चार सय वर्ष पुरानो नेपाल-लद्दाख सम्बन्ध

९ मंसिर २०८१ ६:५७
चार सय वर्ष पुरानो नेपाल-लद्दाख सम्बन्ध

२०८१ असार दोस्रो साता हामी लद्दाख भ्रमणमा थियौ । धनगढीबाट गाडीमा सात घण्टामा भारतको राजधानी दिल्ली पुगेका हामीहरुसंग लद्दाख जान दुई वटा बिकल्प थिए । पहिलो, एक घण्टा लामो दिल्ली–लद्दाख हवाई यात्रा । दोस्रो, २० घण्टा लामो झण्डै एक हजार लामो किमी सडक यात्रा । हामीले पहिलो विकल्प रोज्यौ । र, दोस्रो दिन बिहानै हामी लद्दाख पुग्यौ । ‘हाई अल्टिच्यूड’ले स्वास्थ्यमा समस्या उत्पन्न हुने ‘गाईड’को सुझावले त्यो दिन आराम गरेर बितायौं । साँझ होटल नजिकैको मुख्य बजार घुम्न निस्कियौ ।

भ्रमणको तेस्रो दिन हाम्रो चालक थिए, थिन्लेस नामग्याल । उनी हाम्रो गाईड पनि थिए । हामी बसेको सोकर रिट्रट होटलले हामीलाई घुमाउने जिम्मा थिन्लेसलाई दिएको थियो ।

हामी नेपाली भएको थाह पाएपछि उनले पहिलो भेटमै भने, ‘लेहस्थित शे गुम्बामा पाँच सय वर्ष अघि नेपाली कालिगडहरुले बनाएको बुद्धको विशाल मूर्ति छ ।’

चौथो दिन पेङ्गाग तालबाट फर्किदै गर्दा हामीले बुद्धको मूर्ति रहेको शे गुम्बा जाने निधौ ग¥यौ । लेह सदरमुकामबाट झण्डै १५ किमीको दूरीमा लेह–मनाली सडक किनारको बायाँ पट्टी एउटा पुरानो दरबार छ । र, त्योसंगै जोडिएको छ, शे गुम्बा । त्यही गुम्बामा छ, शाक्यमुनी बुद्धको भीमकाय मूर्ति ।

ढल्दै गरेको दरबारका भग्नावशेष बाँकी छन् । तर, छेउमै रहेको गुम्बा भने प्राचिन ईतिहास बोकेर उभिएको छ । यो त्यही गुम्बा हो, जोसंग नेपालको साईनो जोडिएको छ ।

२६ फिट अग्लो शाक्यमुनी बुद्धको यो मूर्ति बनाउन आठ किलो सुन र एक सय २० किलो तामा प्रयोग गरिएको बताईन्छ ।

सन् १६५५ मा राजा देल्दन नामग्यालले पिता राजा सेंगे नामग्यालको सम्झनामा यो मूर्ति बनाउन नेपालबाट कालिगडहरु झिकाएका थिए, गुम्बाका भिक्षु जिग्देनले भने, लद्दाखको यो दोस्रो ठूलो मूर्ति हो । जसलाई बनाउन दुई दशकभन्दा बढि समय लागेको थियो ।

लद्दाखका राजाको आग्रहमा नेपालका तत्कालीन राजाले शाक्यमुनी बुद्धको मूर्ति बनाउन ३० जना कालिगडलाई लद्दाख पठाएका थिए ।

मूर्ति बनाएपछि उनीहरु फर्केनन । राजाले उनीहरुलाई जग्गा र सम्पत्ती दिएर लद्दाखमै राखे । मुख्य कालिगडका लागि दरवार छेउमै घर बनाए । र, खेतीपातीका लागि नजिकैको गाउँमा जमीन दिए । २८ जनालाई लद्दाखबाट ३५ किमी दूरीमा रहेको चिलिङ गाउँमा बसाए । र, एक परिवारलाई चेम्डेमा राखे ।

शे गुम्बाको अवलोकनपछि बुद्धको त्यो विशाल मूर्ति बनाउने कालिगडका सन्तानलाई भेट्ने हुटहुटीले हामीलाई लेहको मुख्य बजार तर्फ डो¥यायो ।

मुख्य बजारको पश्चिम पट्टि सामसुङको शोरुमको अघिल्तिर एउटा सानो गल्लीभित्र पस्यौ । भित्री गल्लीमा रहेको सुन पसल ‘फाईन आर्ट्स गोल्ड स्मिथ’ मा हामीलाई एक जना कुरिरहेका थिए, उनी थिए, ५२ वर्षीय फुञ्चुक दोर्जे । उनीसंग मोबाईलमा भएको कुराकानी र उनले बताएको बाटो पछ्याएर हामी त्यहाँ पुगेका थियौ । सुन पसलमा दुई जना थिए । एकजनाले हामीलाई भित्र बोलाए । साँघुरो पसलमा बस्ने ठाँउ थिएन । उनले त्यहाँबाट हामीमाई एउटा कफि सपमा लिएर गए । हामी उनको कुरा सुन्न उत्सुक थियौ । आफूलाई मुख्य कालिगडको सन्तान बताउने दोर्जेले कुराकानीको शुरुवातमै भने, हाम्रो पुर्खालाई लद्दाखी राजाले शाक्यमूनी बुद्धको मूर्ति बनाउन झण्डै चार सय वर्षअघि नेपालबाट झिकाएका थिए । मूर्ति बनाएपछि उहाँहरु नेपाल फर्किनुभएन । यतै बस्नुभयो ।

फुन्चुक नेपालको सोलु जिल्ला आफ्नो पुख्र्यौली थलो रहेको अनुमान गर्छन । तर सोधीखोजी गर्न सोलु जान भने पाएका छैनन् । सन् १९९० मा उनी सानै थिए । त्यही बेला हजुरबुवा र बुवासंग नेपाल गएको सम्झना बाहेक उनीसंग नेपालको अरु कुनै सम्झना छैन ।

उनका बाजेको नाम सरकारी ढड्डामा पम्बर सुनार लेखिएको थियो । उनका बुवाले दोर्जे लेख्न थाले । र, उनी पनि दोर्जे भए ।

स्थानीय भाषामा नेपालबाट आएका परिवारलाई ‘सेरगर’ भन्छन । सेरगरको अर्थ हो, सुनार । सायद मूर्ति बनाउने भएकोले हाम्रो थर सुनार लेखियो । तर हाम्रो परिवारमा कसैले सुनारको काम भने गरेको थिएन, उनी भन्छन्, तर मैले यसैलाई पेशा बनाए ।

यो पसल मेरो होईन, साथीको हो, उनले सुनाए । पसलमा सघाए वाफत साथीले पैसा दिन्छ । त्यसैले गुजारा चलेको छ ।

उनका साथी मुस्लिम हुन् । दोर्जे आफूलाई हिन्दु मान्छन । तर, लद्दाखमा उनी बौद्धमार्गीका रुपमा चिनिन्छन । बौद्ध धर्मकी अनुयायी उनकी छोरी दलाई लामाको संगतमा भिक्षु भईन ।

उनी सबैभन्दा पहिले गणेशको पूजा गर्छन । त्यसपछि बुद्धको । आफ्ना पुर्खाहरु हिन्दु भएको उनको भनाई छ । नेपालबाट मेरो हजुरबुवा साथमा गणेशको मूर्ति लिएर आउनुभएको थियो, दोर्जे भन्छन, हजुरबुवापछिको पुस्ता बौद्ध परिवेशमा हुर्कियो । र, हामी बौद्धमार्गी भयौ । यद्दपि मेरो पहिलो धर्म हिन्दु हो । त्यसपछि मात्र हामी बौद्धिष्ट हौ ।

उनी गणेश भगवानलाई आफ्नो कुलदेवता मान्छन । गणेश कृपाले आप्mनो पुर्खाले लद्दाखमा नाम कमाएको उनको विश्वास छ । बौद्धिष्टहरु चौरी गाईको मासु खान्छन । उनी भने खादैनन । टुर गाईड हुदा उनलाई ट्राभल एजेन्सीका सञ्चालकले झुक्याएर गाईको मासु खुवाएछन् । त्यो थाह पाएपछि उनी ट्राभल एजेन्सीका सञ्चालकसंग निकै रिसाए । त्यसपछि उनलाई सञ्चो भएन । त्योसंगै घरमा गाईको मृत्यु भयो । गाईको मासु खाएकोले त्यस्तो अनिष्ट भएको उनको बुझाई छ ।

सेनामा कार्यरत उनका बुवा सिकिस्त बिरामी भएर चण्डिगढ अस्पतालमा भर्ना गरिएका थिए । घरपरिवारलाई उनी बाँच्ने आशा थिएन । चिकित्सकले पनि घर लैजान सुझाव दिएका थिए । गणेश भगवानप्रतिको अगाध विश्वास व्यक्त गर्दै दोर्जेले भने, घरमा गणेशको पूजाआराधना गरेको एक हप्तामा त बुवा सञ्चो भएर  आउनुभयो ।

सबैले हामीलाई भन्छन्, तिम्रो पुर्खालाई लद्दाखका राजा नामग्यालले मूर्ति बनाउन नेपालबाट ल्याएको हो । उनी भन्छन्, तर हामी कहाँबाट आयौ । हाम्रो पुख्र्यौली थलो कहाँ हो ? हाम्रा पुर्खाहरु कहाँ बस्छन् ? अहिलेसम्म यकिन भएको छैन ।

