले बीमाको महत्वका बारेमा चर्चा गरे ।

नेपाल ईन्स्योरेन्स प्रोफेसनलस सोसाईटी कैलालीका अध्यक्ष सुनील श्रेष्ठले स्वागत मन्तव्यसंगै गोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए ।

निरमाका अध्यक्ष प्रा. डा.रविन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन निप्स कैलालीका सचिव नर बहादुर नेगीले गरेका थिए । गोष्ठीमा जीवन तथा निर्जीवन बीमा र लघु बीमा कम्पनीका गरी एक सय २० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पाँच लाख आप्रवासीको कानूनी मान्यता खारेज गर्ने ट्रम्प प्रशासनको घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानूनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी वर्षको जनवरीसम्म लागू हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले अक्टोबर २०२२ मा सुरु गरेको एक योजना अन्तर्गत संयुक्त राज्य अमेरिका आएका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकहरूलाई प्रभावित गर्नेछ ।

अमेरिकी गृह मन्त्रालयको आदेश सङ्घीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि उनीहरूले आफ्नो कानुनी सुरक्षा गुमाउने छन् । यसको अर्थ यो कार्यक्रमद्वारा प्रायोजित आप्रवासीहरूले अप्रिल २४ सम्ममा ‘संयुक्त राज्य अमेरिका छोड्नुपर्छ’ जबसम्म उनीहरूले देशमा रहन अनुमति दिने अर्को आप्रवासन स्थिति प्राप्त गर्दैनन्, आदेशमा भनिएको छ।

संयुक्त राज्य अमेरिकामा शरण लिन चाहनेहरूलाई समर्थन गर्ने गैरनाफामुलक संस्था वेलकम डट युएसले कदमबाट प्रभावित भएकाहरूलाई ‘तुरुन्तै’ अध्यागमन वकिलको सल्लाह लिन आग्रह गरेको छ।

सन् २०२३ को जनवरीमा घोषणा गरिएको क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकका लागि (सीएचएनभी) कार्यक्रमले मानव अधिकारको गम्भीर अभिलेख भएका यी चार मुलुकबाट प्रतिमहिना ३० हजार आप्रवासीलाई दुई वर्षका लागि अमेरिका प्रवेशको अनुमति दिएको थियो ।

बाइडेनले यो योजनालाई अमेरिका र मेक्सिकोको भीडभाड हुने सीमामा दबाब कम गर्ने ‘सुरक्षित र मानवीय’ तरिकाको रूपमा व्याख्या गरेका थिए । गृह मन्त्रालयले शुक्रबार यो योजना ’अस्थायी’ भएको बताएको छ ।

आदेशमा भनिएको छ, “प्यारोल स्वाभाविक रूपमा अस्थायी हो, र प्यारोल मात्र कुनै पनि अध्यागमन स्थिति प्राप्त गर्नका लागि अन्तर्निहित आधार होइन, न त यो संयुक्त राज्य अमेरिकामा प्रवेश हो।”

क्यालिफोर्नियाका अध्यागमन वकिल निकोलेट ग्लेजरका अनुसार यो आदेशले सीएचएनभी योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका ५० लाख आप्रवासीमध्ये अधिकांशलाई असर गर्नेछ ।

“यसका लागि ‘केवल ७५ हजार शरण आवेदनहरू कानूनी रूपमा दायर गरिएको थियो, त्यसैले सीएचएनभी प्यारोलहरूको विशाल बहुमतले आफूलाई स्थिति, वर्क परमिट र निष्कासनको लागि योग्य ठहर गर्नेछ,” उनले एक्समा पोस्ट गरेका छन् ।

ट्रम्पले गत साता भेनेजुएलाको एक गिरोहका २०० भन्दा बढी कथित सदस्यलाई एल साल्भाडोरमा उडाउने दुर्लभ युद्धकालीन कानून लागू गरेका थिए ।

