सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएपछि रुसी हवाई हमलाका विवरण

द एभरेष्ट पोष्ट
१६ मंसिर २०८१ ४:१९
सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएपछि रुसी हवाई हमलाका विवरण
३० नोभेम्बर २०२४

सिरियाका विद्रोही फौजले त्यहाँको दोस्रो ठूलो सहर अलेपोको “धेरैजसो” भाग नियन्त्रणमा लिएको यूकेमा मुख्यालय रहेको निगरानी समूह सिरिअन अब्जर्बेटरी फर ह्युमन राइट्सले जनाएको छ।

सिरियाको सेनाले समेत सहरका केही भाग विद्रोही नियन्त्रणमा पुगेको स्विकारेको छ।

यूकेस्थित अब्जर्बेटरीका अनुसार बुधवारदेखि सुरु भएको आक्रमणमा २० जना भन्दा धेरै सर्वसाधारणसहित ३०० जनाभन्दा धेरै मारिएका छन्।

यो सिरियाली सरकारविरुद्ध वर्षौँयता भएको सबैभन्दा ठूलो आक्रमण बताइएको छ।

सो अब्जर्बेटरीका अनुसार शनिवार राती रुसले सन् २०१६ यता पहिलोपटक अलेपोको विभिन्न भागमा हवाइ हमला गरेको छ।

सन् २०१६ मा राष्ट्रपति बसर अल-असदको सेनाले परास्त गरेयता पहिलोपटक विद्रोहीहरू अलेपो पुगेका थिए।

अलेपोमा रहेको विमानस्थल र सहरतर्फ जाने सबै सडक बन्द गरिएको सैन्य स्रोतले रोयटर्स समाचार संस्थालाई बताएको छ।

ठूलो प्रतिरोधको सामना नगरिनै विद्रोहीहरूले “आधा अलेपो” कब्जा गरेको निगरानी समूहका निर्देशक रामी अब्देल रहमानले शनिवार एएफपी समाचार संस्थालाई बताएका छन्।

उनका अनुसार “सरकारी सैनिकपछि हटेका कारण त्यहाँ कुनै पनि भिडन्त भएको छैन र एउटा गोली पनि चलेको छैन।”

पछिल्ला दाबी र अवस्था

बुधवार विद्रोही र तीनका सहयोगीले आक्रमण सुरु गरेयता नियन्त्रणमा लिएका अलेपो र इड्लिब प्रान्तका केही सहरहरूमा शुक्रवार पुन: आफ्नो नियन्त्रण कायम गरिएको सरकारी सेनाले बताएको थियो।

इस्लामिक लडाकु समूह ताहिर अल-शाम ‘एचटीएस’ सम्बद्ध च्यानलमा पोस्ट गरिएका भिडिओहरूमा सहरमा विद्रोही लडाकुहरू देखिन्छन्।

बीबीसी भेरिफाइले उक्त दृश्य अलेपोको पश्चिमी क्षेत्रको रहेको पुष्टि गरेको छ।

सन् २०११ मा प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि सुरु भएको गृहयुद्धमा पाँच लाख भन्दा धेरै मानिसहरू मारिएका छन्।

जिहादीसहितका सशस्त्र समुहको एउटा लस्करले असद सरकारको विरोधमा देशमा चलिरहेको राजनीतिक उथलपुथलको फाइदा उठाउँदै सिरियाका कैयौँ ठाउँ कब्जामा लिएको थियो।

पछि रुस र अन्य सहयोगी देशहरूको सहयोगमा सिरिया सरकारले आफूले गुमाएका अधिकांश क्षेत्रमा पुन: आफ्नो नियन्त्रण कायम गरेको थियो।

पछिल्लो समयसम्म विपक्षीहरूको पकड क्षेत्र रहेको इडलिबमा एचटीएसको नियन्त्रण छ। तर टर्की समर्थित विद्रोही समूह र टर्कीको फौजको उपस्थिति पनि यो क्षेत्रमा छ।

रुसको सहयोग

सिरियाली र रुसी विमानहरूले इड्लिब नजिकैका क्षेत्रमा शुक्रवार २३ वटा हवाई आक्रमण गरेको यूकेको निगरानी समूहले जनाएको छ।

