सोनल नेतृत्वको सरकार २५ दिनमै ढल्यो

द एभरेष्ट पोष्ट
२४ कार्तिक २०८२ ७:०१
सोनल नेतृत्वको सरकार २५ दिनमै ढल्यो

काठमाडौं २३ कार्तिक । मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।

शनिबार उनले विश्वासको मत लिने दिन थियो । तर उनले विश्वासको मत नपाएर सरकार ढल्नुमा प्रमुख कारण हो, नेकपा माओवादी केन्द्रको अन्तरद्वन्द्व । यसैको कारण विश्वासको मत नपाउँदै मधेश प्रदेश सरकार ढल्न पुगेको छ ।

गत आसोज २९ गते पाँच दलको ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । शनिबार विश्वासको मतको लागि बोलाएको प्रदेशसभामा सरकारको मतको लागि चाहिने सत्ता पक्ष र अन्य एक सिटे नागरिक उन्मुक्ति पार्टीले समर्थन दिने निर्णय गरेको थियो । त्यसअनुसार सरकोको विश्वासको लागि ठ्याक्कै ५४ पुगेको थियो ।

तर, नेकपा माओवादी केन्द्रका युवा सांसद रहबर अंसारीले समय माग्दै विद्रोह गरे । सबै दलका नेताका प्रतिनिधिले आफ्नो धारणा राखे । त्यसपछि अंसारीले सभामुख रामचन्द्र मण्डलसँग समय मागे । सभामुखले ३ मिनेटको समय दिए । अंसारी पोडिएममा पुगेर सबै दल र सांसदको परीक्षण भइसकेपछि अब नैतिक धरातल सकिएको उद्घोष गरे । सरकार यहाँको सांसदले नभएर केन्द्रले बनाएको भन्दै उनले विश्वासको मत नदिने पनि घोषणा गरे । सभामुखले माइक काटेपछि उनले आफैसँग लगेको मोसो आफ्नै अनुहारमा दले । र माइक काटेपनि सदन, सरकार भ्रष्टाचारको विषय उठाएर बोलिरहे ।

यसपछि माओवादी केन्द्रकै सांसद माला कर्णले सदनमै उठेर आफू मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस