आकृति

एउटा आकृति
जो बन्थ्यो खिचीमिची
बाँकी लेख्नै छोडिएको कलमको निबले,
बेस्सरी धर्का तानेर
बनेको मुटुको रातो डोबझैँ
इन्द्रेणी रोमाञ्चका
बाफहरू उठिरहन्थे
पिउँदै गरेको अमेरिकानो कापबाट
दिन छुटे कि
समय छुट्यो
मन छुट्यो कि
आकृति छुट्यो
वा छुट्यो कविताको मीठो हरफ,
तिम्रो सुन्दर आकृतिझैँ ।
…
खोजी रहेँ सोची रहेँ,
भावीले मेरा लागि भाग्य कोर्यो कि तिम्रो आकृति,
वा धमिला हुन लागेका धर्साहरू
गुलाबका पत्र–पत्रले फेरि केरमेट गर्दै,
जोड्दै
उनी बनाउँदै छिन् कि फेरि त्यही सुन्दर आकृति
जोसँगै समुद्रमा साँझका छालहरू
स्निग्ध भएर चिसो हावाले बयेली खेलेझैँ,
कानमै सुसाउने छन्
र, फुसफुस मसँग बात मारिरहेका छन्
तिम्रै आकृति भएर ।
…
प्रतीक्षा गर्दै रहेँ,
रातमा समुद्री आँधीले बनाएको निस्तब्धामा
वा हुरीआँधीले अझै चकमन्न बनाएको
आकाशको अँध्यारो सन्त्रासमा
चट्याङकै भए पनि मधुरो
किरिङमिरिङ उज्याला धर्काहरूले
कोरिरहेँ तिम्रो आकृति
र, मुग्ध भए आफैँसँग
तिम्रै आकृतिमा ।
…
(लेगोस, नाइजेरिया) ९/३/२०२४