तीनकुने घटनामा सहभागी थप ४१ जना पक्राउ

काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुरअन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु पक्राउ गरिएको हो ।

रवि लामिछानेको नेतृत्वमा रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने पनि पुगेका छन् । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि कार्यवाहक सभापतिको डीपी अर्याललाई तोकिएको थियो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आजको बैठकको नेतृत्व सभापति लामिछानेले गरेका छन् ।

भाटभटेनी तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो

काठमाडौँ : काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति भएको छ। शुक्रबार राजावादीहरूको प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ। राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए।त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ। त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

फ्रिज र शोकेस २ लाख ६५ हजार क्षति भएकोमा ९४ हजार नगदसमेत लुटिएको भाटभाटेनीले जानकारी दिएको छ।  त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शोकेश तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ। भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना आजै पक्राउ परेका छन्।

म्यान्मामा भूकम्पका कारण उच्चस्तरको आपतकालीन अवस्थाः डब्लूएचओ

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले म्यानमामा गएको भूकम्प उच्चस्तरीय आपतकालीन अवस्था भएको बताउँदै जीवन रक्षा र रोगको प्रकोप रोक्न तत्काल ८० लाख अमेरिकी डलर माग गरेको छ।

डब्लूएचओले देशमा सीमित शल्यक्रिया क्षमताका कारण ठूलो संख्यामा हताहत र घाइते भएकाहरू संक्रमणको उच्च जोखिममा रहेको बताएको छ। विश्व स्वास्थ्य सङ्गठनले भूकम्पले रोगको जोखिम बढाउने सम्भावना रहेको बताएको छ।

‘डब्लुएचओले यस सङ्कटलाई तेस्रो तहको सङ्कटका रूपमा वर्गीकृत गरेको छ, जुन यसको इमर्जेन्सी रेस्पोन्स फ्रेमवर्क अन्तर्गत सक्रियताको उच्चतम स्तर हो,’ संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले कोषका लागि गरेको अपिलमा भनिएको छ।

म्यान्माको मान्डले शहरनजिकै शुक्रबार ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्यूडको परकम्प गएको थियो। भूकम्पका कारण म्यानमामा एक हजार ७०० भन्दा बढी र छिमेकी मुलुक थाइल्याण्डमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

‘प्रारम्भिक आँकलनले म्यान्मामा हताहत हुने र आघातसँग सम्बन्धित घाइतेहरूको सङ्ख्या उच्च रहेको देखिन्छ। यसलाई आपतकालीन हेरचाहको लागि तत्काल आवश्यकता पर्दछ। विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ, स्वास्थ्य सेवाहरूको पहुँच बिग्रिरहेको छ र पानीजन्य र खाद्यजन्य रोगहरूको प्रकोपको जोखिम बढेको छ,’ डब्लुएचओले भनेको छ।

कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण कार्यकर्ताहरुको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

राप्रपा र निकटका संगठनले नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित विरोध प्रदर्शन गरेका हुन् । झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगाएत सम्पूर्ण राष्ट्रवादी नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरुले प्रदर्शन गरे ।

शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए ।

जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले माओवादीलगायतका दललाई ‘तपाईंहरु मान्छे नमारी, तोफोड नगरी आएको हो ?’ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि टिक्न सक्दैन । गणतन्त्र जान्छ । त्यसकारण जनताको, युवाको शक्तिलाई होच्याउने काम नगर्नुस् । चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस, एमाले भन्नेहरु आज यो सत्तामा भजन–किर्तन मादल बजाउँदै आइपुगेको हो ? तपाईंहरु तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? त्यसकारणले सविन महर्जन हिँडिरहेको बेला गोली किन हानियो, छतमाथि बसेर अश्रुग्यास किन प्रयोग गरियो ? त्यसको जवाफ चाहिन्छ ।’

साथै अध्यक्ष लिङ्देनले गणतन्त्रवादी नेताहरुले व्यवस्थाको नाममा लुट मच्चाइरहेको आरोप लगाएका छन् । उनले किर्ते कुराले अबको युवा पुस्ता नमान्ने बताए ।उनले भने, ‘कथाले, शब्द जालले अबको पुस्ता मान्नेवाला छैनन् । तपाईँको मिथ्याङ्कले, मिथ्या इतिहासले अबको पुस्ता मान्नेवाला छैनन् । अहिलेको डिजिटल युवा, अहिलेको सूचना प्रविधिका युवा यसबाट राम्रो परिचित छ । तपाईँले राजा किन हटाउन खोज्नु भएको रहेछ, राजा हटाएपछि नारायणहिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो ? के–को लागि तपाईँले राजा हटाउनु भएको रहेछ, युवा पुस्ताले हेरिरहेको छ । राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मच्चाइरनु भएको छ ? जनताले हेरिरहेका छन् । तपाईँको किर्ते कुराले अबको युवा पुस्ता मान्दैनन् ।’

इद सद्भाव र पारिवारिक मिलनको पर्व : प्रदेश प्रमुख मियाँ

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको महत्वपूर्ण इद (इद–उल–फित्र) आपसी सद्भाव, भाइचारा र पारिवारिक मेलमिलापको पर्व रहेको बताएका छन् ।

इद पर्वको अवसरमा आज देश विदेशमा रहनूभएका सबैलाई शुभकामना दिदै उनलेले यो खुशी र हर्षोल्लासको पर्व रहेको बताएका हुन । प्रदेश प्रमुख मियाँले इस्लाम धर्मावलम्वीहरुले इद–उल–फित्रलाई रिस, राग, द्वेष बिर्सेर हर्षोल्लासपूर्वक मनाउने गरेको उल्लेख गरे।

पर्वले राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा दिने गरेको प्रदेश प्रमुख मियाँको भनाइ छ । उनलेले इदले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, समझदारी, समन्वय, मेलमिलाप एवम् भाइचारको भावना बढाउने विश्वास व्यक्त गरेका छन्।

इस्लाम धर्मावलम्वीको महान पर्व इद–उल–फित्र पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्ने गर्दछ । औंसीपछिको पहिलो चन्द्रमा यो पर्व निर्धारणमा एकदम महत्वपूर्ण हुने गरेको जनाइएको छ । त्यसकारण पनि इस्लामिक रीतिअनुसार रमजानको अन्तिम दिन साँझमा सबैले चन्द्रमा हेर्ने गरेका जनाइएको छ ।

जब हिजल अर्थात अर्ध चन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तबमात्र रमजान महिनाको कठीन व्रतको समापन र इद उल फित्र पर्वको प्रारम्भ हुनेगरेको शुभकामना सन्देशमा उल्लेख छ ।

वन्यजन्तु अपराध नियन्त्रण गर्न संरक्षणकर्मी र सुरक्षाकर्मीलाई तालिम

दार्चुला । पछिल्लो समय बढ्दै गइरहेको वन्यजन्तु चोरी सिकारी, अवैध ओसारपसार तथा अपराध नियन्त्रण गर्नका लागि दार्चुलाका संरक्षणकर्मी र सुरक्षाकर्मीलाई (क्राइम सिन प्रोसिडर ट्रेनिङ) प्रदान गरिएको छ ।

नेपाल सरकार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रम कञ्चनपुरले वन्यजन्तु चोरी सिकारी, अपराध नियन्त्रणको पहिलो घेरामा रहेका दार्चुलाका संरक्षणकर्मी, सुरक्षाकर्मी र अपराध नियन्त्रण संग प्रत्येक्ष सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिहरुलाई पाँच दिनसम्म तालिम प्रदान गरेको हो ।

जिल्लाको अपिनाम्पा संरक्षण क्षेत्र तथा डिभिजन वन कार्यालयको क्षेत्रभित्र हुने वन्यजन्तु चोरी सिकारीका घटनाहरुलाई न्यूनीकरण गरी वन्यजन्तु अपराध र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी० शुक्लाफाँटा संरक्षण कार्यक्रमका बरिष्ठ संरक्षण अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिए ।

उहाँका अनुसार यस किसिमको तालिम सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुका वन्यजन्तु अपराध नियन्त्रणका लागि पहिलो घेरामा खटिने संरक्षणकर्मी र सुरक्षाकर्मीहरुलाई तालिम प्रदान गरिसकिएको छ । चोरी सिकारीविरुद्ध सामुदायिक संलग्नता बढाउन र अपराध नियन्त्रण गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हिमाली जिल्ला दार्चुलामा हिँउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । तालिममा जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका संरक्षणकर्मी, डिभिजन वन कार्यालयका वन कर्मचारी र जिल्ला हुलाक कार्यालयका कर्मचारी लगायत २७ जनाको सहभागिता थियो ।

तालिम १४ चैत देखी सञ्चालन गरिएकोमा सोमबार ९आज० समापन गरिएको छ । तालिमको सहजीकरण जिल्ला न्यायाधीश पुष्पराज पाण्डे, जिल्ला न्यायाधिवक्ता राजेन्द्र भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक प्रकाश दाहाल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनय झा, डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख लक्ष्मीराज जोशीले गरेका थिए। -गोरखापत्र

प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको अवरोध

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध गरेका छन् ।

उनीहरूले उठेर नियमावलीको प्रश्न उठाउँदै होहल्ला गरेका हुन् । उनीहरूलाई प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए ।

तिनकुने घट्नामा संलग्न जो सुकैमाथि कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ गते काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले गरेको सभा भव्य भएको र सभाबाट संविधान र व्यवस्थाप्रति प्रतिबद्धता जनाईएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका छन् । तर, सोही दिन तिनकुनेमा आयोजित प्रदर्शनको आयोजक को थियो भन्ने थाहा पाउन द्धिविधा रहेको सुनाए ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले तिनकुनेमा सभा गर्ने भनेकाहरुले सभा नगरेर उत्तेजक प्रदर्शन र अराजनीतिक नारा लगाएको टिप्पणी गरे ।

राजावादीहरुको प्रदर्शनमा गुण्डागर्दी भएको, निजी र सार्वजनिक सम्पत्ति तोडफोड गरिएको प्रधानमन्त्री ओलीको भनाई छ । उनले तिनकुनेमा निन्दनीय र खेदजनक कार्य भएको टिप्पणी गरे । उनले भने,‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन, यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’

वैदिक मोडेलको गहनान धाम 

-प्रेम राज अवस्थी

ह्वाट्सएप टिङ्ग्रिङ्ग बज्यो, ‘’गहनान धाममा हुने भागवत महापुराणमा हार्दिक निमन्त्रणा र सहयोगका लागि अनुरोध छ।’’ केही सहयोग गरेँ, अरूलाई पनि सहयोग गर्न प्रेरित गरेँ। मन यतिकैमा रोकिएन, गहनाको प्रवर्द्धनका बारेमा लेख्नु पर्छ भन्ने लाग्यो। 

के आई सिंह राजमार्ग सँगै जोडिएको साकल्या ऋषिले सिद्धि प्राप्त गरेको सकायल गाड (साकल्या नदी) र सेती नदीको सङ्गम, धार्मिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण तीर्थस्थल भए पनि मकर-सङ्क्रान्तिमा बाहेक अरू बेला यहाँ खास चहल-पहल हुँदैन। केही समयअघि प्रकाशित ‘गहनानलाई आध्यात्मिक केन्द्र बनाउने तीन दशकअघिको प्रयास’ लेखमा गहनानको ऐतिहासिकता, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका बारेमा उल्लेख थियो। गङ्गा स्नान, विवाह, व्रतबन्ध लगायत अन्य धार्मिक कर्मकाण्ड गरिने यो स्थान नेपालको पाशुपत, रुरु र बराह क्षेत्र जतिकै महत्त्वपूर्ण भए पनि उचित प्रचार प्रसार र संवर्द्धनको कमीले ओझेलमा परको कुरा सर्वविदितै छ। 

यस्तो महत्त्वपूर्ण धामलाई समाजको हितमा उपयोग गर्न कसैले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता खट्किराखेको बेला, स्थानीय समाजसेवी तथा डोटी र डडेलधुराका शिखर, नवदुर्गा, र गन्यापधुरा पालिकाको सहकार्यमा गहनान धामको प्रवर्द्धन कार्य अघि बढाइनु सराहनीय छ। यस पवित्र स्थलमा चैत्र १७ देखि २५ गतेसम्म आयोजना हुने श्रीमद्भागवत महापुराण ज्ञान यज्ञ, धन्याञ्चल लक्ष्य हवन महायज्ञमा हजारौँको सहभागिताले प्रवर्द्धनलाई थप ऊर्जा प्रदान गर्नेछ।

गहनान धामको प्रवर्द्धन कसरी गर्ने ?

भौतिक संरचनामा मात्र जोड दिने कि प्राकृतिक स्रोत-साधनहरू, नदी-नाला, वन-जङ्गल, तथा जलवायु-मौसमको अधिकतम उपयोग गर्दै समग्र विकासलाई अघि बढाउने भन्ने विषयमा स्थानीय नीति निर्मातासहित समग्र समाजले उचित निर्णय गर्न आवश्यक छ। विश्वभर भौतिक संरचनाभन्दा प्रकृति र मौलिक संस्कृतितर्फ आकर्षण बढिरहेको र प्राचीन सभ्यताको खोजी गर्ने प्रवृत्ति बढ्दै गएको परिप्रेक्ष्यमा, वैदिक विधि बाट गहनानको प्रवर्द्धन गर्दा पर्यटकीय आकर्षण बढ्ने निश्चित छ।

गेट र टावरजस्ता भद्दा संरचनाहरू निर्माणका लागी सर्वसाधारणबाट उठाइएको चन्दा वा जनताको कर खर्च गर्नु उचित हुँदैन। त्यसैले, प्राकृतिक स्रोत-साधनको उपयोग गर्दै आवश्यक पाटी र पौवाहरू लगायतका संरचनाहरू, डोटेली वास्तुकलाको झल्को दिने गरी निर्माण गर्दा सांस्कृतिक सौन्दर्यलाई अझ समृद्ध बनाउन सकिन्छ। पुर्खाहरूको ज्ञानलाई अपनाएर गहनान धामको संवर्द्धन ‘हरित विकास’ को अवधारणासँग मेल खाने वैदिक मोडेल अनुसार गर्नुपर्दछ ।

वैदिक मोडेल के हो ? 

संक्षेपमा, आध्यात्मिक, सांस्कृतिक, र प्राकृतिक पक्षहरूलाई समेटी वेदमा आधारित प्रवर्द्धनात्मक कार्य नै वैदिक मोडेल हो। मानव, प्रकृति, र परमात्माबिचको सन्तुलन वैदिक दर्शनको मूल सार हो र यही दर्शनको आधारमा गहनान धामको प्रवर्द्धन गर्नुपर्छ।

सुरुवाती चरणमा पूर्ण रूपमा सञ्चालन गर्न नसके पनि, कम्तीमा वर्षको केही हप्ता वा महिना वेद-पाठशाला र यज्ञ-शाला सञ्चालन गरी संस्कृत भाषा, योग, र आयुर्वेदको अध्ययनमार्फत अध्यात्मको पुनरुत्थान र सांस्कृतिक पुनर्जागरण सम्भव छ। साथै, सङ्गीत, नृत्य, तथा पुराण वाचनजस्ता कार्यक्रमहरूले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न वृक्षारोपण, आधारभूत पूर्वाधार निर्माण, तथा सांस्कृतिक संवर्द्धनलाई प्राथमिकता दिन आवश्यक छ।।

स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउन समुदाय-केन्द्रित प्रवर्द्धनात्मक कार्यहरू, जस्तै जैविक कृषि, जडीबुटी तथा हस्तकला उद्योगहरूको प्रवर्द्धन गर्न आवश्यक छ। साथै, डोटेली वास्तु शास्त्रमा आधारित अतिथि गृहहरू निर्माण गरी गहनानलाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकसित गर्न सकिन्छ। यसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको आर्थिक स्तर उकास्न र सांस्कृतिक सम्पदाको संरक्षणलाई समानान्तर रूपमा अघि बढाउन मद्दत गर्नेछ।

प्रकृति संरक्षण वैदिक मोडेलको एक महत्त्वपूर्ण अङ्ग हो। गहनान क्षेत्र उपोष्णदेखि समशीतोष्ण हावापानीयुक्त भएकाले यहाँ साल, चिउरी, साज, सिमल, खयर, बर, पिपल, बाँस, सल्ला, अमला, र हर्रोजस्ता रूखहरू पाइन्छन्। वृक्षारोपण गर्दा प्राकृतिक सन्तुलन र मौलिकता कायम राख्न रैथाने प्रजातिहरूलाई प्राथमिकता दिनुपर्छ। साथै, धार्मिक महत्त्व बोकेका साल, पिपल, रुद्राक्ष, अशोक, चमेली, र नीमका साथै आँप, कटहर, अमला, र बेलजस्ता बहु-गुणी बिरुवा रोपेर वरपरका वन-जङ्गललाई सुदृढ गर्न सकिन्छ।

गहनान धामको आध्यात्मिक महत्त्वलाई अझ सुदृढ गर्न, एउटा उपयुक्त डाँडामा शान्त, पवित्र, र ध्यानयोग्य स्थलका रूपमा तपोवन स्थापना गर्न सकिन्छ। तपोवन साधकहरूको ध्यान, तपस्या, र आध्यात्मिक ऊर्जा सम्प्रेषणका लागि आदर्श स्थान हुनेछ। यस क्षेत्रलाई प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरणयुक्त बनाउन पीपल, बर, बेल, र अमलाजस्ता पवित्र वृक्षहरू रोप्नुका साथै कुशका झाडीहरू र दुबोको हरियाली चौरको व्यवस्थापन गर्न सकिन्छ।

नदीको अर्को किनारमा भगवान् कृष्णको लीला स्थलको प्रतीक स्वरूप वृन्दावनको स्थापना गर्न सकिन्छ। भक्ति भावले ओतप्रोत वातावरण सिर्जना गर्न श्रीखण्ड, तुलसी, चम्पा, अशोक, र अन्य सुगन्धित तथा पवित्र बिरुवाहरू रोप्दा धार्मिक पर्यटनलाई टेवा पुग्नेछ। प्राकृतिक सुगन्धले भरिएका पुष्पहरू र रङ्गिन हरियालीले वातावरणलाई अझ आकर्षक, शान्तिपूर्ण, र आध्यात्मिक ऊर्जा सम्पन्न बनाउनेछ।

त्यस्तै, नन्दन वनको अवधारणाअनुसार पारिजात, गुलाब, मोरिंगा, र अशोक जस्ता सुगन्धित फूलहरू रोपेर स्वर्गीय सौन्दर्यको अनुभूति दिन सकिन्छ। नदीको अर्को किनारमा भगवान् शिवको तपोभूमिका रूपमा दारुक वनको विकास गर्न सकिन्छ। यहाँ रुद्राक्ष, धतुरा, हर्रो, बर्रो, अमला, र नीम जस्ता धार्मिक र औषधीय गुणयुक्त बिरुवाहरू रोपेर वातावरणलाई शान्तिपूर्ण र आध्यात्मिक बनाउन सकिन्छ।

दण्डकारण्यको अवधारणामा आधारित वनको स्थापना गर्न शाल, अर्जुन, खैर, चन्दन, र बाँस जस्ता बिरुवाहरू रोप्न सकिन्छ, जसले साधु-सन्तहरूको तपस्या र साधनाका लागि शान्त वातावरण प्रदान गर्नेछन्। यी विविध धार्मिक बनहरूको बृहत् संयोजन भएको “वैदिक वन” ले गहनानलाई आध्यात्मिक, सांस्कृतिक, र पर्यावरणीय दृष्टिले समृद्ध बनाउनेछ।

वैदिक बन स्थापनाका लागि धेरै स्रोतको आवश्यकता नपर्न सक्छ। आवश्यकता भनेको स्थानीय सरकार र बासिन्दाहरूको इच्छाशक्ति र समर्पण हो। वरपरका खाली क्षेत्रहरू र डाँडामा वृक्षारोपण गरेर यहाँ उल्लेख गरिएका तपोवन र वृन्दावन जस्ता बनहरूमा रूपान्तरण गरी योग, शान्ति, आध्यात्मिक साधना, र पदमार्गहरूको प्रवर्द्धन गर्न सकिन्छ। यसका लागि आगामी वर्षा याममा १०,००० जति धार्मिक, आयुर्वेदिक, र पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण बिरुवाहरूजस्तै बर, पीपल, रुद्राक्ष, बुद्धचित्त, श्रीखण्ड, टिमुर, हर्रो, बर्रो, अमला, र शमी रोपेर वैदिक बन स्थापनाको सुरुवात गर्न सकिन्छ। वृक्षारोपण कार्यक्रमहरूमा पर्यटकहरूसहित स्थानीयलाइ जन्मदिन लगायतका विशेष दिन मनाउनका लागि पैसा तिरेर वृक्षारोपण गराउँदा आर्थिक सहायता सङ्कलनको नयाँ संस्कारको सुरुआत गर्न सकिन्छ। 

साथै, नदीहरूको सफाइ र स्वच्छतामा विशेष ध्यान दिन आवश्यक छ। प्लास्टिकको प्रयोगलाई नियन्त्रण गर्न अहिले नै सबै पक्षको सक्दो सहयोग लिनुपर्दछ। सफाइ अभियानलाई सफल बनाउन स्थानीय समुदाय, तीर्थयात्रीहरू, र स्थानीय सरकार तथा संस्थाहरूको सक्रिय सहभागिता अपरिहार्य छ।

सेती नदीको किनारमा अवस्थित गहनानमा कुनै पनि संरचना निर्माण गर्दा प्रकृति र नदीको बहावसँग मेल खाने गरी योजना बनाउनु पर्छ। १०० वर्षमा एक पटक आउने सम्भावित बाढीलाई ध्यानमा राख्दै विपद् जोखिम न्यूनीकरणमा विशेष जोड दिनु आवश्यक छ। नदी संरक्षण र बाढी नियन्त्रणका लागि प्रकृतिमा आधारित समाधानहरूलाई प्राथमिकता दिन आवश्यक छ। यसका लागि नदी किनारमा ३०-५० मिटर चौडा बफर क्षेत्र बिस्तार गरेर अग्ला रूखहरू, झाडीहरू, खैर, सिसौ लगायत भेटिभर घाँस, र नेपियर घाँस जस्ता वनस्पतिहरू रोप्नाले हरियाली विकास तथा भू -क्षय नियन्त्रण र बाढीको जोखिमलाई केही हदसम्म घटाउन सकिन्छ ।

वैदिक मोडेलका यी उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दा वातावरणीय सन्तुलन कायम राख्न मात्र नभई आध्यात्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिने छ। गहनान धामको समग्र संवर्द्धन र प्रवर्द्धनका लागि वैदिक परम्परा, र प्रकृति संरक्षणलाई समान रूपमा समेट्न सबैले मिलेर कार्य गर्नु पर्छ। स्थानीय समुदाय, सरकार, र संस्थाहरूको सहकार्यमा योजनाबद्ध रूपमा हरित विकास अवधारणालाई आत्मसात् गर्दै गहनानको धार्मिक र सांस्कृतिक महत्त्वलाई प्रचार-प्रसार गर्न सकिन्छ। साथै, धार्मिक पर्यटन प्रवर्द्धन मार्फत स्थानीय हस्तकला र कुटीर उद्योग प्रवर्द्धन गर्न सकिन्छ। वैदिक मोडेलमा आधारित आध्यात्मिक पर्यटनको प्रवर्द्धन, पर्यावरणीय संरक्षण, र सांस्कृतिक पुनर्जागरणका कार्यक्रमहरूलाई प्राथमिकता दिँदा, गहनान धामलाई एक प्रमुख आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ।

पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा एक हिन्दूको हत्या

पेशावर(पाकिस्तान),१८ चैत ।
पाकिस्तानको पेशावरमा एक जना हिन्दू नागरिक नदीम अमीनको गोली हानी हत्या गरिएको छ । नदीमलाई इस्लाम धर्म अपनाउन अस्वीकार गरेका कारण गोली हानेर हत्या बीबीसी उर्दुले जनाएको छ ।

शनिबार आफ्नो काम सकेर घर फर्किरहेका नदीममाथि पेशावरको पोस्टल कोलोनीमा गोली प्रहार भएको हो । ५६ वर्षीय नदीम पेशाले एक सरकारी संस्थानका कर्मचारी हुन् । गोली प्रहारपछि भागेका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नदीमका भाई सागर अमीनले आफ्नो निवेदनमा कोलोनीमा रहेका बेला आफ्ना दाईमाथि मुश्ताकले गोली प्रहार गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गोली लागेपछि घाइते भएका दाईलाई अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भयो ।’

निवेदनअनुसार आरोपीहरुले दुईरतीन महिनादेखि नदीमलाई इस्लाम धर्म अपनाउन धम्की दिइरहेका थिए । तर पटक–पटकको धम्कीपछि पनि इस्लाम अपनाउन अस्वीकार गरेपछि उनको गोली हानी हत्या गरिएको उनका भाई सागरले बीबीसीसँग भनेका छन् ।

भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दुसँग कुरा गर्दै हत्यापछि अभियुक्तहरु फरार भएका थिए । तर डीएसपी सिटी यख तुत सर्किलको नेतृत्वमा खटिएको एक विशेष टिमले मुश्ताकलाई चारसड्डा क्षेत्रबाट पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक बयानमा मुश्ताकले नदीमको अमीनको हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

तीनकुने घटनामा संलग्नता नदेखिएपछि स्वागत नेपाल रिहा

काठमाडौँ। स्वागत नेपाल रिहा भएका छन्। उनलाई प्रहरीले म्याद थप नगरी रिहा गरेको हो । १५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई उक्त घटनामा संलग्नता नदेखिएपछि रिहा गरिएको प्रहरीले जनाएको छ।

भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । राजावादी समूहको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार राज्यस्थित पटना हाजीपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल छन् । त्यस्तै, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका–७, लाम्पन्टारकी चित्रमाया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका–१६ की सुस्मिता बराल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ –प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठक केहीबेर सञ्चालन भएपछि स्थगित भएको हो।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।

प्रधानमन्त्रीले यस विषयमा जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान प्रतिपक्षी दलहरूले राखेका छन्। प्रतिपक्षी दलहरूकै अडानका कारण बिहीबार र शुक्रबार पनि संघीय संसदको दुवै सदनको बैठक प्रभावित भएको थियो।

रास्वपा सभापतिमा फर्किए रवि

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्। उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।

उनका अनुसार ३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ। र, दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्ने छन्।

‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहलिो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ।’

लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ। त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशनरमहाधिवेशन कार्यतालिकालगायत पनि छलफलको एजेण्डामा छ।

पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष अर्याललाई दिएको थियो। सहकारीको रकम अपचलनको मुद्धामा लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो।

४ सहकारीको रकम अपचलनको मुद्धामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो। रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन्।

म्यान्मारमा भूकम्पमा मर्नेको संख्या १६०० नाघ्यो, २१ जना नेपालीको मृत्यु भएको जानकारी

काठमाण्डौं, १७ चैत ।
म्यान्मारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार छ सय नाघेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु जनाएका छन् ।

भूकम्पले ढलेका भवन भित्र फसेका मान्छेहरुको उद्दार जारी छ । घरभित्र फसेकाहरुको संख्या यकिन नभएकोले मृत्यु हुनेको संख्या अझै बढि भएको आकंलन गरिएको छ ।

शुक्रवारको भूकम्पले सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो शहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसङ्ख्या करिब १५ लाख छ। सबैभन्दा ठूलो क्षति माण्डलेमा भएको छ । जहाँ एक हजार नेपालीभाषी बसोबास गर्छन् ।

माण्डलेमा भूकम्पमा परी २१ जना नेपाली भाषीको मृत्यु भएको स्थानीय व्यक्तिहरुले बताएका छन् । नेपालीका एक हजार घरधुरीमध्ये ५० घर पूर्ण रुपमा ध्वस्त भएका छन् । उनीहरु बेघर भएका छन् । ८० प्रतिशत नेपाली भाषीका घरहरुमा क्षति पुगेको छ ।

भूकम्पमा परी घरवार विहीन भएकाहरुलाई अखिल म्यन्मा देशीय गोर्खा हिन्दु धार्मिक संघले राहत र उद्दार गरिरहेको छ । माण्डलेस्थित गोर्खा समाजको कार्यालयले घरवार विहीन चार सय जना नेपाली भाषीलाई आश्रय दिएको छ ।

अखिल म्यन्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरेले देशभरी रहेका संघका ३५ वटा शाखाले विनाशकारी भूकम्पका कारण विस्थापित भएका र प्रियजन गुमाएका नेपाली भाषीका परिवारका लागि राहत र सहयोग जुटाईरहेको छ ।

अध्यक्ष घिमिरेले हालसम्म एक लाख डलर बराबरको सहयोग जुटिसकेको र यांगुनबाट स्वयसेवी युवाहरुको टोली राहत, उद्दार र सहयोगका लागि माण्डले प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिए ।

अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवं पुलका कारण खोजी कार्यमा असर परिरहेको छ।

सन् २०११ मा सत्ता कब्जा गरेको म्यान्मारको सैनिक सरकार जुन्टाले चार वर्षदेखि जारी गृहयुद्धका कारण मुलुकको धेरै हिस्सामाथि नियन्त्रण गुमाइसकेको छ। त्यहाँ विद्रोही समूहहरू र भ्रष्टचार विरोधी समूह सेनासँग युद्धरत अवस्थामा छन्।

म्यान्मारमा भूकम्पमा मर्नेको संख्या १६०० नाघ्यो, २१ जना नेपालीको मृत्यु भएको जानकारी

काठमाण्डौं, १७ चैत ।
म्यान्मारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार छ सय नाघेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु जनाएका छन् ।

भूकम्पले ढलेका भवन भित्र फसेका मान्छेहरुको उद्दार जारी छ । घरभित्र फसेकाहरुको संख्या यकिन नभएकोले मृत्यु हुनेको संख्या अझै बढि भएको आकंलन गरिएको छ ।

शुक्रवारको भूकम्पले सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो शहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसङ्ख्या करिब १५ लाख छ। सबैभन्दा ठूलो क्षति माण्डलेमा भएको छ । जहाँ एक हजार परिवार नेपालीभाषी बसोबास  गर्छन् ।

माण्डलेमा भूकम्पमा परी २१ जना नेपाली भाषीको मृत्यु भएको स्थानीय व्यक्तिहरुले बताएका छन् । नेपालीका एक हजार घरधुरीमध्ये ५० घर पूर्ण रुपमा ध्वस्त भएका छन् । उनीहरु बेघर भएका छन् । ८० प्रतिशत नेपाली भाषीका घरहरुमा क्षति पुगेको छ ।

भूकम्पमा परी घरवार विहीन भएकाहरुलाई अखिल म्यन्मा देशीय गोर्खा हिन्दु धार्मिक संघले राहत र उद्दार गरिरहेको छ । माण्डलेस्थित गोर्खा समाजको कार्यालयले घरवार विहीन चार सय जना नेपाली भाषीलाई आश्रय दिएको छ ।

अखिल म्यन्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरेले देशभरी रहेका संघका ३५ वटा शाखाले विनाशकारी भूकम्पका कारण विस्थापित भएका र प्रियजन गुमाएका नेपाली भाषीका परिवारका लागि राहत र सहयोग जुटाईरहेको छ ।

अध्यक्ष घिमिरेले हालसम्म एक लाख डलर बराबरको सहयोग जुटिसकेको र यांगुनबाट स्वयसेवी युवाहरुको टोली राहत, उद्दार र सहयोगका लागि माण्डले प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिए ।

अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवं पुलका कारण खोजी कार्यमा असर परिरहेको छ।

शुक्रवारयता उद्धार प्रयासहरू जारी रहे पनि र अन्तर्राष्ट्रिय सहायता पुग्न थालिसकेको भए पनि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा ती सहयोग पुग्न सकेको छैन र सर्वसाधारण मानिसहरूले खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेका छन्।

उद्धारकर्ताहरूले म्यान्डलेमा एउटा १२ तले भवनबाट ३० घण्टापछि एक महिलालाई भग्नावशेषबाट जीवितै निकालेका छन्।

तर रेडक्रसले त्यहाँ भग्नावशेषभित्र अझै ९० जनाभन्दा बढी व्यक्ति फसेको बताएको छ।

नजिकै पर्ने एउटा नगरमा ‘प्रिस्कूल’ का १२ जना बालबालिका र एक शिक्षकका शव भग्नावशेषबाट निकालिएको अधिकारीहरूले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घले चिकित्सकीय आपूर्तिहरूको चरम अभावले सहायता प्रयास प्रभावित भएको जनाएको छ।

अन्तर्राष्ट्रिय सहायता आउने क्रम जारी रहेको भन्दै उसले चीनबाट सहायता सामग्री बोकेका १७ वटा ट्रक आइतवार आइपुग्ने जनाएको छ।

सन् २०११ मा सत्ता कब्जा गरेको म्यान्मारको सैनिक सरकार जुन्टाले चार वर्षदेखि जारी गृहयुद्धका कारण मुलुकको धेरै हिस्सामाथि नियन्त्रण गुमाइसकेको छ। त्यहाँ विद्रोही समूहहरू र भ्रष्टचार विरोधी समूह सेनासँग युद्धरत अवस्थामा छन्।

 

‘म भागेको छैन’ : दुर्गा प्रसाईं

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ ।

यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् । ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन । म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’

चैत १५ गतेको कार्यक्रम आफूहरूले शान्तिपूर्ण तरिकाले गर्न जाँदा आफूलाई मार्ने ठुलो योजना रहेको दाबी गरेका छन् । उनले भने, ‘लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेश जाने पीडितलगायतको आवाजलाई उठाएर अघि बढाएपछि अब हामीले लडाइँ जित्छौँ, विद्रोह सफल हुन्छ भनेपछि विभिन्न भेसभुसामा युवा संघ र पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा अर्काको घरमा चढेर घटना घटाइयो ।’

उनले आफूहरू कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन् । आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालोजस्तो थुन्नुपर्‍यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ ।

‘प्रहरीलाई जति माया म जतिको कोही छैन । तपाईंलाई दुर्गा प्रसाईंले पेल्यो भन्ने लाग्यो होला । तर, मलाई लक्षित गरेर छतमा सार्प सुटरहरू राखिएको थियो । तीनकुने पुग्दा मेरो कानको छेवैबाट गोलीहरू गयो । त्यसपछि कसको रगत उम्लिँदैन । मैले पुलिस चित्त दुखाउने काम गरेको छैन । आफूलाई सुरक्षित राख्न मात्र घेरा तोडेको हुँ ।’

उनले आफूले कहिले पनि त्यहाँ घर जला भनेर नभनेको पनि बताएका छन् । । ‘बरु संसद् भवन कब्जा गरौँ मात्र भनेको हुँ । तोडफोड नगर भनेको छु । त्यस दिनको घटनाप्रति दुःख व्यक्त गर्छु,’ उनले भनेका छन् ।

राजावादीको आन्दोलनमा आगजनी, तोडफोड लुटपाटमा संलग्नहरूको सूचना दिन प्रहरीको अनुरोध

काठमाडौं–काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ।

नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत ठाउँमा भएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिहरू बारेका प्रमाणहरू विशेष गरी फोटो, भिडियो लगायत विवरणहरू उपलब्ध गराउन अपिल गरेको हो।

प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यलय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धान सहयो गरिदिनु हुन अनुरोध छ।’

राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौँ — राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संProcessing…x​​​​​​​युक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको नेतृत्व गर्ने बताएका हुन् ।

सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख गर्दै सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ । आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’

Navraj Subedi gave Jagman Gurung the leadership of the royalist movement

महिनावारीको सामना कसरी गर्छन् महिला अन्तरिक्षयात्री ?

काठमाडौं । रजश्वला हरेक महिलाका लागि एउटा चुनौतीपूर्ण समय हो । अझ कुनै महिला अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा भएको बेलामा रजश्वला भयो भने के हुन्छ ? अन्तरिक्षमा रहँदा महिला अन्तरिक्षयात्रीले रजश्वलाको व्यवस्थापन कसरी गर्छन् ?

यदि सुनिता विलियम्स जस्तै कुनै महिला अन्तरिक्षयात्री अचानक लामो समयसम्म अन्तरिक्षमा रहनु पर्यो भने के होला ?

आम रुपमा महिलाहरु यात्राका क्रममा आफ्नो रजश्वला चक्र तथा समयका बारेमा सतर्क हुन्छन् ।

तर कहिलेकाहीँ यात्राको समय अचानक बढ्न जान्छ । सुनिता विलियम्स पनि आठ दिनको मिसनका लागि अन्तरिक्ष गएकी थिइन् । तर, उनले त्यहाँ ९ महिनाभन्दा धेरै समय बिताउनु पर्‍यो ।

 

 

सुनिता विलियम्सले अन्तरिक्ष रहँदा मासिक चक्रको सामना गर्नुपर्‍यो कि परेन भन्ने चाहिँ उनैलाई थाहा होला । किनकि यो उमेरमा पनि निर्भर गर्दछ ।

आखिर रजस्वला उमेरका महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा रहँदा रजस्वला भएको बेला त्यसलाई कसरी व्यवस्थापन गर्दछन् त ?

अन्तरिक्षयात्री महिलाका स्त्री तथा प्रजनन रोग विज्ञ डाक्टर वर्षा जैनले नासासँगको सहकार्यमा अन्तरिक्षमा महिलाको स्वास्थ्यका विषयमा अनुसन्धान गरेकी छिन् ।

सन् २०१९ मा बीबीसीले उनीसँग यस विषयमा कुराकानी गरेको थियो ।

यदि अन्तरिक्षमा रजश्वला भएमा के गर्ने ?

महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा रहँदाको रजश्वला चक्रलाई कसरी व्यवस्थापन गर्छन् भन्ने जस्ता प्रश्नहरुको सामना नासाले पनि गर्नुपरेको थियो जब उसले आफ्नो पहिलो महिला अन्तरिक्षयात्री सेली राइडलाई अन्तरिक्षमा पठाएको थियो ।

त्यसबेला अन्तरिक्षयात्रीहरुले बताएका थिए कि जबसम्म यो समस्या बन्दैन, तबसम्म यसको चिन्ता गर्नु आवश्यक छैन । तर इन्जिनियरहरुले नै पूर्ण योजना बनाउनुपर्‍यो ।

उनीहरुले एकजना महिलालाई कति स्यानिटरी नेपकिनको आवश्यकता पर्दछ भन्ने अनुमान लगाए ।

त्यसबेला अनुमान लगाइएको थियो कि हरेक हप्ता १ सय देखि २ सय स्यानिटरी नेपकिन आवश्यक हुनेछन् । तर पछि पत्ता लाग्यो कि यतिधेरै नेपकिन आवश्यक पर्दैनन् ।

तर अहिले चाहिं प्रायः महिला अन्तरिक्षयात्रीहरुले अन्तरिक्षमा रहँदा रजश्वला नहोस् भनेर औषधि सेवन गर्दछन् ।

जबसम्म उनीहरु स्वस्थ हुन्छन् उनीहरुलाई सेनिटरी नेपकिनको प्रयोग गर्नमा कुनै समस्या हुनु हुँदैन ।

अन्तरिक्षमा महिलाहरु रजश्वलाबाट बँच्न सकून् भन्नका लागि डाक्टर वर्षाले अनुसन्धान गरिरहेकी छिन्।

अन्तरिक्षमा जाने प्रथम महिला सोभियत संघकी भेलेन्टिना तेरोस्कोभा थिइन् । उनी सन् १९६३ मा अन्तरिक्षमा गएकी थिइन् । त्यसको ठीक २० वर्षपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो पहिलो महिला अन्तरिक्षयात्री सेली राइडलाई अन्तरिक्षमा पठाएको थियो ।

महिला र पुरुषमा अन्तरिक्षयात्रको असर कस्तो पर्छ ?

विज्ञका अनुसार अन्तरिक्षको माहोल अनुकुल आफूलाई ढाल्नु भनेको महिला र पुरुषहरुका लागि करिब एउटै जस्तो हो । यद्यपि यसमा केही अन्तर पनि हुन्छन् ।

अन्तरिक्षमा जाँदा महिलालाई केही हदसम्म थकान तथा सुस्ती महसुस हुन्छ । तर पुरुष अन्तरिक्षयात्रीलाई चाहिँ यस्तो थकान तबमात्रै महसुस हुन्छ जब उनीहरु पृथ्वीतर्फ फर्किरहेका हुन्छन् ।

अन्तरिक्षबाट फर्किएपछि पुरुषहरुमा दृष्टि तथा श्रवणमा केही समस्या आउन सक्दछ जबकि महिलाहरुमा रक्तचापसम्बन्धी समस्या आउन सक्छन् ।

महिला तथा पुरुष अन्तरिक्षयात्रीका समस्यामा हुने यो भिन्नता हर्मोनको कारणबाट हुन्छ वा यसको अरु नै कारण छ भन्ने चाहिँ अहिलेसम्म पत्ता लागेको छैन ।

यी सवालहरुका बारेमा विस्तृत अध्ययनबाट पत्ता लाग्नेछ कि लामो समयसम्म अन्तरिक्षमा बस्दा स्वास्थ्यमा कस्तो परिवर्तन आउँछ ।

दिसापिसासमा पनि कुनै समस्या हुन्छ ?

अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा दुईवटा शौचालय छन् । तर ती शौचालयलाई पनि रजस्वला समबन्धी समस्यालाई ध्यानमा राखेर बनाइएको होइन ।

अन्तरिक्षयात्रीहरुको दिसापिसाब नष्ट हुँदैन । पिसाबलाई पुनःचक्रण गरेर सफा पानीमा परिणत गरिन्छ ।

रजस्वलाको रगतलाई ठोस मानिन्छ । त्यसैले स्पेस स्टेसनको शौचालयले उक्त रगतबाट तरल पदार्थ छुट्टाउन सक्दैन । त्यसैले रजस्वलाको रगतमा रहेको मानिस शुद्धीकरण गर्न सकिंदैन ।

यसका अलावा पानीको प्रयोगमा केही सीमाहरू छन् । त्यसैले अन्तरिक्षमा रहँदा महिला अन्तरिक्षयात्रीलाई रजस्वलाका क्रममा व्यक्तिगत तवरमा स्वच्छता कायम राख्नमा समस्या आउँछ ।

प्रजनन क्षमतामा असर

विज्ञका अनुसार अन्तरीक्षको यात्राले महिला तथा पुरुषको प्रजनन क्षमतामा कुनै असर पार्ने नपार्ने विषयमा कुनै सबूत प्रमाण हालसम्म प्राप्त भएको छैन ।

केही अन्तरिक्षयात्रीहरु छन् जो अन्तरिक्षमा बसेर फर्किएपछि मातापिना बनेका छैनन् । तर यसमा एउटा प्रमुख कारण के पनि हुनसक्छ भने अन्तरिक्षयात्री महिलाहरुको पहिलोपटक अन्तरिक्षमा जाने उमेर ३८ वर्ष छ । अर्थात् महिलाहरु आफ्नो प्रजनन उमेरको उत्तरार्धतिर मात्रै अन्तरिक्षमा जाने गरेका छन् ।

भविष्यमा गर्भाधारणका लागि महिलाहरुले आफ्ना डिम्ब तथा पुरुषका शुक्रकिटलाई संरक्षित राख्न सक्दछन् । यद्यपि यो उनीहरुको व्यक्तिगत निर्णय हुनेछ । नासाले यस सम्बन्धमा कुनै नियम बनाएको छैन ।

अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा विकिरणको खतरा रहन्छ । यद्यपि प्रजनन क्षमतामा यसको प्रभावका बारेमा कुनै जानकारी छैन ।

अन्तरिक्षयात्राका बेला पुरुषको शुक्रकिटको गुणस्तर कम हुनजान्छ । तर, पृथ्वीमा फर्किएपछि त्यो गुणवत्ता पुनर्बहाली हुन्छ । यसको दीर्घकालीन असरका बारेमा चाहिँ अहिलेसम्म शोध भएको छैन ।

अन्तरिक्षयात्राको स्वास्थ्यमा असर

विज्ञका अनुसार मानव शरीर अन्तरीक्षमा छिटै बुढो हुन्छ । अन्तरिक्षमा हड्डीहरूको घनत्व कम हुन्छ । त्यसैले पृथ्वीमा फर्किएपछि जतिसुकै मिहिनेत गरेपनि त्यसको असर अन्तरिक्षयात्रीको शरीरमा देखा पर्दछ ।