नेपाली भनेपछि हुरुक्क हुने दोर्जेले नेपाली मूलकी महिलासंग विवाह गरे । उनकी पत्नी प्रष्टसंग नेपाली  बोल्छिन् ।

पुर्खाको थाँतथलो पत्ता लगाउन नेपाल जान मन त छ । तर मसंग पैसा छैन । उनले आफैभित्र दबाएको धोको सुनाउदै भने, त्यही कारण पुर्खाको थाँतथलो पत्ता लगाउने ईच्छा दबाएर बसेको छु ।

भारतका लागि लड्ने गोर्खाली गाथा

३ मे सन् १९९९ मा तीन महिना, तीन हप्ता, दुई दिनसम्म भारत र पाकिस्तानबीच भएको कारगील युद्धमा दुबै तर्फ ठूलो क्षति भयो । अन्तिममा युद्ध भारतले जित्यो ।

त्यसअघि सन् १९६२ मा चीनसंग भएको लडाईमा भारतले क्षति व्यहो¥यो । र, अक्साई भू-भाग चीनको अधिनमा पुग्यो । त्यसपछि पनि चीन र पाकिस्तानी सीमानामा थुप्रै घट्नाहरु भए ।

यी दुईटै लडाईमा भारतका तर्फबाट गोर्खालीले बीरतापूर्वक लडे । सयौंले ज्यान गुमाए । गोर्खा राईफल्समा कार्यरत मेजर धनसिंह थापा तीनै मध्येका एक थिए । २० अक्टोबर १९६२ मा तीन वटा मोर्चामा चीनीया फौजलाई रिजंगलामा परास्त गरेका थापा चीनीया फौजको नियन्त्रणमा नआए सम्म लडे । चीनीया फौज विरुद्ध अदम्य साहसका साथ लडे वाफत परमबीर चक्र पाएका थापाको वीरताको गाथा लेहबाट १० किमीको दूरीमा रहेको ‘हल अफ फेम’ मा लेखिएको छ । उनलाई लडाईको मोर्चामा साथ दिने सुवेदार थिए, ट्वाईसी (सेकेण्ड ईञ्चार्ज) मीन बहादुर गुरुङ । गुरुङले एलएमजी प्रहार गरी थुप्रै चीनीया सैनिकलाई ढाले । त्यही क्रममा गुरुङ चीनीया फौजद्धारा प्रहार गरिएको रकेट लञ्चरले बंकरभित्र पुरिए । उनी त्यहाँबाट समेत निस्किएर चीनीया फौज विरुद्ध जाई लागे । र, चीनीय फौजतर्फ ठूलो क्षति पु¥याए । र, अन्त्यमा चीनीया फौजको आक्रमणबाट गुरुङ शहीद भए ।

लडाईपछि थापालाई लेफ्टिनेन्ट कर्णेलमा बढुवा गरेको भारत सरकारले उनलाई परमबीर चक्र प्रदान ग¥यो । त्योसंगै भारत सरकारले उनको सम्मानमा पेङ्गाग तालको उत्तरी किनारमा रहेको पोष्टको नाम धनसिंह थापा पोष्ट राख्यो ।

सन १९४८ देखि हालसम्म पाकिस्तान र चीनसंग भएका बिभिन्न लडाई र झडपमा बीरताका साथ लड्ने भारतीय फौजका बहादुर सिपाहीको गाथा लेखिएको छ । जहाँ थापासंगै चीन र पाकिस्तानसंगको लडाईमा बहादुरीका साथ लडेका गोर्खालीहरुको गाथा पनि अंकित छ ।

सन १९४८ मा भारतीय सेनाका नेतृत्व गर्दै पहिलो पटक मनाली हुदै लेख पुगेका गोरखा राईफल्सका मेजर हरी चन्दले १८ हजार फिटको उचाईमा पाकिस्तानी फौजलाई परास्त गर्दै लेहमा भारतको झण्डा फह¥याए । यसअघि यति हिमाली क्षेत्रमा लडाईको अनुभव नभएको भारतीय सेनाले चन्दको नेतृत्वमा सफलता हात पा¥यो । र, लेहबाट पाकिस्तानी फौजलाई पछि हट्न बाध्य बनायो । पाकिस्तानी फौजसंगको लडाईमा बीरगति प्राप्त गरेका उनलाई मरणोपरान्त लेफ्टिेन्ट कर्णेलमा बढुवा गर्दै भारत सरकारले उनको पराक्रमको कदर गर्दै महाबीर चक्र प्रदान ग¥यो । उनको तस्वीर सहित बीरताको गाथा पनि ‘हल अफ फेम’ मा स्वर्णाक्षरले लेखिएको छ ।

