कोरियाको सहयोगमाआप्रवासी कामदारदेखि समृद्ध नेपालका लागि नवप्रवर्तनको यात्रा

काठमाण्डौं, २६ माघ । गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) द्धारा आयोजित आप्रवासी कामदारहरूको स्टार्टअप प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ।
कोरियामा रोजगारीको अनुभव भएका आप्रवासीहरुलाई नेपालमा उद्यमी बनाउने कार्यक्रम अन्तर्गत कोइकाद्धारा आयोजित ‘नेपाल आप्रवासी कामदार उद्यमशीलता प्रतियोगिता’ ललितपुर स्थित स्क्वायर होटलमा सम्पन्न भएको हो ।
कोरिया सरकारले ‘कोरियामा रोजगारीको अनुभव लिई नेपाल फर्किएका व्यक्तिहरुको स्थिर पुनर्वासको लागि चरणबद्ध रुपमा सहयोगी भूमिका कार्यान्वयनका लागि के हामी परियोजनाको एक हिस्साको रूपमा उक्त कार्यक्रम आयोजना भएको हो।
यस परियोजना सञ्चालन भए पश्चात विगत एक वर्षमा नेपाली आप्रवासी कामदारहरूको उद्यमशीलता क्षमतालाई सुदृढ गर्ने कार्यक्रमको मूल्यांकन गर्दै नौ जना उत्कृष्ट सहभागीहरूको उद्यमशीलता विचारहरू प्रस्तुत गर्ने प्रतियोगिता राखिएको थियो। उक्त कार्यक्रममा कोरियाको आधारभूत उद्यमशीलता शिक्षण पाठ्यक्रम, नेपालको बस्तु स्थितीमा उपयोगी पाठ्यक्रम, इन्क्युबेशन र स्टार्टअप सम्वन्धी विषय समावेश गरिएको थियो।
कोरिया सरकारले सन् २०२२ देखि, नेपाली आप्रवासी कामदारहरूलाई कोरियामा रोजगारमा जानु पूर्व तालिमदेखि फर्के पश्चात व्यवसाय सुरु गर्न सहयोग गर्नेसम्म चरणबद्ध रोजगारी र उद्यमशीलता शिक्षा प्रदान गर्नका लागि कुल ८० लाख अमेरिकी डलरको बजेट लगानी गर्नेछ। उद्यमशीलता तालिम पूरा गरेका स्टार्टअपहरूलाई स्टार्टअप पूँजी (ऋण) र वित्तीय सहयोगसँग जोड्ने जस्ता व्यवस्थित सहयोग प्रदान गरिने छ।
कोइका मार्फत केहामीले सञ्चालन गर्ने यस परियोजनामा नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, द ब्रिज इन्टरनेशनल, र कोरिया फेडरेशन अफ कम्युनिटी क्रेडिट कोअपरेटिभ, एमवाई एससी जस्ता कन्सोर्टियम संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ।
शुक्रबारको कार्यक्रममा नेपालस्थित कोरियाली राजदूत पार्क थेयङ, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चल राज पाण्डे, कोइका नेपाल कार्यालय प्रमुख खोङ मुहन, र नेपाल स्टार्टअप इकोसिस्टमका अन्य प्रमुख व्यक्तित्वहरू र सदस्यहरू सहित लगभग १५० जनाको उपस्थिति रहेको थियो।
राजदूत पार्क थेयङले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा कोरियाबाट फर्किएका नेपालीहरुले त्यहाँ रोजगारीका क्रममा हासिल गरेको अनुभवलाई उद्यमशीलताका माध्यमबाट नेपाली अर्थतन्त्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी सहसचिव पाण्डेले कार्यक्रमको उपलब्धीको प्रशंसा गर्दै नेपालको प्रचुर सम्भावनाको सही सदुपयोग गर्न सरकारको तर्फबाट निरन्तर पहल गर्ने धारणा राखे।
उक्त अवसरमा, स्टार्टअप सम्बन्धी आफ्नो प्रस्तुती दिने प्रतियोगीहरुले योजनामा रहेको उत्कृष्ट उद्यमशीलता क्षमता प्रस्तुत गर्नुका साथै विभिन्न व्यावसायीक मोडेलहरू प्रस्तुत गरेका थिए।
कोरियामा कार्यरत हुंदा हासिल गरेको सीप, ज्ञान र क्षमताहरूको उपयोग गरेर स्वदेश फर्केपछि सफल उद्यमशीलताका उदाहरणहरू समावेश गरेका थिए। नौ जना प्रतियोगी मध्येबाट पाँच जना उद्यमीलाई उत्कृष्ट उद्यमीको रूपमा छनोट गरिएको थियो।
प्रतियोगितामा सन्तोष दाहाल प्रथम भए । दिल बहादुर तामाङ र राजेन्द्र बस्याल क्रमशः दोस्रो र तेस्रो भए । प्रथम हुनेले ५० लाख कोरियन वन ( पाँच लाख रुपैया) प्राप्त गरे । अन्य विजेताले पनि व्यवसाय सञ्चालनका लागि नगद पुरस्कार प्राप्त गरे ।
कोरिया सरकारले विगत १५ वर्षदेखि नेपाललाई एक प्रमुख विकास साझेदार देशको रूपमा निर्धारण गरेर स्टार्टअप इकोसिस्टमको निर्माण तथा आर्थिक विकासलाई सहयोग गर्न विभिन्न परियोजनाहरूलाई प्रवर्द्धन गर्दै आएको छ।
विशेषगरी, २०२४ मा कोरिया(नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा, कोरियाबाट फर्किएर नेपालमा सफल उद्यमीका रुपमा परिचय बनाएका २६ जनाको सफलताका कथाहरू समावेश गरिएको पुस्तक प्रकाशन गरेको थियो। उक्त पुस्तक मार्फत कोरियामा हासिल गरेको अनुभव र सीपको आधारमा नेपालमा आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ।
नेपाल सरकारले नेपालमा रोजगारी सिर्जना गर्न र अर्थतन्त्रको विकास गर्न उद्यमशीलतालाई प्रोत्साहन गर्दै आएको छ र स्टार्टअपहरू स्थापना गर्न दिशा निर्देश तय गर्दै आवश्यक नीतिहरू बनाएर उद्यमशीलतालाई सक्रिय रूपमा प्रवद्र्धन गर्दैआएको छ। स्टार्टअप मार्फत आर्थिक विकासमा कोरियाको अनुभव नेपालमा लागु गर्नका लागि कोरिया सरकारबाट नेपाललाई उपलव्ध भएको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याकउने दूतावासले अपेक्षा गरेको छ।