वासिङ्टनका नेता निकोलस मदुरोको नेतृत्वमा तेलको धनी भेनेजुएलाको अर्थतन्त्र धरासायी भएपछि पछिल्लो एक दशकमा ७० लाखभन्दा बढी भेनेजुएलावासीले आफ्नो देश छाडेका छन् । (रासस/एएफपी)

 

पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री

काठमाडौँ, ९ चैतः   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हँुदैन भने । राज्यले उनिहरुलाई मानसम्मान गर्नु ठीक हो तर सुविधा भने दिननहुने बताए ।

उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिए ।  “मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ”, उनले भने ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।

जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै

एजेन्सी ।  ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ ।

म्याप बायोमास अनुगमन प्लेटफर्मको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ देखि गत वर्षसम्म देशले चार लाख हेक्टर जलीय सतह गुमाएको छ । यो लगभग अमेरिकी राज्य रोड आइल्यान्डको आकार बराबरको क्षेत्र हो ।

पछिल्लो १६ वर्षमा केवल सन् २०२२ ले वृद्धि देखिएको छ र १९८५ देखि मुलुकले सुक्खा, सहरी विकास र जमिनमुनिको पानीको सतहबाट अति पम्पिङका कारण करिब २४ लाख हेक्टर नदी र तालको सतह गुमाएको छ ।

“भूमि अधिग्रहण र उपयोगको गतिशीलता, साथै विश्व तापमानले गर्दा भएका चरम जलवायु घटनाहरूले ब्राजिललाई अझ सुक्खा बनाउँदै छन्”, म्यापबायोमास अगुआ प्रतिवेदनका समन्वयक जुलियानो शिर्मबेकले विश्व जल दिवसअघि प्रतिवेदनमा भनेका छन्, “यी तथ्याङ्कले यस प्रवृत्तिलाई उल्ट्याउने अनुकूलन जल व्यवस्थापन रणनीति र सार्वजनिक नीतिहरूको आवश्यकताबारे चेतावनीका रूपमा काम गर्दछन ।”

ब्राजिलले नोभेम्बरमा अमेजन राज्य पाराको राजधानी बेलेममा कोप–३० संयुक्त राष्ट्र जलवायु सम्मेलनको आयोजना गर्नेछ ।

ब्राजिलको सतहको लगभग दुई तिहाइ पानी अमेजनमा पाइन्छ, जसले ग्रह–तापक्रम कार्बन डाइअक्साइड अवशोषित गर्दछ र जलवायु नियमनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

गत वर्ष अमेजनमा सतहको पानीको विस्तार सन् २०२२ को तुलनामा ४५ लाख हेक्टरले सङ्कुचित भएको प्रतिवेदनले बताएको छ । यो डेनमार्कको आकारको क्षेत्र बराबर हो ।

गत वर्ष खडेरी र डढेलोले ध्वस्त पारिएको पान्टानल सिमसार क्षेत्र सन् २०२४ मा पानीको सतहबाट सबैभन्दा बढी प्रभावित बायोम थियो । यो सन् १९८५ पछि मापन गरिएको औसतभन्दा ६१ प्रतिशत कम थियो ।

मानव निर्मित जलाशय र बाँध जस्ता जलाशयहरू सन् १९८५ देखि ५४ प्रतिशतले विस्तार भए पनि यसले प्राकृतिक ताजा पानीको स्रोतको नोक्सानीको क्षतिपूर्ति गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । रासस

ट्रम्पले गरे शिक्षा विभाग बन्द गर्ने निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभागलाई बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

यो निर्णय ट्रम्पको चुनावी वाचा मध्ये एक थियो। आदेशमा हस्ताक्षर गरेपछि उनले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं। यसबाट कुनै फाइदा भइरहेको छैन।’

ट्रम्पले लामो समयदेखि शिक्षा विभाग खारेज गर्ने माग गर्दै आएका थिए। यद्यपि, यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि अमेरिकी संसद (कंग्रेस) को स्वीकृति आवश्यक हुनेछ, जुन तत्काल सम्भव देखिँदैन।

ट्रम्पको यो कदमलाई पहिले नै कानुनी चुनौतीहरू सामना गर्नुपरेको छ। केही समूहहरूले शिक्षा विभाग बन्द गर्ने र अघिल्लो हप्ता घोषणा गरिएका कर्मचारी कटौतीको निर्णयलाई रोक्ने प्रयासमा मुद्दा दायर गरेका छन्।

विद्यार्थीहरूको कमजोर सफलता दरप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले भने, ‘अमेरिका अरू कुनै देशभन्दा धेरै शिक्षा क्षेत्रमा पैसा खर्च गर्छ, तर यसका बाबजुद पनि विद्यार्थीहरूको नतिजा कमजोर छ।’

शिषा विभाग कलेज र विश्वविद्यालयका विद्यार्थीहरूका लागि संघीय छात्रवृत्ति र ऋण व्यवस्थापन गर्ने, साथै कम आय भएका र शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहायता पुर्‍याउने काम गर्छ ।

चीनले चार जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित

एजेन्सी । टोरोन्टो-क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार गरेको थियो ।

क्यानडाले सबै प्रकारको मृत्युदण्डको विरोध गरेको बताएको छ । क्यानडाले पीडित परिवारलाई सहयोग गरिरहेको छ । अर्कोतर्फ, चीनले फाँसीको बचाउ गर्दै यी व्यक्तिहरू लागूऔषध मुद्दामा दोषी रहेको बताएको छ। यो घटनाका कारण क्यानडा–चीन सम्बन्धमा तनाव उत्कर्षमा पुगेको छ ।

चीनले लागूऔषधका सम्बन्धमा आफ्नो नीति निकै कडा रहेको बताएको छ । चीनले यी व्यक्तिलाई कानुनअनुसार सजाय दिइएको पनि बताएको छ । चीनले क्यानडालाई आफ्नो कानून र न्याय प्रणालीको सम्मान गर्न र आधारहीन बयानहरू बन्द गर्न आग्रह गरेको छ।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले ४ जना क्यानाडाली नागरिकको दोहोरो नागरिकता रहेको बताएकी छन् । क्यानाडाले यस्तै मामिलाहरू सामना गरिरहेका आफ्ना अन्य नागरिकहरूको लागि उदारता खोज्नेछ। तर, विज्ञहरूले यसको पछाडी अनेक खेलको औंल्याइ रहेका छन्। चीनले बारम्बार आफ्नो कुरा बुझाउन यस्ता रणनीति अपनाउने गर्ने गरेको जनाउँदै आएका छन् । उनीहरुले यो खेल २०१८ को जस्तो नहोस् भन्ने लाग्छ । सन् २०१८ देखि क्यानाडा–चीन सम्बन्धमा तनाव छ ।

त्यसपछि ट्रम्प प्रशासनको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई भ्यानकुभरमा हिरासतमा लिइएको थियो भने
बदलामा चीनले तुरुन्तै २ क्यानाडाली नागरिकलाई पक्राउ गरेको थियो । त्यसपछि दुबै वार्ताको टेबलमा आए र पछि मेग र दुबै क्यानेडियन नागरिकलाई २०२१ मा रिहा गरियो।

यस महिनाको सुरुमा पनि चीनले क्यानाडाली कृषि र खाद्य उत्पादनहरूमा २.६ बिलियन भन्दा बढी ट्यारिफ घोषणा गर्यो। ओटावाले गत वर्ष चिनियाँ विद्युतीय सवारी साधान, स्टिल र आल्मुनियम उत्पादनमा लगाएको शुल्कको प्रतिक्रियामा यो कदम चालिएको हो।

ओटावास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा क्यानडाले गैरजिम्मेवार टिप्पणी गरिरहेको बताएको छ। दूतावासले मृत्युदण्ड दिइएको हो कि भनेर पुष्टि गरेन, तर चीनले लागुऔषध सम्बन्धी अपराधका लागि सधैं कठोर सजाय दिइरहेको छ र लागूऔषध समस्या प्रति शून्य सहनशीलताको दृष्टिकोण राख्ने गरेको भने स्पष्ट पारेको छ ।

 

खोज्नुहोस