सिरियामा रहेका स्रोत सञ्जालको सहायतामा यो निगरानी समूहले आफ्नो काम गर्ने गरेको छ।

जसका अनुसार रुसी आक्रमणमा चारजना सर्वसाधारण र १९ जना अन्य व्यक्तिहरूको मृत्यु भएको छ।

रुसी सेनाले “अतिवादी शक्तिमाथि” बमबारी गरेको रुसी समाचार संस्थाले जनाएको छ।

अलेपो

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले “छिट्टै सुव्यवस्था कायम गर्न सिरिया सरकारलाई” सहयोग गर्ने बताएका छन्।

उनले उक्त देशको सार्वभौमसत्तामाथि नै आक्रमण भएको बताएका छन्।

शुक्रवार विद्रोहीसम्बद्ध च्यानलहरूमा पोस्ट गरिएको विज्ञप्तिमा “हाम्रा फौजहरू अलेपो सहर प्रवेश गर्न सुरु गरेका छन्” भनिएको थियो।

बीबीसीले पुष्टि गरेको एक भिडिओमा सशस्त्र मानिसहरू अलेपोको मध्यकालीन किल्लाबाट करिब सात किलोमिटर पर सहरको मध्य भागमा दौडिरहेको देखिन्छ।

बीबीसीले पुष्टि गरेको अर्को दृश्यमा अलेपो विश्वविद्यालय नजिकैको क्षेत्रमा सामान बोकेका मानिसहरूको ठूलो समूह देखिन्छ।

यो भिडिओ एचटीएस सम्बन्ध सञ्चार माध्यमले विद्रोही सेना प्रवेश गरेको दाबी गरेको भन्दा तीन किलोमिटर टाढा रेकर्ड गरिएको हो।

अलेपोका एकजना बासिन्दा सर्मद्ले एएफपी समाचार संस्थासँग आफूले “दिनरात क्षेप्यास्त्र र बमबारीको आवाज सुनेको” बताएका छन्।

“हामीलाई फेरी युद्ध होला र हामी हाम्रो घरबाट फेरी विस्थापित हुनुपर्ला कि भन्ने डर लागेको छ,” ५१ वर्षका उनले भने।

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता संयोजक डेभिड कार्डेनले सर्वसाधारणमा देखिएको शत्रुताको प्रभावबाट आफू चिन्तित भएको बताएका छन्।

“विगत तीन दिनदेखि जारी निरन्तरको आक्रमणमा आठ वर्षका बालक समेत गरि २७ जना सर्वसाधारणको ज्यान गएको छ,” उनले भने।

सहयोगी राष्ट्र युद्धमा फसेका समयमा विद्रोह

अलेपोमा सशस्त्र फौजहरू

सन् २०२० मा टर्की र सिरियाको प्रमुख सहयोगी रुसले उक्त क्षेत्रमा पुन: नियन्त्रणको प्रयासमा सेना अघि रोक्नेगरी युद्धविराम गराएसँगै इड्लिबमा लडाइँ व्यापक मात्रामा कम भएको थियो।

तर बुधवार एचटीएस र उसका सहयोगीहरूले आक्रमणको सामना गर्न आफ्नो तर्फबाट पनि प्रत्याक्रमण गरिएको बताएका छन्।

उनीहरूले उक्त क्षेत्रमा बढ्दो तनाव कम गर्न सरकार र सरकार समर्थित मिलिसियाहरूलाई आग्रह गरेका छन्।

सिरियाली सरकार र उसका सहयोगीहरू अन्यत्र तिरका युद्धमा अल्झिएका समयमा यो घटना भएको हो।

छिमेकी राष्ट्र लेबननमा इजरेली सेनाले इरान समर्थित हिजबुल्लाह आन्दोलनलाई कमजोर बनाएको छ।

हिज्बुल्लाहका लडाकुहरूले सिरियाली गृहयुद्ध उथलपुथल गराउन सहयोग गरेका थिए।

इजरेलले सिरियामा पनि इरान र इरान समर्थित समूहसँग सम्बन्धित निशानाहरूमा हवाई आक्रमण अघि बढाएको छ।

बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस