जेन–जी आन्दोलनपछि मात्रै दल दर्ताका लागि १८ निवेदन
काठमाडाैं २३ कार्तिक । जेन–जी आन्दोलनपछि संसद् विघटन भई मुलुक प्रतिनिधिसभा निर्वाचनतर्फ उन्मुख भएपछि अहिलेसम्म १८ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । आन्दोलनअगाडिका १० सहित प्रमाणपत्र पाउन बाँकी २५ दलमाथि आयोगले अध्ययन गरिरहेको छ । आयोगको निर्वाचन कार्यतालिकाअनुसार नयाँ दल दर्ताको समय ३० कात्तिकसम्म छ ।
बुधबार निवर्तमान सांसद योगेन्द्र मण्डलले चापाकल चुनाव चिह्न राखेर राष्ट्रिय ऊर्जाशील पार्टी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । बिहीबार र शुक्रबार कार्यालय समयमा थप पाँच निवेदन परेका छन् । १० दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि आयोगमा निवेदन दिइसकेको छ । यससँगै शनिबारसम्म आयोगमा निवेदनको संख्या २५ पुगेको हो ।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आवश्यक कागजात र प्रक्रिया पुर्याएका तीन दल दर्ता भइसकेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले माटो चिह्नसहित गठन गरेको श्रम संस्कृति पार्टी दर्ता भएको छ । साम्पाङले दल दर्ताको प्रमाणपत्र पनि लिइसकेका छन् । यसैगरी नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सिके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी पनि दर्ता भइसकेका छन् । चुनाव घोषणापछि तीनवटा दल थपिएर दलको संख्या १२५ पुगेको छ ।
प्रतिनिधिसभाको २१ फागुनमा तोकिएको निर्वाचन नजिकिँदै गर्दा दल खोल्ने समूह बढ्दै गएका छन् । दल दर्ताका लागि पेस भएका २५ निवेदनमाथि आयोगले अध्ययन गरिरहेको छ । अझै विभिन्न समूह दल खोल्ने गृहकार्यमा छन् ।
भट्टराईका अनुसार आयोगमा परेका निवेदनमाथि अध्ययन भइरहेको छ । ‘नयाँ दलका लागि निश्चित सर्तहरू पूरा गरेर आउनेलाई आयोगले निर्णय गरेर दर्ता गर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार निवेदनहरू आएका छन् । साथै, कतिपय समूहले सोधखोज गरिरहेका छन् । उनीहरूले विधान कस्तो बनाउने, के–के ल्याउने भनेर आयोगमा जिज्ञासा राखिरहेका छन्,’ सहसचिव भट्टराईले भने, ‘प्रक्रिया पूरा गरेका दललाई आयोगले निर्णय गरेर दर्ता गर्छ ।’
