नियमित महाधिवेशनको कार्यतालिका ल्याउने संस्थापनको तयारी

द एभरेष्ट पोष्ट
१६ मंसिर २०८२ ७:३८
नियमित महाधिवेशनको कार्यतालिका ल्याउने संस्थापनको तयारी

काठमाडौं १५ मंसिर ।  चुनावअघि वा पछि र विशेष वा नियमित महाधिवेशन भनेर दुई महिनादेखि विवादको भुमरीमा फसेका कांग्रेस नेताहरूबिच पुस अन्तिम साता १५औँ महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको छ । शीर्ष सहमतिसँगै २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति खड्काले कार्यतालिका प्रस्तुत गर्नेछन् ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतबिचको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो । यद्यपि, डेढ महिनाको अवधिमा महाधिवेशन प्रक्रिया पूरा गर्न भने त्यति सहज हुनेछैन ।

महाधिवेशनको कार्यतालिकाबारे खड्काले सोमबार बिहान थप छलफल गर्नेछन् । बैठक सुरु हुने वेलासम्म कार्यतालिकाले अन्तिम रूप पाउने बताइएको छ । बैठक सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाएको छ । सो बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव खड्काले निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । यसअघि महामन्त्री थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन कार्यतालिकाबारे अलग–अलग प्रस्ताव राखेका थिए । सोही कारण सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले पेस गर्न लागेको एक नेताले बताए । बैठकअघि खड्काले नेताहरूसँग थप छलफल गरेर निर्णयार्थ प्रस्ताव गर्नेछन् ।

प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्कालगायतले गृहकार्य गरिरहेको बताए । ‘पुसभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन कार्यवाहक सभापतिलगायतले गृहकार्य गर्नुभएको छ,’ देउवानिकट मानिने नेता डा. महतले भने, ‘सोमबारको बैठकमा महाधिवेशन कार्यतालिका प्रस्तुत गर्ने तयारी छ ।’

तर, इतरपक्षले भने कार्यतालिका मात्रै नभई महाधिवेशन हुने सुनिश्चितता खोजेको छ । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने इतरपक्षको चेतावनी छ । महामन्त्रीद्वय थापा र शर्माले त्यसको अगुवाइ गरेका छन् ।सहमहामन्त्री जीवन परियार तालिका मात्रै भन्दा पनि महाधिवेशनको ग्यारेन्टी हुनुपर्ने बताउँछन् । ‘कार्यतालिका मात्रै ल्याएर हुँदैन । महाधिवेशनको ग्यारेन्टी हुनुपर्छ । बैठकमा कसरी प्रस्ताव आउँछ, त्यसको आधारमा थप कुरा हुन्छ,’ इतरपक्षका नेता परियारले भने ।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत २९ असोजमा हस्ताक्षर बुझाएका थिए । विधानअनुसार त्यसरी हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । तीन महिना २८ पुसमा पुग्ने भएकाले सो अवधिभित्रै नियमित महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका ल्याउने तयारी संस्थापन पक्षले गरेको हो ।

२८ असोजमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिमा सहमति नभएपछि अनिर्णीत हुँदै आएको छ । बैठक रोकेर पटक–पटक छलफल हुँदासमेत सहमति जुट्न सकेको छैन । कार्यवाहक सभापति खड्का सहमति नभएसम्म बैठक सारिरहने अडानमा छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पछिल्लो समय नियमित बैठक स्थगित भएको सूचना प्रकाशित गर्दै आएका थिए ।

संस्थापन पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा रहेपछि सभापति देउवा, कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले समन्वयकारी भूमिका खेलेका थिए । तर, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने निर्वाचनअघि महाधिवेशन हुन नसक्ने बताउँदै आएका छन् । निर्वाचनअघि महाधिवेशनको मिति तोकिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी उनीहरूको छ । उनीहरूसँग खड्काले बैठकअघि छलफल गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस