दीनदुःखीका नारायण (भाग ३)

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ २१:२८
दीनदुःखीका नारायण (भाग ३)

उनी जहाँ जान्थे । नयाँ साथी बनाउथे । पहिलो भेटमै विश्वास जित्थे । छोटो समयमै उनको सम्बन्ध प्रगाढ हुन्थ्यो । मानौ, त्यो सम्बन्ध वर्षौ पुरानो हो ।

पढाई जारी थियो । उनले पुराना गाडीको व्यापार शुरु गरे । गाडी किन्ने । बेच्ने । एक सयमा लिएको गाडी दुई सयमा बेच्थे । दुई सयको गाडी चार सयमा । प्रचार गर्ने साथीहरु थिए । उनले व्यापारबाट राम्रो कमाई गरे ।

चार वर्षमा बिजनस फाईनान्समा स्नातक सके । जागीर पाए । वर्षको तलव २० हजार थियो । चार वर्षमा जागीरको मोह भंग भयो । अठोट गरे, जीवनमा कहिल्यै जागीर नखाने ।

जागीरले टेक्ससमा घर जोडेका थिए । र जोगाएका थिए, १८ हजार डलर । उनी एक्ला थिएनन् । भाई सुरेन्द्रलाई अमेरिका    ल्याए ।

१९८५ को नोभेम्बरमा उनी बोल्डरमा आए । त्यसअघि पनि हरेक वर्ष बोल्डर आईरहन्थे । त्यो क्रममा बोल्डरमा थुप्रै साथी बनाएका थिए । उनले ती साथीहरुलाई भोज खुवाउने सोचे । जे सोच्थे, त्यो तत्काल पुरा गर्थे । जनवरी २ मा चर्चमा भव्य भोजको आयोजना गरे । त्यहाँ कल्पना श्रेष्ठले नेपाली पहिरनमा नृत्यु प्रस्तुत गरिन् । साथी डा. डम्बर नेपालीकी पत्नी कल्पनालाई उनी बहिनी भन्थे । भोजमा दुई सय जना साथी सहभागी थिए । उनको नृत्यले सबै मन्त्रमुग्ध भए । फर्किनेबेला सबैले धन्यवाद दिए । र, आवश्यक परेको समयमा सहयोग गर्ने बाँचा गरे ।

उनी बेरोजगार थिए । घुम्थे । साथीभाई भेट्थे । जागीर नखाने । व्यवसाय गर्न पैसा थिएन् । थियो त, सात सय डलर ।

उनी एक दिन बोल्डरमा टहलिदै थिए । तिब्बत गिफ्ट हाउसभित्र पसे । तिब्बतीयन दाजुभाई, त्यसका मालिक थिए । ग्राहकसंग उनीहरुको व्यवहार राम्रो थिएन् ।

एक महिला चश्मा नियालीरहेकी थिईन । उनी महिलाको छेउमा गए । उनले त्यसलाई ‘होली’ चश्माका रुपमा व्याख्या गरे । त्यो चश्मा लगाए शान्ति मिल्ने र धुपमा आँखाको सुरक्षा गर्ने सुनाए । परीक्षणका लागि महिलालाई चश्मा लगाएर सोधे, कस्तो लाग्यो । महिलाले भनिन्, ‘कुल’ ।

महिलाले मूल्य सोधिन् । उनले भने, १५० डलर । महिलाले पर्सबाट पैसा झिकिन् । र, उनको हातमा दिईन् । महिला बाहिरिईन् । उनले पुरै रकम मालिकको हातमा दिए । मालिकले खुशी हुदै ५० डलर उनलाई दिए । त्यो चश्माको मूल्य ५० डलर थियो । उनले तीन गुणा बढिमा बेचिदिए । मालिकहरु उनको क्षमताबाट प्रभावित भए । र, साँझ डिनरमा बोलाए । जसले डिनरमा बोलाए । तिनैलाई उनले पसल बिक्री गर्न सुझाव दिए । उनीहरु बेच्न तयार भए । तर किन्छ कसले ?–उनीहरुले सोधे । उनले भने,– म छु नि ।

दोस्रो दिन उनीहरुले सामानको मूल्यांकन गरे । मूल्य निस्कियो, ३५ हजार डलर । उनीसंग सात सय डलर थियो । निस्केका थिए, पसल किन्न ।

अप्रिल ७ अप्रिल १९८६ । उनले एउटा नम्बरमा कल गरे । त्यो नम्बर उनले सपनामा टिपेका थिए । त्यो टेक्ससको नम्बर थियो । कसलाई कल गयो, थाह छैन् । उताबाट कल उठाउने व्यक्तिले सोधे, कसलाई खोजेको ? उनले भने, मलाई थाह छैन् । तर उनले आफ्नो परिचय दिए । उताबाट चिनेको आवाजमा जवाफ आयो, म प्रोफेसर डन फुसेल बोल्दैछु ।

उनको मुखबाट फुत्त निस्कियो, एउटा पसल किन्दैछु । मलाई १५ हजार डलर पठाईदिनु । त्यति भनेर खाता नम्बर टिपाए । प्रोफेसर डन फुसेलले जवाफमा भने, श्रेष्ठ मसंग पैसा छैन् । म पठाउन असमर्थ छु ।

उनले हक जनाउदै आग्रह गरे, मलाई चार घण्टाभित्र भित्र पठाई दिनु ।

‘श्रेष्ठ आस गर्नु । भर नपर्नु’, यति भनेर प्रोफेसरले फोन राखे ।

त्यसपछि उनी सरासर बैंक गए । उनले त्यहाँ कार्यरत महिला कर्मचारीलाई आफ्नो खाता चेक गर्न आग्रह गरे । त्यतिबेला सम्म उनको खातामा सय डलर थियो । उनी केहीबेर पर्खिए । र, खाता चेक गरे । खातामा १५१०० डलर थियो । उनी दंग भए ।
त्यहाँबाट उनी तिब्बतीयन दाजुभाईको पसलमा गए । उनीहरुलाई १५००० को चेक दिए । मासिक एक हजार बुझाउने सहमती गरे । र, पसलको मालिक भए । पसलको नाम थियो –भिजन अफ तिब्बत । भोलिपल्ट नयाँ नाम दिए–वल्र्ड तिब्बत । कल्पनालाई पसलमा राखे । आफू गलैंचा बेच्न हिडे । उनी घर घर जान्थे । गलैंचा बेचेर मात्र फर्किन्थे । र, बाँकी समय पसलमा बस्थे ।

पसल राम्रो चल्यो । पुरानो साहुले पाँच महिनामा जति व्यापार गर्थे । उनले तीन हप्तामै गरे । उनी हरेक सामानको एउटा कथा बनाउथे । त्यो सुनेर ग्राहक लोभिन्थे । र, सामान किनेर मात्र फर्किन्थे । उनमा सामान बेच्ने कला अद्भूत थियो ।

सामानको माग बढ्यो । उनले सामान ल्याउन नेपाल जाने सोच बनाए । त्यहीबेला एउटा जुक्ति फु¥यो, उनले नेपालको हिमालय क्षेत्रको टे«किङका लागि पसलमा सूचना टाँस गरे । १७ दिनको प्याकेज बनाए । शुल्क तोके, २८०० डलर । र, जान ईच्छुक व्यक्तिलाई अग्रिम ५० प्रतिशत रकम बुझाउन आग्रह गरे । त्यो सूचना प्रभावकारी भयो । सात दिनमा १४ जना आए । र, सबैले ५० प्रतिशत रकम बुझाए । यसरी एकै पटक २० हजार डलर संकलन भयो ।

२४ सेप्टेम्बर १९८६ मा उनी पहिलो विदेशी टीम लिएर काठमाण्डौंका लागि उडे । काठमाण्डौंबाट खाँदवारी पुगे । उनलाई हेर्न खाँदवारी उर्लियो । १६ जना विदेशी । ४५ जना भरिया । न टे«किङको अनुभव । न भूगोलको जानकारी । भोलिपल्ट टीमको नेतृत्व गर्दै उनी लोमेनिक पिकतर्फ अघि बढे ।

उनको टोली चन्दनपुर पुग्यो । एक महिला उनलाई भेट्न आईन् । साथमा छोरा थियो । जो एक हप्ताअघि रोटेपिङबाट खसेर घाईते भएका थिए । उनीसंग डाक्टरको टीम रहेको महिलाले सुनेकी रहिछन् । उनले छोरालाई बचाई दिन आग्रह गरिन् । बालकको चिउडो छेडेर काठ मुखभित्र पसेको थियो । मुख खुला थियो । दुःखाईले रोईरहन्थे । हप्ता दिन पुरानो घाउ । गन्हाईरहेको थियो ।

उनी छोराको मृत्यु कुरिरहेकी थिईन । बालक एक हप्तादेखि भोकै थिए ।

डाक्टरहरुले सोचे । बालक यसै मर्ने । त्यसै मर्ने । बचाउने कोसिस किन नगर्ने ? उनीहरुले बालकको मुखभित्र फसेको काठ निकाल्ने निर्णय लिए । न बेहोस गर्ने औषधी थियो । न अप्रेशन गर्ने औजार । साथमा भएका औषधी र औजारले उनीहरु अप्रेशनमा जुटे । दुखाईले बालक चिच्याउथ्यो । कराउथ्यो । तर उनीहरु रोकिएनन् । चार घण्टा लामो प्रयासपछि उनीहरु सफल भए । बच्चाको मुखमा फसेको काठ निकाले । घाउलाई सिलाए । र, अघि बढे ।

आमाले नै बाँच्ने आस मारिसकेकी थिईन् । फर्किने बेला बालक खेलीरहेको थियो । नारायण अत्यन्त भावुक भए । र, खुशी पनि ।
उनको टोली खेम्पालुङ गुफातर्फ अघि बढिरहेको थियो । एक जना महिला पाँच वर्षकी घाईते छोरी काखमा बोकेर खाँदवारी जादै थिईन् । खुकुरीले घास काट्न रुखमा चढेकी ती बालिका खसेर घाईते भईन । उनको टाउकोमा गम्भीर चोट थियो । एक महिनाअघिको घाउ उपचार नहुदा गन्हाईरहेको थियो । त्यसमाथि घाउमा किराहरु थिए ।

ती महिलाले आफ्नो छोरीको उपचार गरिदिन आग्रह गरिन् । डाक्टरहरुले जाँच गर्दा बालिकाको तीन घण्टाअघि नै मृत्यु भईसकेको थियो ।

तर आमालाई भने त्यो कुरा थाह थिएन् । जव डाक्टरले उनकी छोरी जीवित नरहेको सुनाए । उनी बिलौना गर्दै जोरले चिच्याउन थालिन् । अरुण खोलाले सुसेली हालेको सुनिन छोड्यो ।

त्यहाँबाट अघि बढे । पुगे, ताम्कु । जहाँ प्राथमिक विद्यालय थियो । तीन कक्षा । २५ विद्यार्थी । न त कापीकलम । न फर्निचर । एक शिक्षक । शिक्षकको तलव पाँच सय रुपैया । त्यसबाट पनि पाँच महिनादेखि बञ्चित ।

यी तीन घट्नाले उनको मन कुँडियो । उनी विद्यालयको प्रांगणमा थिए । ‘औषधी नपाएर कसैको मृत्यु नहोस । कापीकलम नभएर कोही पढ्न बञ्चित नहोस ।’ त्यसका लागि पुरै जीवन समर्पित गर्ने निर्णय गरे । त्यसैदिनदेखि उनी संखुवासभाको शिक्षा र स्वास्थ्यको अवस्था बदल्न जुटे ।

(आजको अंकमा अमेरिकाको कोलोराडोमा बस्दै आएका समाजसेवी नारायण श्रेष्ठको प्रेरणादायी संघर्ष, सफलता र समाजसेवाको कथाको तेस्रो भाग प्रकाशित गरेका छौ । बाँकी क्रमशः प्रकाशित गर्नेछौ । हाम्रो अनुमती बिना द एभरेष्टमा प्रकाशित कुनै पनि सामग्री साभार गर्न मनाही छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

दीनदुःखीका नारायण (भाग-२)

२० मंसिर २०८२ २१:०९

दीनदुःखीका नारायण

२० मंसिर २०८२ ८:५०

खोज्नुहोस