त्यही लहरमा २१ अक्टोबर १९६२ मा लद्दाखको श्रीजाप पोष्टमा चीनीया फौजद्धारा गरिएको आक्रमणमा भारतीय फौजलाई जोगाए वाफत महाबीर चक्र पाउने गोरखा राईफल्सका नायक रबि लाल थापाको बहादुरीको गाथा लेखिएको छ । उनले श्रीजाप पोष्टपछि अर्को पोष्टमा कार्यरत भारतीय फौजलाई समेत चीनीया आक्रमणबाट कुशलता र बहादुरीका साथ जोगाएका थिए । अन्तिममा आफ्नो फौजलाई चीनीया आक्रमणबाट जोगाउन थापा डुंगाबाट पेगांग ताल पार गराईरहेका थिए । त्यहीबेला चीनीया फौजले आक्रमण गरी ध्वस्त गरिदिए । त्यसका बाबजद पनि उनी आफ्ना साथीहरुलाई जोगाउन सफल भए । त्यस वाफत भारत सरकारले उनलाई महाबीर चक्र प्रदान गरेको थियो ।

त्यसैगरी पाकिस्तान र चीनको सीमानामा बिभिन्न समयमा भएको लडाईमा अदम्य साहसका साथ सीमा रक्षाका लागि लडे वाफत महाबीर चक्र प्राप्त गर्ने मेजर राजेश सिंह अधिकारी, नायक प्रेम बहादुर गुरुङ, लान्स हवलदार नर बहादुर आले लगायत गोर्खालीहरुको बीरताको गाथा ‘हल अफ फेम’मा राखिएको छ ।

‘हल अफ फेम’ मा कुँदिएका तस्वीर र त्योसंगै लेखिएको बीर गाथाले लद्दाखसंग नेपालीहरुको साईनो गौरवपूर्ण पाईन्छ । भारत सरकारले जसको बहादुरी र अदम्य साहसको उच्च सम्मान गरेको महशुस हुन्छ ।

रेष्टुरेण्टदेखि ¥याफ्ङि, जहाँ तही नेपाली

लेहको सबैभन्दा व्यस्त द तिब्बतीयन किचेनमा राति १२ बजेसम्म विदेशी पर्यटकको भीड थेगिनसक्नु छ । सयजनाको क्षमता रहेको रेष्टुरेण्टमा साँझ नपर्दै टेबुल बुक गर्नुपर्छ । अन्यथा बस्ने ठाँउ पाईदैन ।

दिउँसो १२ः३० बजे खुल्ने द तिब्बतीयन किचेनमा म्यानजेरदेखि सेफ, वेटर सबै नेपाली छन् । जहाँ ३६ जना नेपाली कार्यरत छन् । जसको म्यानेजर हुन्, बुटवलका ज्ञान बहादुर राना ।

खानाका परिकारहरु र तिनको स्वादका कारण हाम्रो रेष्टुरेण्ट विदेशी पर्यटकको पहिलो रोजाईमा पर्छ, म्यानजेर राना भन्छन्, राति १२ बजेसम्म त हामीलाई काम गर्न भ्याई नभ्याई हुन्छ ।

जति ग्राहकहरु टेबुलमा परिकार खाईरहेका हुन्छन । त्योभन्दा पनि टेबलको पखाईमा बसिरहेका हुन्छ । साँझ छिप्पिदै गएपछि द तिब्बतीयन किचेनमा ग्राहकको भीड पनि बाक्लिदै जान्छ । उनी भन्छन्, त्यसैले दिउँसै ग्राहकहरुले आफ्नो लागि टेबल ‘बुक’ गर्छन ।

लेहको मुख्य भागमा रहेको द तिब्बतीयन किचेन मात्र होईन, चीन नजिकको भारतको अन्तिम बस्ती मेरकको ग्राण्ड हिमालय होटलको म्यानेजरदेखि वेटरसम्मको भूमिकामा नेपाली युवाहरु कार्यरत छन् ।

दाङ तुलसीपुरका २४ वर्षीय अनन्त पुन मगर होटल म्यानेजरको भूमिकामा छन् । बुवाआमासंग दुई वर्षको हुदा भारत आएका अनन्त त्यसयता भारतमै छन् । हेटौडाका बिनोद पौडेल होटलको मेन सेफ हुन् । प्युठानका २३ वर्षीय योगी बुढामगर, बागलुङका बिकास थापा र हेटौडाका सुदीप लामा पनि त्यही होटलमा काम गर्छन । छ महिना हिऊँले ढाकिने मेरकमा ईन्टरनेट र टेलिफोन सुबिधा छैन । कहिलेकाही सेनाले छोड्ने ईन्टरनेट सेवा लिन क्याम्प वरीपरी त्यहाँ कार्यरत व्यक्तिहरु झुम्मिन्छन ।

होटलमा ईन्टरनेट सेवा नभएकोमा आश्चर्यचकित भएका हामीहरुलाई म्यानेजर मगरको सोझो जवाफ थियो, हामीले यो अवस्था सधै झेल्छौ । एक दिन त तपाईहरु पनि झेल्नुहोस ।

हिऊँदमा मेरकका होटलहरु बन्द हुन्छन । स्थानीय बाहेक सबैले बस्ती छोड्छन । नेपालीहरु पनि कोही लेह, कोही हिमाञ्चल झर्छन । छुट्टीका छ महिनामध्ये एक/डेढ महिना घरमा बिताउने हेटौडाका पौडेल बाँकी समय गोवामा सेफको काम गर्छन ।

लद्दाखको जीवनको अभिन्न हिस्सा बनेका छन्, नेपालीहरु । २५ वर्षदेखि लेहमा कार्यरत नुवाकोटका रण बहादुर पाण्डेयले सुनाए, नेपाली नभए लद्दाखको जीवन चल्दैन भन्ने त होईन, तर नेपाली बिनाको कुनै व्यवसाय र क्षेत्र नै छैन ।

लद्दाखको निर्माणाधीन बौद्ध स्तुपाका कारिगरदेखि मिस्त्री नेपालीहरु छन् । मुख्य मिस्त्री ईटहरीका पदम बहादुर तामाङ हुन् । उनी भन्छन्, यसको निर्माणमा संलग्न अधिकांश नेपाली छन् ।

बेकरी व्यवसायी पाण्डेयले भनेको कुरा रेष्टुरेण्टदेखि ¥याफ्टिङसम्म नेपालीको उपस्थितिले पनि पुष्टि हुन्छ ।
लेह–पेगांग लेक सडक खण्ड अन्तर्गत पर्ने दुरबुकमा भेटिए, दुई नेपाली युवा सिद्धिलाल र सुजित परियार । जुम्लाका उनीहरु त्यहाँ सिलाजित, सुगन्धित तेल र जडिबुटी बेचिरहेका थिए । सिद्धीलालले सुनाए, लद्दाखमा हामीजस्तै जडिबुटी बेच्ने १५ जना छौ ।

यसैगरी हरेक वर्ष उनीहरु जडिबुटी बेच्न लद्दाख आईपुग्छन । र, दशैंमा खर्च जुटाएर घर फर्किन्छन ।

लद्दाखमा भारतको सीमा सुरक्षा गर्ने सैनिकदेखि अन्तिम सीमासम्म जोखिम मोलेर ¥याफ्टिङ गर्नेहरु नेपाली भेटिए ।

लद्दाखको लामो नदी झास्करमा ¥याफ्टिङ गर्नेहरु झण्डै शत प्रतिशत नेपाली युवाहरु छन् । चितवन राप्तीका मिलन पाठक २०२२ देखि हरेक वर्ष तीन महिना ¥याफ्टिङका लागि लद्दाख आईपुग्छन । भन्छन्, नेपालमा बर्खा शुरु भएपछि अफ सिजन शुरु हुन्छ । अनि यता आउछौ ।

अरुबेला काली गण्डकी, भोटेकोशी, त्रिशुलीमा व्यस्त रहने नेपाली युवाहरु तीन महिना भने झास्करको ¥याफ्टिङमा रमाउछन् ।

चितवन जुगेडीका हिमाल तेस्रो पटक भयो, ¥याफ्टिङका लागि लद्दाख आएको । धरानका शुक्र, धादिङका बिक्रम, पहिलो पटक गोरखाका विकास थापालाई पनि लद्दाखमा तीन महिना ¥याफ्टिङ गर्दा हुने आम्दानीले हरेक वर्ष तान्छ । र त, उनीहरु नेपालमा अफ सिजन शुरु भएपछि लद्दाख हानिन्छन ।

झास्कर र ईन्डस नदीको संगममा भेटिए, एक हुल युवा । उनीहरु सबै ¥याफ्टिङ व्यवसायमा संलग्न थिए । दुबै नदीको संगम भएकोले होला त्यो ठाँउलाई संगम भनेर चिनिन्छ ।

झास्कर नदी उद्गमस्थलबाट बगेर संगम पुग्दा दुई सय किमी तय गर्छ । ¥याफ्टिङका लागि यो नदी प्रमुख गन्तव्य हो । पाठक भन्छन्, हामी एक दिनको प्याकेजमा ३५ किमीमाथिबाट ¥याफ्टिङ गर्छौ । आधा दिनको प्याकेज १४ किमीको छ । र, बच्चाहरु सहित दुई घण्टाको प्याकेज ८ किमीमाथिबाट थाल्छौ । बेलाबेला झास्कर नदीमा एक्सपेडिसन पनि गर्छौ ।

पाठकले जुन र जुलाईमा लद्दाखमा पर्यटक ओईरिने भएकोले यो समयमा ¥याफ्टिङमा राम्रो आम्दानी हुने सुनाए । भन्छन्, हरेक वर्ष तीन महिना लद्दाखमा ¥याफ्टिङ गर्ने नियमित सेड्युल नै भईसक्यो ।

ईन्डस नदीको उद्गम लद्दाख नजिकैको हिम श्रृंखला हुन् । ¥याफ्टिङका लागि ईन्डस नदी खासै महत्व राख्दैन । तर झास्कर नदीमा भने तीन महिना (जुन, जुलाई र अगष्ट) नेपाली युवाहरुलाई ¥याफ्टिङ गर्न भ्याई नभ्याई हुन्छ । पाठक भन्छन्, हिउँदमा पूर्णत जम्ने झास्कर नदीमा त्यो समयमा हिउँमाथि टे«किङ र स्केटिङको छुट्टै रमाईलो हुन्छ । त्यतिबेला भने यहाँ हाम्रो काम हुदैन ।

लद्दाख र मुस्ताङबीचका समानता

नेपालको हिमाल पारीको जिल्ला मुस्ताङ र भारतको लद्दाखबीच धेरै समानता छन् । यहाँको भू बनोट, धर्म, संस्कृति र परम्परा समान छन् । लेह लद्दाखमा बौद्धमार्गीको बाहुल्यता छ । जहाँ प्राचिन गुम्बा र दरबारहरु छन् ।
मुस्ताङ झै लद्दाख हिमश्रृंखलाले घेरिएको छ । यहाँका अधिकांश भूभाग ६ महिनाभन्दा बढि समय हिऊँले ढाकिन्छन । अझ कतिपय भू भाग यस्ता छन्, जहाँ बाह्रै महिना हिऊँ रहन्छ । लद्दाखको एउटा भूगोल लेह । यही सानो उपत्यका लद्दाखको राजधानी हो ।

क्षेत्रफलका तुलनामा नेपालको मुस्ताङ र लद्दाख दुबै भूगोलमा जनसंख्या थोरै छ । लद्दाख भारतको केन्द्र शासित प्रदेश हो । जसको उत्तरमा काराकोरम पहाड र दक्षिणमा हिमालय श्रृंखला छ । यो भारतको सबैभन्दा कम जनसंख्या भएको केन्द्र शासित भूभाग हो । यसको पूर्वमा तिब्बत स्वायत्त राज्य छ । जसको दक्षिणमा भारतको हिमाञ्चल प्रदेश र पश्चिममा केन्द्र शासित जम्मु कश्मिर र पाकिस्तान अधिनस्थ गिलगित बल्तिस्तान  छ ।

सुदूर उत्तरमा काराकोरम पर्वत श्रृंखलासंग जोडिएको अक्साई भूभाग, जो चीनको नियन्त्रणमा छ, त्यसमाथि भारतले दावी गर्दै आएको छ । जुन भू भाग सन् १९६२ को लडाईपछि चीनको अधिनमा रहन पुग्यो ।

लद्दाख पहिले जम्मु कस्मिरको हिस्सा थियो । ३१ अक्टोबर २०१९ मा भारतको संसदले जम्मु तथा कश्मिर पुर्नगठन अधिनियम पारित ग¥यो, यो संगै धारा ३७० हटाई यसलाई केन्द्र शासित प्रदेश बनाईयो ।

लद्दाख अन्तर्गत दुई वटा जिल्ला छन् । लेह र कारगिल । र, एउटा लोकसभा सिट । लद्दाखको कुल क्षेत्रफल १,६६,६९८ बर्ग किमी छ । जसमध्ये दुई तिहाई भूभाग चीन र पाकिस्तानको अधिनमा छ । भारतको अधिनमा ५९,१४६ वर्ग किमी छ । लद्दाखको जनसंख्या २,७४,२८९ छ । जसमध्ये ठूलो हिस्सा कारगीलमा छ ।

सन् १९९९ मे ३ मा पाकिस्तानसंग भएको कारगील युद्ध र त्यसअघि १९६२ अक्टोबर २० देखि २१ नोभेम्बरसम्म चीनसंग भएको एक महिना लामो लडाईपछि भारतले लद्दाखसंग जोडिएको अक्साई गुमायो । र, त्यसपछि भारतले लद्दाखमा ठूलो संख्यामा सुरक्षाबल तैनाथ ग¥यो । लद्दाखका सडकमा सुरक्षाबलका गाडीहरु कुद्नु सामान्य मानिन्छ ।

बेलाबेलामा सीमा क्षेत्रमा हुने झडपका घट्नाले लद्दाखको शान्ति सुरक्षामा भने असर गर्दैन । त्यसकारण पनि वर्षेनी लद्दाखमा हजारौको संख्यामा पर्यटकहरु निर्धक्क भएर जाने गर्छन । यो संख्या हरेक वर्ष बढ्दो छ । चीन र भारतमा फैलिएको १३४ किमी लामो पेङ्गग तालमा सन् २००९ मा  ‘थ्रि ईडियट’ र २०१२ मा ‘जब तक है जान’ फिल्म छायांकन भएपछि भने लद्दाखमा भारतीय पर्यटकहरुको भीड थेगी नसक्नु छ ।

लद्दाखमा हरेक वर्ष लाखौंको संख्यामा पर्यटक भित्रिन्छन । त्यसको मुख्य कारण, हो यहाँको सुन्दरता । मनमोहक लेह । सुन्दर हिमालहरु । बिछट्टै आकर्षक पेङ्गग ताल । जति हेरे पनि हेरीरहु लाग्ने यहाँका मनोरम दृष्यहरु । अद्धितीय कलात्मक प्राचिन गुम्बा र दरबारहरु यहाँका थप आकर्षणहरु हुन् ।

सुरक्षाका दृष्टिकोणले अत्यन्त सम्वेदनशील भारतको सबैभन्दा विकट भूगोल लद्दाखमा पर्यटकहरु ओईरिने मुख्य कारण हो, ‘कनेक्टिभिटी’ । राजधानी दिल्ली, हिमाञ्चल र जम्मु कश्मिरसंगको हवाई र सडक सुविधा यति सहज र भरपर्दो छ कि, जसले पनि लद्दाखको यात्रा सजिलै गर्न सक्छ ।

अझ जोखिम मोलेर मोटरसाईकलको रोमाञ्चकारी यात्रा गर्नेहरु लद्दाखको सुन्दरताका अगाडि सबै कुरा बिर्सिन्छन ।

१७ हजार पाँच सय फिट उचाईमा रहेको चाङला पासको यात्राका क्रममा ‘हाई अल्टिच्यूड’ का कारण स्वास्थ्यमा आउन सक्ने समस्यालाई भने नजरअन्दाज गर्न मिल्दैन । त्यसका लागि सावधानी र सजगता अपनाउनै पर्ने हुन्छ ।

लद्दाख जादा अपनाउनु पर्ने साबधानी (कहिले जाने ? कसरी जाने ?)

लद्दाख भ्रमणका लागि सबैभन्दा उपर्युक्त समय हो, जुन र जुलाई । झण्डै छ महिना हिउँले ढाकिने लद्दाख जाने थुप्रै बाटा छन् । पहिलो दिल्लीबाट चण्डीगढ–मनाली हुदै लद्दाख जोड्ने एउटा रुट छ । अर्को, दिल्लीबाट श्रीनगर हुदै पनि लद्दाख जान सकिन्छ । सडक मार्ग भएर दिल्लीबाट झण्डै एक हजार किमी लामो यात्रा तय गर्नुपर्छ । र, यो यात्रा तय गर्न २० घण्टा लाग्छ ।

दिल्लीबाट लद्दाखसंग सोझो हवाई सुबिधा पनि छ । हवाई जहाजमा झण्डै एक घण्टा १० मिनेटमा दिल्लीबाट लद्दाख पुग्न सकिन्छ । हवाई यात्राको भाडा न्यूनतम पाँच हजार देखि २० हजार भारतीय रुपैयासम्म लाग्ने गर्छ । जुन जुलाईमा पर्यटकको अत्याधिक भीड हुने भएकोले पहिले टिकट काटे सस्तोमा मिल्छ । तत्काल टिकट काटे महंगो हुन्छ ।

लद्दाखमा एक रातको प्रति कोठाको दुई हजार देखि २० हजार भारतीय रुपैया भन्दा बढि पर्ने होटलहरु छन् । कस्तो होटलमा बस्ने त्यो आफ्नो बजेटमा भर पर्ने कुरा भयो । लेह उपत्यकामा घुमाउने गाडीको सुबिधा छ । भाडा भने गाडी अनुसार पर्छ । सामान्यतया तीन हजार पाँच सय देखि सात हजार भारतीय रुपैयामा भाडा तिरेर गाडी भाडामा लिन सकिन्छ । तर लद्दाखमा गाडीमा एसी चलाए वाफत प्रति किमी नौ रुपैया अतिरिक्त तिर्नुपर्ने अनौठो नियम छ ।

हाई अल्टिच्यूडका कारण स्वास्थ्यमा समस्या आउने भएकोले लद्दाख पुगेको पहिलो दिन होटलमै आराम गरेर बस्नु उचित हुन्छ ।

जुन र जुलाईमा जादा न्यानो लुगा र ज्याकेटहरु नलैजादा हुन्छ । यो समयमा लद्दाखमा दिउँसोको तापक्रम २४ डिग्री सेल्सियससम्म हुने गर्छ । दिउँसो गर्मी भएपनि राति र बिहान भने हल्का जाडो हुन्छ ।

लेह लद्दाखबाट झण्डै १७५ किमीको दूरीमा रहेको पेगांग ताल एउटा जानै पर्ने ठाउँ हो । पेगांग ताल किनारमा रहेका होटलहरुमा खानबस्नको राम्रो सुबिधा छ । जहाँ थ्रि ईडियट र जब तक है जान फिल्म छायांकन भएको थियो । १७ हजार पाँच सय फिटको उचाईमा रहेको चाङला पास पार गरेर जानु पर्ने भएकोले स्वास्थ्यमा कसै कसैलाई समस्या हुनसक्छ । लेह–पेगांग जोड्ने सडक पक्की छ । चौडा छ । त्यस कारण पेगांगको गाडीको यात्रा सहज छ । पेगांग ताल क्षेत्रमा ईन्टरनेट र टेलिफोनको सेवा छैन । यहाँ मोवाईलको नेटवर्कले काम गर्दैन । त्यसकारण यहाँ बस्दा सञ्चार सुबिधाबाट भने बञ्चित हुनुपर्छ ।

लद्दाखमा बाहिरको पोष्टपेड मोवाईलले मात्र काम गर्छ । अन्य मोवाईलले यहाँ काम गर्दैन । र, यहाँका लागि छुट्टै सीम लिनुपर्छ । जसका लागि राहदानी वा भारतीय राशन कार्ड अनिवार्य छ ।

लेहबाट अन्यत्र जानु परे परमिट लिनुपर्छ । र, हरेक भूगोलका लागि  सरकारी पास अनिवार्य छ । सरकारी पास बिना पर्यटकहरु आफूखुशी कहीकतै जान पाउदैनन ।

लेह उपत्यकामा पनि घुम्न लायक थुप्रै ठाउँहरु छन् । प्राचिन गुम्बा र दरबारहरु यसका आकर्षण हुन् । जसमध्य नेपाली कालिगडहरुले चार सय वर्ष पहिले निर्माण गरेको शे गुम्बा हेर्नै पर्ने एक हो । लेहबाट ३० किमीको दूरीमा रहेको संगम, जहाँ ईन्डस र झास्कर नदी मिल्छन्, यो ठाउँ पनि पर्यटकको एक गन्तव्य हो । झास्कर नदीमा ¥याफ्टिङको सुबिधा छ ।

गर्मीका कारण लेहको सडक दिउँसो सुनसान हुन्छ । तर जव साँझ हुन्छ । तव सडकमा मान्छेहरुको भीड उर्लिन्छ । साँझ छिप्पिदै जादा लेह बत्तीको उज्यालोले झिलिमली हुन्छ । मुख्य बजारमा राति ११ बजेसम्म मान्छेको भीड थेगी नसक्नुहुन्छ ।

पखाला चल्नु, टाउको दुख्नु, नाकबाट रगत आउनु सामान्य जस्तै मानिन्छ । हाई अल्टिच्यूडका कारण बाहिरबाट आउने अधिकांश पर्यटकले यस्ता स्वास्थ्य समस्या झेलिरहेका हुन्छन् । त्यसैले पहिले नै सजग, सचेत र साबधानी अपनाउन आवश्यक छ ।

धेरै सामान लैजादा ब्याग बिमानस्थलमै छुट्ने संभावना हुन्छ । किनकी जहाजले ठूला लगेज लद्दाखमा छोड्ने गरेको छ । ती सामान दिल्ली आईपुग्न एक हप्तासम्म लाग्न सक्छ ।

लद्दाखको बसाईका लागि पाँचदेखि सात दिन आवश्यक हुन्छ । र, समूहमा जादा कम खर्च हुन्छ । पाँच दिनको बसाई र दिल्ली–लद्दाख–दिल्ली हवाई यात्राका लागि प्रतिव्यक्ति न्यूनतम ४० देखि ५० हजार भारतीय रुपैया खर्च लाग्छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Sexuality education is quietly ignored in Kailali schools

१७ असार २०८२ १३:२१

खोज्नुहोस