एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूले पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका छन्।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पी एस गुरुङ र महासचिव शङ्कर पोखरेल सहभागी सुझाव संकलनका लागी शनिबार आयोजित कार्यक्रममा निर्धक्कसँग जिल्लाका, प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।
पहिलो पटक यसरी आफ्नो धारणा निर्धक्कसँग राख्न पाएको सहभागी एक नेताले बताए। ‘अधिकांश सहभागीले पार्टी पुनर्गठन हुनुपर्ने आवाज सशक्त रूपमा उठाएका छन्,’उनले भने,‘ पार्टीमा यसरी आफ्नो धारणा निर्धक्क सँग राख्न पाएको यो पहिलो पटक हो, यसलाई पनि उपलब्धि नै मान्नुपर्छ’।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको सुझाव संकलन कार्यक्रम शनिवार करिब १३ घण्टा चलेको थियो।
कार्यक्रमको सुरुमै अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा सम्बोधन गरेका थिए। अध्यक्ष ओलीले सुझाव संकलनका नाममा कार्यकर्तालाई तलसम्म विभाजन गर्ने अभियान थालिएको बताएका थिए। पार्टी एकता कमजोर हुने कार्यक्रम नगर भन्दा पनि विभिन्न खालका मानसिकता भएकाले आफूलाई हटाउन राष्ट्रिय अभियान चलाएको उनले भनेका थिए।
करिब १ घण्टा लामो सम्बाेधन गरेका अध्यक्ष ओलीले सुझाव संकलनका नाममा आएकालाई धेरै महत्त्व नदिई आफ्ना कुरा निर्धक्क सँग राख्न भनेका थिए। यो डोरी धेरै तन्काएमा टुट्न सक्ने भन्दै उनले पार्टी एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका थिए। पार्टीलाई चौतर्फी घेराबन्दी भएको उल्लेख गर्दै अहिले आफूले अध्यक्ष नछोड्ने उनले भनेको सहभागीले बताएका छन्।
अध्यक्ष ओलीको सम्बोधन पछि सहभागीले सुझाव प्रस्तुत गरेका थिए। जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्य गरेर कार्यक्रममा ४६ जना सहभागीले सुझाव प्रस्तुत गरेका थिए।
अध्यक्ष ओलीको कुरा सुनेका अधिकांश सहभागीले उनको भनाई विपरीत पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका थिए। केही सहभागी भने ओलीको समर्थनमा बोलेका थिए।
कैलाली अध्यक्ष यज्ञराज ढुङ्गाना र डोटीका अध्यक्ष मञ्जु मलासीले ओलीको समर्थनमा धारणा राखेका थिए। कैलाली र डोटी जिल्लाका अन्य पदाधिकारीले भने पुनर्गठन हुनुपर्ने राय व्यक्त गरेका थिए।
बाजुराका अध्यक्ष लालबहादुर ओलीले अध्यक्ष ओली मात्र नभई सबै पदाधिकारीले बिदा हुनुपर्ने धारणा राखेका थिए। अछाम, डडेलधुरा र बाजुराले पुनर्गठन हुनुपर्ने भनेर लिखित प्रतिवेदन नै बुझाएका छन्।
अध्यक्ष ओलीले मात्र नभई पदाधिकारी सबैले पार्टीको यो अवस्था पुग्नुको दोषको जिम्मा लिनुपर्ने आवाज पनि बलियो रूपमा कार्यक्रममा उठेको सहभागीले बताएका छन्। ‘अध्यक्ष मात्र नभई सवैका गल्ती छन्, सबैले आफ्नो गल्तीको महसुस गर्नु पर्छ र पार्टी पुनर्गठन तलदेखि माथि सम्म हुनुपर्छ भन्ने सहभागीको राय थियो’। सहभागी प्रदेशका एक नेताले भने,‘नयाँ ढङ्गले अघि जानुपर्छ, पार्टी एकताको विकल्प छैन, पार्टी विभाजन गर्नु हुदैन’।
वडा तह सम्म पार्टी पुनर्गठन हुनुपर्ने आवाज पनि उठेको छ। कार्यक्रममा केही सहभागीले नेपाली काँग्रेससँग मिलेर सरकारमा जानु गलत भएको पनि बताएका थिए। लोकतन्त्रमा संसदमा सबैभन्दा ठुलो दल र दोस्रो दल मिलेर सरकार बनाउनु उचित हुँदैन, सरकारमा जाने निर्णय गलत भएको आवाज पनि सहभागीले उठाएका थिए।
प्रदेश अध्यक्ष कृष्णराज जैशी, सचिव, उपसचिवले पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका थिए। केन्द्रको हस्तक्षेप धेरै भएको आवाज पनि अध्यक्ष जैशीले उठाएका थिए।
अधिकांश केन्द्रीय सदस्य पुनर्गठनको पक्षमा
नेता कर्ण बहादुर थापा, सुदूरपश्चिम प्रदेशका इन्चार्ज दामोदर भण्डारी, केन्द्रिय सदस्यहरू सन्तोष शर्मा थापा, कमला ओली र गौरीशङ्कर चौधरी, कृपा राना र कमला बोहराले ले पार्टी पुनर्गठन हुनुपर्ने धारणा राखेका थिए। भने नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले भने संस्थागत निर्णयको पक्षमा रहेको धारणा राखेका थिए।
यसै गरी केन्द्रीय सदस्य नरेश रोकाय र गोविन्द गिरीले पुनर्गठनको विकल्प नभएको भन्दै सिङ्गो पार्टी कमिटी नै पुनर्गठन हुनुपर्ने आवाज उठाएका थिए। ओलीलाई मात्र दोष थुपारेर तपाईँहरू उम्किन पाउनु हुन्न भनेर पदाधिकारीलाई प्रति पनि उनीहरूले आक्रोश पोखेका थिए। टिकट वितरण समेत गलत भएको सहभागीले आवाज उठाएका थिए।
केन्द्रीय सदस्य चक्र मल्लले दोषी ओली मात्र नभएको उल्लेख गर्दै राजीनामा दिएमा ओली मात्र नभई सबै पदाधिकारीले दिनुपर्ने धारणा राखे।
कार्य विभाजनको विरोध
यसै गरी नेकपा एमालेले गरेको कार्य विभाजनको पनि कार्यक्रममा विरोध भएको छ। केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गणेश ठगुन्नाले जनताको वरिपरि रहनेलाई नभई नेताको वरिपरि रहनेलाई जिम्मेवारी र अवसर दिइएको बताएका थिए। नेताको वरिपरि र जनताको वरिपरि हुने बिचको फरक छुट्टाउनु पर्ने उनको भनाई थियो । पार्टी विभाजन हुनु नहुने उनले धारणा राखेका थिए।
कार्यदलका संयोजक थापा लगायतका सुझाव संकलन गर्न आएका नेताहरूले शनिबार सहभागीका कुरा सुने पनि आफ्ना धारणा राखेनन्।sa
