दीनदुःखीका नारायण (भाग-२)
उनी २३ वर्षका थिए । आरएनएसीको जागीर । मनग्गे कमाई । तर घरको बिग्रिदो आर्थिक अवस्थाका कारण उनको मन बेचैन थियो । त्यही बेचैनीले डिप्रेशनमा गए । निर्णय लिए, जागीर छोड्ने । र, कालापानी जाने । हो, उनी गुमनाम हुन चाहन्थे ।
त्यहीबीच उनको पीसकोर डग्लशसंग उठबस भयो । केही समयमै उनीहरु घनिष्ठ साथी भए । डग्लस उनलाई अंग्रेजी सिकाउथे । डग्लसले नजानेको नेपाली उनले बताउथे । डग्लस अमेरिका फर्किने बेला भयो । डग्लशले उनलाई सोधे, नारायण तिम्रो लागि मैले के गर्नुपर्छ ?
उनले रुखो स्वरमा भने, अमेरिका गएपछि तिमी बिर्सिनेछौ । मेरो लागि केही गर्ने छैनौ । अन्तिममा उनले भन्न छुटाएनन्, सक्छौ भने मलाई पत्र पठाउनु ।
छ महिनामा डग्लशको पत्र आईपुग्यो । ओहो ! बिर्सिएनछ, उनले मनमनै डग्लशलाई धन्यवाद दिए ।
उनी पत्र लिएर काठमाण्डौं पुगे । अमेरिकी दूतावासमा पुगेर भीसा अप्लाई गरे । भोलिपल्ट अन्तर्वार्ता दिन गए । कन्सुलरले सोधेका प्रश्नहरुको झ्याल बाहिरबाट जवाफ दिए । अन्तिममा कन्सुलरले भने, सरी ।
भीसा मिलेन । उनका लागि यो अनेपक्षित थियो । उनले ठाने, भविश्य अन्धकार भयो । पानीपोखरीबाट पैदल दरवार मार्ग लागे । उनी कहाँ जाने ? के गर्ने ? अन्यौलमा थिए । दरवारमार्गबाट अचानक हात्तिसार तर्फ हानिए । पीसकोर भोलेन्टेरको अफिसभित्र पसे । त्यहाँ पीसकोर डाईरेक्टर भर्जिल मिडिमा थिए । मिडिमा उनलाई चिन्थे । तिमी यहाँ किन आएको ? मिडिमाले प्रश्न गरे । उनले भने, तिमीलाई भेट्न ।
उनले आफ्नो पासपोर्ट देखाए । र, अमेरिकी दूतावासले भीसा नदिएको सुनाए । मिडिमा कराए, ह्वाट द हेल । तिमीलाई भीसा दिएन ? उल्टै प्रश्न गरे ।
मिडिमाले एम्बेसीमा फोन घुमाए । के कुरा भयो ? उनले थाह पाएन । उनी त्यहाँ उभिरहे । मिडिमाले सोधे, तिमी के मा आएको ? पैदल, उनले सटिक जवाफ दिए ।
मिडिमाले भने, मेरो गाडीमा बस् । उनी मिडिमासंग गाडीमा बसे । गाडी दूतावास भित्र पुगेर रोकियो । उनी मिडिमाको पछि लागे । मिडिमाले भित्र कुरा गरिसकेपछि पासपोर्ट मागे । फर्काएर उनका हातमा पासपोर्ट दिदा भीसा लागेको थियो ।
खुशीले उनका खुट्टा भूईमा थिएनन् । मिडिमालाई धन्यवाद दिए । र, भोलिपल्ट खाँदवारी पुगे । बुवालाई अमेरिकाको भीसा लागेको कुरा सुनाए । बुवा निराश । आमालाई सुनाए । आमा रुन थालिन् । बुवालाई विश्वास लागेन, भाई धर्मलाई उनको पासपोर्ट हेर्न लगाए । धर्मले भने, बुवा भीसा लागेको छ ।
नारायण अमेरिका जादै छ भन्ने हल्ला डढेलो झै खाँदवारी हुदै जिल्लाभरी फैलियो । उनी खाँदवारी छोड्ने दिन डेढसय बढि मान्छे तुम्लिङटार पुगे । उनी अमेरिका जाने जिल्लाकै पहिलो व्यक्ति थिए । उनलाई बिमानस्थलसम्म पु¥याउन जाने भीडमा छिमेकी खत्रीनी बज्यै पनि थिईन् । जहाजमा चढ्नुअघि उनलाई नजिक बोलाएर खत्रीनी बज्यैले भनिन्, ए साँहिला अम्रिका जादैछस् । त्यहाँबाट चन्द्रमा नजिक छ । त्यहाँ नजानु, पाप लाग्छ नि ।
उनले खत्रीनी बज्यैलाई बचन दिए, जान्न बज्यै ।
१९६९ मा निल आर्मस्ट्रङ चन्द्रमामा पुगेका थिए । यो कुरा बज्यैको कानमा परेको रहेछ ।
बुवा रुन थाले । उनले भने, नरुनुस । मलाई आशिर्वाद दिनुस ।
‘यी आँशु होईनन्, मुटुका पसिना हुन् ।’ बुवाले आँशु लुकाउदै भने ।
उनी तुम्लिङटारबाट भारी मन लिएर काठमाण्डौं उडे ।
उनले दुई भाई र बहिनी काठमाण्डौंमा डेरामा राखेर पढाईरहेका थिए । त्यहाँ चार जना बाहुन साथीहरु पनि बस्थे । भाईबहिनीहरु विदाईमा जान सकेनन् । साथीहरु भने बिमानस्थलसम्मै पुगे ।
सन्, १९७७ मा उनी अमेरिका उडे । साथमा थियो, पाँच सय डलर । र, सात वटा लगेज । अमेरिका जाने भनेपछि थुप्रैले आफन्तहरुलाई सामान पठाएका थिए । उनका आफ्नो सामान कम । अरुको नासो बढि थियो । साथी कुशले भिनाजुका लागि गलैचा पठाएका थिए ।
उनलाई न भूगोलको ज्ञान थियो । न भाषाको । अमेरिका उड्न पाए । दंग थिए । यद्यपि दिमाग शुन्य थियो । उनी चढेको जहाज न्यूयोर्क पुग्यो । जहाजबाट ओर्लिए । धेरैबेर डग्लशलाई पर्खे । आएन । उनले त्यहाँबाट डग्लशलाई कल गरे । डग्लश शिकागो थिए । उनी जानु पर्ने शिकागो । टिकट काटेका थिए, न्यूयोर्कको । उनलाई अमेरिका भनेकै न्यूयोर्क लाग्थ्यो ।
उनले सय डलरमा शिकागोको टिकट काटे । र, त्यहाँबाट उडे । डग्लश उनलाई पर्खिरहेका थिए ।
डग्लश भेटिएपछि उनी ढुक्क भए । डग्लशले उनलाई आफू बस्ने अपार्टमेण्टमा लगे । केहीदिन डग्लशले शिकागो आसपास घुमाए । डग्लश मास्टर्स गर्दै थिए । उनी आएपछि डग्लशको पढाई डिष्टर्ब भयो ।
उनी सेप्टेम्बर २७ मा शिकागो पुगेका थिए । १९ अक्टोबरमा डग्लशले उनलाई बोल्डर जाने बसमा चढाए । पीटर स्क्याफ्टिी, ड्यालसमा प्रोफेसर थिए । पीटरसंग कुरा भएपछि उनी बोल्डर आएका थिए ।
पीटरसंग उनको भेट तुम्लिङटारमा भएको थियो ।
टेक्सस विश्व विद्यालयका प्रोफेसर पीटर विद्यार्थी लगेर मकालु बेसक्याम्प गएका थिए । उनी त्यहाँबाट फर्किएर तुम्लिङटार पुगे । ३५ दिनको यात्रामा उनीसंग भएको पैसा सकियो । साथमा थिए, ४५ जना विद्यार्थी । त्यहाँ पीटरले नारायणलाई भेटे । नारायणले उनको टीमलाई एक हप्ता खाँदवारीमा राखे । उनीहरुको सबै खर्च बेहोरे । अन्तितमा, टिकट काटेर पुरै टिमलाई जहाजमा काठमाण्डौं पठाए ।
त्यो समय, नारायणले पीटरको टीमका लागि ३ हजार डलर खर्च गरेका थिए । काठमाण्डौंबाट उड्नु अघि पीटरले उनलाई त्यो रकम फिर्ता गरेका थिए । पीटर उनी प्रति कृतज्ञ थिए । त्यही गुनले पीटर उनलाई भेट्न बोल्डर आए ।
उनलाई चार दिन घुमाएर पिटर टेक्सस फर्किए । उनी तीन हप्ता बोल्डरमै बसे । पिटरले बोलाएपछि उनी नोभेम्बरमा बस चढेर टेक्सस गए । भाडा थियो, ३५ डलर । उनीसंग अव बाँकी थियो, १९० डलर ।
बसबाट झरेपछि उनलाई पिटरले घर लगे । पिटरकी श्रीमती र पाँच वर्षको छोरा थिए । उसले महिना दिन राख्यो । त्यसपछि उनलाई कलेज भर्ना गरिदियो । डेरा खोजी दियो । भाडा थियो, सय डलर । डेराबाट विश्वविद्यालय नजिकै थियो । पैदल जान मिल्थ्यो ।
उनको खल्ती रित्तिदै थियो । बाँकी थियो, ९० डलर । कलेजमा एक सेमेष्टरको ६५० डलर तिर्नु कसरी ? उनी चिन्तामा परे ।
उनी कामको खोजीमा जुटे । कलेज भित्रै क्याप्टेरियामा भाडा माझने काम पाए । घण्टाको २ डलर ६५ सेण्ट पाउथे । हप्तामा २० घण्टामात्र काम गर्न मिल्थ्यो । त्यो आम्दानीले त न कोठा भाडा पुग्थ्यो । न त व्यक्तिगत खर्च । सेमेष्टरका शुल्क त बुझाउनु कसरी ? उनी चिन्तित थिए । पिटरले उनलाई रजिष्ट्रार कहाँ लगेर गए ।
रजिष्ट्रारले उनलाई सोधे,कहाँबाट आएको ? उनले भने, नेपालबाट । उनको जवाफ सुन्नेबित्तिकै रजिष्ट्रारको मुखबाट निस्कियो, नेपाल ! निकै सुन्दर देश ।
तिमी गएको छौ ? त्यसपछि प्रश्न गर्ने पालो उनको थियो । रजिष्ट्रारले भने, हो, गएको छु । फेरि जाने मन छ ।
नेपाली भन्ने थाह पाएपछि रजिष्ट्रारले उनलाई निकै राम्रो रेस्पोन्स गरे । रजिष्ट्रारले सेमेष्टरको ६५० शुल्कमा ६०० मिनाहा गरिदिए । उनको भीसाको म्याद सकिसकेको थियो । रजिष्ट्रारले उनलाई भीसा अप्लाई गर्न मेक्सिको जान सुझाव दिए ।
उनी उडेर मेक्सिको गए । उनी भीसाका लागि अमेरिकी दूतावासको लाईनमा थिए, त्यहाँ उनलाई आर यु श्रेष्ठ भन्दै कोही लिन आयो ।
त्यहाँको कन्सुलर रजिष्ट्रारको साथी थियो । रजिष्ट्रारले समय मिलाईदिएका थिए । उनले कन्सुलरलाई भेटे । संयोग कस्तो, ती कन्सुलर पीसकोर भएर बिरगञ्ज बसेका रहेछन् । उनले एफ वान भीसा लगाई दिए । उनको भिजिट भिसा सकिएपछि उनले विद्यार्थी भीसा पाए ।
कन्सुलरले नै उनलाई बिमानस्थल पु¥याई दिए । त्यतिबेला ब्रानिफ एयरलाईन्स थियो, जसले उधारोमा टिकट दिन्थ्यो । पछि त्यो टिकटको पैसा घरबेटीले तिरिदिए ।
अमेरिकामा त्यतिबेला जिम्मी कार्टर राष्ट्रपति थिए । पहिले विद्यार्थीको भीसा एक वा दुई वर्षमा नविकरण गर्नुपथ्र्यो । कार्टरले विद्यार्थीको भीसा नविकरण गर्नु नपर्ने सुविधा दिए । त्यसपछि भीसा नविकरण गर्नु पर्ने झञ्झटबाट उनले मुक्ति पाए ।
(आजको अंकमा अमेरिकाको कोलोराडोमा बस्दै आएका समाजसेवी नारायण श्रेष्ठको प्रेरणादायी संघर्ष, सफलता र समाजसेवाको कथाको दोस्रो भाग प्रकाशित गरेका छौ । बाँकी क्रमशः प्रकाशित गर्नेछौ । हाम्रो अनुमती बिना द एभरेष्टमा प्रकाशित कुनै पनि सामग्री साभार गर्न मनाही छ ।)