-बीबीसी

अमेरिकामा विमान दुघर्टना

वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना शनिवार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो  ।

एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले एक विज्ञप्तिमा भनेको छ । विमानले एक पटकमा ६ जनासम्म बोक्न सक्थ्यो । विमानमा सवार कोही पनि जीवित नरहेको बताइएको छ । घरका बासिन्दाहरू घाइते नभएको तर घर आगलागीबाट पूरै नष्ट भएको ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनले बताएका छन् ।

भूकम्पपछि पनि रोकिएन म्यानमारमा सैन्य सरकारको आक्रमण

एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्प गएर जनजीवन तहसनहस भएको बेलामा पनि सैन्य सरकारले हवाई आक्रमण जारी राखेको छ । भूकम्प गएको तीन घण्टा नपुग्दै सेनाले गरेको हवाई आक्रमणमा सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

सेनाले अहिले पनि आक्रमण रोकेको छैन । भूकम्पको केन्द्र सागाइङ्गको चाङ्ग–यू टाउनशिपसहित अरू ठाउँमा सेनाले आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ ।

सन् २०२१ मा सत्ता कब्जा गरेको म्यान्मारको सैनिक सरकार जुन्ताले चार वर्षदेखि चलिरहेको गृहयुद्धका कारण देशको धेरै हिस्सामाथि नियन्त्रण गुमाइसकेको छ । त्यहाँ विद्रोही समूह र भ्रष्टाचार विरोधी समूह सेनासँग युद्धरत अवस्थामा छन् ।

यसैबीच भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ जना पुगेको छ । तीन हजार चार सय आठ जना घाइते भएका छन् । एक सय ३९ जना बेपत्ता रहेका जानकारी दिइएको छ ।

अहिले पनि स्थानीय बासिन्दाले हातैले भग्नावशेष पन्छाएर मानिस खोज्ने प्रयास गरिरहेका छन् । अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवम् पुलका कारण खोजी कार्यमा असर परिरहेको छ ।

बीबीसीसँगको कुराकानीमा एक उद्धारकर्मीले भनेका छन्– ‘उद्धार कार्यमा कुनै समन्वय छैन, नेतृत्व गर्न कोही छैन अथवा के कसरी गर्ने भन्नलाई कोही छैन । स्थानीय बासिन्दाले आफ्ना लागि आफैँ गर्नुपरेको छ । शव भेटिहाले पनि कहाँ पठाउने भन्ने टुङ्गो छैन । अस्पतालमाथि चाप छ ।’

 

पूर्वराजा ज्ञानेन्द्रले गरे काठमाडौं महानगरको जरिवाना अस्वीकार

काठमाडौं : काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएको तोडफोड र फोहोर व्यवस्थापन खर्चबापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब आठ लाख जरिवाना तोकेको छ। तर, निर्मल निवासले उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगर कानुनी प्रक्रियाबाट असुल गर्ने तयारीमा लागेको छ।

गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो । उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ ।

ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ ।

‘हामीले दिएको पत्र बुझ्न नमानेपछि हाम्रो टोली फर्किएको छ । अब हामी प्रक्रियागत ढंगले असुलउपर गर्छौं,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

उनका अनुसार नगर प्रहरीलाई निर्मल निवासको गेटमै रोकिएको हो । महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालले पत्र बुझ्न नमाने पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने बताए ।

दिल्लीको १९ वर्षमुनिको टोलीसँग नेपालको क्लीन स्वीप

काठमाण्डौ – दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृङ्खला नेपाली युवा टोलीले क्लीन स्वीप गरेको छ । वीरगञ्जमा भएको तेस्रो खेलमा दिल्लीलाई ५१ रनले पराजित गर्दै नेपालले शृङ्खला क्लीन स्वीप गरेको हो ।

यसअघि लगातार दुई खेल जितेर नेपालले शृङ्खला जितिसकेको थियो । आज नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रन बनाउँदा अल आउट भयो । त्यसअघि ब्याटिङ गरेको नेपाल ३९ ओभर चार बलमा एक सय २२ रन बनाएर अल आउट भयो ।

विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको शृङ्खला खेलेपछि नेपालले अफगानिस्तानसँग पनि तीन खेलको शृङ्खला खेल्ने तय छ । अफगानिस्तानसँगको शृङ्खला चैत २१ देखि मुलपानीमा हुनेछ । नेपालले चैत अन्तिम हप्तादेखि आइसिसी १९ वर्षमुनिको विश्वकपअन्तर्गत एशिया छनोट आयोजना गर्दैछ ।

 

 

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा कटौती, सुरक्षाकर्मी संख्या घटाइयो

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रदान गरिएको सुरक्षा व्यवस्थामा कटौती गरिएको छ। सशस्त्र प्रहरीले राति ११:३० बजे पूर्वराजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो।

डिएसपीको कमाण्डमा रहेका २५ जनाको टोलीबाट १० जना हटाइएपछि अब १५ जना मात्र सुरक्षामा रहने छन्। ‘केही दिनमा सुरक्षा व्यवस्थाबारे थप निर्णय हुनेछ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिइएका सुविधाहरू कटौती गर्ने तयारी गरिरहेका बेला सुरक्षामा समेत परिवर्तन गरिएको हो। नारायणहिटी राजदरबारबाट हटेपछि सरकारले पूर्व राजपरिवारलाई नागार्जुन दरबारमा आवाससहितको सुविधा प्रदान गरेको छ। तर, निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी सम्पत्ति हो।

पूर्व राजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि सरकारले १५५ जना सशस्त्र प्रहरी खटाएको थियो। साथै, इन्धनसहित तीनवटा सवारी साधनसमेत उपलब्ध गराइएको थियो। तीमध्ये २५ जना पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएका थिए।

यसैबीच, पूर्व राजपरिवारका अन्य सदस्यहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई पनि फिर्ता बोलाइएको छ। ‘परिवारका सदस्यलाई खटाइएको सुरक्षा टोली दुई दिनभित्र सशस्त्र प्रहरी बलको कार्यदलमा हाजिर हुनेछ,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले जनाएको छ।

तर, सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेका अनुसार डिएसपीको कमाण्डमा १५ जना सुरक्षाकर्मी पूर्वराजाका लागि खटिएका छन्। उनले सुरक्षाको व्यवस्था कार्यविधिअनुसार नै गरिएको बताए।

पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना

 काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको  लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।

शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

कुन शीर्षकमा कति जरिवाना ?

कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर -रु १ लाख
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर–रु १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
दमकल तोडफोड- रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार

खोज्नुहोस