परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्व राष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, १९ पुस ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी पूर्व राष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको स्मृतिमा काठमाडौंस्थित अमेरिकी राजदूतावासमा राखिएको शोक पुस्तिकामा शुक्रवार हस्ताक्षर गर्दै परराष्ट्रमन्त्री राणाले कार्टरको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिन् ।
नेपाली जनता, नेपाल सरकार र आफ्नो तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै परराष्ट्रमन्त्री राणाले कार्टर एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्र भएको बताईन ।
पूर्वराष्ट्रपति कार्टर, परोपकार, शान्ति तथा प्रजातन्त्रका क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो,उनले शोक सन्देशमा भनेकी छिन्, अमेरिकाको राष्ट्रपतिका साथै कार्टर सेन्टरको संस्थापकका रुपमा रहेर उहाँले मानवअधिकार तथा प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुने गर्दछ ।
कार्टरले नेपालमा संविधानसभाको निर्वाचनका समयमा सन् २००७ र २०१३ मा नेपाल भ्रमण गरेका थिए ।
पूर्वराष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो ।