दीनदुःखीका नारायण
मार्टिन लुथर किङको चर्चित भनाई छ, ‘जीवनको सबैभन्दा महत्वपूर्ण प्रश्न हो–तिमीले अरुका लागि के ग¥यौ ?’ उनले सधैका लागि यो प्रश्न छोडेर गए ।
नारायण श्रेष्ठ अपवाद हुन् । उनले बाँचेको जीवन । हिडेको बाटो । र, उनले गरेको समाजसेवा । साच्चिकै प्रेरणादायी छ । जहाँ कुनै प्रश्नहरुलाई स्थान छैन् ।
समाजसेवा उनको ‘जीन’मा थियो । जो, हजुरबाबाट बुवामा । र, बुवाबाट उनमा स्वतः ‘ट्रान्सफर’ भयो ।
उनको कथा शुरु हुन्छ, संखुवासभाको खाँदवारीबाट ।
संखुवासभामा डिलासिंह श्रेष्ठ कहलिएका साँहु थिए । खाँदवारीमा प्रशस्त खेतवारी । ईनरुवामा जमिन्दारी । उनका छोरा सूर्य बहादुरका नौ सन्तान थिए । आठ छोरा । एक छोरी । साहिला थिए, नारायण । जसको जन्म २००७ सालमा भएको थियो ।
सूर्य बहादुर ईनरुवा आउजाउ गरिरहन्थे । त्यहाँ, उनको सय बिगाहा जमिन थियो । उनले त्यो जमीन बुवाको जमिन्दारीबाट पाएका थिए । उनी खेती भित्र्याउने समयमा त्यहाँ जान्थे । अन्नबाली बेच्थे । र, संखुवासभा उक्लिन्थे । त्यही क्रममा उनी धरान हुदै बिराटनगसम्म पुग्थे । संखुवासभाबाट पाँच दिन झर्न लाग्थ्यो । त्यति नै दिन फर्किन ।
जतिपटक तराई झर्थे । स्कुल देख्थे । र देख्थे, पढिरहेका बालबालिका । उनी पहाड उक्लिदा, उनीसंगै उक्लिन्थ्यो खाँदवारीमा स्कुल खोल्ने सपना ।
साहुको छोरा । नपुग्ने केही थिएन । तर पढ्न पाएनन् । केही नपुगे जस्तो । केही नभए जस्तो । उनलाई यसको कमि महशुस हुन्थ्यो । न दाईका सन्तान पढेका । न आफ्ना ।
डिलासिंहले गाउँमा पाटी बनाएका थिए । त्यहाँ खाँदवारी ओहोरदोहोर गर्नेहरु बास बस्थे ।
त्यही पाटीलाई सूर्य बहादुरले स्कुल बनाए । परिवार र गाउँका २० जना विद्यार्थी जम्मा गरे । र शुरु गरे, पढाई । तिनैमध्ये एक थिए, नारायण ।
स्कुलको नाम थिएन । किताव थिएन । कापी थिएन । न स्कुल सञ्चालनको अनुमती । सूर्य बहादुर सिन्काले पाटीमा लेखेर कखरा सिकाउन थाले । केही हप्तापछि उनी धरान झरे । फर्किदा एसएलसी गरेका एक जना शिक्षक ल्याए । उसलाई नेपाली नआउने । विद्यार्थीले हिन्दी नबुझ्ने । उनी दोभाषे भए ।
शिक्षकको बेहोरा मन परेन । विदा गरे । खोजेर ल्याए अर्को शिक्षक ।
पाटीमा सिकाउन झञ्झटिलो लाग्यो । सूर्य बहादुरले त्यो हटाए । बासको कलम बनाए । पहाडी कागज संकलन गरे । झरो र टुकीले घरभित्र बनाएको कालो ध्वाँसो जम्मा गरे । त्यसमा तेल मिसाए । र बनाए, मसी । त्यसैमा चोप्न लगाए बासको नीव । अनि लेख्न लगाए, पहाडी कागजमा ।
सूर्य बहादुरले सोचे, यसरी त कति दिन चल्छ ? न शिक्षक छन् । न विद्यालय दर्ता छ । न सरकारी सुविधा । उनी विद्यालयको स्वीकृति लिन काठमाण्डौं गए । सञ्चालनको अनुमती ल्याए । नाम दिए, हिमालय मिडिल स्कुल ।
२०१७ भदौ १० गते औपचारिक रुपमा विद्यालय स्थापना भयो । त्यो दिन खाँदवारीले उत्सवको गीत गायो । उनी त्यही गीत गाएर हुर्किए । र त्यहीबाट दिए, २०२२ सालमा एसएलसी ।
उनका बुवा दुई पटक मधेश झर्थे । खेती लगाउदा । र, भित्र्याउदा । अन्नबाली बेचेर फर्किदा बुवासंग पैसा हुन्थ्यो । र, सबै सन्तानका लागि केही न केही सामान । सबैले बुवालाई घेर्थे । मधेशबाट आएका बुवालाई सबैले घेरे । उनी पनि त्यही थिए । सबैको ध्यान बुवामा थियो । बुवाको नजर उनमा । भर्खरै एसएलसीको नतिजा आएको थियो ।
बुवाले सोधे, पास भयौ ? उनले जवाफ दिन नपाउदै आमाले बीचमै भनिन्, पास मात्र होर साहिलो थर्ड भयो ।
बुवाको प्रश्न सकिएन, अर्को प्रश्न थपे- विद्यार्थी कति थिए ? उनले झटपट जवाफ दिए, तीन जना । त्यसपछि भने उनी त्यहाँबाट कुलेलम ठोके ।
उनी डरले भागेका थिए । बुवाले नजिक बोलाए । र भने, स्यावास ।
उनी थप पढाईका लागि काठमाण्डौं गए । त्रिचन्द्रमा आईएस्सी पढ्न थाले । सहपाठी थिए, झलनाथ खनाल । कमल थापा । श्री सम्शेर जबरा । दीपक बोहरा ।
आईएस्सीमा फेल भएपछि फर्किए, संखुवासभा ।
त्यसको केही समयपछि थलनाथ अधिकारीसंग उनको भेट भयो । अधिकारी बिराटनगरको शाही नेपाल वायु सेवा निगम (आरएनएसी) का हाकिम थिए । अधिकारी उनका साथी कुशकुमार भट्टराईका मामा थिए । त्यही साईनोले अधिकारीले सोधे, भाञ्जा के काम गर्छौ ?
केही गर्दैन मामा, उनले छोटो जवाफ दिए ।
अधिकारीले आदेश दिदै भने, त्यसो भए एउटा निवेदन लेख । के, किन उनले सोध्नै पाएन् । अधिकारीले नै थपे, ‘तुम्लिङटारमा आरएनएसीको हाकिम हुने ।’
तुम्लिङटार उनकै मातहतमा थियो ।
जिन्दगीमा कहिल्यै निवेदन नलेखेका । उनी अलमलमा परे । भोलि निवेदन ल्याएर आउछु भन्दै उम्किए । फर्केर बीएस्सी पढ्ने साथीलाई निवेदन लेख्न लगाए । भोलि पल्ट त्यही निवेदन लिएर अधिकारीलाई दिए । यो निवेदन तिमीले लेखेको त होईन, कसले लेखिदियो ? अधिकारीले प्रश्न गरे । ‘साथीले’–उनले नढाटी भने ।
उनले निवेदनमा तोक लगाए । र, काठमाण्डौं जान भने । दाजुसंग १००० रुपैया मागे । उडे, तुम्लिङटारबाट काठमाण्डौं उडे ।
उनी सरासर आरएनएसीको मुख्य कार्यालय गए । उनले निवेदन बुझाए । शुरु भयो, अन्तर्वार्ता । उनलाई पहिलो प्रश्न सोधियो ‘ह्वाट ईज योर नेम’ । अन्तर्वार्ता लिने अफिसरले अर्को प्रश्न थपे, ‘हाउ ओल्ड आर यु ।’
कनीकुथी अंग्रेजीमै जवाफ फर्काए । पास भए । त्यसैदिन नियुक्ति पत्र पाए । पद थियो, स्टेशन ईञ्चार्ज । जहाजमा तुम्लिङटार फर्के । जहाजको भाडा थियो, ७५ रुपैया । उनको मासिक तलव १३०० रुपैया । लोडरको तलव ४५ रुपैया थियो । प्रमुख जिल्ला अधिकारीको तलव २२०० रुपैया थियो ।
२०२८ साल, जतिबेला उनले नियुक्ति पाए, उनी २१ वर्षका थिए । उनका मातहमा पाँच जना कर्मचारी थिए । कही जानु परे, घोडामा जान्थे । आरएनएसीको हाकिम रवाफ बेग्लै थियो । जो सुकैले जहाज चढ्न उनीसंग आग्रह गर्नुपथ्र्यो ।
यता उनी जागीरे भए । उता समाजसेवामा सक्रिय उनका बुवा राजनीतिमा होमिए । जिल्ला पञ्चायतको उपसभापति भए । त्यसपछि सभापति । उनी त्यतिमै रोकिएनन् । राष्ट्रिय पञ्चायत सदस्यको दौडधुपमा लागे । राजनीतिमा लागेर नाम त कमाए । सम्पती भने सके । ईनरुवाको ४० बिगाहा जमीन बेचिसकेका थिए । खाँदवारीको पाखोबारी बन्धकीमा राखे ।
१९७३ मा चार जना अमेरिकी पीसकोर भोलेन्टर संखुवासभा पुगे । खाँदवारीमा जान पल मी खटिएका थिए । चैनपुरमा डग्लेश ब्राउन ।
चिया पसल । र, पँधेरा । बस्, कुरा काट्यो । गफ चुट्यो । पुरुष जति तास र चियागफमा । महिलाको भागमा सबै काम । घरधन्दा । चुलोचौको । सबैलाई खाना बनायो । खुवायो । अन्तिममा पाहुना लागे । आफैलाई खाना छैन् । न त पेटभरी खाना । सबैका भाडा माझ्दा मध्यरात हुन्थ्यो । सन्तानको बोझ छदै थियो । मानौ, महिला बच्चा जन्माउने कारखाना हुन् । हुर्काउने जिम्मा पनि महिलाकै । उनी भाउजुका दुःख देख्थे । किन सघाउनु हुन्न ? दाईसंग कराउथे ।
उनका जेठा दाईको १५ वर्षको उमेरमा बिहा भयो । माहिलाको १४ मा । अव पालो उनको थियो । बुवाले विवाहका लागि तयार हुन भने । विहा गर्दैन्, उनले ठाडो जवाफ दिए ।
उनी २३ वर्षका थिए । आरएनएसीको जागीर । मनग्गे कमाई । तर घरको बिग्रिदो आर्थिक अवस्थाका कारण उनको मन बेचैन थियो । त्यही बेचैनीले डिप्रेशनमा गए । निर्णय लिए, जागीर छोड्ने । र, कालापानी जाने । हो, उनी गुमनाम हुन चाहन्थे । …….क्रमशः
(आजको अंकमा अमेरिकाको कोलोराडोमा बस्दै आएका समाजसेवी नारायण श्रेष्ठको प्रेरणादायी संघर्ष, सफलता र समाजसेवाको कथाको पहिलो भाग प्रकाशित गरेका छौ । बाँकी क्रमशः प्रकाशित गर्नेछौ ।)
