ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित

न्युयोर्क – डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति-निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मंगलबार जनाएको छ ।

सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्यायाधीश जुआन मर्चनले उच्च अदालतको राष्ट्रपतिको उन्मुक्तिसम्बन्धी हालैको फैसलाको आधारमा मुद्दा खारेज गर्ने निर्णय गरेमा ट्रम्पलाई नोभेम्बर २६ मा राहत मिल्नेछ ।

उक्त ऐतिहासिक फैसलामा उच्च अदालतले ६-३ को बहुमतले राष्ट्रपतिहरूले कार्यालयको दायरामा रहँदा गरेका कामहरूका लागि व्यापक छुट पाउने निर्णय गरेको थियो ।

चुनावअघि ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए । यसलाई अभियोजकहरूले दृढतापूर्वक अस्वीकार गरेका छन् ।

यदि न्यायाधीश मर्चनले त्यस आधारमा मुद्दा खारेज गरे भने ७८ वर्षीय ट्रम्पलाई कुनै सजाय हुनेछैन ।

यदि उनले त्यसो गरेनन् भने ट्रम्पको कानूनी टोलीले लगभग निश्चित रूपमा कुनै पनि सजायको विरोध गर्न वा ढिलाइ गर्न खोज्छ । यसले जनवरी २० मा शपथ लिएपछि ट्रम्पको कमान्डर-इन-चिफको भूमिकामा हस्तक्षेप गर्ने कुरामा जोड दिन्छ ।

“मुद्दाका पक्षहरूको संयुक्त आवेदनमा नोभेम्बर १९ सम्मको वर्तमान समयावधि स्थगन गर्ने अनुरोध स्वीकृत गरिएको छ”, अदालतले मुद्दामा पक्षहरूलाई इमेलमा लेखेको पत्रमा भनिएको छ ।

 

ज्वालामुखीको खरानी फैलिएपछि बाली जाने-आउने धेरै उडान रद्द

धनगडी- इन्डोनेसियाको हलिडे आइल्यान्डनजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ। जसका कारण धेरै एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन्।
क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार लुटौबी लाकीलाकी हिमालको खरानी उडानका लागि सुरक्षित नभएको बताएको छ।

जेटस्टारले अस्ट्रेलियाको समयअनुसार दिउँसो १२ बजेसम्म बाली जाने र आउने सबै उडान रद्द गरेको जनाएको छ।
भर्जिन अस्ट्रेलियाले बुधबार बाली जाने र आउने सबै उडान रद्द गर्ने जनाएको छ।

यो ज्वालामुखी विस्फोटका कारण आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ। अघिल्लो साता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो।अस्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ।

अमेरिकामा ट्रम्पको विजयपछि महिलाहरूमा गर्भपतनको अधिकार खोसिने डर

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि महिलामा गर्भनिरोधक चक्की अर्थात् गर्भनिरोधक औषधिको माग बढेको छ । यसबाहेक आकस्मिक गर्भनिरोधक औषधिको माग पनि तीव्र गतिमा बढिरहेको छ ।

अमेरिकी पत्रिका यूएसए टुडेको रिपोर्टका अनुसार यी औषधि बनाउने कम्पनी विस्पले नोभेम्बर ५ देखि ७ सम्म आपतकालीन गर्भनिरोधक औषधिको बिक्रीमा १००० प्रतिशतले वृद्धि भएको जनाएको छ । यस अवधिमा यी औषधि खरिद गर्नेको संख्या १६५० प्रतिशतले बढेको जनाइएको छ । यसबाहेक गर्भपतनका औषधिको बिक्री पनि ६०० प्रतिशतले बढेको उल्लेख छ ।

ट्रम्पले चुनाव जितेपछि महिलाहरूमा उनीहरूको गर्भपतनको अधिकारमा कडाइ हुने डर आएको छ।

ट्रम्पद्वारा गर्भपतन अधिकार अन्त्य गर्न समर्थन 

सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकार खारेज गरेको थियो । त्यसबेला ट्रम्पले यो निर्णयको समर्थन गरेका थिए । अहिले ट्रम्प सरकार बनेपछि महिलामा उनीहरुको गर्भपतन अधिकारलाई असर गर्न सक्ने सम्भावनाले डर पैदा भएको हो।

चुनावपछि गरिएको एक सर्वेक्षणले ५० प्रतिशतभन्दा बढी महिलाहरू सुरक्षित गर्भपतन र त्यस सम्बन्धित स्वास्थ्य सेवाहरू नपाउने कुरामा चिन्तित रहेको देखाएको छ।

धेरै कम्पनीहरूले टेलिमेडिसिन र अनलाइन सेवाहरू मार्फत महिलाहरूलाई घरमै गर्भनिरोधक चक्कीहरू उपलब्ध गराउँदै आएका जनाइएको छ।

धेरै पटक गर्भपतनलाई प्रतिबन्ध लगाइएको अमेरिकी इतिहासमा 

सन् १८८० सम्म अमेरिकामा गर्भपतनलाई कानुनी मान्यता दिइएको थियो। सन् १८८३ मा अमेरिकामा गर्भपतन गर्ने औषधिमाथि प्रतिबन्ध लगाइएको थियो । १९०० सम्म गर्भपतन लगभग सबै राज्यहरूमा प्रतिबन्धित थियो।

गर्भवती भएकै कारण आमाको ज्यान खतरामा परेको अवस्थामा मात्रै गर्भपतन गर्न पाइन्थ्यो । सन् १९६० को दशकमा महिलाहरूले आफ्नो अधिकारका लागि आन्दोलन सुरु गरे । १९६९ मा नोर्मा म्याकोर्वेले गर्भपतन कानूनलाई चुनौती दिएकी थिइन्। यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो र सन् १९७३ मा सर्वोच्च अदालतले अमेरिकामा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।

तर फेरि जुन २४, २०२२ मा अमेरिकी सर्वोच्च अदालतले यो निर्णयलाई उल्टाइदियो। यसपछि गर्भपतनका लागि महिलालाई दिइएको संवैधानिक संरक्षण पनि समाप्त भयो । त्यसबेला ट्रम्पले यो निर्णयको समर्थन गरेका थिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रत्यक्षदर्शी बताउने व्यक्तिसँग सिआइबीले गर्‍यो सोधपुछ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका पुरूषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ।

गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेपछि कागज गराएर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुने सर्तमा सिआइबीले छाडेको थियो।

तर बुधबार उनी सम्पर्कबिहीन भएका छन्। उनले मोबाइल घरमै छाडेर हिँडेको एसपी बोगटीले बताए।

‘उहाँको भनाइसँग वास्तविकता मिलेको छैन। हिजो दिनभरमा ३/४ घण्टा सोधपुछ गरेर छाडेका थियौं,’ एसपी बोगटीले भने, ‘घटनाबारे बोलिएका कुराहरू काल्पनिक देखिन्छन्। तथ्यगत कुराहरू केही छैन।’

अर्यालको भनाइ सान्दर्भिक नदेखिएको पनि प्रहरीको भनाइ छ।

अर्यालको सवारी चालक अनुमति पत्रबारे प्रश्न उठेपछि ७७ सालमा बर्खास्त गरेको पनि खुलेको छ।

२०५८ सालमा खानेपानी विभागबाट सवारी चालकको रूपमा काम सुरू गरेको र पछि मन्त्रालयमा काजमा पुगेको प्राइमटाइम टेलिभिजन अन्तर्वार्तामा बताएका छन्। उनले त्यसयता १६ जना मन्त्रीको गाडी चलाएको दाबी गरेका छन्। कामकै शिलशिलामा कैलाली पुग्दा उनले घटना देखेको दाबी गरेका हुन्।

निर्मला पन्तको बलात्कारपछि हत्याको प्रत्यक्षदर्शी समेत रहेको दाबी गर्दै  उनले आफैमाथि अनुसन्धान गर्न पनि माग गरेका छन्।

यो अन्तर्वार्ता बाहिरिएपछि संवेदनशील विषयमा कसैले दाबी गरेकै आधारमा समाचारहरू प्रकाशन प्रसारण नगर्न पनि सिआइबीले अनुरोध गरेको छ।

‘संवेदनशील कुराहरू प्रसारण हुँदा आममानिसमा गलत सन्देश जान्छ। नकारात्मक कुराहरूमा पनि विश्वास गर्न थाल्ने हुन्छ,’ एसपी बोगटीले भने, ‘देखेको भए, प्रमाण भएको भए उनले त्यही बेला पनि भन्न सक्थे। तर अहिलेसम्म तथ्यगत कुरा देखिन्‍न।’

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८ कात्तिक ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ पाँच पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित

न्युयोर्क, २८ कात्तिक । डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ ।

सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उहाँलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्यायाधीश जुआन मर्चनले उच्च अदालतको राष्ट्रपतिको उन्मुक्तिसम्बन्धी हालैको फैसलाको आधारमा मुद्दा खारेज गर्ने निर्णय गर्नुभएमा ट्रम्पलाई नोभेम्बर २६ मा राहत मिल्नेछ ।

उक्त ऐतिहासिक फैसलामा उच्च अदालतले ६–३ को बहुमतले राष्ट्रपतिहरूले कार्यालयको दायरामा रहँदा गरेका कामहरूका लागि व्यापक छुट पाउने निर्णय गरेको थियो ।

चुनावअघि ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए । यसलाई अभियोजकहरूले दृढतापूर्वक अस्वीकार गरेका छन् ।

यदि न्यायाधीश मर्चनले त्यस आधारमा मुद्दा खारेज गर्नुभयो भने ७८ वर्षीय ट्रम्पलाई कुनै सजाय हुनेछैन ।

यदि उहाँले त्यसो गर्नुभएन भने ट्रम्पको कानुनी टोलीले लगभग निश्चित रूपमा कुनै पनि सजायको विरोध गर्न वा ढिलाइ गर्न खोज्छ । यसले जनवरी २० मा शपथ लिएपछि ट्रम्पको कमान्डर–इन–चिफको भूमिकामा हस्तक्षेप गर्ने कुरामा जोड दिन्छ ।

“मुद्दाका पक्षहरूको संयुक्त आवेदनमा नोभेम्बर १९ सम्मको वर्तमान समयावधि स्थगन गर्ने अनुरोध स्वीकृत गरिएको छ”, अदालतले मुद्दामा पक्षहरूलाई इमेलमा लेखेको पत्रमा भनिएको छ । 

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलबार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ ।

टोलीका‌ मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्तरुपमा जर्सी सार्वजनिक गरे ।

मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए ।

क्यानका सचिव पारस खड्काले एनपिएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताए ।

टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्ष देखि आफू‌ क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिए ।

टोलीका मालिक शाहले एनपिएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको बताए । उनले क्रिकेटका खेलाडीहरुले अव पछाडि फर्केर हेर्नु पर्ने अवस्था नरहेको बताए ।

उनले ओलम्पियन दीपक बिष्ट लगायत तमाम खेलाडीहरु जन्माएको सुदूरपश्चिम खेलका लागि उर्वर भूमि रहेको बताए ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।

टिम सुदूरपश्चिम:
दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)

कुवेतविरुद्ध नेपालको सानदार जित

काठमाडौं,२७ कात्तिक । यूएईमा जारी आईसीसी यू -१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत चौथो खेलमा नेपालले कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गर्‍यो ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुई/दुई विकेट लिए ।

कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो ।

नेपालकी कप्तान पूजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्रि धामी ११ र सान प्रविनले ६ रन जोडे ।

कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ । अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

बयान नसकिएपछि लामिछानेले भने- खोरमा थुनिंदैमा बाघ स्याल हुदैन

बुटवल(रुपन्देही), २७ कात्तिक ।

सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका नाममा तारेखमाथि तारेखमाथि झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोरमा थुँनिदैमा बाघ स्याल नहुने बताएका छन् ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेले बयान लिने नाममा आफूलाई निरन्तर थुनिएकोमा आक्रोश पोख्दै मंगलवार आफ्ना समर्थकलाई हात हल्लाउदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनलाई बयानका लागि मंगलवार कास्कीबाट रुपन्देहीको बुटवल ल्याईएको थियो । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेसंग साँझ पौने ६ बजे स्थगित गरिएको बयान बुधवार कार्यालय समय सुरु गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बयान नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा सहजरुपमा लिएर राखिएको जानकारी दिए ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको    छ ।

२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेको नाममा १ करोड ९६ लाख ऋण लगिएको देखिन्छ । त्यतिबेला रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको भूमिकामा थिए ।

त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष छविलाल जोशी बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ । लामिछाने र जोशी दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।

संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्वउपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए ।

प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन् ।

राष्ट्रपति पौडेलद्वारा कोप–२९ सम्बोधन- ‘हिमालको सुरक्षा पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौ’

अजरबैजान (बाकु) २७ कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

अजरबैजानको बाकु सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आव्हान गरेका हुन् ।

“हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं” , राष्ट्रपति पौडेलले भने, “पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पु¥याउँछ भन्ने विश्वले बिर्सन हुन्न । ”

उनले सम्बोधनका क्रममा यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक सम्वादको विषय बनाउन प्रस्ताव गरे ।

साथै, नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा सम्वाद कार्यक्रम सञ्चालन गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको बताउँदै भने,“ गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीरकण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्दछ।”

जलवायु परिर्वतनको मारबाट पृथ्वीनै संकटमा रहेको उनले बताए ।

विशेषगरी गरिब, अल्पविकसित, विकासशील तथा साना टापु मुलुक यसको पीडाबाट बढी प्रभावित रहेको उनको भनाइ थियो। उनले विश्वसमुदायलाई नेपालले भोगिरहेको बिपत्तिबारे जानकारी दिदै भने, “नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ ।”

राष्ट्रपति पौडेलले नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको आलो पीडामा रहेको बताए ।

हालैको बाढी पहिरो तथा हिमताल विष्फोट लगायतका विपदमा सयौं मानिसको मृत्यु र अरबौंको भौतिक क्षति भएको र त्यसको पुनर्लाभ र पुर्नस्थापना अझ भइनसकेको राष्ट्रपति पौडेलले जानकारी दिए ।

विश्व समुदायको हित र पृथ्वीको रक्षाको लागि नेपालले प्राकृतिक स्रोतसाधनको उपयोगमा अनुशासन कायम राख्दै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेको जानकारी दिदै राष्ट्रपति पौडेलले भने, वन क्षेत्र बढाएका छौं, स्वच्छ ऊर्जा उत्पादन र आपूर्तिमा जोड दिएका छौं तथा अरु थुप्रै प्रयास भएका छन् ।

उनले जलवायु जोखिममा परेका विकाशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानी नोक्सानी कोषलाई छिटो सञ्चालनमा ल्याउन आग्रह गर्दै भने, हिमाल, स्वच्छ पानी र जैविक विविधताको संरक्षणमा योगदान गर्ने नेपालजस्तो मुलुकको योगदानको मूल्यांकन र सोको भुक्तानीमा जोड दिन चाहन्छु ।”

जलवायु वित्तबाट सञ्चालन हुने कार्यक्रम अनुदानका रुपमा राज्यकोषमार्फत सञ्चालन गर्नु उपयुक्त हुने उनको धारणा थियो। उनले थप आग्रह थियो, पेरिस सम्झौताको बाध्यकारी व्यवस्था र विकसित राष्ट्रको प्रतिबद्धताअनुरूप प्रविधि हस्तान्तरण र क्षमता विकासमा यथेष्ट अनुदान रकम प्रदान गरिनु पर्दछ ।

तस्वीर : राष्ट्रपतिको कार्यालय

सुदूरपश्चिम प्रदेश सरकारको सय दिने उपलब्धि सार्वजनिक

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा गरेका कामलाई प्रदेश सरकारले मुख्य उपलब्धि मानेको छ ।

सरकार गठनको एक सय दिनमा सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले तोकिएको समयमै चालु आर्थिक वर्षको बजेट आउन नसकेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार गठन भएपछि सुरुआतका दिनमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाएर बजेट ल्याइएको बताए।

प्रदेशसभाको विश्वास लिई राजनीतिक स्थायित्व तथा सुशासनको प्रत्याभूति दिनेगरी विकास प्रयास र सेवा प्रवाहको बलियो जग बसाउने बाटो तय गर्ने कार्य पूरा भएको उनले बताए।

 ‘राजनैतिक अस्थिरताका बीच स्थिर र स्थायी सरकार दिनुपर्ने सन्देश दिन सफल भएका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘यस अवधिमा कानुनी संरचना निर्माण र प्रणाली सुधारमा केन्द्रित रह्यौँ ।’

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रमलाई कार्यान्वयन गर्न समयमै बजेट कार्यक्रम आउन नसक्दा उत्पन्न जटिल परिस्थितिबाट देखिएका समस्यालाई चिर्दै वर्तमान सरकारले गत भदौ ३१ गते बजेट ल्याएको थियो ।

यस अवधिमा प्रदेशसभाबाट पारित भएको प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन कार्यान्वयनमा आएसँगै प्रशासनिक संयन्त्र चलायमान भएको र आवधिक योजना, विकास कार्यक्रम, बजेट प्राथमिकीरण तथा सुशासनका लागि गरिएको प्रयासलाई उपलब्धि मानिएको छ । 

प्रदेशसभा सदस्यको सहभागितामा सम्बन्धित निर्वाचन क्षेत्रको प्राथमिकता, राष्ट्रिय नीति, प्रादेशिक प्राथमिकता, आवधिक योजना, वार्षिक नीति कार्यक्रमलगायत काममा प्रादेशिक सन्तुलन कायम गरिएको र स्थानीय तहसँगको समन्वय तथा सहकार्य संस्कृतिलाई निरन्तरता दिई प्रदेश सरकारलाई र स्थानीय तहसँग सामाजिक सञ्जालमा जोड्न गरिएको कामलाई पनि उपलब्धि मानिएको छ । 

आयोजना बैङ्कमार्फत आयोजनाको छनोट प्राथमिकीकरण तथा प्रतिफल र औचित्यका आधारमा योजनाको विनियोजन दक्षता र कार्यान्वयन कुशलताका लागि विद्युतीय ‘पोर्टल’निर्माण भई आयोजना प्रविष्ट गर्ने कामलाई उपलब्धिमा समेटिएको छ ।

यस अवधिमा सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति–२०८१ र आपाङ्गतासम्बन्धी प्रदेश नीति–२०८१, बनेको र ऐनतर्फ प्रदेश निजामति ऐन (पहिलो संशोधन) ऐन–२०८०, सामयिक राजस्व सङ्कलनसम्बन्धी ऐन–२०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक (पहिलो संशोधन)–२०८१ पारित भएको विषयलाई उपलब्धिका रुपमा लिइएको छ ।  

चालु आर्थिक वर्ष २०८१र८२ को सुरुआतका दुई महिना बजेट शून्यतामा रहेको वर्तमान प्रदेश सरकारले बाँकी अवधिमा कुल बजेटको आठ दशमलव शून्य दुई प्रतिशत खर्च गर्न सकेको छ । यस अवधिमा लक्ष्यको तुलनामा २३ दशमलब ९४ प्रतिशत राजस्व परिचालन भएको छ ।

कैलालीको गोदावरी नगरपालिकाको तेघरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी निर्माण गर्नेसम्बन्धी प्रस्ताव तत्कालीन प्रदेशसभाको बैठकमा दुई तिहाइ बहुमतले पारित भए पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन ।

पर्यटनमन्त्री पाण्डेमाथि करोडौं घुस लिएको आरोप

काठमाडौँ । नेपाली का‌ग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले लगाएका हुन् ।

बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे ।’

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी उक्त क्यासिनोले उक्त रिक्रियसनले साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको थियो । त्यतिबेला नयाँ गठबन्धन अन्तर्गत सरकार गठन भएर पाण्डे पर्यटनमन्त्रीमा नियुक्त भएको दुई साता भएको थियो । त्यसको केही दिनपछि विभागले यसअघि क्यासिनो सञ्चालनको अनुमति पाएको एसएचएल म्यानेजमेन्ट सर्भिस (केटीएम) प्रा.लि. क्यासिनो सञ्चालनको अनुमतिपत्र खारेज गरेको थियो ।

रुपन्देहीस्थित तत्कालीन टाइगर हेरिटेज रिसोर्ट अहिले दुई कारणले विवादित छ । पहिलो  उक्त रिसोर्टको १६ बिघा जग्गामध्ये केही जग्गा सरकारी स्वामित्वको क्षेत्रमा रहेकोले मिचिएको  उक्त जग्गामा बनेको संरचना भत्काउन स्थानीयबासीले माग गर्दै आएका छन् । यो विषयमा २०७८ सालमै अदालत अन्तरिम आदेश समेत सुनाएको थियो ।  उक्त आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै यथास्थितिमा राख्नु भन्ने उल्लेख छ । सांसद बजगाईँ अहिले पनि अदालतको आदेश कायमै रहेको र यो अवस्थामा नयाँ स्वामित्व हस्तान्तरण र नयाँ लाइसेन्स दिनै नमिल्ने बताउँछन् ।

अर्को चाहिँ यो रिसोर्टको सञ्चालक कम्पनीको अफसोर कारोबारमा करोडौँको कर छली भएको आरोप समेत लाग्दै आएको छ । सिल्भर हेरिटेज लिमिटेड नामक कम्पनीले सञ्चालन गर्दै आएको एक्त होटलको स्वामित्व  होटलमा यसअघि हङकङस्थित सिल्भर हेरिटेज ग्रुपको लगानीमा थियो । अघिल्लो वर्ष साउनमा यसको स्वामित्व हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक नामक कम्पनीमा सारिएको छ ।

सांसद बजगाईँले पछिल्लो समय आफ्नो भनाइ तोडमोड गरेर आफूमाथि गलत प्रचार चलाएको समेत उल्लेख गरेका छन् । उनी भन्छन्, ‘मन्त्री पाण्डे र अधिकारीले भैरहवा विमानस्थल कसरी चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईँको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन् ।’

अहिले उक्त रिसोर्टमा बुद्धिसागर सुवेदी र दीपक गौतमको स्वामित्वमा छ । उनीहरू अमेरिकी नागरिक गैर आवासीय नेपाली हुन् । स्वामित्व परिवर्तन भएसँगै अहिले विभिन्न बैंकमा रहेका कर्जा समेत गैरकानुनी रुपमा नयाँ कम्पनीको नाममा ट्रान्सफर भएको पाइएको छ । यसमा पर्यटन मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालयदेखि बैंकसम्मको गतिविधिमा कैफियत देखिएको छ ।

नेपालको विकास निर्माणमा सहकार्यको वातावरण बनाउने राजदूत जोन्स्टनको प्रतिवद्धता

काठ्माण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट भएको छ । मंगलबार सिंहदरबारमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई बिचको सम्बन्ध थप बलियो हुने बताए छ ।

सन् १९६० मा नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भएदेखी मित्रता, सहयोग र आपसी सम्बन्ध सौहार्दपूर्ण रहेको बताए।
उनले भने, ‘अस्ट्रेलिया नेपालका लागि मित्र राष्ट्र र महत्त्वपूर्ण साझेदार हो, नेपाललाई अस्ट्रेलियाबाट विभिन्न सहयोग प्राप्त भएको छ । स्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन जस्ता क्षेत्रहरूमा सहयोग भएको छ ।’

सोही अवसरमा मन्त्री भण्डारीले नेपाललाई अति कम विकसित देशबाट योजनाबद्ध रूपमा स्तरोन्नति गरी सन् २०२६ सम्ममा विकासशील देश बनाउन र दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई थप सहयोग आवश्यक भएको बताए ।

नेपालको स्रोत, प्रविधि र साझेदारीका सन्दर्भमा व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे । अस्ट्रेलिया नेपालको प्रमुख व्यापार साझेदार रहेको बताउँदै मन्त्री भण्डारीले दुई देशलाई फाइदा हुने गरी द्विपक्षीय व्यापार विस्तार गर्न आवश्यक रहेको बताए। लगानीका दृष्टिकोणले पनि अस्ट्रेलियाको प्रमुख भूमिका रहेको उनको भनाइ छ ।

नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना रहेको बताउँदै उनले सूचना प्रविधि, जलविद्युत र कृषिमा आधारित उद्योगमा लगानीका लागि ५० भन्दा बढी देशका लगानीकर्ताहरू सहभागी लगानी सम्मेलनमा नेपालमा लगानी ल्याउन आग्रह गरेको उनले बताए ।

‘व्यापार र लगानी फ्रेम वर्क सम्झौता’ नेपाल र अस्ट्रेलिया बीच सन् २०२४ को फेब्रुअरीमा सम्पन्न भएको थियो । उक्त सम्झौताले लगानी र व्यापार प्रवर्द्धनमा सहयोग विस्तार गर्ने मन्त्री भण्डारीको अपेक्षा रहेको छ । यो सम्झौता अनुसार सम्भाव्यता पहिचान गर्न र अभिवृद्धि गर्न सहायक हुने उनले बताए ।

मन्त्री भण्डारीले दुई देशबिचको सहकार्यका लागि व्यापार तथा लगानी समितिको पहिलो बैठक आयोजना गर्ने बताए । अस्ट्रेलिया उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य भएको उनले बताए । अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको सङ्ख्या उत्साहजनक रहेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्ने विश्वास समेत उनले व्यक्त गरे।

भेटका क्रममा अस्ट्रेलियन राजदूत जोन्स्टनले मन्त्री भण्डारीले व्यक्त गर्नुभएको अपेक्षाहरूका विषयमा आफू सकारात्मक रहेको बताइन्।
नेपाल–अस्ट्रेलिया बीचको आपसी सम्बन्ध र सहकार्य विस्तारको भूमिका निर्वाह गर्ने बताउँदै उनले नेपालको विकास निर्माणमा सहकार्यको वातावरण बनाउने बताइन् ।
राजदुत जोन्टन हालैमात्र नेपालका लागि राजदूत नियुक्त भएर आएकी हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि भारतीय सुरक्षा निकायका दुई प्रमुख नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअगाडि भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक अमृत मोहन प्रसाद नेपाल आउने भएका छन् ।

“भारतीय सेना प्रमुख नेपाल आउँदै हुनुहुन्छ । हालसम्म तय भएको कार्यक्रमअनुसार उहाँ मंसिर ५ देखि ९ गतेसम्म (पाँच दिन) नेपालको भ्रमण गर्नु हुनेछ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले विगत सात दशकदेखि नेपाल र भारत दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहीआएको छ ।

यसैअनुसार भारतीय सेना प्रमुख द्विवेदी नेपाली सेनाको मानार्थ महारथी पदको सम्मान लिन नेपाल आउन लागेका हुन् ।

“नेपाल आएको भोलिपल्ट (मंसिर ६)मा राष्ट्रपतिज्यूले भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गर्ने कार्यक्रम छ,” सैनिक प्रवक्ता केसीले भने ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा विशेष कार्यक्रमको आयोजना गरी भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित गरिनेछ ।

नेपाल भ्रमणका बेला भारतीय सेना प्रमुख द्विवेदीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय वार्ता गर्नेछन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । 

नेपाल आएको बेला भारतीय सेना प्रमुखले काठमाडौं बाहिरका एक–दुई ठाउँको भ्रमण गर्ने तयारी भइरहेको छ । यसअघि भारतीय सेना प्रमुख नेपाल आउँदा सगरमाथा क्षेत्र, लुम्बिनी, मुक्तिनाथ जस्ता स्थानको भ्रमण गर्ने गरेका थिए ।

द्विवेदीले २०२४ जुन ३० देखि भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । सेना प्रमुख भएपछि द्विवेदी पहिलोपटक नेपाल आउन लागेका हुन् ।

यस्तै, भारतको सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक अमृत मोहन प्रसाद कात्तिक ३० गते नेपाल आउँदै छन् । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको निमन्त्रणमा प्रसाद नेपाल आउन लागेका हुन् ।

नेपाल–भारत सीमा सुरक्षाका सम्बन्धमा सशस्त्र प्रहरी बल र एसएसबीच प्रत्येक वर्ष हुने वार्षिक समन्वय बैठकमा सहभागी हुन प्रसाद नेपाल आउन लागेका हुन् ।

बैठक मंसिर १ र २ गते काठमाडौंमा बस्नेछ । सीमा सुरक्षालाई लिएर सशस्त्र प्रहरी बल र एसएसबीच हुन लागेको यो आठौँ वार्षिक बैठक हो ।

भारतीय दुवै सुरक्षा निकायका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअगाडि नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि २१ सम्म चीनको औपचारिक भ्रमण गर्ने तयारी भइरहेको छ ।

१५ सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । प्रमण्डल नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ मा सहभागी हुने  प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् ।
प्रमण्डल जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी  मङ्सिर ६ गते स्वदेश फर्कनेछ । प्रमण्डललाई  रक्षामन्त्री मानवीर राई, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी,  केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

एजेन्सी– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । 

नाम उल्लेख नगरिकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘आफ्नो उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा चयन गरेका रूवियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । यो निर्णय अन्तिम होइन ।’ 

जर्मनीका लागि पूर्वराजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपङ्क्तिका व्यक्तिका रूपमा गत हप्तादेखि चर्चा गरिएको छ ।

रुबियोले गत साता सीएनएनसँग भनेका थिए, ‘म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु।’

क्युबाको विरासत बोकेका कट्टर पन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ । सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ’अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए ।

मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए । 

सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उनको चुनावी अभियानलाई बढावा दिँदै उनी अमेरिकी सिनेटमा निर्वाचित भएका थिए । 

कोपमा नेपालको अपेक्षा के ?

बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ ।  आगामी मङ्सिर ७ गतेसम्म चल्ने उक्त कोप सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल सोमबार बाकु पुगिसकेका छन् ।

कोप–२९ मा पर्वतीय मुद्दाका विषयमा प्राथमिकताका साथ छलफल हुने, जलवायु बित्त बढाउन विकासशील मुलुकहरु सहमतिमा आउने, पेरिस सम्झौता कार्यान्वयनका लागि सकारात्मक प्रतिक्रिया प्राप्त हुने, कार्वन व्यापारका लागि विश्वबजार सुनिश्चित हुने, अनुकूलन तथा जलवायु न्यूनीकरण र जलवायुजन्य हानि नोक्सानीका लागि आवश्यकता पर्ने वित्तीय व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

विगतका सम्मेलनमा जस्तै  कोप–२९ मा पनि नेपालले जलवायुका कारण पर्वतीय क्षेत्रमा परेका समस्या न्यूनीकरणका लागि पहल गर्ने र पर्वतीय क्षेत्रका सुरक्षाका लागि आवाज उठाउने तयारी गरिरहेको छ । सम्मेलनमा भाग लिने क्रममा अजरबैजानको बाकुमा रहेका राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । एक सय ९२ भन्दा बढी मुलुकका राष्ट्र तथा सरकारप्रमुखदेखि उच्च पदस्थ अधिकारीसामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार राष्ट्रपति पौडेलले कोप सम्मेलनमा जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणहरू समेत प्रस्तुत गर्दै छन् ।
राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाकार डा प्रमेश्वर पोखरेल जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि स्पष्ट मार्गचित्रसहित विश्वको ध्यानाकर्षण गर्न कोप सफल हुने बताउँछन् ।

यसैगरी जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरण कोपमा प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी दिँदै वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले भने, “बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटनाहरु हामी कोपमा प्रस्तुत गर्नेछौँ । जलवायुजन्य हानी नोक्सानीका लागि बित्तीय पहुँचबारे पैरवी गरी विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न अधिकतम प्रयास गर्नेछौँ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा कृष्णहरि पुस्करले नेपालले कार्वन उत्सर्जन गराउनमा नगन्य भूमिका खेले पनि विकसित मुलुकहरुले उत्सर्जन गराएको कार्वनडाईअक्साईडले निम्त्याएको जलवायुजन्य समस्या नेपालजस्ता मुलुकले खेप्नुपरेको   उल्लेख गर्दै जलवायु वित्तमा सहज पहुँच र जलवायु न्याय कोपमा सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

जलवायुविद् मञ्जित ढकालले विश्वव्यापीरूपमा बढ्दो जलवायु प्रभावहरू र नेपालमा भएका विनाशकारी बाढी–पहिरोजस्ता जलवायु परिवर्तनले सिर्जित गरेका विपद्का कारण तत्काल जलवायु कार्यको आवश्यकता अझ स्पष्ट बनाएको तथा यस विषयमा व्यापक छलफल हुने अपेक्षा गरे ।

“कोप–२९ मा नयाँ जलवायु वित्त लक्ष्य अपनाउनका लागि नेपालले  जोडदार माग गरेको छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल सीमित राख्ने स्पष्ट मार्गनिर्देशनको आवश्यकता उठाएको छ,” उनले भने, “पर्वतीय प्राथमिकतासँग सम्बन्धित छलफलहरूमा नेपाल सक्रियरूपमा सहभागी छ । पहाडी क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नेपालको तर्फबाट विशेष छलफलका लागि माग गर्ने तयारी भइरहेको छ ।”

त्यस्तै जलवायु व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले जलवायु न्यायका सिद्धान्तमा आधारित जलवायु वित्त परिचालन हुनुपर्ने बताए ।

जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि मुख्य ६ एजेन्डालाई उच्च प्रथामिता दिई नेपाली प्रतिनिधिहरु कोपमा उपस्थित भएका छन् । वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी न्यूनीकरण, कार्वन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका ६ विषयगत कार्यपत्र तयार गरिएका छन् ।

“नेपालको राष्ट्रिय स्थितिपत्र तयार गरी कोपमा ल्याइसकेका छौँ,  यसमा राष्ट्रिय अवधारणापत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण, दक्षता, पानी तथा जलवायुजन्य कार्य, जलवायुका लागि प्रकृतिलगायतका विषयवस्तुहरु समावेश गरिएका छन्,” वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धि पौडेलले भने ।
गत वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानी–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका पक्षमा नेपालका तर्फबाट दबाब दिने तयारी भइरहेको वन तथा वातावरण मन्त्रालयले स्पष्ट गरेको छ ।

नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११:१५ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

वेवारिसे बडिमालिका : फुल, जडिबुटी र वन्यजन्तु लोप हुँदै 

वसन्तप्रताप सिंह
बडिमालिका (बाजुरा),२७ कात्तिक ।
बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ २७ वर्ष अघि २०५२ सालमा पहिलो पटक बडिमालिका पुगेका थिए । त्यहाँको अलौकिक दृष्य देखेर उनी यसरी रोमाञ्चित भएका थिए की त्यो सम्झना अझै पनि उनको मनमा गाढा भएर बसेको छ ।
‘ओ हो  त्यसरी फुल फुलेका त मैले कतै पनि देखेको थिएन । जता हेर्यो त्यतै ढकमक्क फुल फुलेका । फुल होकी ? गलैंचा बिछ्याएको हो ? छुट्याउनै गाह्रो पथ्र्याे’ उनले भने ‘फुलले नढाकेको त कुनै ठाउँ नै थिएन । त्यस्तो अदभुत दृष्य देख्दा स्वर्ग भनेको यही त रहेछ जस्तो लागेको थियो’ पहिलो पटक पुग्दा बडिमालिका क्षेत्रमा पर्ने सोतापाटन, घोडापाटन, भिति छिर्ना, बुढीमाईको थान, त्रिवेणी, दौडाईलाग्ने पाटन, लौरी विनाई, बडिमालिका थान लगायत सबै पाटनका कुना काप्चा काँही पनि बाँकी नरहेर सयौं थरिका फुलले ढाकिएको देख्दा आफुलाई स्वर्गीय आनन्दको अनुभूति भएको स्मरण उनले सुनाए ।
त्यस यता पटक पटक गरेर उनी छ पटक बडिमालिका पुगिसकेका छन । पछिल्ला बर्षमा फुलको संख्या घटदै गएको देखेका उनी तीन बर्ष पछि गत श्रावणमा त्यहाँ पुग्दा फुलहरु नदेखेर छक्क परे । ‘पछिल्ला बर्षहरुमा पहिलाको तुलनामा पाटनमा फुल्ने फुलको संख्या घट्दै जान थालेको थियो’ उनले भने ‘यो वर्ष पुग्दा त पहिला फुलै फुलले भरिएका देखिने पाटनमा एउटा पनि फुल रहेनछ । यहाँको सौन्दर्यता त खतम भैसकेछ’ फुलैफुलको नर्सरी जस्ता देखिने त्रिवेणी, दौडाइलाग्ने, लौरी विनाई पाटन र बडिमालिका मन्दिर क्षेत्र पुरै उजाड देख्दा मनै खिन्न भएको उनले बताए ।
जनैपुर्णिमाका बेला यहाँ भव्य मेला लाग्ने गर्दछ । मेलाको बेला बडिमालिका माइको दर्शन गर्दा चाहेको वरदान पाइन्छ भन्ने अगाध विश्वासका कारण यहाँ नेपाल मात्रै नभएर भारतबाट समेत दर्शनार्थीहरु ओइरिने गर्दछन । इच्छित वर प्राप्ती भएपछि बडिमालिकालाई धन्यवाद दिन दर्जनौ पटक यहाँ पुग्नेहरु पनि छन । यद्यपी केही वर्षयता यहाँ फुल्ने फुलहरु हराउँदै गएकोमा बानियाँ जस्ता जनप्रतिनिधी मात्रै होइन । थुप्रै पटक बडिमालिका पुगेका र यहाँको सुन्दरता अनुभव गरेका सर्वसाधारण पनि चिन्तित हुन थालेका छन ।
५० वर्ष अघि पहिलो पटक बडिमालिका आएकी डोटीकी जमुना गिरी अहिले सम्म १३ औं पटक यहाँ पुगिसकेकी छिन । आफुले आधा शताब्दी अघी देखेको र अहिलेको बडिमालिका पत्याउनै नसकिने गरि फेरिएको उनी बताउँछिन । यँहीबाट लगेको मधुजडी खुवाए पछि आफ्ना पछिको दीर्घ रोग ठिक भएको बताउने उनले अचेल जडिबुटी पनि हराइसकेको बताईन ।
‘पहिलाको हेरुँ भन्या त यो उही बडिमालिकाको हो की होइन ? भन्या जस्तो लाग्छ’ ६९ बर्षिया गिरी भन्छिन ‘त्यतिवेला हिड्न्याँ बाटामा पनि जडिबुटी हुनाछया (हुन्थे) । अचेल केइकेइ (कुनै कुनै) जडिबुटी पाटन भरि खोज्या पनि नैपाइन्या (पाइदैनन) । अचेल माइस मात्रै (मान्छे मात्रै) छन । उति रुप्स्या (राम्रा) फुल, जडिबुटी सबै हराइगया ।’ उनले पाटन क्षेत्रमा प्रसस्त मात्रामा पाईने मधुजडी, धुपजडी, पदचाल, बायोजडी, निनाइजडी, भुतकेश जस्ता जडिबुटी र ब्रम्हकलम, जोगीफुल, टुकीफुल, बुकीफुल, सुनफुल आदी फुलहरु  १०÷१५ वर्ष यता पाइन छाडेको बताईन । मानिसले जथाभावी गरेको कारण बडिमालिका माई रिसाएर  पाटन क्षेत्रका जडिबुटी र फुल हराएको उनको दावी छ । ‘अचेल कलिजुग लाग्या, मान्स (मान्छे) जथाभौती (जथाभावी) गर्न लाग्या । यो देवीले निको मान्याको छैन’ उनले भनिन ।
बडिमालिका क्षेत्रमा पाँचऔले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडिबुटी पाउने क्षेत्र हो । यस्तै विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भुतकेश जटामसी लगायत दर्जनौ प्रजातीका जडिबुटी पनि यहाँ पाइन्छन । औषधीय गुण भएका यी जडिबुटीहरु बहुमुल्य हुन्छन । यस क्षेत्रमा पाइने ब्रह्मकमल, बुकी फुल, जाई, जुई चमेली, सुन जाई ,इन्द्र कमल, सेतो गुराँस, चाँप, चिमालो लगायत एक सय भन्दा बढी प्रजातिका दुर्लभ फुलहरु पाइन्छन ।
मनोरम प्राकृतिक छटाले युक्त बडिमालिका सुदुरपश्चिमकै महत्वपुर्ण धार्मिक र साँस्कृतिक बैभव मात्रै होइन । समुन्द्र सतह देखि दुइ हजार मिटरबाट अग्लिदै ४ हजार २ सय मिटर सम्म आकासिएको यो क्षेत्र जैविक विविधताका दृष्टिकोणले पनि महत्वपुर्ण र संवेदनशिल छ । यद्यपी सरकारले यस क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणमा वेवास्ता गर्दा बहुमुल्य जडिबुटी र फुलहरु मात्रै होइन दुर्लभ पारिस्थितिकीय प्रणाली नै लोप हुने खतरा बढ्दो छ ।
स्थानीयहरुका अनुसार बडिमालिका क्षेत्रमा जनै पूर्णिमामा लाग्ने मेलाको बेला बाहेक अरु समयमा सरकारी उपस्थिति शुन्य हुन्छ । यही मौका छोपेर अछाम, बाजुरा, कालिकोट, जुम्ला र मुगु लगायतका जिल्लाबाट आएका स्थानियले अबैध रुपमा जडिबुटी संकलन गर्ने, वन्यजन्तु र पंक्षिको  सिकार गर्ने जस्ता गतिविधीहरु निस्फक्री हुने गरेका छन ।
‘अहिले त त्यहाँ फुल फुल्न पनि छाडे , जडिबुटी मात्रै होइन । जीव जनावर पनि भेटिदैनन । पहिलाको जस्तो बडिमालिका अब रहेन ।’ बडिमालिका नगरपालिकाका डम्म थापा भन्छन ‘यसरी बोट विरुवा र जीवजन्तु हराउदै जाने हो भने बडिमालिकाको महत्व पनि के रहला र ?’ उनले यो क्षेत्रमा पाइने जिवजन्तु र वनस्पतीहरु लोप हुदै जानुको कारण संरक्षणको जिम्मा लिएका निकायहरुको चरम वेवास्ता भएको बताए । ‘यहाँ जसले जे गरे पनि रोक्न कोही आउँदैनन । सबैको मनपरी भए पछि यस्तै हो’ उनले भने ।
यो क्षेत्रमा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा च्याँङग्राहरु बैसाख देखी असोज सम्म छाडा रुपमा चराउने चलन छ । ठुलो संख्या भेडा च्याङग्राहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविक विविधता नोक्सान भइरहेको जानकारहरुको भनाई छ । ‘चोरी सिकार, जथाभावी जडिबुटीको संकलन मात्रै होइन । बर्षको ६ महिना सम्म १०/१५ हजार भन्दा भेडाबाख्रा त्यही हुन्छन । सयौको संख्यामा घोडा भैसीहरु पनि छाडा छोड्ने गरिएको छ । ’ बाजुरा बुढीगंगा नगरपालिका स्थानिय समेत रहेका सामाजिक कार्यकर्ता देवेन्द्र शाहले भने ‘सरकारको उपस्थिती शुन्य छ । सरकारको निगरानी नभए पछि जसले जे गरे पनि भयो’  अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला र मुगु लगायतका जिल्लाबाट ठुलो संख्यामा भेडा च्याङग्रा यहाँ चराउन ल्याउने गरिएको उनले बताए ।
बडिमालिका जस्तो अनुपम जलवायु र जैविक विविधता भएको क्षेत्रको पर्यावरणिय विनास भइरहेको प्रति यहाँ पुग्ने दर्शनार्थी र स्थानीय जस्तै वातावरण विदहरु पनि चिन्तित छन । जैविक विविधताले भरिपुर्ण बडिमालिका जस्ता ठाउँहरु विश्वमा कमै मात्रै भेटिने भएकोले यस्ता क्षेत्रको संरक्षणमा सरकारले उच्च संवेदनशिलता अपनाउनु पर्ने उनीहरुको सुझाव छ ।
‘यस्तो अद्धितिय पारिस्थितिकिय प्रणाली भएका ठाउँहरु नेपाल मात्रै होइन अन्य देशमा पनि कमै भेटिन्छन’ त्रिभुवन विश्वविद्यालय वनस्पती विभागका एसोसिएट प्रोफेसर डा. नारायण घिमिरे भन्छन ‘४ हजार मिटर भन्दा माथी विशाल घाँसे मैदान (पाटन) हुनु र त्यहाँ सयौं प्रजातिका वनस्पतीहरु भेटिनु भनेको दुर्लभ प्राकृतिक अवस्था हो ।’
उनले यहाँ पाइने कतिपय वनस्पती र जिवजन्तु इन्डेमिक (यो ठाउँ बाहेक अन्त नपाइने खालका) प्रजातिका हुने भएकोले यहाँबाट लोप भए संसारबाट सदाका लागि हराउने खतरा हुने बताए । ‘तर सरकारले जैविक विविधता जोगाउने सवालमा जंगल, सिमसारलाई मात्रै प्राथमिकतामा राखेको छ । यस्ता घाँसे मैदानहरुमा भेटिने पारिस्थितिकीय प्रणाली जोगाउन सकिएन भने भविश्यमा ठुलो पछुतो हुनेछ’
पर्यावरणिय, धार्मिक, साँस्कृतिक र पर्यटकिय धरोहरको रुपमा रहेको बडिमालिकाको जैविक विविघता संकटमा परेको बारे यहाँका स्थानीय सरकार देखि संरक्षणको क्षेत्रमा कार्यरत निकायहरु बेखवर भने छैनन । यद्यपी यो क्षेत्रको वातावरण संरक्षणका लागि उनीहरुले प्रयास भने गरेका छैनन ।
बडिमालिकाको जडिबुटी, फुल र वन्यजन्तु मध्ये धेरै जसो लोप हुने अवस्थामा पुगिसकेको डिभिजन वन कार्यालय बाजुराका अधिकारीहरु स्विर्काछन । यद्यपी कुन जडिबुटी र फुल प्रजाती लोप भएका छन ? र के कारणले लोप भएका हुन ? भन्ने बारे भने कुनै अध्ययन नभएको डिभिजन वन कार्यालय बाजुराका निमित्त प्रमुख हरी यादवले बताए ।
‘धेरै जडिबुटी र फुलहरु लोप भैसकेका छन । यो विषयमा अध्ययन गर्नका लागि प्रदेश सरकारलाई बजेट पनि मागेका हौं तर पैसा हालिदिएनन ।’ उनले भने । जलवायु परिर्वतन र अवैज्ञानिक तरिकाले जडिबुटी संकलनका कारण बहुमुल्य जडिबुटीहरु लोप भएको हुन सक्ने उनको अनुमान छ ।
यो क्षेत्रमा प्रतिवन्धित पाँचऔले लगायतका जडिबुटीको संकलन र डाँफे कस्तुरी जस्ता लोपोन्मुख वन्यजन्तुको चोरी सिकार हुने गरेको भए पनि निगरानी गर्न नसकिएको उनको भनाई छ ‘कसैले उजुरी दियो भने वन रक्षकहरु पठाउने गरेका छौं । त्यहाँको क्षेत्र पनि ठुलो छ । हामी सँग जनशक्ती कम छ ।’ उनले भने ‘अहिले कै कर्मचारीले बडिमालिकाको नियमित अनुगमन सम्भव छैन । हाम्रो उपस्थिती नभए पछि मनपरी हुने नै भयो’
संरक्षण क्षेत्र नभए झन विग्रन्छ – जनप्रतिनिधी 
बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी, बडिमालिका, बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा, कालिकोटको सान्नी त्रिवेणी र अछामको रामारोसन गाउँपालिकाको विचमा पर्दछ । कालिकोटकै पचाल झरना गाउँपालिकाले पनि यो क्षेत्रले आफ्नो पालिका पनि छुने दावी गर्दै आएको छ ।
बडिमालिकामा पर्ने पाटन क्षेत्रको कुल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारीक मापन भएको छैन । यि सबै पालिकाले बडिमालिका आफ्नो क्षेत्रमा पर्ने भन्दै पर्यटन प्रर्वद्धनका लागि बर्षेनी ठुलो रकम लगानी गरेर विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन । यद्यपी यहाँको विग्रदै गएको पर्यावरणको बारेमा जानकार भएर पनि संरक्षणको लागि कसैले पनि पहल गरेका छैनन ।
‘बडिमालिकाको जैविक विविधता र पर्यावरण अब सकिने अवस्थामा पुग्दैछ’ २० पटक भन्दा बढी यहाँ पुगेका बाजुराको त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले थुप्रै प्रजातीका प्राणी र वनस्पती लोप भैसकेको बताउदै भने ‘तर पनि यहाँको वेथिती नियन्त्रण गर्न एउटा पालिकाले चाहादैमा केही हुनेवाला छैन । सरकारले यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर काम अगाडी बढाउन सकेन भने यहाँको पर्यावरणिय अस्तित्व नै समाप्त हुनेवाला छ’
बडिमालिका बाजुराको मात्रै नभएर धार्मिक, साँस्कृतिक, पौराणिक र अद्धितिय पारिस्थितिकिय प्रणालीका दृष्टीकोणले राष्ट्रकै सम्पती भएकोले यसको संरक्षणमा प्रदेश र संघिय सरकारले ध्यान दिनु पर्ने बडिमालिका नगरपालिकाका प्रमुख अमर खडकाले बताए ।
‘बडिमालिकाको जैविक विविधता संकटमा परिसकेको छ । तत्काल संरक्षणको कदम चाल्न सकिएन भने झन झन विग्रदै जानेवाला छ ।’ उनले भने ‘अब पालिकाहरुको प्रयासले मात्रै यो नियन्त्रण गर्न सम्भव छैन भनेर हामीले यो विषयमा नगरपालिका महासंघ मार्फत पनि सरकारको ध्यानाकर्षण गराउने कोशिस गयौं ।  राष्ट्रपतिलाई समेत बिफ्रिङ गरेका छौ । यस्तो अलौकिक ठाउँको संरक्षणको लागि सरकारले निर्णय गर्न हतार नगरोस’ उनले बडिमालिका क्षेत्रसँग सिमा जोडिएका पालिकाहरुको संयुक्त बैठक बसेर यो विषयमा सरकारको ध्यानाकर्षण गर्ने तयारी पनि भैरहेको बताए ।

आज रवि लामिछानेलाई पोखराबाट आज बुटवल लगिंदै

काठमाडौं, २७ कात्तिक।
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि आज कास्कीबाट रुपन्देही लगिदैछ ।

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले उनलाई बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी गरिएपनि मौसमको प्रतिकूलताका कारण उडान ढिला भएको जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतको अनुमतीपछि उनलाई थप अनुसन्धानका लागि बुटवल लैजान लागिएको हो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लगिने छ । त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ ।

पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै आएको रास्वपाले आज बुटवलमा पनि विरोध प्रदर्शनको तयारी गरेको छ । त्यसैले स्थानीय प्रशासनले बुटवलको सुरक्षा व्यवस्था कडा पारेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर (सूचि सहित)

काठमाडौँ, २७ कात्तिक ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ नौ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भारत हुँदै तेस्रो देश जान ‘एनओसी’ नचाहिने

काठमाण्डौं, २७ कात्तिक ।
श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अबदेखि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

सोमबार दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीलाई भारतीय विमानस्थल प्रयोग गरेर श्रम गन्तव्य जाँदा एनओसी नचाहिने व्यवस्था लागु गरेको जानकारी गराएको हो ।

दूतावासका अनुसार साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनु पर्छ ।

वैदेशिक रोजगार विभाग र विभागमातहतका श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भने एनओसी आवश्यक नरहेको सूचनामार्फत स्पष्ट पारिएको छ ।

त्यसै गरी नेपाली कूटनीतिक, आधिकारिक, सेवा राहदानी धारक, संयुक्त राष्ट्र सङ्घ लायसेज–पासर (युएनएलपी) भएका नेपाली नागरिक र १६ वर्षमुनिका नेपाली नाबालिगलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासको सूचनामा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि अबदेखि एनओसी चाहिँदैन । रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने हुन्छ ।

भम्रणका लागि एनओसी आवश्यक पर्ने नेपाली नागरिकलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातसहित तोकिएको मितिभन्दा कम्तीमा सात दिनअगाडि सम्पर्क गर्न दूतावासले सूचनामार्फत आग्रह गरेको छ । यात्रा एनओसीका लागि सेवा शुल्क प्रतिव्यक्ति एक हजार भारतीय रुपियाँ तोकिएको छ ।

 

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जाने क्रममा जहाजमा उनीहरूबीच भेट भएको हो ।

भेटमा उनीहरूबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्या बारेमा संक्षिप्त कुरा भएको हो ।’जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ,’ कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए ।

आजबाट शुरू भएको कोप–२९ सम्मेलनमा  भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै त्यहाँ पुगेका हुन्।

‘सन् २०२४ अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुन सक्ने’

संयुक्त राष्ट्रसङ्घले सन् २०२४ अभिलेख राख्न थालिएदेखि अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुन सक्ने चेतावनी दिएको छ।

अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन (सीओपी२९) को पहिलो दिन प्रकाशित जलवायुसम्बन्धी प्रतिवेदनमा राष्ट्रसङ्घको एउटा निकायले त्यस्तो चेतावनी दिएको हो। राष्ट्रसङ्घको विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ) ले जलवायु परिवर्तनका सन्दर्भमा “रेड अलर्ट” जारी गरेको छ।

तर त्यसको अर्थ विश्वले दीर्घकालीन तापमान वृद्धि औद्योगिकीकरण हुनुभन्दा अघिको तहसँग तुलना गर्दा १.५ डिग्रीभन्दा कममा सीमित पार्न विफल भएको भन्ने नलाग्ने सो निकायले जनाएको छ।

  • ‘जलवायु परिवर्तनसँग सम्बन्ध’

    खुम्बु आइसफलमा आरोहीहरूलाई जोखिम बढ्न थालेको उनीहरू बताउँछन्

    तस्बिर स्रोत,Bijay Gajmer

    तस्बिरको क्याप्शन,जलवायु परिवर्तनपछि सिर्जित विभिन्न मौसमी घटनाका कारण विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि जोखिम बढेको कतियपयको भनाइ छ

    ‘सीओपी२९’ मा सहभागी हुन बाकुमा भेला भएका नेताहरू विकासशील देशलाई जलवायुसम्बन्धी गतिविधिका लागि प्रस्तावित १० खर्ब डलरको प्याकेज उपलब्ध गराउनुपर्ने दबावमा छन्।

  • आगामी दुई सातासम्म चल्ने उक्त सम्मेलनमा विश्वका झन्डै २०० राष्ट्रका शीर्ष नेताहरू सहभागी हुँदै छन्। त्यसमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली गएको छ।

    यो सम्मेलनको मुख्य ध्यान प्यारिस सहमति २०१५ ले निर्धारण गरेअनुरूप राष्ट्रहरूले दीर्घकालीन तापमान वृद्धिलाई कसरी १.५ डिग्री मा सीमित पार्ने गरी योजना बनाउँछन् भन्नेमा छ।

    यो वर्ष औसत तापमान वृद्धि १.५ डिग्री सेल्सिअस भएको छ। तर राष्ट्रसङ्घले आफूले दीर्घकालीन प्रवृत्तिको कुरा गरेको हुनाले त्यस्तो वृद्धिले लक्ष्य भने प्रभावित नभएको जनाएको छ।

  • यो वर्ष विश्वका विभिन्न स्थानमा जलवायुसम्बन्धी कारणहरू जोडिएका ठूलाठूला घटना र प्राकृतिक विपद्हरू भए।

    मार्च र एप्रिल महिनामा पश्चिम अफ्रिकामा चर्को उष्णलहर चल्यो भने सेप्टेम्बर महिनामा मध्ययुरोपमा भीषण वर्षा भयो।

    जलवायुको क्षेत्रमा कार्यरत वर्ल्ड वेदर अट्रिब्यूशन ग्रूपले माथि उल्लिखित र अन्य कैयौँ घटनाको सम्बन्ध मानवका कारण प्रभावित जलवायु परिवर्तनसँग भएको जनाएको छ।

    पृथ्वी तात्ने क्रम नरोकिने हो भने मौसमसम्बन्धी चरम घटनाहरूको सङ्ख्या र शक्ति अझ बढ्दै जाने चेतावनी जलवायु वैज्ञानिकहरूले दिएका छन्। तिनको सामना गर्न गरिब राष्ट्रहरूलाई आर्थिक सहयोग चाहिने उनीहरूको भनाइ छ।

    १.५ डिग्री सेल्सिअसको लक्ष्य

    सीओपी२९ वा कोप२९, बाकु, अजरबैजान

    तस्बिर स्रोत,EPA

    तस्बिरको क्याप्शन,अजरबैजानको बाकुमा विश्व जलवायु सम्मेलन (सीओपी२९) सुरु भएको छ

    डब्ल्यूएमओका अनुसार ज्यानुअरीदेखि सेप्टेम्बरसम्म विश्वमा औसत तापमान वृद्धि झन्डै १.५४ डिग्री सेल्सिअसले भयो। त्यो १९औँ शताब्धीको उत्तरार्धको भन्दा बढी हो।

    सन् २०१५ मा झन्डै २०० देशले जलवायु परिवर्तनको दुष्प्रभाव घटाउन सकिन्छ कि भन्ने आशासहित सन् २०१५ मा दीर्घकालीन वैश्विक तापमान वृद्धि घटाउने प्रयास गर्ने वचनबद्धता गरेका थिए।

    प्यारिस सहमतिले औसत वैश्विक तापमान वृद्धि २ डिग्रीभन्दा कम र सकेसम्म १.५ डिग्रीमा सीमित पार्ने लक्ष्य राखेको छ।

    नौ वर्षअघि सीओपी२१ का बेला कुल २०० राष्ट्र र पक्षले उक्त अन्तर्राष्ट्रिय सहमतिमा हस्ताक्षर गरे। तिनका लागि यो सहमति बाध्यकारी छ।

    तर संयुक्त राज्य अमेरिका भने उक्त सहमतिबाट बाहिरिइसकेको छ।

पुटिनलाई ट्रम्पको फोन, युक्रेनसँगको तनावबारे समाधान खोज्‍न आग्रह

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेका छन् ।

द वासिङ्टन पोस्टमा प्रकाशित समाचारका अनुसार आफ्नो चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो स्टेटबाट फोनमार्फत कुराकानी गर्दै उक्त कुरा राखेका हुन्।

ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेका छन्, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौं ।”

ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराएकाको नाम नछाप्ने आधारमा कुरा गरेको फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ । उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो समेत व्यक्त गरेका थिए ।

रुसी सरकारले ट्रम्पको फिर्तीमा सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । ‘सकारात्मक संकेत देखिएको छ, कम्तीमा उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि केही दिनअघि ट्रम्पसँग कुरा गरेका थिए ।

जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित

काठमाडौँ- जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् ।

प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको हो ।गत अक्टुबरमा भएको मतदानमा इसिबाले पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्‌मा बहुमत गुमाएको थियो । ४ सय ६५ सदस्यीय संसद्‌मा एलडीपी-कोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको थियो । तर कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्‌मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विशेष अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन् ।

गाजामाथि इजरायलली नरसंहारविरूद्ध माओवादी केन्द्र संस्थागत रूपमै विरोधमा उत्रियो

काठमाडौँ । इजरायलले प्यालेष्टाइनी भू–भागहरू गाजा र पश्चिमी क्षेत्रमा निरन्तर सैन्य हस्तक्षेप गरी नरसंहार गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संस्थागत रूपमै विरोध जनाएको छ । प्यालेष्टाइनीहरूको जातीय नरसंहारलाई लिएर संयुक्त राष्ट्रसंघ लगायत विश्वव्यापी विरोध र भत्र्सना हुँदा समेत इजरायली फाँसिवादी युद्ध आतंक नरोकिएको भन्दै माओवादीले विरोध जनाएको हो ।

महासचिव देव गुरुङले विरोधका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार प्रदेश समितिलाई परिपत्र नै पठाएको एक नेताले जानकारी दिए । प्यालेष्टाइनीमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारको विरोधमा विरोध अभियान आवश्यक रहेको माओवादीको निष्कर्ष छ ।

आक्रमणको विरोधमा राजनीतिक दल र नागरिक समाजका अगुवाहरूको पहलमा ‘प्यालेष्टाईनीहरू माथि इजरायलबाट भइरहेको जनसंहार विरुद्ध संयुक्त अभियान, नेपाल’ गठन भएको छ । यस अभियानमा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ सहभागी रहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा संयुक्त अभियानको संयन्त्र र कार्यक्रममा सक्रिय सहभागी हुने परिपत्रमा उल्लेख गरिएको ती नेताले बताए ।

‘हाम्रो पार्टीको आदरणीय अध्यक्ष क. प्रचण्डको निर्देशन अनुसार यस अभियानको मूल विषयमा हाम्रो पार्टीको समान धारणा रहेकोले यस संयुक्त अभियानको संयन्त्रमा सहभागी हुने र त्यसका कार्यक्रमहरूमा सक्रिय सहभागी हुने निर्देशन गर्नुभएको छ । अतः यस संयुक्त अभियानबाट यही कार्तिक २६ गते इजरायली दूतावासमा ज्ञापनपत्र दिने लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना भएकोले उक्त कार्यक्रमहरूमा व्यापक जनसहभागितामा जोड दिन यो परिपत्र गरिएको छ’, परिपत्रमा भनिएको छ ।

ती नेताका अनुसार माओवादीले संयुक्त अभियानका निर्णय र कार्यक्रमहरू समेत परिपत्रमा पठाएको छ । कात्तिक २१ गते बसेको संयुक्त अभियानको संयन्त्रको बैठकले पाँच बुँदे निर्णय गरेको थियो ।

पहिलो बुँदामा संयन्त्रको नाम ‘प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहार विरुद्ध संयुक्त अभियान, नेपाल’ राख्ने निर्णय गरेको थियो । दोस्रो  बुँदामा इजरायली जनसंहारविरूद्ध रहेका सबै दल, बृहत्तनागरिक आन्दोलन, संघ–संस्था र व्यक्तित्वहरू कात्तिक २६ गते १ बजे शान्तिबाटिका, शंखधर पार्कमा जम्मा भएर इजरायली राजदूतावास, लाजिम्पाटमा ज्ञापनपत्र दिने रहेको छ ।

यस्तै तेस्रो बुँदामा मंसिर ८ गते १ बजे माइतीघर मण्डलामा एकत्रित भएर बृहत्तविरोध प्रदर्शन गर्दै नयाँ बानेश्वरसम्म जाने र त्यहाँ विरोध सभा गर्ने, चौथो बुँदामा ज्ञापनपत्र र बृहत् विरोध प्रदर्शनको कार्यक्रमको बिचमा इजरायली जनसंहार सम्बन्धमा जनमत सिर्जनाको उद्देश्यले फोटो तथा भिडियो प्रदर्शनी गर्ने उल्लेख छ । यस सम्बन्धी ज्ञाताहरूसँग बसेर यसको स्थान, मिति र विधि बारे टुङ्गो गर्ने सहमति भएको बताइएको छ ।

पाँचौँ बुँदामा नेपाल सरकारलाई ज्ञापनपत्र दिने, अमेरिकी दूतावासमा ज्ञापनपत्र दिने र नेपालका विभिन्न सहरी केन्द्रमा पनि विरोध प्रदर्शन गर्नेबारे संयन्त्रमा आम सहमति भएकाले यसबारे विस्तृतमा पछिका संयन्त्रका बैठकमा टुंग्याउने निर्णय गरेको थियो ।

इजरायलको विरूद्ध माओवादी सहितका दलहरू विरोधमा उत्रिएको विषयमा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘प्यालेष्टाइनी भू–भागमा लगातार इजरायली हमलाले त्यहाँ ठुलो नरसंहार भएको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित मानवता विरोधी आक्रमणको विरोध गर्नुपर्ने आवश्यक देखिएकाले हामी विरोधमा उत्रिएका हौँ । त्यहाँ तत्काल नरसंहारको अन्त्य गरी शान्ति स्थापना गर्न दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रममा सहभागी भएका हौँ ।’

यस्तै प्रचण्ड सरकारको पछिल्लो कार्यकालमा परराष्ट्र सल्लाकार रहेका रुपक  सापकोटाले हमासद्वारा इजरायीलमाथि भएको आक्रमणको समेत विरोध गरेको दाबी गरे । अहिले इजरायले जसरी गाजा क्षेत्रमा नरसंहार गरिरहेको छ, त्यसको विरोध गर्नु आवश्यक भएको उनले बताए ।

‘त्यतिबेला हमासद्वारा इजराइलमा भएको आक्रमणको पनि सरकारले विरोध गरेको थियो । माओवादीसहित विभिन्न दलहरूले विरोध गरेको थियो । यसको मतलब यो होइन कि गाजा क्षेत्रको जुन किसिमको नरसंहार भइरहेको छ । महिला, बालबालिका, सार्वजनिक क्षेत्रहरू जसरी तहसनहस भइरहेका छन् । त्यहाँ ठुलो मानवीय संकट पैदा भइराखेको छ । त्यसको अन्त्य गरी शान्ति स्थापनाका लागि दबाब दिन आवश्यक ठानेर नै विरोध गरिएको हो’, सापकोटाले भने ।

 

महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भए पनि चुनौती अझै छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौँ / परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गरेकी छन् ।

युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताएकी हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “मलाई लाग्छ नेपालका महिलाहरुले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारको बिजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो । सो चौथो विश्व महिला सम्मेलनले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिलाविरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो ।”

सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै उनले त्यसयता नेपालका महिलाहरुले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरू महिलाले संवैधानिक रूपमै प्राप्त गरेको बताए ।

सो सम्मेलनपछिका ३० वर्षमा महिला अधिकार र लैङ्गिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा राणाको भनाई थियो ।

उनले भने, “महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ । यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ ।”

मन्त्री डा राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालबिवाहमा न्यूनिकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकाङ्कमा नेपालले प्रगति गरेको उल्लेख गरे ।

उनले हाम्रा नीतिहरू लैङ्गिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गर्नुका साथै सीमान्तकृत समुदायका महिला, आदिवासी, दलित र अपाङ्गता भएकाप्रति केन्द्रित रहेको जानकारी दिए ।

मन्त्री डा राणाले संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको स्पष्ट गर्दै तर पनि महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको धारणा राखे ।

आफ्नै उदाहरण प्रस्तुत गर्दै उनले भने, “बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरुले महिलालाई बढी शिकार बनाएको मेरो अनुभव छ । जस्तो कि यहाँ मेरा बारेमा पनि कति धेरै गलत सूचनाहरु सप्रेषण गरिएका थिए । विश्वका महिला नेतृहरुको पनि यस्तै अनुभव रहेछ । म हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरुले पनि यो अनुभव सेयर गर्नुभएको थियो ।”

उनले यी सबैखाले चुनौतीविरुद्धमा लडेरै अघि बढ्नुपर्ने भनाइ राखे ।

उनले भने, “महिला सशक्तीकरणका लागि हामीले बाटो बनाएका छौँ । हामीले दिशा पनि निर्धारण गरेका छौँ । हामीले कामका लागि गति सिर्जना गरेका छौँं । तर पनि कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयासहरू हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ ।”

सबै खाले चुनौतीहरुको पहिचान गरी कति बर्षमा के कसरी समाधान गर्ने भन्ने स्पष्ट खाका एवं कार्ययोजना नै बनाएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

 

खोज्नुहोस