छ दशकअघि यस्तो थियो धनगढी 

२१ पुष २०८१ ९:०९
छ दशकअघि यस्तो थियो धनगढी 

धनगढी, २१ पुस ।
छ दशकभन्दा पहिले धनगढी कस्तो थियो ? अहिलेको पुस्तालाई त्यो कौतुहलता हुन सक्छ ? जसले छ दशक पहिलेको धनगढी देखे, उसलाई लाग्छ होला, ओहो ! धनगढी यो छ दशकमा कति फेरिएछ ?

राणा शासन कालमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो । जिल्ला भईसकेका थिएनन । कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो । वि.स.१९९७ मा सदरमुकाम धनगढी सारियो । र धनगढीमा बेलौरीबाट सरकारी कार्यालयहरु पनि सार्नेक्रम त्यही बेला शुरु भयो ।

कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या ५० हजार जति थियो । २०१५ सालको निर्वाचनमा यहाँबाट लोकेन्द्र बहादुर शाहले चुनाव जिते । २०१९ सालमा जिल्ला बिभाजन भयो । कैलाली र कञ्चनपुर अलग भए ।

२०२० सालतिर धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । जताततै जंगल थियो । अस्पतालका दुई वटा साना पक्की भवन थिए । गोश्वारा, अञ्चलाधिशको आवास, कारागार, वन बिभागको एउटा घर र माल अड्डा (मालपोत कार्यालय) का गरी जम्मा पाँच वटा पक्की घर थिए । केही फुसका घर थिए । जताततै जंगल । रुख काटेर चार खामा गाड्यो । माथि फुसले छायो । घर तयार भयो । घरको छाना नाम मात्रको हुन्थ्यो । भित्ता हुन्थेन । बिजुली वत्तीको त कसैले कल्पना पनि गर्थेन । मट्टितेल हालेर टुकी बाल्यो । बिजुली पनि होला भन्ने सोचेका पनि थिएनन । अहिलेको व्यस्त धनगढीको मुल सडकमा त्यतिबेला दिउसो एक्लो हिड्न डर हुन्थ्यो । अस्पताल नाम मात्रको थियो । जहाँ उपचारका लागि जानु भनेको मर्नु थियो । उपचार गर्न ल्याईएकाहरु पनि अन्तिम अवस्थामा ल्याइएका हुन्थ्यो । अस्पतालमै अधिकांशको मृत्यु हुन्थ्यो । मृत्यु भएपछि गाड्न धेरै टाढा पनि लग्थेनन । जताततै लाश गाडिएका हुन्थे । अहिलेका कतिपय वस्ती उहिले चिहानघर थिए । गाँउबाट लडियामा बिरामी आउथे । जमिन्दारहरु हात्तीमा चढ्थे । उनीहरुको सामान लडियामा आउथ्यो । मोहना नदी तर्न हात्ती पर्खिनु पथ्र्यो । हात्तीको तर्ने बेला मोहना पुग्नुपथ्र्यो । जो त्यो बेला पुग्यो, उ हात्तीमा तरेर पारी जान्थ्यो । बर्खामा मोहना नदी तरेर पारी जान सकिदैनथ्यो ।

धनगढी बजार अहिले जस्तो थिएन । सडकको ट्रयाक खोलिसकेको थिएन । बाटोमा जताततै खाल्डाखुल्डी । बर्खामा हिलो । हिउँदमा धुलो । जताततै जंगल भएका कारण धनगढीकै एक ठाउबाट अर्को ठाउ जादा डर हुन्थ्यो । धनगढीमा छ दशकअघि नैनादेवी भगवतीको पक्की मन्दिर थियो । मन्दिरको भित्तामा बाघमाथि चढ्की भगवतीको मूर्ति कुँदिएको थियो ।

धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो । मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए । र शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी । पछि त्यहाँबाट बजार विस्तार हुदै गयो । उनी भन्छन्, अहिलेको चौराहा त त्यतिबेला केही थिएन । धनगढीमा मान्छे थिएनन । मान्छे नभएपछि व्यापार हुने कुरै भएन । एक जना भारतीय व्यापारीको सानो पसल थियो, उनी ३० को दशक सम्झना सुनाउछन्, उनले बरेलीबाट चामल, आटा र अरु सामान ल्याउथे । उनले पसल खोले सामान पाईन्थ्यो, नत्र पाईदैन थियो । शिव मन्दिरको छेउमा एक लालाको पसल थियो । जो हप्तामा एक दिन लखनउ जान्थे । र त्यहाँबाट ल्याउथे,दुई टोकरी फलफुल र तरकारी । धनगढीमा त्यही एउटा पसल थियो । तरकारी र फलफुल पाउने । तरकारी पनि हप्तामा एक दिन मात्र खान पाईन्थ्यो ।

तरकारी झै दुध पनि दुर्लभ थियो । धनगढीमा एउटा गोरे होटल थियो । डडेल्धुराबाट झरेका गोरेले एउटा भैसी पालेका थिए । दुध दही त्यतिबेला कोही खादैनथे । दुध खाए मलेरिया हुन्छ भन्ने डर थियो । दुध चियाका लागि मात्र प्रयोग हुन्थ्यो । र चियाका लागि दुध किन्नु परे गोरेको घरमा पुग्थे । दुध किन्ने त थपिए । तर गोरेको भैसी थपिएन । पछि धनगढीमा उनकै सिको गरेर अरुहरुले पनि भैसी पाल्न थाले । जसलाई गोरेले नै पहाडबाट धनगढी ल्याएर बसाएका थिए । यसरी धनगढीमा भैसी पाल्ने र दुध बिक्री गर्ने चलनको शुरुवात भयो ।

जुगेडा, फुलवारी पनि घनघोर जंगल थियो । लालझाडी चारकोशे झाडी । धनगढीमा वस्ती बस्न शुरु भयो,२०२४र२५ सालतिर । २०३६ सालतिर पहाडमा भोकमरी भयो । धमाधाम मान्छेहरु तराई झर्न थाले । पूर्वबाट पनि आए । आसाम र बर्माबाट लखेटिएर नेपालीहरु आए । त्यसपछि जंगल फाड्ने क्रम तिब्र भयो । पुनर्वास गरिएका जनतालाई सरकारले दुई वर्षसम्म पौष्टिक आहार दिएर पाल्यो ।

उहिले मान्छेसंग साईकल हुन्थेन । रेडियो सिमित व्यक्तिसंग हुन्थ्यो । रेडियोका लागि पनि लाईसेन्स लिनुपथ्र्यो । त्यतिबेला टिभीको त कसैले पनि कल्पना गरेका थिएनन । तर मान्छेले अहिले मोटरसाईकल,कार, हेलिकोप्टर हुदै प्लेन समेत किनि सकेका छन् । ५० को दशकमा मैले टेलिभिजन किने । महाभारत र रामायण हेर्न मेरो घरमा सिनेमा हलमा झै भीड लाग्थ्यो । छिमेकी र बजारका मान्छे महाभारत र रामायण हेर्न आउथे ।

२०२४/२५ सालतिर डेढ सय रुपैयामा एक तोला सुन पाईन्थ्यो । २०३० सालसम्म ८० रुपैयामा एक हजार ईटा पाइन्थ्यो । प्रति क्विन्टल सरियाको मूल्य ८० रुपैया पथ्र्यो । र प्रति बोरा सिमेण्ट १५ रुपैयामा पाईन्थ्यो । २०१८ सालमा १० बिगाहा जग्गा मैले पाँच हजार रुपैयामा किनेको हूँ । अहिले धनगढीमा जग्गाको मूल्य छोई नसक्नु छ ।

४० को दशकसम्म कैलालीका बिभिन्न भागमा जमिन्दारको शासन चल्थ्यो । जमिन्दारले जे चाह्यो, त्यो गर्थे । नियम,कानुन, प्रहरी, प्रशासन उनीहरुका अगाडि नाम मात्रका थिए । यद्दपि केही जमिन्दारहरु राम्रा पनि थिए । धनगढीमा डिल्लीराज भण्डारी,श्रीपुरमा चेतराज पन्त,बसौटीमा देशराज महतो, छिमानन्द महतो कहलिएका जमिन्दार थिए । कतिपय जमिन्दारको नाम उनी बिर्सिसके । अधिकांश जमिन्दारसंग हात्ती थिए । उनीहरु कही जानु पर्दा हात्तीमा जान्थे । कतिसम्म भने, देशराज महतो र छिमानन्द महतो दुधुवा नेशनल पार्कमा जादा रेल रोकिन्थ्यो । देशराजले उर्दी गर्थे, गार्ड से कहेदेना रेल दो घण्टा लेट चलेगी । यस्ता थुप्रै किस्सा छन्, जमिन्दारहरुका ।  देशराज महतोको चर्चा लखनउसम्म हुन्थ्यो । धनगढी र आसपासका थारु गाँउहरुमा महाजन हुन्थे । हरेक गाँउमा एक महाजन । जो भारतीय मुसलमान थिए । उनीहरु व्यापारका लागि वस्ती–वस्तीमा पसेका थिए । वर्षभरी उनीहरुले जमिन्दार तथा किसानलाई भने जति सामान दिन्थे । र एकै पटक पैसा उठाउथे । पैसा दिन नसक्नेले उनीहरुलाई आफ्नो जमीन दिन्थे । त्यो जमिन अरुलाई बेचेर उनीहरु आफ्नो पैसा असुल गर्थे । ती महाजनहरु भूमि सुधार लागु भएपछि फिर्ता भए ।

अंग्रेजले सुदूरपश्चिमको जोगबुढासम्म रेलको लिक पु¥याएका थिए । यहाँको सालको काठ ओसार्न रेलको लिक बिछ्याईएको थियो । धनगढीमा पनि रेलको लिक थियो । भारतबाट अंग्रेजीहरु लखेटिएपछि यहाँको रेलको लिक हटाईएको थियो ।

 

( डा. शिवदत्त जोशीसंगको कुराकानीका आधारमा तयार पारिएको यो लेखमा समावेश  प्रयोग गरिएका तस्वीरहरु अमेरिकी पीसकोरको फोटो ग्यालरीबाट साभार गरिएका हुन् । यी तस्वीरहरु पीस कोर ड ह्याचले सन १९६६ मा खिचेका हुन् ।)

One thought on “छ दशकअघि यस्तो थियो धनगढी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस