सिनामंगलस्थित एक होटलमा युवक–युवती मृत भेटिए

काठमाडौं,९ मंसिर ।
काठमाण्डौंको सिनामंगलस्थित एक होटलमा युवक–युवती मृत भेटिएका छन् ।

होटलको कोठामा युवक–युवती मृत भेटिएको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले होटलको कोठामा झुण्डिएको अवस्थामा युवक–युवती फेला परेको जानकारी दिए ।

एसपी अधिकरीले प्रहरी टोली घटनास्थलमा भर्खर पुगेकाले थप विवरण आउन बाँकी रहेको बताए ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९ मङ्सिर ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ दुई पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय एक रुपैयाँ चार पैसा र बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा र बिक्रीदर १२ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ  ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

त्यो गुलजार कटासे ! यो उराठलाग्दो कटासे !

  • त्यो गुलजार कटासे ! यो उराठलाग्दो कटासे ! त्यो कटासे, जहाँ खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो ! यो कटासे, जहाँ मान्छे नै दैखिँदैनन् !

पारि बर्दिया । वारी कटासे । बीचमा कर्णाली नदी । कटासेसँगै जोडिएको कुलारिया कुलो । दक्षिणतिर बग्ने जमरा । पूर्व–पश्चिम राजमार्गबाट करिब २/३ किलोमिटर दक्षिणमा पर्ने कटासे, जतिबेला राजमार्ग बनिसकेको थिएन, निकै गुलजार थियो । कटासे बजार त्यतिबेला सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाका लागि व्यापारिक केन्द्र थियो, जहाँ नुनदेखि सुनसम्मै पाइन्थ्यो ।

पहाडबाट झरेकाहरूले सालघारी फाँडेर २०२२ सालमा बसाएको कटासे गाउँ २०३३ सालदेखि चर्चामा आएको हो । २०३३ देखि २०५३, यो २० वर्षमा कटासेले सबै चीज बेहोर्‍यो– उतारचढाव, उत्थान, पतन । २०२८ सालमा खडकबहादुर सिंह भूमिसुधारमन्त्री थिए । उनले ‘कर्णाली नदीछेउको बसाइ सुरक्षित छैन’ भन्दै बलचौर र पाताभार बजार उठाए । त्यहाँका व्यापारीहरू पसल बोकेर कटासे गए र व्यापार गर्न थाले ।

मिनराजसिंह राठौर थिए– लम्की क्षेत्रका जमिनदार । कटासेमा राठौरका मान्छे कुशल डाँगीको ९ कठ्ठा जग्गा थियो । राठौरकै सल्लाहमा डाँगीको जमिन भाडामा लिएर २०३३ सालमा कटासेमा बजार बस्यो ।

केही समयमै कटासेमा व्यापार चुलियो । भीड थेगिनसक्नु हुन थाल्यो । पसलहरू थपिने क्रम तीव्र भयो । व्यवसायीहरूले स्थानीयसँग सल्लाह गरेर नरी कामीको १३ कठ्ठा जग्गा लिए । स्कुलको ऐलानी खेतीयोग्य जमिन कामीलाई दिए । त्यतिले पनि नपुगेपछि बुँदे कामीको एक बिघा जमिन लिए । यसरी बजार विस्तार भयो । जग्गा सट्टापट्टाबापत व्यापारीहरूले विद्यालयलाई वार्षिक ३५ हजार रुपैयाँ बुझाउन थाले । कटासे बजार व्यवस्थित बनाउन गगनसिंह थापा र टीकाराम भाटको उल्लेखनीय योगदान रहेको बताइन्छ ।

कटासेमा किनमेल गर्नेको उधुमै भीड हुन्थ्यो । सिनेमा हल थियो । बेलाबेला मेला लागिरहन्थ्यो, सर्कसको रमाइलो बेग्लै हुन्थ्यो । पाकाहरू स्मरण गरिरहन्छन्– कटासेको त्यो भीड, सर्कसको रमाइलो (राम), अछामी लवजको थेगो ‘हटँ बाई जाऊँ कटास्याँ बजार, सरकस की राम छ’ । कैलालीका गाँउगाँउबाट सर्कस र देउडाको राम (रमिता) हेर्न पनि कटासेमा ओइरिन्थे मान्छेहरू ।

यहाँ भारतीय व्यापारीका पसल पनि थिए । पहाडबाट सामान किन्न आउनेहरू घ्यू, सुन्तला, जडीबुटी र भेडाका बथान लिएर कटासे आउँथे । ती चीज बेच्थे र नुन, तेल, लुगा, चिनी किनेर घर फिर्थे । तिकुनियाका व्यापारीहरू घ्यू किन्थे अनि अलिगढ र दिल्ली लैजान्थे बेच्न । पश्चिम नेपालको सबैभन्दा ठूलो व्यापारिक केन्द्र थियो– कटासे बजार । ४० को दशकमा आइपुग्दा यो बजार सुदूरपश्चिमको अछाम, बाजुरा, डोटीको तल्लो बेल्ट, कर्णालीको मुगु, कालीकोट, हुम्ला, जुम्ला, सुर्खेत र दैलेखका मान्छेका लागि भरपर्दो हाट बनिसकेको थियो । हटारुहरू कर्णाली करिडर हुँदै कटासे पुग्थे ।

पश्चिममा महाकाली किनारमा ब्रह्मदेव मण्डी थियो, जहाँ महाकाली र सेती अञ्चलका पहाडी जिल्लाका मान्छे किनमेल गर्न पुग्थे । अर्को मण्डी थियो– सत्ती । र, त्यसको पारिपट्टि बर्दियामा थियो– राजापुर मण्डी । कैलालीमा घैला बौनिया, तल्लो मुडा, चौमाला, हसुलिया मण्डी थियो । अहिलेको अत्तरिया अस्तित्वमै थिएन । मालाखेतीमा चल्तीको बजार थियो ।

कर्णाली नदीमा पुल बनेपछि त्यसको किनार चिसापानीमा बस्तीसँगै बजार विस्तार भयो । पूर्वपश्चिम राजमार्गले लम्की पनि पूर्वी नेपालसँग सोझै जोडियो । दक्षिणमा रहेको टीकापुर पनि बिस्तारै सहरमा परिणत हुँदै गयो । भनिन्छ, कटासे हुँदै निर्माण गर्ने भनिएको राजमार्ग तत्कालीन केही पहुँचवालाहले आफ्नो जग्गा भएठाउँबाट निर्माण गराए । त्यसपछि कटासेका व्यापारी अन्यत्रै सर्ने क्रम सुरु भयो । कोही लम्की सरे (अहिलेको लम्कीलाई उतिबेला झुंगा भनिन्थ्यो), कोही चिसापानी, कोही बर्दियाको भुरीगाउँ पुगे । कतिपयले टीकापुरलाई थातथलो बनाए ।

यसरी दुई/तीन वर्षमै कटासेले त्यो शान, व्यवसाय, रौनकता सबै गुमायो । अहिले कटासे पुग्दा सबै सोचिबस्छन्– के यो ठाउँ त्यही कटासे हो ?

अहिले कटासेमा छ– उराठलाग्दो वस्ती, मक्किएका दलिन, घाँस र रूख उम्रिएका जीर्ण घरहरू । बजारको मध्यभागमा छ एउटा पक्की घर, जहाँ कुनै बेला भाडा पसल थियो । ५० को दशकसम्म यहाँ भाँडा किन्न पालो कुर्थे ग्राहकहरू । ती पसले बर्दिया सरेपछि अहिले त्यो दुईतले घर खण्डहर बनेको छ ।

पुराना सबै व्यापारी यहाँबाट गए । नयाँ आएनन् । ‘पुरानामध्ये दुई जना व्यापारी मात्रै यहाँ छन्’, होटल सञ्चालक रञ्जन थापा सुनाउँछन्, ‘सबैले छोडेर गएपछि कटासे सुनसान बनेको हो ।’

२०१५ सालका माननीय लोकेन्द्रबहादुर शाहले २०३५ सालमा कटासेबाट चौगुर्दी भन्सारसम्म बस चलाए । कैलालीको पूर्वी भेगमा सार्वजनिक यातायात सुरुवात गर्ने पहिलो व्यक्ति शाह थिए । कर्णाली किनार भएर बस चल्थ्यो । टीकापुर त्यो रुटमा पर्दैनथ्यो ।

त्यो गुलजार कटासे ! यो विरक्तलाग्दो, उराठलाग्दो कटासे ! त्यो कटासे, जहाँ भीडमा बच्चाहरू हराउने डर हुन्थ्यो । बच्चा हराउलान् भनेर अभिभावकहरू तिनका हात छाड्दैनथे । त्यो कटासे, जहाँ हिउँदमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो ! यो कटासे, जहाँ मान्छे नै दैखिँदैनन् ।

बहुराष्ट्रिय र राष्ट्रिय कम्पनीका अधिकृत बिक्रेताहरू जति कटासेमा थिए । यहीँबाट सुदूरपश्चिमका अन्य जिल्लामा ती कम्पनीका उत्पादन बिक्री हुन्थे । शिक्षण पेसा छाडेर कौवापुरबाट २०३३ सालमा कटासे पुगेका रंगनाथ ढकालले सुरुमा किराना व्यापार गरे । २०३८ सालपछि कपडा पसल चलाए, ५० सालपछि लम्की सरे । त्यसअघि अहिलेको लम्की बजार अस्तित्वमै थिएन ।

जानकारहरू भन्छन्, ५० को दशकअघि राजमार्ग निर्माणका लागि तीन ठाउँबाट सर्भे भएको थियो । पहिलो, अहिले राजमार्ग भएको कर्णाली– लम्की खण्डमा । दोस्रो, कटासे बजारमा । तेस्रो, कटासेको दक्षिणपट्टि टीकापुरलाई जोड्ने गरी । पञ्चायतमा पहुँच भएकाहरूले कटासेलाई विस्थापितै गर्ने उद्देश्यले उत्तरतर्फ राजमार्ग निर्माण गरे । त्यही राजमार्गअन्तर्गत पर्ने लम्कीमा सहर बस्यो । २०४८ देखि चिसापानीमा फेरी चल्थ्यो । छेउमै कर्णाली नदीमाथि पुल बनेपछि, पुल र राजमार्गसँग जोडिएपछि चिसापानी बजार बिस्तार भयो । यता कटासेका खराब दिन सुरु भए । एकपछि अर्का ठूला व्यापारीले कटासे छोड्ने क्रम तीव्र भयो । र, तीनै वर्षमा कटासे सुनसान भयो ।

कटासेमा कैलालीकै नाम चलेका व्यापारीहरू थिए । तीमध्ये एक थिए, शिवलाल भण्डारी । उनको किराना–होलसेल पसल थियो, जहाँ नुनदेखि सुनसम्मै पाइन्थ्यो । बिँडीको व्यापार पनि उधुमसँग चल्थ्यो, डिजेल पनि बेच्थे उनी ।

कपडाका लागि सुर्खेतका कलाधर पौडेलको ‘पौडेल वस्त्रालय’ र अछामका रंगनाथ ढकालको ‘ढकाल वस्त्रालय’ थियो । दैलेखबाट बल्चौर झरेका तेजबहादुर थापाले कटासे आएर व्यापार सुरु गरेका थिए । कटासेमा दुई दशक बिताएका थापा पनि ५० को दशकपछि व्यापारसहित लम्की सरे ।

टीकाराम कँडेलको भाडा पसल थियो । पसलमा भड्डुमाथि भड्डु राखिएका हुन्थे । भड्डुको चाङ देखेर मान्छेहरू चकित पर्थे । भाँडाकुँडा किन्नेको घुइँचो नै लाग्थ्यो । ०५२ पछि टीकाराम पनि बर्दियाको भुरीगाउँ सरे । उनको त्यो पक्की घर अहिले खण्डहर बनेको छ । जीर्ण भवनमा घाँस उम्रिएको छ । हुने–खाने र ठूलो कारोबार गर्ने व्यापारी धमाधम अन्यत्र सरेपछि कटासे सुनसान हुँदै गएको हो । जसले कटासेबाट अथाह कमाए, ती फर्केरै आएनन ।

रानी कुला, जमरा र कुलरिया– यी तीनवटै कुलाको हब हो कटासे । धुलिकोटकी महारानी पद्मावतीले विस १९५३ मा कर्णाली नदीमा कुलो खनेर सिँचाइको व्यवस्था गर्न हरेक वर्ष दसौँ हजार जनता परिचालन गर्ने नीति बनाइन् । नीति कार्यान्वयन गर्ने त्यो परम्परालाई देशावर भनिन थालियो, जो अहिले पनि यथावत छ ।

कुनै बेला बर्दियाको राजापुर मण्डी सुदूर र मध्यपश्चिमको प्रमुख व्यापारिक केन्द्र मानिन्थ्यो, जहाँ राणाकालमै भन्सार थियो । कटासेले राजापुरको व्यापारलाई समेत प्रभावित पारेको रंगनाथ ढकाल सुनाउँछन् । भन्छन्, ‘हिउँदमा कर्णाली नदी अलि सहजै तर्न सकिन्थ्यो, पाताभार घाटमा सानासाना डुंगाहरू थिए, भौरा टप्पुका बासिन्दा पनि कर्णाली तरेर किनमेल गर्न कटासे आउँथे ।’

कटासेमा ४० को दशकमा प्रहरी चौकी स्थापना भयो । व्यापारीहरूको आग्रह र आर्थिक कारोबार देखेर ०४३ सालमा नेपाल बैंक लिमिटेडले यहाँ शाखा सुरु गर्‍यो । ५० को दशकसम्म आइपुग्दा कटासेमा डेढ सयभन्दा बढि पसल थिए । ५० सालपछि व्यापारीहरू टीकापुर, भुरीगाउँ, लम्की र चिसापानी सरे । माओवादी द्वन्द्व सुरु भएपछि चौकी लम्कीको मोतीपुर सर्‍यो ।

गुलजार हुन दुई दशक लागेको कटासे दुई वर्षमै तासको पत्तीझैं ढल्यो । गुल्जार कटासे, ‘डेड सिटी’ (मृत बजार) मा परिणत भयो ।

लेखक बुद्धिसागरको बाल्यकाल कटासेमै बित्यो । उनका बुवाको मेडिकल पसल थियो । आफ्नो उपन्यास ‘कर्नाली ब्लुज’ मा उनले कटासेको सेरोफेरो र पात्र समेटेका छन् । ‘कर्नाली ब्लुज’ चर्चित छ, कटासे गुमनाम । यहाँ बाल्यकाल बिताएका हिक्मत थापाको आँखामा त्यो गुलजार कटासेको भीड र व्यापार ताजै छ । ‘कटासे यसरी धराशायी होला भन्ने हामीले सोचेकै थिएनौं’, थापा भन्छन्, ‘हेर्दाहेर्दै केही वर्षमै कटासेको अस्तित्व नै समाप्त भयो ।’

अहिले यहाँ केही चिया र नास्ता पसल छन् । यतिबेला न यहाँ सर्कस छ, न सर्कसको राम । तर, कटासे पुग्नेहरू यो थेगो सुनाउँछन् अनायासै, ‘हट्ँ बाईजाउँ कट्यास्याँ बजार, सरकस की राम छ ।’

गैरआवासीय नेपालीले पनि दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो । गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् ।

सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको शेयरमा आवेदन दिनसक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए ।

त्यसरी बिक्री गरिने शेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ । शेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ ।

त्यस्तो कम्पनीको संस्थापकवा सर्वसाधारणका रुपमा लगानी गर्न सक्नेछन् । शेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्थागरेबमोजिम हुनेछ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र निष्काशन गर्दा शेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था भने लागू हुने छैन । गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता डा अधिकारीको भनाइ छ ।

 

विश्व जलवायु सम्मेलन ‘कोप–२९’ जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्न असफल

काठमाण्डौ – विश्व जलवायु सम्मेलन कोप—२९ नयाँ सामूहिक वित्तीय लक्ष्य निर्धारण गर्न असफल भएको छ । जलवायु वित्तको सम्मेलनका रूपमा हेरिएको कोप–२९ मा जलवायु कार्यका लागि सन् २०२५ देखि २०३५ सम्मको नयाँ लक्ष्य निर्धारणसम्बन्धी प्रस्तावमा आएको दुई सय ५० बिलियन अमेरिकी डलरको रकममा अल्पविकसित देशले असहमति जनाएपछि वित्तमा सहमति हुन नसकेको हो ।

दुई वर्ष लगाएर तयार पारेको मस्यौदामा दुई सय ५० बिलियन डलर प्रस्ताव गरिएपछि गरिब देशहरू आक्रोशित बनेका छन् । यो रकम पेरिस सम्झौताको तुलनामा ६० प्रतिशत मात्रै रहेको गरिब देशहरूको टिप्पणी छ । रकम वृद्धिमा हुनुपर्नेमा पुरानो प्रतिबद्धताबाट ४० प्रतिशत पछि हट्नु अस्वीकार्य भएको उनीहरूको प्रतिक्रिया छ ।

अहिले नेपालको प्रतिनिधि टोलीको नेतृत्व गरिरहेका वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुप्रसाद ढुंगानाले गरिब देशहरूको समूहको तर्फबाट जलवायु वित्तको रकम समय सापेक्ष नहुनु दुःखद रहेको बताउनुभयो । यस्तै सम्मेलनमा सहभागी जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले जलवायु वित्तको नयाँ लक्ष्य निर्धारणमा धनी देशहरूको प्रतिबद्धता समय सापेक्ष नभएपछि निर्णयमा पुग्न नसकेको बताउनुभयो ।

यसैबीच नेपालले महत्त्वका साथ उठाएको पर्वतीय मुद्दा कोपको प्रतिवेदनमा परेको जलवायु महाशाखा प्रमुख ढुंगानाले जानकारी दिनुभयो । प्रतिवेदनमा परेको विषयले जलवायु परिवर्तनमा नेपालले हिमाल बचाउन गरेको मेहनतले सार्थकता पाएको छ ।

आउँदा दिनमा हिमाल संरक्षणमा नेपालले विश्व मञ्चमा प्रभावकारी उपस्थिति दिनसक्ने जलवायु महाशाखा प्रमुख ढुंगानाले बताउनुभयो । यस्तै नेपालले उठाएको हानि, नोक्सानी कोष प्राप्त गर्ने विषयमा पनि प्रगति भएको छ ।

साउदीमा गरे २९ जना नेपालीले रक्तदान

साउदी : वैदेशिक रोजगारीको क्रममा साउदीमा रहेका २९ जना नेपालीले रक्तदान गरेका छन्।

२२ नोभेम्बर २०२४ का दिन मोरङ सुनसरी सेवा समाज साउदी अरेबियाको आयोजना तथा डा. सुलेमान अलहबिब हस्पिटल रियादको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो।

रक्तदान जीवन दान-रक्तदान गरौं पुण्य कमाऔं भन्ने मूल विषयलाई आधार मानी रक्तदान गर्नका लागि संस्थाले कार्यरत नेपालीलाई आह्वान गरेको थियो जसमा २९ जना नेपालीले रक्तदान गरेका हुन।

‘नेपाली हाउस’ निर्माणका लागि टोकियोमा नेपाल फेस्टिवल हुँदै

८ मंसिर, टोकियो । जापानमा ‘नेपाली हाउस’ निर्माण‍का लागि सहयोग जुटाउने उद्देश्यले १४औँ नेपाल फेस्टिवलको आयोजना हुने भएको छ ।

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहु सांस्कृतिक केन्द्रको निर्माण यस वर्षको नेपाल फेस्टिवलको मुख्य उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।

आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिक टोकियोको नाकानो सिकिनोमोरी पार्कमा हुने फेस्टिवलको आयोजकमा एनआरएनए जापानसहित नेपाली दूतावास टोकियो र नेपाल आदिवासी जनजाति महासंघ जापान रहेका छन् ।

फेस्टिवलमा सिंगो नेपाल चिनाउने उद्देश्यले फोटो तथा डकुमेन्ट्री प्रर्दशन गरिने एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले बताए ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा फोटो तथा डकुमेन्ट्री प्रर्दशनको तयारी गरिएको एनआरएनए जनाएको छ ।

‘फोटो तथा भिडियो प्रर्दशर्नीमार्फत् विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मभूमि नेपाल भनेर जापानीज नागरिकलाई नेपाल चिनाउने प्रयास गर्नेछौं । जसले देशको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्छ’, निउरे भने ।

एनआरएनए जापानले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल फेस्टिवलमा नेपाली, जापानीसहित विभिन्न देशका नागरिकको सहभागिता रहँदै आएको छ ।

फेस्टिवलको आर्कषण नेपालको हिमालदेखि तराईसम्मका विभिन्न जातजातीको भेषभुषासहित झाँकी प्रस्तुति, लोक भजन, पञ्चेबाजाको प्रस्तुति रहने जनाइएको छ । साथै नेपालको परम्परा, धर्म र संस्कृति झल्कने घरको निर्माण गर्ने अध्यक्ष निउरेले बताए ।

फेस्टिवलमा ४० वटा व्यापारिक स्टल रहने छन् । जसमा १२ वटा नेपाली खानाको र अन्य व्यापारिक तथा आयोजकको प्रयोजिनका लागि रहने छन् । फेस्टिवल तयारीको अन्तिम चरणमा रहेको एनआरएनए जापानले जनाएको छ । फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुने छ ।

फेस्टिवलको अनुमानित खर्च एक करोड ४० लाख येन रहेको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिए ।

फेस्टिवलमा दिपओए फाउन्डेसन जापान, पूर्ण ट्रेडिङ, एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन, व्यवसायी राजन भट्टराई, पे एनपीएल नाकम क्रेडिट कार्डले मुख्य आर्थिक सहयोग गरेको एनआरएनए जापानले बताएको छ ।

गैरआवसीय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ ।

अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना : दुईजनाको मृत्यु

अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमको समाचारमा उल्लेख छ।

मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका(७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको नेपालमदरले पुष्टी गरेको छ।

कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको पनि नेपालमदरले उल्लेख गरेको छ।

त्यहाँको प्रहरीले  दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ।

त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको पनि नेपालमदरको समाचारमा उल्लेख छ।

त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ।

कोप २९ : एक सय ३३ बढी राष्ट्रद्वारा जलवायु वित्त प्रस्ताव अस्वीकार

बाकु (अजरबैजान) : अजरबैजानको बाकुमा सम्पन्न   जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) ले समयमा नै महत्त्वपूर्ण निर्णय लिन सकेन । शुक्रवार राति  १२ बजेसम्म निर्णय आउनुपर्नेमा विकसित राष्ट्रहरुको जलवायु वित्त प्रतिको असंवेदनशीलताका कारण निर्णय हुन नसकेको हो । जसका कारण कोपमा सहभागी हुन विश्वभरबाट आएका हजारौँ प्रतिनिधिहरू खिन्न हुन पुगेका छन् भने कोप सम्मेलन पनि लम्बिन पुगेको छ । जलवायु  वित्तको विषयलाई लिएर  कार्बन उत्सर्जन बढी गर्ने  विकसित राष्ट्र र जलवायु जोखिम र प्रभावमा पर्ने विकासशील राष्ट्रहरु बीचको सङ्घर्ष उत्कर्षमा पुगेको छ ।

शुक्रवार राति  १२ बजे  सम्म जलवायु वित्त सम्वन्धमा अग्रगामी निर्णय हुने अपेक्षा र उत्साह लिइएको थियो।  तर, विकसित राष्ट्रहरुले जलवायु वित्त फण्ड स्थापनामा निकै साँघुरो मन बनाएपछि र विकासशील राष्ट्रहरु त्यसको विरोधमा उत्रिएपछि कोप २९ ले समयमा नै  कुनै निर्णय लिन  नसकेको हो ।

कोप २९ लाई जलवायु  वित्त सम्मेलनको रुपमा समेत चित्रण गरिएको थियो । यसका लागि ठुलो मात्रामा जलवायु वित्त कोषको स्थापना गरिने अपेक्षा गरिएको थियो । विकासशील राष्ट्रहरुले जलवायु परिवर्तनको जोखिम अत्यधिक बढ्दै गएकाले जलवायु  वित्त फण्डमा  वार्षिक रुपमा १.३ ट्रिलियन उपलब्ध हुनुपर्ने माग गर्दै आइरहेका थिए।  तर, विकसित राष्ट्रहरुले भने २५० विलियन जलवायु   वित्त कोषमा दिने गरी निर्णय गर्न लागेपछि विकासशील राष्ट्रहरु त्यसको विरोधमा उत्रिएका हुन् ।

जलवायु परिवर्तनको प्रभाव र  जोखिमको सामना गरिरहेका लेटिन अमेरिकन,अफ्रिकन ,जी ७७ र चाइना ग्रुप, अतिकम विकसित राष्ट्र (एलडीसी) र सामुद्रिक राष्ट्र गरी १ सय ३३ भन्दा बढी  राष्ट्रहरुलेसमेत हाल प्रस्ताव गरिएको २५० विलियन रकम अत्यन्तै कम भएको र यसले  पृथ्वीमा भएका जलवायुजन्य जोखिम सम्बोधन गर्न नसक्ने भएकाले सो प्रस्तावमा सहमति गर्न नसकिने भन्दै लिखित रुपमा नै विरोध र गम्भीर असहमति जनाएपछि कोप २९ ले समयमा नै निर्णय लिन नसकेको हो ।

समापन समारोह गरेर कोप २९ को निर्णयहरु सार्वजनिक गरिनु पर्नेमा विकसित राष्ट्र र विकासशील राष्ट्रबीचको संघर्षका कारण समापन समारोह समेत अनिश्चित बनेको छ । जलवायु वित्तको विषयलाई लिएर  कार्बन उत्सर्जन बढी गर्ने  विकसित राष्ट्र र जलवायु जोखिम र प्रभावमा पर्ने विकासशील राष्ट्रहरु बीचको सङ्घर्ष उत्कर्षमा पुग्दा समस्या सिर्जना भएको हो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु वित्तका विषयमा विकसित राष्ट्र र विकासशील राष्ट्रबीच कुरा नमिलेपछि कोप २९ ले समयमा नै निर्णय लिन नसकेको जानकारी दिए । यद्यपि दुबै पक्षबीच आन्तरिक रुपमा सघन वार्ता र छलफल भइरहेकाले छिटै निकास आउने विश्वास गरिएको सहसचिव ढकालले बताए ।

जलवायु  विज्ञहरुका अनुसार कोपमा सधैँ नै विकसित र विकासशील राष्ट्रहरुबीच द्वन्द्व हुँदै  आइरहेको छ । विगतमा जलवायु वित्तका लागि १ सय विलियन दिने सहमति भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यस अघिको १ सय विलियनको सहमति पनि निकै न्यून नै हो । अहिले गरिएको २५० विलियनको प्रस्ताव पनि अत्यधिक न्यून नै हो जसले जलवायु  परिवर्तनको जोखिमलाई सम्बोधन गर्न नसक्ने विज्ञहरुको भनाई छ ।

जलवायु परिर्वतन जस्तो अति नै महत्त्वपूर्ण समस्यालाई सम्बोधन गर्नुपर्नेमा विकसित राष्ट्रहरुले काम चलाउ रुपमा चारा फाल्ने काम गरेर असंवेदनशीलता देखाएको भन्दै विरोध भइरहेको छ । शुक्रवार सम्मेलन हलमा विकासशील राष्ट्रका प्रतिनिधिहरुले विभिन्न साङ्केतिक गतिविधि मार्फत विकसित राष्ट्रहरुको रवैया प्रति विरोध जनाएका थिए भने यस सम्वन्भमा नाटक समेत प्रदर्शन गरेर विकसित देशलाई दबाब दिएका थिए ।

अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

भर्जिनिया, ८ मंसिर ।
अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा कार दुर्घटनामा परी शुक्रवार दुई जना नेपाली युवकको मृत्यु भएको छ ।

कार दुर्घटनामा परी मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया बस्ने रुकुमको आठसबिसकोट नगरपालिका–७ औलीगाँउका २१ वर्षीय सुरेश केसी सहित दुई नेपाली रहेका छन् । उनीसंगै कार दुर्घटनामा मृत्यु भएका अर्का युवकको भने सनाखत भएको छैन ।
भर्जिनियाको एक रेष्टुरेन्टमा काम गर्दै आएका केसी कामबाट फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

चालक विजय तामाङले चलाएको गाडी शुक्रवार दिउँसो १२ः३० बजे डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा लाउडन काउन्टी पार्कवे सडक छेउमा रुखमा ठोक्किएर दुर्घटना भएको हो । अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा प्रहरीले चालक विजय तामाङ बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दा लगाईएको छ ।

दुर्घटनाको समयमा कारमा चालक सहित चार जना सवार थिए । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाईते भएका छन् ।

निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा

काठमाडौँ । निर्यात बढेपछि देशको कुल व्यापारमा सुधार आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको भन्सार विभागको तथ्यांकले  ४.१६ प्रतिशतले निर्यात बढेको देखाएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ५० अर्ब ५६करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । चालु वर्ष ५२ अर्ब ६७ करोड बराबरको वस्तु निर्यात भएको छ । निर्यात बढेसँगै देशको व्यापार घाटामा पनि सुधार देखिएको छ । अघिल्लो वर्षको तुलनामा देशको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष ४ खर्ब ६१ अर्ब ९३ करोडको व्यापार घाटा देखिएको थियो । चालु वर्षमा ४ खर्ब ६० अर्ब ७१ करोड बराबर देशको व्यापार घाटा रहेको छ । यसैगरी गत वर्षको तुलनामा यस वर्ष आयात पनि बढेको छ । चालु वर्ष ५ खर्ब १३ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड बराबरको वस्तु आयात भएको थियो । त्यसैले अघिल्लो वर्षको तुलनामा ०.१७ प्रतिशतले निर्यात बढेको छ ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ५ करोेड बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ६३  अर्ब ६ करोड बराबरको वस्तु व्यापार भएको थियो ।

जसअनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा ०.५३ प्रतिशतले कुल वैदेशिक व्यापारमा सुधार देखिएको छ ।

भारतमा १० जना माओवादी विद्रोहीको मृत्यु

रायपुर : भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा १० जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हालसम्म १० हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको जनाइएको छ भने विद्राह छत्तीसगढ राज्यको दुर्गम जंगल क्षेत्रमा भएको थियो । अहिलेसम्म १० जना माओवादीको शवका साथै विद्रोहीबाट धेरै स्वचालित हतियारहरू बरामद गरेको प्रहरीको माओवादीविरोधी कारबाहीका प्रमुख विवेकानन्द सिन्हालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यसैबीच भारतका गृहमन्त्री अमित शाहले विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘पूर्ण आक्रमण’को सामना गर्न चेतावनी जारी गरेका छन् । सरकारी तथ्यांकअनुसार सुरक्षा बलले गरेको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोहीको मृत्यु भएको छ ।

 

युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सहर डिनिप्रोमा बिहीबार बिहान भएको हमला युक्रेनी आक्रमणको जवाफ भएको बताएका छन् । यससँगै पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशलाई सीधा चेतावनी समेत दिएका छन् ।

पुटिनले भने, ‘युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएको लामो दुरीका हतियार र मिसाइलले रुसी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको थियो । बिहीबार डिनिप्रोमा भएको रुसी आक्रमण त्यसको प्रतिक्रिया थियो ।’

‘रुसले त्यस्ता उद्देश्यका लागि आफ्नो हतियार प्रयोग गर्न अनुमति दिने देशहरूको सैन्य आधार शिविरमा पनि आक्रमण गर्न सक्छ ।’ अझ अगाडि चेतावनीको स्वरमा पुटिनले भने ।  डिनिप्रोमा गरिएको आक्रमणको बारेमा जानकारी दिँदै पुटिनले भने– ‘यो आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ओराश्निक हो ।

यो क्षेप्यास्त्र १० म्याक अर्थात् २ दशमलव ५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो । ‘कुनै पनि घटनाक्रमको लागि तयार छौं । यदि कसैले अझै पनि यसबारे शंका छ भने त्यो उसले नगरेकै राम्रो । यसको जवाफ हामी सधैं दिनेछौं,’ पुटिनले अझ अगाडि भने ।

१८ महिनापछि देउवा प्रधानमन्त्री बन्नु हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै उनले बाहिरतिर यही मंसिरसम्म मात्र अहिलेको समीकरण जान्छ भन्ने हल्ला भएको भन्दै यसमा जनतालाई कुनै भ्रममा नपर्न आग्रह गरे ।

उनले भने, ‘बाहिर हल्ला सुनिएको थियो मंसिरसम्म मात्र यो समीकरण टिक्छ भनेको सुन्छु । तर ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ । मेरो अवधि भनेको वा म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले प्रधानमन्त्री छोडेर शेरबहादुर देउवालाई जिम्मा लगाउँछु । अब मंैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ । जनतालाई म भन्न चाहन्छु यस्ता कुनै भ्रममा नपर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए । उनले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली कांग्रेससँग सहयात्रा गरिएको उनको भनाइ छ ।

 

एमाले देशको पहरेदार हो- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् ।

नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जगारण सभालाई सम्बोधन गर्दै अहिले एमाले र कांग्रेस प्रतिष्पर्धी दल भएपनि अहिले देशलाई अराजकतातर्फ लान खोजिएको, लोकतन्त्रलाई समाप्त पार्न खोजिएपछि प्रतिष्पर्धा भन्दा एकतालाई महत्व दिदै एक भएको बताएका छन् ।

यसबीचमा सरकारले बहुमत नपाउने, दशैँ देख्न नपाउने तिहारी पछि ढल्ने बताइएको भएपनि सरकार चलिरहेको भन्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म चल्ने बताए । उनले आफु २०८३ को असारसम्म प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले एमाले आज सत्ता र सडकमा पनि रहेको बताउदै पूर्वजहरुले बगाएको रगत खेर जान नदिने बताएका छन् । उनले एमाले देशको पहरेदारको रुपमा रहेको भन्दै अहिलेको समीकरणलाई कसैले हल्लाउन नसक्ने बताए ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलेलाई ‘ग्लोबल एम्बेसडर अवार्ड’

काठमाडौँ : पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले प्रतिष्ठित ग्लोबल एम्बेसडर अवार्ड–२०२४ प्राप्त गरेका छन् ।

पाकिस्तानमा चार वर्ष रहँदा नेपाल र पाकिस्तानबीचको कूटनीतिक, व्यापार र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्नमा उनले गरेको उत्कृष्ट प्रयासको कदरस्वरूप उक्त सम्मान गरिएको हो ।

पाकिस्तानको ग्लोबल पब्लिक डिप्लोमेसी संस्था ‘द डिप्लोम्याटिक इनसाइट’ ले छोटो अवधिमा दुई राष्ट्रलाई द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा एकसाथ नजिक ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएकामा राजदूतलाई छैटौं ग्लोबल एम्बेसडर अवार्डबाट इस्लामावादमा सम्मानित गरिएको हो ।

आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्केका राजदूत अधिकारीले आफ्नो कामलाई मूल्यांकन गरेर उक्त संस्थाले दिएको सम्मानप्रति धन्यवाद व्यक्त गरेका छन् । छैटौं ग्लोबल एम्बेसडर अवार्ड समारोह–२०२४ मा राजदूत, कूटनीतिक निकाय, सांसद, सरकारी अधिकारी, व्यवसायी, नेता, शिक्षाविद्, सञ्चारकर्मी र नागरिक समाजका सदस्यको उपस्थिति थियो ।

राजदूत अधिकारीले ७ नोभेम्बर २०२० देखि पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरेका थिए र गत महिना मात्र आफ्नो चारवर्षे कार्यकाल पूरा गरी नेपाल फर्केका हुन् । राजदूत अधिकारी आफ्नो कार्यकाल पूरा गरी नेपाल आइसकेका कारणले गर्दा कार्यवाहक राजदूत लोकबहादुर पौडेल क्षेत्रीले उक्त अवार्ड लिएका छन् ।

नेपालको परराष्ट्र सेवामा २० वर्षभन्दा बढी समय बिताएका अधिकारीले न्युयोर्क, कोलकाता, टोकियो र नेपालको परराष्ट्र मन्त्रालयमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । पाकिस्तानमा नियुक्त हुनुअघि उनले दक्षिणपूर्व एसिया र प्रशान्त महाशाखाको नेतृत्व गरेका थिए ।

अनुदान नआउने भए चीनसँग ऋणको कुरा नगरौँ : कांग्रेसको

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरू ऋणमा लिन नहुने अडान लिएको छ ।

शुक्रबार कांग्रेसले आयोजना गरेको ‘विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’बारे छलफलमा चीनको बीआरआईअन्तर्गतका परियोजना ऋणमा लिन नसकिने स्पष्ट पारेको हो ।

छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैँले हस्ताक्षर गरेको स्मरण गरेका छन् ।

उनले समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुरा उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।

डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् ।

‘हामीले बीआरआई हुँदैन भनेको छैनौँ । मैले तै समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुरा छन्’, उनले भने, ‘कस्तो सहयोग गर्ने भन्ने कुरा आउँछ, कनेक्टिभिटीको कुरा आउँदा सुरुङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदानमै धेरै प्रतिबद्धता गरेको चीन सरकारले कयौँ वर्षदेखि त्यसलाई कार्यान्वयन गरेको छैन ।’

डा. महतले अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको कुरा गरेर के अर्थ नहुने बताए । चिनियाँ सरकारसँग मात्रै होइन, जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान नहुने उनले बताए ।

यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको सम्झौता तयारी गरेपनि अर्को सत्तारुढ दल कांग्रेस तयार नहुँदा यो विषयले सत्तारुढ दलहरूबीच मतभेद देखिएको छ ।

बीआरआईको यो विषयलाई समाधान गरेर स्पष्ट खाका तयार गर्न कांग्रेस र एमालेले गगन थापा र डा. युवराज खतिवडालाई जिम्मेवारी दिएको छ ।

चीनले २९ देशका लागि लागू गर्‍यो एकपक्षीय ‘भिसामुक्त नीति’

चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयासस्वरूप फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू गरेको छ । पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशसँग पूर्ण भिसा छुट प्राप्त गरेका पनि बताए ।

मन्त्रालयले १ डिसेम्बर २०२३ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्टधारीको लागि एकपक्षीय भिसामुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो ।

यस नीतिअन्तर्गत योग्य व्यक्तिले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने छन् । चीनले आफ्ना दूतावासमा भिसा आवेदनअघि अप्वाइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट सङ्कलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले घटाएको टोङले बताए ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन  यात्रा रेकर्ड गरेको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो । अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसामुक्त व्यवस्थामार्फत आएका  थिए ।

मन्त्रालयले विशेषगरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिका लागि सीमापार यात्रालाई सहज बनाउन भिसामुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गरेका छन् ।

‘नेपाली महिलाले पनि केही गर्न सक्छिन् भनेर देखाएँ’ : विभा

काठमाडौं- मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगीतालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन् ।

बस्नेतले केही दिन अगाडि मात्र अन्तराष्ट्रिय प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा मिसेस तर्फको शिर्ष उपाधि ‘मिसेस हेरिटेज इन्टरेनसनल’ नेपाललाई दिलाएकी थिइन् । राजधानीमा आयोजित पत्रकार भेटघाट क्रममा उनले ‘हेरिटेज प्याजेन्ट’को अनुभव बाँढिन् ।

कार्यक्रममा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा उपलब्धि हासिल गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताए । नेपालीहरुको समय ख्याल नगर्ने बानी अन्तराष्ट्रिय प्रतियोगीतामा पछि पर्नुको मुख्य कारण हुने गरेको उनले भनाई थियो ।

‘हामी नेपाली समय अनुसार चल्दैनौ । मैले विश्वका बिभिन्न कार्यक्रममा जाँदा अन्य प्रतियोगी समय अनुसार चलेको पाएको छु’, शाक्यले थपे ‘समय लगायत धेरै कुरोमा अझै नेपालीले मिहिनेत गर्नुपर्छ ।’ हामी विश्वका अन्य मुलुक भन्दा कलासंस्कृतिमा धनी भएकोले प्रतियोगीताका लागि प्रस्तुत गर्ने बिषय हामीसँग धेरै रहेको उनले सुनाए ।

बस्नेतलाई ‘हेरिटेज प्याजेन्ट’मा ग्रिनआर्ट मिडियाले पठाएको हो । मिडियाकी अध्यक्ष अनिला श्रेष्ठले धेरै मिहिनेता पछि यो बर्ष नेपाललाई उपलब्धि हात परेको बताइन् । मिडियाको प्रतियोगी छान्ने प्रकृया अन्य भन्दा भिन्न र उत्कृष्ट भएकोले अन्तराष्ट्रिय क्षेत्रमा पनि उपलब्धि हासिल गर्न सफल भएको उनको भनाई रहेको थियो ।

‘हामी अडिसनदेखि फाइनलसम्म बिभिन्न चरणको सेलेक्स गर्छाै’, श्रेष्ठले भनिन् ‘छानिएका प्रतियोगीलाई अनेक प्रशिक्षणबाट निर्खाछौ । त्यसैले पनि यो उपलब्धि हात परेको हो ।’ उनले आगामी दिन अझ धेरै अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउने लक्ष्य मिडियाको रहेको सुनाइन् ।

 

बिथोलिएको माओवादी आमसभा

०५७ साल जेठ दोस्रो साता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को भ्रातृ संगठन अखिल क्रान्तिकारी किसान महासंघको आमसभाको मौखिक निमन्त्रणा प्राप्त भयो । २०५२ साल फागुन १ गते ‘जनयुद्ध’का नाममा सशस्त्र संघर्ष शुरू गरेको माओवादीले त्यतिबेला कैलालीमा आफ्नो संगठन आक्रामक रूपमा विस्तार गरिरहेको थियो । माओवादी पार्टी भूमिगत भए पनि उसका भ्रातृ संगठनहरूले प्रहरीबाट जोगिएर खुला कार्यक्रमहरू गरिरहेका थिए । कैलालीका ग्रामीण बस्तीहरूमा सरकारका विरुद्ध भित्ते–लेखन शुरू भइसकेको थियो । ‘सामन्ती र सुराकी’ उनीहरूको टार्गेटमा थिए ।

धनगढीमा औंलामा गन्न सकिने पत्रकार थियौं । सुदूरपश्चिममा पत्रकारिता बामे सर्दै थियो । कान्तिपुर, हिमालय टाइम्स, नयाँ सडक, रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन, रासस, नेपाल समाचार पत्र लगायत पत्रिकाका रिपोर्टर धनगढीमा कार्यरत थिए । जसले स्थानीय स्तरमा समेत प्रकाशन गर्थे । धनगढीबाट सेती समाचार प्रकाशित हुँदै आएको थियो । त्यसपछि थपियो, नेपाल टाइम्स दैनिक । मातृ सन्देश साप्ताहिक पनि प्रकाशित हुन थाल्यो । कञ्चनपुरको महेन्द्रनगरबाट फारवेष्ट टाइम्स, अभियान र नयाँ मुलुक दैनिक र महाकाली साप्ताहिक प्रकाशित हुन्थ्यो ।

माओवादीले संगठित रूपमा कुनै विशाल आमसभा गरिसकेको थिएन । माओवादीले कैलाली र चुरेको जंगल क्षेत्रमा सेना तयार गरिरहेको र उनीहरूलाई तालिम दिइरहेको सूचनाहरू प्राप्त भइरहन्थे । त्यसले देश ठूलो युद्धको भड्खालोमा पर्ने भय व्याप्त थियो । को माओवादी ? को सरकारको सुराकी ? थाहा हुँदैनथ्यो । सेनाका सुराकी र माओवादी हामीभित्र पहिचान लुकाएर काम गरिरहेका छन् भन्ने भान हुन्थ्यो ।

त्यसैले पत्रकारहरू दुवै पक्षको निगरानीमा थिए । दुवै पक्षको तारो थिए । यद्यपि उनीहरूका लागि आफ्नो सूचना जनतामाझ पु¥याउन पत्रकारहरूको सहारा लिनुपर्ने एक प्रकारको बाध्यता थियो । हामीलाई माओवादीले आमसभाको रिपोर्टिङ गर्न त्यही बेला खबर पठायो । म त्यतिबेला सेती समाचार दैनिकमा संवाददाताका रूपमा काम गर्थें । त्यसका साथै नयाँ सडक राष्ट्रिय दैनिकका लागि धनगढीबाट रिपोर्टिङ गर्थें ।

माओवादीको आमसभामा जानु जोखिमपूर्ण थियो । पहिलो कुरा त आमसभा कहाँ हुँदैछ ? कहिले र कुन समयमा हुँदैछ ?जानकारी दिइएको थिएन । आमसभामा प्रहरी पुगे जे पनि हुन सक्ने डर थियो । शेरबहादुर बस्नेत स्थानीय साप्ताहिक पत्रिकासँग एक गैरसरकारी संस्थाको मुखपत्र सामाजिक रूपान्तरणको सम्पादन गर्थे । उनीसँग कुरा भयो । हामी दुवै जनाबीच आमसभामा जान सहमति भयो । र, हामी १३ जेठ २०५७ को साँझ साइकलमा फूलवारीतर्फ हान्नियौं । हामी पालैपालो साइकल चलाएर राति फूलवारी पुग्यौं । त्यो माओवादीको आधार इलाका थियो । फूलवारीको बहुलियामा प्रहरी चौकी थियो । प्रहरी गस्तीमा भने निस्किंदैनथे । माओवादीहरू निर्वाध रूपमा  आफ्ना कार्यक्रमहरू गर्थे ।

राति पत्रकार बस्नेतका दाइको घरमा खाना खायौ  । त्यतिबेलासम्म स्थानीय माओवादी कार्यकर्ताहरू हाम्रो सम्पर्कमा आइसकेका थिए । र, माओवादी पार्टीभित्र पनि दुई जना पत्रकार फूलवारी पुगेको खबर पुगिसकेको थियो । खाना खाएपछि एक जना माओवादी कार्यकर्ता हामीलाई लिन आए । र, त्यहाँबाट एउटा विद्यालयमा पु¥याए । त्यो, फूलबारी माध्यमिक विद्यालय थियो । हामीभन्दा पहिले त्यहाँ माओवादी नेता र कार्यकर्ताहरूसँगै सर्वसाधारणहरू जम्मा भइसकेका थिए ।

चकमन्न अँध्यारो रात । माओवादीहरू । नयाँ ठाउँ । डर । कानेखुशी गरेर संवाद गरिरहेका व्यक्तिहरू । जोरले बोल्न अनुमति थिएन । टर्च बाल्न वा उज्यालो निषेध थियो । मोबाइल आइसकेको थिएन । जे भन्छन्, त्यो सुन्नु । बस्, चुपचाप बस्नु । कहाँ लैजाँदै छन् ? कसैलाई सोध्ने अनुमति थिएन ? र, त्यहाँ उपस्थित अधिकांशलाई त त्यो पनि थाहा थिएन, कहाँ आम सभा हुँदैछ ? कहाँ लैजाँदै छन् ! अन्धकार थियो । र, हामी चुपचाप थियौं । ‘कमरेड अनु’ त्यो भीडमा अलि बढी नै सम्बोधन गरिएको नाम थियो । उनी फूलबारी एरिया इञ्चार्ज थिइन् । र, त्यो भीडलाई त्यहाँबाट गन्तव्यतर्फ पठाउने जिम्मेवारी उनको काँधमा थियो । झन्डै २०/२१ वर्षकी एक युवती त्यो भीडको नेतृत्व गरिरहेकी थिइन् ।

माओवादी पार्टीमा अनु उपनामले चिनिने लीला भण्डारी त्यही कमाण्डर थिइन्, जो माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधान सभाको निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५ बाट अत्यधिक मतले निर्वाचित भएकी थिइन् । मध्यराति हामीलाई माओवादी कार्यकर्ता र सर्वसाधारणहरूसँगै ट्याक्टरमा राखियो । र, त्यहाँबाट हामी चढेको ट्याक्टर हिंड्यो । हाम्रो पछाडि अर्को ट्याक्टर थियो । एउटा ट्याक्टरलाई अर्कोले पछ्याइरहेको थियो । चालक आफूखुशी ट्याक्टर चलाउन पाइरहेका थिएनन् । चालक छेउमा बसिरहेका माओवादी कार्यकर्ताले जता भन्यो, चालकले त्यतै लगिरहेका थिए ।

मध्यरात । उबडखाबड बाटो । अहिले जस्तो कल्भर्ट र पुल बनिसकेका थिएनन् । बस्तीहरूमा विद्युत् जडान भइसकेको थिएन । अन्धकार थिए, बस्तीहरू । र, सडक अत्यन्त खराब । धुलाम्य सडक । धुलोमा ट्याक्टर फस्थ्यो । त्यहाँबाट ट्याक्टर निस्किंदा, पहिले धुलो उड्थ्यो, अनि ट्याक्टर । ट्याक्टरमा बसेकाहरू धुलोले ढाकिन्थे । कता लैजाँदैछन् ? कसलाई सोध्ने ? बताउने पनि त कोही थिएन । सबै हामी जस्तै थिए, जसलाई कहाँ जाँदैछौं भन्ने सूचना नै दिइएको थिएन । रातभरि ट्याक्टरहरू कुदिरहे । कतिखेर जंगल । कतिखेर बस्तीमा ट्याक्टर गुडिरहेका हुन्थे । मेरो जीवनको यो पहिलो यात्रा थियो, कैलालीका ग्रामीण बस्तीहरूको ।

माओवादीको आमसभाको रिपोर्टिङ गर्न पाइने उत्कट इच्छाले डरलाई मनभित्रै दबाएर हामी धुलो खाएर चुपचाप ट्याक्टरको यात्रा गरिरहेका थियौं । भोक, प्यास र पीडा सुनाउनु कसलाई ? सुन्ने को ? जता लग्यो, त्यतै जानु हाम्रो बाध्यता थियो । माओवादीका केन्द्रीय नेताहरू हेर्न पाइने, उनीहरूका विचार र भाषण सुन्न पाइने लालसा थियो । त्यसले धुलो र उबडखाबड सडकमा खेप्नु परेका सास्ती र डरलाई ओझेलमा पारेको थियो । त्यसमाथि यसरी राति त कहिल्यै ट्याक्टरमा यात्रा गरेकै थिएन । कहाँ पुग्यौं ? कुन बस्तीमा छौं ? कुन जंगलको बाटो हो ? त्यो थाहा हुने कुरै भएन । बस्, यत्ति थाहा थियो, भोलि हुने आमसभामा लैजाँदैछन् । बिहान चार बजेतिर एउटा जंगलको मध्यभागको खुला चौरमा हामीलाई ट्याक्टरबाट झर्न लगाइयो ।

न ओढ्ने । न बिछ्याउनलाई केही । बिहानको चार बजिसकेको थियो । थकित अनि गलित थियौं । भोक उस्तै लागेको थियो । पानीसम्म पिउन पाएका थिएनौं । त्यस्तो अवस्थामा सुत्नु कसरी ? नसुतौं, रातभरि जाग्राम बसे भोलि अनिंदोले असर गर्ने । डर कहाँ गयो ? भोक कहाँ हरायो ? तिर्खा सम्झेर कति छट्पटिनु ? त्यही खुला चौरमा हामी निदायौं ।

झिसमिसमै निद्रा खुल्यो । मुश्किलले एक/डेढ घण्टा निदायौं । भोक लागेको थियो । बिहान माओवादी कार्यकर्ताहरूले केही खानेकुरा दिए । त्यहाँ नजिकै तरभुजा खेती थियो । तरभुजा खायौ । बिहान मात्र थाहा भयो, हामी हसुलियाको मझरामा थियौं ।त्यहाँबाट फेरि शुरू भयो, अर्को दिनको यात्रा । बिहान करीब नौ बजे ट्याक्टरमा चढेर हामी मझराबाट हिंड्यौ । सबै माओवादीका हातमा हतियार थिएनन् । केहीसँग साना हतियार र केहीसँग भरुवा बन्दुकहरू थिए । माओवादी अर्ध–भूमिगत थिए । माओवादीका मुख्य नेताहरू सार्वजनिक मञ्चहरूमा देखिंदैनथे । तर भ्रातृ संगठनका नेता र कार्यकर्ताहरू भने खुलेयाम हिंड्थे । उनीहरू परिचय भने दिंदैनथे ।

ट्याक्टरहरू धुलो उडाउँदै अघि बढे । हामी पूर्ववत् ट्याक्टरमा चुपचाप बसिरह्यौं । एउटा माओवादी नेताको सिमाना कटेपछि अगाडिको बाटो देखाउने जिम्मा अर्को एरिया इञ्चार्जको हुन्थ्यो । र, उसले ट्याक्टरलाई बाटो बताउँथ्यो । यसरी माओवादीका एरिया इञ्चार्जहरूले आ–आफ्नो एरिया पार गराउँथे । उनीहरूलाई पनि थाहा थिएन कि कहाँ आमसभा हुँदैछ ? बस्, उनीहरूको जिम्मेवारी हुन्थ्यो, आफ्नो एरिया सुरक्षित रूपमा पार गराउनु । ट्याक्टरले थुपै्र बस्ती र जंगल पार गरिसकेको थियो । तर आमसभा हुने ठाउँको पत्तो थिएन ।

तीन घण्टाको यात्रापछि पहलवानपुरको बनवर्सा पुग्यौं । आमसभा स्थल त्यही थियो । हामीभन्दा पहिले नै दर्जनौं ट्याक्टरहरू त्यहाँ पुगिसकेका थिए । कैलालीका विभिन्न भागबाट हजारौंको संख्यामा सर्वसाधारणहरू ट्याक्टरमा त्यहाँ पुगेका थिए । र, आमसभा शुरू भइसकेपछि पनि ट्याक्टरहरू आउने क्रम रोकिएको थिएन । तर पछि भने ठाउँठाउँमा प्रहरीले ट्याक्टरहरू आमसभा स्थल जानबाट रोकेको खबर आयो । सबै ट्याक्टरहरू त्यहाँ आउन नपाई बाटोबाटै फर्के ।

आमसभा, अखिल नेपाल क्रान्तिकारी किसान महासंघको आयोजनामा हुँदै थियो । कार्यक्रमका अध्यक्ष थिए, अखिल क्रान्तिकारी किसान संघका जिल्ला अध्यक्ष खुशीराम चौधरी । तिनै खुशीराम यतिबेला नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य छन् । आमसभालाई माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहालले सम्बोधन गर्ने भनिएको थियो । उनी अन्तिम समयमा आमसभामा उपस्थित हुन सकेनन् ।

उनी अनुपस्थित भए पनि आमसभालाई सम्बोधन गर्न किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, माओवादीको सेती महाकाली ब्युरोकी इञ्चार्ज पम्फा भुसाल, लेखराज भट्ट ‘राकेश’, दामा शर्मा, माया भाट र जनार्दन शर्मा ‘प्रभाकर’ आएका थिए ।आमसभाको मञ्चको पछाडिपट्टि कन्द्रा नदी थियो । र, नदी पारि जंगल । आमसभा स्थलको अगाडि थियो, नदी बगरको ठूलो खुला चौर । र, चौरमा आउने तीनतिर बाटा थिए । दिउँसो त्यहाँ आमसभा शुरू भयो ।

मञ्चमा माओवादीका नेताहरूले आसन ग्रहण गरिसकेका थिए । र, स्वागत मन्तव्य सकिएसँगै माओवादी नेताले सम्बोधन गर्न थालेका थिए, त्यही बेला तीनतिरबाट प्रहरीका गाडीहरू आमसभास्थल भित्र प्रवेश गरे । त्यसपछि भने सर्वसाधारण र माओवादी कार्यकर्ताहरू तितरवितर हुन थाले । कार्यक्रम सञ्चालकले मञ्चबाट नभाग्न सहभागीहरूलाई आग्रह गरिरहेका थिए । प्रहरीको प्रवेशपछि आमसभाका सहभागीहरू आतंकित भइसकेका थिए ।

त्यहाँ टीकापुर र धनगढीबाट थुप्रै पत्रकारहरू पुगेका थिए । मञ्चको अगाडि रहेका पत्रकारहरू पनि प्रहरी आमसभास्थलभित्र प्रवेश गरेपछि अप्रिय घटना हुनसक्ने भयले त्यहाँबाट बाहिर निस्किए । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक तिलक श्रेष्ठ अगाडिको गाडीमा थिए । यो पंक्तिकारसँगै थिए, पत्रकार हेमन्त पौडेल । उनले हामीलाई चिन्थे । गोली चल्न सक्ने संकेत दिएका उनले त्यहाँबाट निस्किन सुझाव दिए । हामी आमसभा स्थल छोडेर पहलवानपुर जाने बाटोतिर लाग्यौं ।

हामी भीडमा थियौं । त्यो भीडमा थिए, माओवादी समर्थक र कार्यकर्ताहरू । हुन त, त्यसभित्र सर्वसाधारणहरू पनि थिए, जसलाई माओवादीले जोरजबर्जस्ती र करकापमा ल्याएका थिए । तर गोलीले भीडभित्रका हामीलाई चिन्ने कुरै भएन । त्यसैले भीडबाट अलग हुनु उचित ठान्यौं ।

आमसभास्थल वरिपरि माओवादीका थुप्रै सुरक्षा घेरा थिए । नेताहरूलाई सुरक्षा दिने विशेष टीम थियो । हुन त, माओवादीले आमसभा स्थलमा आउने सबै बाटाहरूमा आफ्नो सुराकी राखेका थिए । जसले सूचना दिन नपाउँदै प्रहरी आमसभा स्थल पुगेको थियो । माओवादीले पनि अनुमान गरेको थिएन कि, यति चाँडो, यस्तो विकट ठाउँमा प्रहरी यति सजिलै पुग्नेछ । प्रहरीको उपस्थिति माओवादीका लागि अनपेक्षित थियो ।

माओवादीहरूसँग हतियार नभएको त होइन, तर प्रहरीसँग भिडन्त गर्ने पक्षमा माओवादी थिएन । किनकि दोहोरो भिडन्त भए ठूलो मानवीय क्षति हुनसक्ने उसको पूर्वानुमान थियो । त्यही कारण हुनसक्छ, माओवादीले प्रत्याक्रमण गरेन । प्रहरीले शुरूमा भीड तितरवितर गर्न अश्रुग्याँस प्रहार ग¥यो । अश्रुग्याँसले सहभागीहरूका आँखा पोल्न थाल्यो । प्रहरी त्यत्तिमै रोकिएन । उसले अश्रुग्याँसका गोला भीडमा बर्साइरह्यो । त्यसपछि भने आमसभाका सहभागीहरूको भागाभाग भयो । भागदौडका क्रममा भीडमा कति मान्छे च्यापिए । कति घाइते भए । सबैलाई ज्यान प्यारो । आमसभा पूरै बिथोलियो ।

प्रहरीले अश्रुग्याँसपछि गोली चलायो । गोली लागेर एक जनाको आमसभा स्थलमै मृत्यु भयो । मृत्यु हुने चौमालाका बलबहादुर चौधरी थिए । पछि माओवादीले उनलाई शहीद घोषणा ग¥यो । प्रहरीको गोलीले भयंकर उपनामले चिनिने माओवादी नेताको कान छेड्यो । उनी आमसभाका गम्भीर घाइते हुनेमध्ये एक थिए । प्रहरी आक्रमणमा मुश्किलले जोगिएका कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगर बस्ने भयंकरको गोलीले चुँडेको त्यो कान छैन । भागदौडमा कति घाइते भए त्यसको त लेखाजोखा नै भएन ।

प्रहरीले गोली प्रहार गर्न थालेपछि केन्द्रीय नेताहरूको सुरक्षामा खटिएका माओवादीका लडाकुहरूले पिठ्युँमा राखेर कन्द्रा नदी तारेर जंगलमा सुरक्षित पु¥याए । अरू माओवादी नेताहरूले त्यतिबेलासम्म आमसभास्थल छोडिसकेका थिए । प्रहरीले आक्रमण गरे पनि माओवादीबाट प्रत्याक्रमण नहुँदा ठूलो क्षति हुनबाट जोगियो । हामी त्यहाँबाट निस्किएर पहलवानपुरस्थित पूर्व पश्चिम राजमार्ग पुग्यौं । हामी फर्किंदै गर्दा माओवादीका समर्थकहरू काठका पुलहरू भत्काएर प्रहरीको बाटो अवरुद्ध गरिरहेका थिए । भयानक त्रासदी व्यहोरेका हामीहरू मृत्युको मुखबाट जोगिएर साँझ धनगढी पुग्यौं ।

यसअघि कैलालीमा माओवादी र प्रहरीका बीच भिडन्तका केही छिटपुट घटना भएका थिए । माओवादीले आफ्ना निहत्था कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीले हत्या गरेको आरोप लगाउँथ्यो । २०५५ सालको फागुनमा बलियाको कौवापुरमा प्रहरीको आक्रमणमा भीमबहादुर भाट सहित दुई जना माओवादी कार्यकर्ता मारिएका थिए । सो घटनामा सुराकी गरेको आरोपमा माओवादीले तरुण दलका नेता लोकराज ढकाललाई कौवापुरमा मारे । त्यस्तै बालुवा खोलामा माओवादी कार्यकर्ता भानु आचार्य प्रहरी आक्रमणमा मारिएका थिए । ढकाल कैलालीमा माओवादीको आक्रमणमा मारिने नेपाली कांग्रेसका पहिलो कार्यकर्ता   थिए ।

(पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकबाट)

गौतम अडानीमाथि धोकाधडीको आरोप, समूहका सेयरमा १९% सम्म गिरावट

एजेन्सी । भारतीय अर्बपति व्यापारी गौतम अडानीमाथि अमेरिकामा धोकाधडीको आरोप लागेको छ । यस्तो आरोपपछि बिहीबारको कारोबारमा अदानी समूहको सेयर मूल्यमा उच्च कमी आएको छ । अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको छ ।

बम्बई स्टक एक्सचेन्ज (बएिसई)मा दिउँसो २ः३० बजे अदानी इनर्जी सोलुसन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै १९ दशमलव ५ प्रतिशतको कमी देखिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजको शेयर मूल्य १८ दशमलव ७६ प्रतिशतले घट्दा अदानी ग्रीन इनर्जीमा पनि १६ दशमलव ५६ प्रतिशतको कमी देखियो ।

त्यस्तैगरी, अदानी पोट्र्सको शेयर ११ दशमलव ९४ प्रतिशतले घटेको थियो । गौतम अडानीमाथि अमेरिकामा घुसखोरीको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप छ । तर, अदानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।

 

प्रधानमन्त्री ओलीको भ्रमणले चीन–नेपालको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास

काठमान्डौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ।
चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाईमा पुर्‍याउने बिश्वास व्यक्त गरेको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए।

सो अवसरमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गरे। उनले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्वयनका क्रममा ठोस योजना तयार गरी अघि बढ्न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाईमा पुर्याउन प्रधानमन्त्री आलीको आसन्न चीन भ्रमण कोसेढुंगा सावित हुने धारणा व्यक्त गरे।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियन चाओले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनियाँ र नेपाली जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चिनियाँ पक्ष आँतुर रेहेको बताए। उनले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको ऐतिहासिक सम्बन्धलाई विकास र समृद्धिको दिशामा अधिकतम् सदुपयोग गर्नुपर्नेतर्फ दुवै देशको ध्यान जानुपर्नेमा जोड दिए।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सन हाईयानले असल छिमेकी देश नेपालको विकास र समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चिनियाँ पक्ष तयार रहेको बताए।
चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत बिदेश बिभागको निमन्त्रणामा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा रहेको सदस्य ज्ञवालीले दिए।

नेपाल टेलिकमले सुदूरपश्चिम रोयल्सलाई प्रायोजनमा सहयोग गर्ने सम्झौता

 

काठमाडौँ, ६ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन सहयोग गरेको छ ।

एनपीएलमा सुदूरपश्चिमलाई टेलिकमले टेलिमकम पार्टनरको रुपमा सहयोग गरेको हो । दुई पक्षबीच प्रायोजन सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हस्ताक्षर गरिन ।

सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए ।

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैँ आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्स मार्फत एनपीएलमा जोडिन पाउँदा खुसी लागेको बताईन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) क्यानको‌ आयोजनामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा आठ टोलीको सहभागिता रहनेछ ।

सवा १७ अर्ब लगानीमा सडक सुधार कार्यक्रम सुरु

६ मंसिर, काठमाडौं । सरकारले विश्व बैंकसँगको सहकार्यमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु गरेको छ ।

यो कार्यक्रमको पहिलो चरणको काम बिहीबारदेखि सुरु भएको विश्व बैंकले जनाएको छ । नेपाल सरकार र विश्व बैंकको १२ करोड ८० लाख अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रुपैयाँ) मा लगानीमा यो कार्यक्रम सुरु भएको हो ।
विश्व बैंकका अनुसार यस परियोजनाले प्रादेशिक र स्थानीय सडक सञ्जालको सुरक्षा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

साथै, सडक विस्तारको समेत योजना छ । सडक सञ्जाल व्यवस्थापन गर्ने सरकारको क्षमता अभिवृद्धि लक्ष्यसमेत छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो परियोजना अगाडि बढाउँदैछ ।
बिहीबार प्रदेश मन्त्रीहरूको उपस्थितिमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिँहले परियोजना सुरु गरे । परियोजनाले दिगो पूर्वाधार निर्माणमा टेवा दिने सिंहले बताए ।

आयोजनाको पहिलो चरणमा १ सय ८० किलोमिटर सडक र पुल स्तरोन्नति योजना छ । तोकिएका प्रदेश तथा स्थानीय तहका ४ सय किलोमिटर मर्मत गर्ने र विद्यमान् ७ सय किलोमिटर प्रादेशिक सडक तथा पुलसमेत मर्मत गर्ने योजना रहेको विश्व बैंकले जनाएको छ ।

त्यस्तै १ सय किलोमिटर सडकलाई सबै मौसममा चल्नयोग्य बनाउने समेत आयोजनाको लक्ष्य छ । यसले स्थानीय तहबीच सडक सञ्जाल विस्तार गर्ने छ ।

विश्व बैंकका अनुसार तीन चरणमा कार्यान्वयन हुने यस परियोजनाको पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १३ स्थानीय तहमा काम हुनेछ ।

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

एजेन्सी- सिरियामा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु भएको छ।

सिरियाली रक्षा मन्त्रालयका अनुसार प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएका छन्।

बेलायतमा आधारित युद्ध पर्यवेक्षक ‘सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स’ ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ।

जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए।

इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो।

युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए।

कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री

धनगढी, ६ मंसिर ।
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले)को साझा एजेन्डा प्रस्तुत हुने बताएका छन् ।

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलका तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेन्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईमा सम्झौता नगर्ने भए चीन भ्रमण गर्नुको औचित्य नरहेको बताईरहदा गृहमन्त्री लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको प्रष्ट पारे ।
उनले बीआरईमा ऋण स्वीकार्य नभएको बताए ।

मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका निम्ति वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे । उनले सत्तासाझेदार प्रमुख दुई दलबीच हाल कुनै विषयमा असमझदारी नभएको जिकिर गरे ।

लोकतन्त्र र संविधानका विरुद्धमा गरिने कुनै पनि गतिविधि सैह्य नहुने उनले बताए । उनले भने, “प्रमुख दुई पार्टीबीच आपसमा कुनै समस्या सिर्जना नहोस् भनेर केन्द्रदेखि जिल्ला तहसम्म दुवैतर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ ।

अराजकता र अस्थिरताको अन्त्यसहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा अघि बढेको सरकारलाई अब कसैले रोक्न सक्दैन ।”

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित

धनगढी, ५ मंसिर।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।

२०७९ मा कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा निर्वाचित टीकाकुमारी सत्तारुढ नेकपा एमालेको समर्थनमा  जिसस प्रमुखमा निर्बिरोध निर्बाचित भएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।

बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले नाउपाकी उम्मेदवार रुपमती डगौराले उम्मेदवारी फिर्ता लिएपछि काँग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित भएको बताए ।

नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख रहेका पदमबहादुर कलेलको २३ पुस २०७९ निधन भएपछि रिक्त रहेको पदमा बुधवार निर्बाचन भएको हो ।

कहिले मिल्ला न्याय ?

१९ असोज २०५९ मा डोटीको तत्कालिन बर्छेन गाविसको छेडामा तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको सास्कृतिक कार्यक्रममा आक्रमण गरेको सुरक्षाफौजले खेत जोतिरहेका दल बहादुर चन्द, लोकेन्द्र बहादुर चन्द, रण बहादुर चन्द, टेक बहादुर चन्द र गोरु खरिद गर्न गएका डबल बहादुर सार्कीलाई लाईन लगाएर गोली हानी हत्या ग¥यो । सर्चका क्रममा सुरक्षाफौजने घरभित्र रहेकी निर्मला चन्दलाई समेत गोली हानी हत्या ग¥यो भने गोली प्रहारबाट चन्दका छोरा घाईते भए । लाईन लगाएर गोली हानेपछि म¥यो भनेर छोडिएका बर्छेनकै चक्र बहादुर मटेली धन्न जोगिए ।

२०५९ साल असोज १० गते आफ्नो भाई नर बहादुर बोहरालाई सुरक्षाकर्मीले कुटपिट गर्न लागेको जानकारी पाई बचाउन खोज्दा डोटी विपीनगरका खडक बहादुर बोहराको सुरक्षाकर्मीले गोली हानी हत्या गरे ।

बैतडी जिल्लाको तत्कालिन वासुलिङ्ग गाविस–७ लिस्किटा(हाल सुर्नया गाउँपालिका) का पूर्व प्रहरी नारद पाण्डेलाई छिमेकीको बिबाहमा जन्ती गएको अवस्थामा डडेल्धुराबाट सुरक्षाकर्मीले पक्राउ गरी डिलासैनी मन्दिरमा लगेर गोली हानी हत्या गरे ।

२९ जेठ २०६० मा माओवादीले सोधपुछ गर्नुछ भनेर लगेर गएका कैलालीको रामशिखरझाला गाविस–८ देउकलियाका दीर्घसिंह बमका छोरा ठम्मानसिंह बमको शब घरबाट डेड किलोमिटर दक्षिण कान्द्रा नदीको किनारमा गाडिएको अवस्थामा विशेषज्ञ र प्रहरी सहितको उपस्थितिमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उत्खनन गरेर निकाल्यो ।

बाजुरा पाण्डुसैन–७ का हरीकृष्ण रावतका घरमा दीपावलीको अवसरमा तास खेलिरहेका ८ जना सर्वसाधारणलाई माओवादीको आरोपमा सेनाले ७ कार्तिक २०५९ राति पौने चार बजे एक चिहान बनायो । उप सेनानी झलेन्द्र बस्नेत र प्रहरी निरिक्षक हर्क बहादुर कार्कीको नेतृत्वमा गएको संयुक्त सुरक्षाफौजले हत्या गरेका रामलाल दमाई ५०, तुला रावत २१, काशी सार्की २९, सौर्य रावत ३३, चन्द्र बोहरा ४४, रुप दमाई ४०, नर बहादुर बाहरा ३३, पदम बहादुर शाही ३७, का परिवारले अहिलेसम्म कुनै राहत पाएका छैनन । न त उक्त घटनामा संलग्न सुरक्षाकर्मीहरुमाथि कारबाही नै भएको छ ।

१४ कार्तिक २०६० मा कैलालीको पहाडी गाबिस खैरालाका जय बहादुर भुल, लाल बहादुर सिजाली, हरीसिंह भुल, गगन थापा, किस्न बहादुर सार्की खेतमा धान चुटिरहेको अवस्थामा सुरक्षाफौजको निशाना बने । माओवादीका नाममा मारिएका उनीहरु निर्दोष सर्वसाधारण थिए । जसको माओवादीसंग कुनै साईनो थिएन ।
खेतको काम सकेर घर फर्किदै गर्दा अछामको बस्ती गाविसका चन्द्रीका जैसी, डम्बरप्रसाद जैसी, विष्णादेवी जैसी, टेकराज जैसी लोडघाट पुलमा सेनाको आक्रमणमा मारिए । निहत्था अनि निर्दोष उनीहरु मारिएपछि रेडियो नेपालबाट चार जना आतंककारी सुरक्षाफौजसंगको भिडन्तमा मारिएको समाचार प्रशारण भयो ।

३० जेठ २०६२ को राति १२ बजे सशस्त्र प्रहरी बल बडी मालिका गण रहेको कैलालीको बनबेहडामा सुरक्षाकर्मीकी पत्नी लक्ष्मी शाह २१, उनका एक वर्षीय छोरा दिपेन्द्र, दुर्गादेवी ऐर, राधादेवी सिंह र सशस्त्र प्रहरीमा भर्ना हुन आएका गणेश विक र प्रेम भुल क्रूरतापूर्वक मारिए । उनीहरुलाई माओवादीले मारेको आरोप लाग्यो । तर घटनाको जिम्मवारी कसैले लिएन । र, उक्त घट्नामा संलग्न भएको आरोपमा न कोही कानुनी दायरामा आए । न कसैमाथि कारबाही भयो ।

२०५८ सालपछि माओवादीले कैलालीको पहलमानपुरमा शितलदास चौधरी, दीपेन्द्र हमाल, पूर्ण सिंह कामी, बीर बहादुर भुल, कञ्चनपुर कृष्णपुरका मदनराज जोशी, दैजीका हिक्मत विष्ट, कालिकाका पदम बहादुर थापा, कृष्णपुरका निर्मल ओझा, चाँदनीका अन्तराम भट्टको नृशंस तरिकाले हत्या गरे । भट्टलाई त काटेर छ टुक्रा बनाए ।

३० पुष २०५९ मा बर्दिया मानपुर टपराका जनमोर्चा कार्यकर्ता भोज बहादुर कार्की र टोप बहादुर कार्कीलाई माओवादीको आरोपमा सेनाले हत्या ग¥यो ।

१० मंसिर २०५५ मा जाजरकोटको दह गाविसका १७ जना निशस्त्र सर्वसाधारणलाई गिरफ्तार गरेको प्रहरीले दुई दिनपछि १२ जनाको मजकोट गाबिस ९ को भानुकुइया लेकमा हत्या ग¥यो । पाँच जनालाई छोड्यो ।

दैलेखको नौमूले प्रहरी चौकी तथा जाजरकोटको गखांकोट र दसेरा प्रहरी चौकीबाट गएका प्रहरीले दह गाविस–१, नेपानेका कर्म सिंह घर्तीको विवाहको भोज खाएर बसिरहेका जंगबहादुर घर्ती, प्रसाद रोका, करबिर बुढा, कलबहादुर घर्ती र बलबीर घर्तीलाई अवदेखि माओवादीलाई सहयोग नगर्नु छोडी दिए । विवाहको घर घेरा हालेर राती करिव ७ बजे आफूसंगै लगेका जयबहादुर घर्ती, रणबहादुर घर्ती, बुद्धिराज घर्ती, लाल बहादुर घर्ती, गोरे घर्ती, शेरसिंह घर्ती, खड्क बहादुर घर्ती, सेतु सिंह घर्ती कमानसिंह घर्ती, पृथ्वीबहादुर घर्ती, जमाने रोका कृष्णबहादुर शाहीलाई राति सानोखोलेमा राखे । र,  भोलिपल्ट बासुमा लगेर उनीहरुको गोली हानेर हत्या गरे । उनीहरुले बेहुला कर्मसिंह घर्तीलाई पनि बाँकी राखेनन । उनको पनि त्यही हत्या गरे ।

११ फागन २०५८ मा दैलेखको राकम कर्णालीबाट गएको सेनाको टोलीले कामीकोटको कोटवाडामा विमानस्थल निर्माण गर्ने कार्यमा संलग्न भएका ३५ जना मजदुर तथा एक ६ महिनाको बालकलाई कब्जामा लिएर हत्या ग¥यो ।

सेनाले विमानस्थल निर्माण कार्यमा संलग्न धादिङको जोगिमाराका चित्रबहादुर प्रजा, डिल्ली प्रजा, शेर बहादुर प्रजा, कुम्ले प्रजा, रामबहादुर प्रजा, विकास प्रजा, टेकबहादुर बिक, सानु बिक, टेकबहादुर गुरुङ, गोकर्ण बहादुर गुरुङ, कान्छा प्रजा, बुधबहादुर प्रजा, मञ्जु थापा मगर, राजकुमार श्रेष्ठ, राजकुमार विक, भिमबहादुर थापामगर, ज्ञानबहादुर थापा मगर, तनहुँका जन्तरे लाटा मगर, ईलामका प्रदीप राई, गोरखाका कुमार थापा (ठेकेदार), दोलाल घाटका प्रेम लामा (माइला), रामेछापका, हर्क तामाङ, काभ्रेका पासाङ लामा, मकवानपुरका बुद्धिमान च्याङवा, सोलुखुम्बु चित्रबहादुर राई, भोजपुरका निरकुमार खत्री, मोरङका कृष्ण थापा, स्थानीय कोटवाडाका लालबहादुर कठायत, भिमबहादुर कठायत, गोर्खे कठायत, टेक बिष्ट, गंगा विष्ट, नोर्बु शेर्पा, लक्ष्मण भण्डारा, ६ महिने बालक नविन कुमार विष्टको कुरतापूर्वक हत्या गरे । होटलमा चिया खादै गरेका मजदुरहरुलाई मार्न खोजेका सेनालाई उनीहरु मात्रओवादी नभएको बताउने शेर्पा होटलका मालिक तेन्जिङ नोर्बु शेर्पा समेत मारिए । सेनाले युद्धकालमा यति ठूलो संख्यामा सर्वसाधारणको हत्या गरेको यो पहिलो घटना थियो । उनीहरुलाई लाईन लगाएर गोली हानी हत्या गरेपनि सेनाले भिडन्तमा आतंककारी मारिएको समाचार प्रशारण गरेको थियो ।

कोटवाडामा मारिएकाहरुको लाश समेत आफन्तलाई नदिई सेनाले गाउँलेहरु जम्मा गरेर नजिकै खाल्डो खनी पुर्न लगाएका थिए । लाश नपाएका कारण मृतकका आफन्तजनले कुशको शब बनाएर सद्गती गरेका थिए ।

२६ फागुन २०५५ को राति रोल्पाको हार्जङ गाविस–३ हार्जडमा बलबहादुर रोकाको घरमा माओवादीको डरले सामुहिक रुपमा सुतेका गाउँलेहरुलाई आत्मसमर्पण गर्न नमानेपछि माओवादी कार्यकर्ताहरुले घरमा आगो लगाएपछि नौ जनाको गोली हानी हत्या गरे । एक जनाको उपचारको क्रममा मृत्यु भयो । घाईते दुई जना उपचार पछि निको भए । प्रतिकारमा उत्रिएको भन्दै माओवादीले सर्वसाधारणलाई नृशंसतापूर्वक हत्या गरेका थिए । उक्त घटना अघि स्थानीय बासिन्दाले तीन जना माओवादीलाई समातेर प्रहरीलाई बुझाएका थिए । जसको प्रहरीले हत्या गरेको थियो ।

माओवादीको गोली प्रहारबाट ऐमन बुढा, चैते भनिने नरसिङ पुन, बेगम पुन मगरको घरभित्रै मृत्यु भयो । मन बहादुर गिरी तिर्ख गिरीको भाग्ने क्रममा घर बाहिर गोली लागेर मृत्यु भयो । अमृत गिरी, पुष्टे गिरी र कृते भनिने ढाटे पुनको घरभित्रै जलेर मृत्यु भयो । माओवादी आक्रमणमा घाईते भएका गोपाल गिरीको उपचारका क्रममा छ महिनापछि मृत्यु भयो । माओवादीको खुकुरी प्रहारबाट घाइते भएका हस्ते रोकामगर लामो उपचारपछि जोगिए पनि काम गर्नसक्ने अवस्थामा फर्कन सकेनन् ।

१० फागुन ०५६ मा प्रहरीले रुकुमको खारा गाबिसमा १५ जनाको सामुहिक हत्या ग¥यो । रुघाँ गाविस–२ स्थित सिम्रुत प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरीलाई बिहान साढे ८ बजे खारा गाविस–५ कालढुङ्गामा लुकेर बसेका माओवादीले गोली प्रहार गर्दा प्रहरी जवान गणेश खत्रीको मृत्यु भएपछि आक्रोशित प्रहरी टोलीले सोही ठाँउबाट आगजनी मात्र शुरु गरेन, दिउँसो १२ बजेदेखि ३ बजे सम्ममा खारा–२ राउमारे, खारा–३ कुरल र खारा–५ पोखरीका १५ जना निहत्था निर्दोष सर्वसाधारणलाई  कसैलाई घरबाट निकालेर त कसैलाई जंगलमा गएको अवस्थामा गोली हानी हत्या ग¥यो । त्यस दिन सर्वसाधारणको हत्या बाहेक प्रहरीले सोही गाविसको वडा नं २, ३, ४, ५ र ६ का २७ वटा घर, ३७ वटा गोठ, ३ वटा आँटी र २ वटा पानी घट्ट पनि जलाएको थियो ।

प्रहरीले भद्रवहादुर खड्का, गोविन्द खड्का, खड्क बहादुर खड्का, लक्ष्मी खड्का खारा, प्रबिर खड्का, देवीलाल खड्का, लालबहादुर खड्का, त्रिभान वली, धनबहादुर ओली, लालबहादुर ओली, देउरुप खत्री, गोपाल ओली, टिकाराम खत्री, हेमन्त खत्री खारा, टिकाराम ओलीको हत्या गरेका थिए ।

२०५८ मंसिर १३ गते, तत्कालिन शाही नेपाली सेनाले दाङ जिल्लाको सदरमुकाम घोराही देखि ३ किलोमिटर पूर्व दक्षिणमा पर्ने त्रिभुवननगर नगरपालिका–३ बर्गदी गाउँमा दिउसो ३.०० बजे १५ खलिहानमा धान दाँई गरिरहेका ११ जना किसानहरु खुसीराम चौधरी, आसाराम चौधरी, सीतलाल चौधरी, जोगीराम चौधरी, जगमान चौधरी, प्रसाद चौधरी, कृष्ण चौधरी, सोमलाल चौधरी, रीसमान चौधरी, रामु चौधरी र रुपलाल चौधरीलाई माओवादीको आरोपमा गोली हानी सामुहिक हत्या ग¥यो ।

१७ कार्तिक २०५९ कार्तिकमा बर्दिया जिल्लाको भिम्मापुर गाविसका १४ वर्षीय बालक राजु थारुलाई माओवादीले सुराकी गरेको आरोपमा अपहरण गरे । त्यसको चारदिनपछि धारिलो हतियारले घाँटी रेटेर उनको हत्या गरे । २२ कार्तिकमा कोठीयाघाट–राजापुर जोडने सडक अन्तर्गत पर्ने राजापुर गाविस–२ स्थित बुढीखोला पुलमा फेला परेको बालकको लाश माओवादीका तत्कालीन एरिया इन्चार्ज प्रतिक द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा राजु थारुलाई माओवादी पार्टीले सुराकीको आरोपमा सफाया गरेको उल्लेख गरिएको थियो ।

२६ साउन २०६१ मा माओबादीले दैलेख जिल्लाको नारायण नगरपालिका–१ नयाँ बजार निवासी रेडियो नेपालका दैलेख जिल्ला सम्वाददाता तथा मानवअधिकार तथा शान्ति समाजका जिल्ला सल्लाहकार डेकेन्द्रराज थापाको हत्या गरे ।

माओवादीद्वारा अवरुद्ध गरिएको सदरमुकामको खानेपानी सुचारु गर्ने विषयमा माओवादीसंग छलफल गर्न ९ असार ०६१ असार सदरमुकामबाट तोली गाविस गएका पत्रकार थापालाई फर्कदै गर्दा असार ११ गते केहि वुझनु छ भन्दै माओवादीले अपहरण गरी साउन २६ गते द्वारी गाविस– १ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा हत्या गरे । उनलाई तत्कालीन जनमिलिसिया कमाण्डर कट्टी–६ का बमबहादुर खड्का (मुक्ती। ले हत्या गरेका थिए ।

२९ चैत २०५८ मा बर्दिया जिल्लाको मनाउ गाविस–८ नौरडाका ८ जना निःशस्त्र सर्वसाधारणलाई संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी एकदिनपछि राजापुर गाविसको टेडीया जङ्गलमा हत्या ग¥यो ।सुरक्षाकर्मीहरुले आ–आफ्नो घरमा सुतिरहेका राधेलाल थारु, कमला थारु, मोहन थारु, सोनिराम थारु, धनिराम थारु, चिल्लु थारु, लौटी लौटी थारु प्रेम प्रकाश धारुलाई राति १२ बजे दुश्मन आउने बाटोमा पर्ने कोठियाघाटमा ड्रम पुल फाल्न जाउ कमरेड भनी झुक्याएर नियन्त्रणमा लिई हत्या गरे । सोही दिन सुरक्षाकर्मीहरुले पक्राउ गरेका चैरिचन्दनपुर गाडिसकार गोला गाविसका ३ जनालाई उनीहरुसगै हत्या गरे । विद्यालयमा अध्ययनरत उनीहरुमध्ये अधिकांश १५ देखि १८ बर्ष उमेरका थिए । निशस्त्र उनीहरुलाई मारिएको दोस्रो दिन भिडन्तमा १५ जना आतंककारी मारिएको समाचार रेडियो नेपालमा प्रशारण गरिएको थियो ।

१ पुष २०६० को राती करिव १ बजे बाँकेको महादेवपुरीको बांगेसालमा आफूहरु माओवादी भएको बताउदै सेनाले लखेटीरहेकोले आफ्ना साथीको खोजीमा आएकोले देखाई दिन आग्रह गर्दै गोठमा सुतिरहेकी हितकला डॉगी, जयकली खत्रीलाई लगेर गएका सादा पोशाकका सुरक्षाकर्मीहरुले एक दिनपछि उनीहरुसंगै थप एक जनाको डुम्रेवास खोलामा हत्या गरे । सुरक्षाकर्मीले झिझरी खोलामा नुहाई रहेका महादेपुरी गाविसका सुशील उपनामका शेरजंग शाहलाई समेत लगेर उनीहरुसंगै गोली हानी हत्या गरेका थिए ।

तर रेडियो नेपालको समाचारमा भने महादेवपुरीको जंगल ईलाकामा सुरक्षाफौजसंगको दोहोरो भिडन्तमा ३ जना आतंककारीको मृत्यु भएको समाचार पुष २ गते साँझ प्रशारण गरिएको थियो ।

द्धन्दका १० वर्षमा यस्ता सयौं घटना भए । जुन घटनामा निर्दोष तथा निहत्था नागरिक राज्य र माओवादीद्वारा अनाहकमा मारिए । माओवादीले सुराकी, दुश्मन, सामन्त अनि फरक आस्था राखेको भन्दै नृशंसतापूर्वक हत्या ग¥यो । चन्दा नदिने, खाना नखुवाउने, अभियानमा नहिड्ने बास नदिने सर्वसाधारणहरुको पनि माओवादी सफाया गर्न पछि परेन । कतिपय सर्वसाधारण व्यक्तिगत रिसिईबीको शिकार भए ।

सुरक्षाकर्मीहरुले पनि माओवादीका नाममा विद्यार्थी, शिक्षक, जन्ती, खेत जोतिरहेका र घरमा सुतिरहेकाहरुको हत्या गरे ।

कतिपय स्थानमा सुरक्षाकर्मीहरुले आफ्नो पहिचान बदलेर माओवादीलाई सहयोग गरेको आरोपमा सर्वसाधारणको अमानवीय ढंगले हत्या गरे । माओवादी र सेनाको सनक र प्रतिशोधका शिकार भएका सर्वसाधारणह र उनीहरुको परिवारले शान्ति प्रकृयापछि पनि न्याय पाउन सकेनन । शक्तिको आडमा निहत्था तथा निर्दोषमाथि ज्यादती गर्ने सुरक्षाकर्मी र माओवादी कसैमाथि कारवाही हुन सकेन । जसका कारण दण्डहिनता मौलायो ।

माओवादीले जनयुद्धका नाममा सशस्त्र संघर्ष शुरु गरेको २०५२ फागन १ गतेदेखि बिस्तृत शान्ति सम्झौता भएसम्म २०६२ मंसिरसम्ममा देशभरी दुवै पक्षबाट झण्डै १५ हजार मारिएको अनुमान छ । यो अवधिमा राज्य पक्षबाट ८ हजार ३१० र माओवादी पक्षबाट ४ हजार ५८९ गरी १२ हजार ८९९ को हत्या भएको इंन्सेकको तथ्यांकमा समेत उल्लेख गरिएको छ ।

यो अवधिमा मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा ४ हजार १९७ जनाको हत्या भयो । राज्यपक्षबाट ३ हजार १८८ मारिए । सबैभन्दा बढि रोल्पामा ५८० जनाको हत्या गरेको राज्य पक्षले डोल्पामा ३६ जनाको हत्या ग¥यो । यही अवधिमा माओवादी पक्षबाट ८८६ जनाको हत्या भयो । माओवादीबाट सबैभन्दा बढि दाङमा १२९ को हत्या भयो भने सबैभन्दा कम हुम्लामा ९ जनाको हत्या भयो । अज्ञात समूहद्वारा १२३ जनाको हत्या भएको यो अवधिमा रोल्पामा मात्र ५८ जना मारिए । द्धन्दको १० वर्षमा राज्य र माओवादी दुबै पक्षवाट ५८२ जना वेपत्ता पारिएको मध्यपश्चिममा राज्यबाट ५१० र माओवादीबाट ७२ जना बेपत्ता पारिए । यो अवधिमा बर्दियामा सबैभन्दा बढि १५६ जना राज्य पक्षबाट बेपत्ता पारिए भने माओवादीबाट बर्दियामा १६ जना बेपत्ता भए ।

यही अवधिमा सुदूरपश्चिममा राज्यबाट ९३२ र माओवादीबाट ६३५ जना गरी एक हजार ६५८ जनाको हत्या भयो । अज्ञात समूहले ९० जनाको हत्या गरेको यो अवधिमा राज्य र माओवादीबाट १०१ जना बेपत्ता पारिए ।
द्धन्द पीडितहरुले अव त न्यायको आस मारिसके । कतिपयले क्षतिपूर्ति र राहत पाएपनि धेरैले त त्यो पनि पाएनन । दोषीमाथि कारबाही त टाढाको कुरा ।

आयोगले नागरिकलाई आफ्नो कब्जामा लिन सकिने अवस्थामा कुनै गल्ती गरेको रहेछ भने पनि कानूनको उचित प्रकृया वमोजिम कारवाही गर्नुपर्नेमा गैर न्यायिक हत्या भएको अनुसन्धान प्रतिवेदनबाट देखिएको उल्लेख छ ।

सुरक्षाफौजले डोटीको छेडामा गोली हानी हत्या गरेका ५ जनाका परिवारलाई जनही ३ लाख रुपैया क्षतिपूर्ति, मटेलीलाई एक लाख रुपैया, घाईतेको उपचार र मृतकहरुका नाबालक छोराछोरीको निशुल्क शिक्षाको व्यवस्था मिलाउन आयोगले सिफारिस गरेको थियो ।

खडक बहादुर बोहराका परिवारलाई २ लाख ५० हजार रुपैया र मृतकका नाबालाक छोराछोरीलाई निशुल्क शिक्षाको व्यवस्था र दोषी सुरक्षाकर्मीमाथी कारबाही गर्न पनि आयोगले सिफारिस गरेको थियो । तर दोषी कसैलाई कारबाही भएन ।

बैतडीको लिस्किटाका पाण्डेको हत्यामा संलग्न सुरक्षाकर्मीहरुमाथि फौजदारी अभियोगमा कारबाही गरी मृतकका परिवारलाई तीन लाख रुपैया क्षतिपूर्ति दिन र उनका नाबालक छोराछोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्न समेत आयोगले सिफारिस गरेको थियो ।

माओवादीका नाममा मारिएका बर्दियाको मानपुर टपराका जनमोर्चाका कार्यकर्ता भोजबहादुर र टोप बहादुर निर्दोष रहेको बताउदै सेनाले घटनामा संलग्न दोषी सेनालाई कारबाही गरेको बताए पनि कस्तो किसिमको कारबाही गरियो त्यो भने खुलाएन ।

अधिकारकर्मीहरु तत्काल सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी द्वन्द्वको समयका दोषीहरुलाई दण्ड र पीडितलाई न्याय प्रदान गर्नुपर्ने बताउछन ।

प्रतिक्षा न्यायको

जाजरकोट दह गाबिसमा सुरक्षाकर्मीहरुद्वारा जन्तिहरुको बर्बरतापूर्वक हत्या गरिएको घटना सरकारले बिर्सेको छ । तर त्यो घटनामा मारिएकाहरु आफन्त र परिवारजन त्यो पीडा कहिल्यै बिर्सिने छैनन ।

मृतक रण बहादुर घर्तीकी पत्नी तिर्था पुन जन्ती गएका आफ्ना निर्दोष पतिको हत्या गर्ने सुरक्षाकर्मीलाई कारबाही हुने र आफूलाई न्याय मिल्ने आशा थियो । तर न्याय पाईनन । पतिको हत्या पछि परिवार पाल्न नसकेर उनले हर्क बहादुर रोकासंग विबाह गरिन ।

मृतक वहादुर घर्तीकी पत्नी देउरुपा घर्ती जन्तीहरुसंगै प्रहरीले पक्राउ गरेर लैजान थालेका पतिलाई अंगालो हालेर रोक्ने प्रयास गरिन । प्रहरीले कुन्दाले हानेर देउरुपाबाट छुटाएर लगेका बहादुरको हत्या गरे । राप्रपाका समर्थक रहेका आफ्ना पतिलाई माओबादीको आरोपमा हत्या गरेपछि परिवारको विचल्ली भएको बताउने देउरुपा हत्यारालाई कारबाही होस भन्ने चाहन्थिन । उनीसंगै मृतक गोर्ख वहादुर घर्तीका छोरा अमर पनि हत्यारालाई कारवाही होस भन्ने चाहन्थिन । उनले पनि न्याय पाईनन ।

कालीकोट कोटबाडामा सुरक्षाकर्मीहरुद्वारा मारिएका ३५ जना मजदुर माओवादी नभएको त्यति पुष्टि भईसकेको थियो । तर सरकारले न पीडित परिवारलाई उचित क्षतिपूर्ति दियो । न दोषी सुरक्षाकर्मीमाथि कारबाही ग¥यो ।

घट्नाका प्रत्यक्षदर्शी कोटवाडा–१ का ५१ वर्षीय जंगे बिष्टले हत्या गरिएका सर्वसाधारणहरुलाई गाड्न सेनाले उर्दी जारी गरेपछि स्थानीय बासिन्दाले खाल्डो खनेर गाडेको बताएका थिए ।

गोर्ख बहादुर कठायतको हत्यापछि उनको परिवारको बिचल्ली भयो । न परिवारले क्षतिपूर्ति पायो, न त न्याय । न दोषीमाथि कारबाही भयो ।

मृतक गंगा बहादुर विष्टकी आमा ५१ वर्षीय पुष्पा विष्टले घर फर्कदै गरेको छोरालाई सुरक्षाकर्मीले आफ्नै आँखा अगाडि गोली हानेर मारेको देखेपनि आफूलाई पनि मार्लान भन्ने डरले केही बोल्न नसकेको बताएकी थिईन । उनले भनिन्, पछि उनीहरुले सोधपुछ गर्नुछ भनेर बुद्धिसिंह विष्ट, गणेश बहादुर विष्ट र मलाई हेलिकप्टरमा हालेर सदरमुकाम लगे । १५ दिनपछि केही नभनी छोडिदिए ।

मृतक लहविरे कठायतका १६ वर्षीय छोरा रामबहादुर कठायतले घरभित्र रहेका बुवालाई सोधपुछ गर्नुछ भनेर लगेर सेनाले मारेको बताए ।

बुवाको मृत्युको पीडाले दुई वर्षपछि आमाको पनि मृत्यु भयो । माओवादीको धम्कीका कारण दुई वर्षसम्म विस्थापित बुवालाई माओवादीकै आरोपमा सेनाले मा¥यो । उनी भन्छन्, मेरा निर्दोष बुवालाई मार्ने सुरक्षाकर्मीहरुमाथि कानूनअनुसार कारबाही गरेर हामीलाई अतिपूर्ती दिएमा मात्र हामीले न्याय पाएको महसुस गर्नेछौं ।

कालिकोट कोडवाडाका निमित्त प्रमुख जिल्ला अधिकारी ओमकारप्रसाद न्यौपानेले सरकारले कोटवाडा घटनाको पीडितलाई राहत दिने घोषणा गरेपनि अहिलेसम्म आधिकारिक रुपमा कुनै जानकारी नआएको बताएको ईन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

कोटवाडामा मारिएकाहरुलाई नेकपा माओवादीले शहिद घोषणा गरेपनि माओवादीकै अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेका बेला पनि मृतकका परिवारलाई सरकारले सम्झेन । दोषीमाथि कारबाही त टाढाको कुरा । उचित क्षतिपुर्ति र राहत पाएनन ।

रोल्पा हार्जडमा माओवादीद्धारा सामुहिक रुपमा हत्या गरिएका मध्ये मृतक गोपाल गिरीको पत्नी हाइमाली गिरी त्यो घटना सम्झेर भक्कानिएर रुने गर्थिन । उक्त घटनापछि माओवादीको अपहरणमा परेर फुत्किन सफल भएको उनको जेठो छोरा दिपक गिरी डरले धेरै वर्षसम्म घर फर्केन ।

मृतक तिखुं गिरीको परिवार अभिभावक मारिएपछि विचल्लीमा परेको छ । उनका छोरा दुजे गिरी बुवाको हत्यापछि आफूले विद्यालय छोड्नु परेको र मजदुरी गर्न एक दाई काठमाडौमा अर्को दाई भारतको कालापहाड गएको बताउछन ।

उक्त घटनाको त्रास अहिले पनि गाँउमा यथावत छ । विदेश गएर चन्दा नदिएको आरोपमा माओवादीले कब्जा गरेको हार्जङ–२ का गमबहादुर पुन र जुद्धवीर रोकाको घर जग्गा फिर्ता गरेका छैन् ।

रुकुमको खारामा माओवादीका नाममा प्रहरीद्वारा मारिएकाहरुका परिवार पनि न्यायको पखाईमा छन् । मृतक भद्रबहादुर खडकाकी पत्नी पार्वती खडकाले गोठालो गएका पतिको हत्या र दुई वटा घर जलाएको क्षतिपूर्ति सरकारले एक लाख रुपैया दिएको असन्तुष्टी व्यक्त गरिन । उनले भनिन्, एकलाखले मान्छे मार्न पाईन्छ भने त म मेरा लोग्नेको हत्यारालाई मारेर जग्गा जमीन बेचेर भएपनि एकलाख दिन सक्छु ।

मृतक लालबहादुर खडकाकी आमा पपर्ती खडकाले छोरा लाल बहादुर र स्थानीय देवीलाललाई गहुँबारीमा लगेर आंखा अगाडि हत्या गरेको सुनाइन ।

मृतक खड्कबहादुरकी पत्नी चन्द्रकली खड्का र मृतक गोविन्दको पत्नी भीउसरी खडका स्थानीय हामफाल खोलामा काठ चिनं गएका पतिहरुको हत्या गरेको बताउदै भन्छिन्, प्रहरीले एकातिर जिउने सहारा खोसिदियो, अर्कोतिर बस्ने घर जलाईदियो ।

हामीलाई जस्तो विपत्ती त कसैलाई छैन होला । उनले भनिन्, हाम्रो यस्तो दशा बनाउने प्रहरी ज्यूँदो रहेछ भने एक पटक हाम्रो अवस्था हेर्न ल्याई दिए हुन्थ्यो ।

मृतक प्रविर खड्काकी पत्नी पवित्रा खड्का पाँच महिनाकी छोरी समातेर घरमै बसेका पति प्रविरलाई छोरीलाई भुईमा पछारेर बन्चरोको विंडले दुवै खुट्टा भाँचेर प्रहरीले घिसार्दै गहु बारीमा लगेर गोली हानी हत्या गरेको बताउछिन । निर्दोष अनि निहत्था नागरिकको हत्या गरिएको यो घटनाको समाचार भने दोहोरो भिडन्तमा माओवादी मारिएको भनी प्रसारण गरेर प्रचार गरिएको थियो ।

उक्त घटनाका जिम्मेवार प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल, जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी धिरु बस्नेत, प्रहरी निरिक्षक बेलबहादुर पाँडे र प्रहरी सहायक निरिक्षक शम्भु सुवेदी मध्ये कसैलाई कारबाही भएन ।

२१ फागुन ०५६ फागुनमा घटनाको स्थिति अनुगमन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा एक टोली खारा पुग्नु अगावै त्यहाँ प्रहरी पुगेर सबै गाँउलेहरुलाई आज फेरी खारामा लडाई हुँदैछ तिमीहरु सबै जंगलतिर भाग नत्र सबैको एकै चिहान हुन्छ भनेर सम्पूर्ण गाँउलेहरुलाई जंगलमा लखेटेर गृह सचिवलाई रित्तो गाँउमा घुमाई फर्काइएको स्थानीय बासिन्दाहरु बताउछन् ।

बाँके बागेसालमा सुरक्षाकर्मीहरुद्वारा मारिएकी मृतक हितकला डाँगीका पति धनबहादुर डाँगीले निर्दोष आफ्नी पत्नीलाई सुरक्षाकर्मीले झुक्याएर लगी बलत्कार गरी हत्या गरेको वताए ।

बर्दियाको मनाउमा सुरक्षाकर्मीहरुले ८ जना युवाको क्रूरतापूर्वक गरिएको हत्याको घटना अहिले पनि तीनका परिवारजनले विर्सन सकेका छैनन । मृतक राधुलाल थारुका बुवा पदम थारु मध्यराति सयौको संख्यामा आएका सुरक्षाकर्मीले ढोका खोल्न लगाई शत्रु आउने बाटो कोठियाघाटको पुल तोड्न भनेर  लगेर गएका ८ जना स्थानीय युवकलाई एक दिनपछि गोली हानेर हत्या गरेको बताउछन ।

कुनै पार्टीमा नलागेकी आफ्नी छोरीको कमलाको हत्या भएको कुरा विश्वास गर्न नसकेका कारण तुल्सीराम चौधरीले काजक्रिया नै गरेनन ।

उनीहरु सुरक्षाफौजसंग दोहोरो भिडन्तमा मारिएको पत्र आइसीआरसीले परिवारलाई बुझाउन खोज्दा स्थानीय वासिन्दाले जसले लगेर गएको थियो उसैले पत्र बुझाउन आउनु प¥यो भनेर पत्र पनि बुझेनन ।

मृतकका परिवारजनलाई मनाउ गाविसमा सर्चको क्रममा सेनासँगको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको भनि ०६३ सालमा प्रकाशित वामनप्रसाद न्यौपानेको प्रतिवेदन र आइ.सी. आर. सी को पत्र मार्फत जानकारी गराईएको थियो ।

राहत र क्षतिपुर्तीका लागि आन्दोलन गर्न पीडित परिवारहरु काठमाण्डौसम्म पुगेपनि कनै सुनुवाई नभएको गुनासो गर्छन ।

द्वन्कालमा बाँके बर्दियामा सेनाद्धारा भएका अधिकांश गैर न्यायिक हत्या र ज्यादतीपूर्ण घटनामा तत्कालिन मेजर अजित थापा र क्याप्टेन रमेश स्वॉरको संलग्नता रहेको थियो । सर्वसाधारण वेपत्ता पार्ने, मार्ने र बलत्कार गर्ने घटनामा थापा र स्वॉरको प्रत्यक्ष संलग्नता रहेको एक मानवअधिकारकर्मी बताउछन् ।

कैलालीको धनगढीमा भएका अमानवीय तथा ज्यादतीपूर्ण घटनामा कालीदल गुल्म धनगढीका प्रमुख मेजर छेतेन लोप्चेनको संलग्नता रहेको थियो । उनले माओवादीलाई सहयोग गरेको भन्दै व्यापारी, पत्रकार, महिलालाई निकै दुःख दिए । जन आन्दोलनकारीमाथि निकै ज्यादती र दमन गरेका मेजर लोप्चेनको धनगढी–७ देबहरियामा नेपाली कांग्रेसका कार्यकर्ता चक्रराज जोशीलाई घरबाट छोपेर माओवादीका नाममा नशसता पूर्वक मार्ने कार्यमा समेत संलग्नता रहेको बताईन्छ । जोशी माओबादी कार्यकतां नै भएको पुष्टी गरेर उनको हत्यालाई न्यायिक बनाउने प्रयत्न गरेको सेनाले स्थानीय बासिन्दाको चर्को दबावपछि गल्ती स्वीकार गरेपनि घटनामा संलग्न सुरक्षाकर्मीलाई भने कारवाही गरेन । जोशीलाई २१ जना शहिद अन्तर्गत राखिएको छ ।

यो अवधिमा माओवादीवाट पनि कम्ति ज्यादती र गैर न्यायिक हत्या भएन । माओवादीका थारु समुदायका कमाण्डर रहेका ठाँउमा पहाडी समुदायका सर्वसाधारण ठूलो सख्यामा निर्ममता पूर्वक मारिए । लुटिए । कुटिए । लखेटिए । माओवादी भित्रै पनि यस्को चर्चा नचलेको होईन । तर ती र त्यस्ता घटनामा संलग्न दोषी कार्यकर्ता र कमाण्डरलाई कारबाही गर्न भने माओवादीले पनि चासो देखाएन । दुवै पक्षबाट अपराध गर्नेहरु दण्डित नभएर पुरस्कृत भए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले २०६५ जेठमा मध्यपश्चिमका नौ वटा जिल्लामा द्वन्दका समयमा भएका मानवअधिकार उल्लंघनका नौ वटा गम्भिर घटनाको अध्ययन गरेको थियो । जसमध्ये ६ वटा घटनामा राज्य पक्ष र तीन वटा घटनामा राज्य पक्ष दोषी रहेको ईन्सेकको ठहर छ ।

ती घटनाका पिडितहरुले अहिलेसम्म पनि न्याय पाएका छैनन । उनीहरुको परिवारको विचल्ली भएको छ ।
अत्यन्त क्रूरतापूर्वक राज्य र माओवादी पक्षबाट भएका यी घटनाका पिडितहरु अहिलेसम्म न्यायको पर्खाईमा छन् । उनीहरुको आर्थिक अवस्था निकै दयनिय छ । तर राहत भन्दा वढि उनीहरु दोषीमाथि कारबाही भएको हेर्न चाहन्छन् ।

राज्यको उदासिनताका कारण पिडितहरु थप पिडित भए । दोषीहरुले भने उन्मुक्ति पाए ।

राज्यले कमजोरी स्वीकार गरेका घटनामा पनि दोषी सुरक्षाकर्मीमाथि अहिलेसम्म कारवाही गरेको छैनन, जोशी भन्छन्, यो दण्डहीनताको पराकाष्ठा हो । द्वन्द्वका बेला निर्दोष नागरिकको हत्यामा संलग्न माओवादी कार्यकर्ता र सुरक्षाकर्मीमाथि कारबाही नगरी पिडितलाई क्षतिपूर्ति दिएर मात्र न्याय भएको मान्न सकिदैन ।

विसं २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादी पक्षबीच भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएको थियो । तर वर्षौँ बितिसक्दा पनि सङ्क्रमणकालीन मुद्दासम्बन्धी मामिला टुङ्गिन सकेको छैन ।

दश वर्षे माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरेको बृहत शान्ति सम्झौता र २०६३ सालको नेपालको अन्तरिम संविधान अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन गरिएको थिए । पहिलो पटक यी आयोगहरू २०७१ साल माघ २८ गते गठन भएका थिए । तर यी आयोगहरु प्रभावकारी हुन सकेनन ।

सङ्क्रमणकालीन न्यायको कार्य सम्पन्न गर्ने र पीडितको न्यायको अधिकार सुनिश्चित गर्ने कुरामा सरकार उदासिन देखिन्छ ।

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार र नागरिकका मौलिक हकको रक्षाका लागि सरकारका तर्फबाट जति नै प्रतिबद्धता व्यक्त गरेपनि द्धन्दकालीन घट्नाका पीडितलाई न्याय नदिई गरिने त्यस्ता प्रतिबद्धताको कुनै अर्थ छैन ।

द्धन्दका १० वर्षमा द्धन्दरत पक्ष मात्र मारिएका थिएनन । जसको युद्धमा कुनै संलग्नता थिएन, जो निशस्त्र थिए, त्यस्ता हजारौ निर्दोष मान्छेहरु पनि युद्धको शिकार भए । त्यो अबधिमा सुरक्षाफौजद्धारा हजारौं सर्वसाधारण आतंकारीका रुपमा मारिए । बेपत्ता पारिए । र, माओवादीद्धारा पनि हजारौं सर्वसाधारण सुराकी र असहयोग गरेका नाममा मारिए । बेपत्ता पारिए । द्धन्दसंग कुनै सम्बन्ध नभएका निशस्त्र मान्छेहरु सनक, लहड, रिसिईवी र तक्मा पाउनका लागि मार्नेहरु जुनसुकै पक्षका हुन्, ती युद्ध अपराधी हुन् ।

द्धन्दकालीन घट्नाहरुलाई एउटै डालोमा हालेर त्यस्ता अपराधीहरुलाई उन्मुक्ति दिनु दुर्भाग्यपूर्ण हुनेछ ।

(शान्ति सम्झौता भएको आज १८ वर्ष भयो । शान्ति प्रकृयापछि द्धन्दमा मारिएका सर्वसाधारणका परिवारसंग गरिएको कुराकानी र अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक), राष्ट्रिय मानवअधिकार आयोग र सरकारद्धारा बिभिन्न समयमा प्रकाशित प्रतिबेदनका आधारमा तयार गरिएको रिपोर्ट । द्धन्दको अबधिको रिपोर्ट भएकोले घट्नामा उल्लेख गरिएका स्थानहरु (तत्कालिन गाउ विकास समिति ) जस्ताको त्यस्तै राखिएका हुन्)

खोज्नुहोस