दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको दुई मिनेटमै टुटेपछि…
काठमाडौँ दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको एक जोडीको सम्बन्ध वैवाहिक समारोह सुरु भएको दुई मिनेटमै टुटेको छ ।
भारतको मध्य प्रदेश राज्यको इन्दौरस्थित नंदलालपुरास्थित कोष्टी समाज धर्मशालामा बुधबार राति वैवाहिक समारोह आयोजना गरिएको थियो । स्वयंवरकै क्रममा बेहुलाले फोटोग्राफरलाई थप्पड हानेपछि बेहुलीले विवाहका लागि अस्वीकार गरेकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बाबु घनश्यामनगर क्षेत्र निवासी युवतीको विवाह गौरव माठे नाम गरेका युवकसँग तय भएको थियो । यी दुईबिच दुई वर्ष लामो प्रेम सम्बन्ध थियो ।बुधबार बेलुका गौरव विवाहका लागि जन्तीसहित धर्मशाला पुगेका थिए । स्वयंवर गर्ने मञ्च नजिकै फोटोग्राफी गरिरहेका युवक बेहुली नजिकै उभिएर पानी पिउँदै थिए यत्तिकैमा बेहुलाले ती फोटोग्राफरलाई थप्पड हाने ।
अचानक भएको यो घटनापछि बेहुली स्तब्ध भइन् । उनले बेहुलाको व्यवहारको विरोध गरिन् । त्यसपछि गौरवले बेहुलीमाथि पनि अभद्र व्यवहार गरे। प्रत्युत्तरमा बेहुलीले गौरव ( बेहुला) लाई मञ्चबाट जान भनिन् र विवाह नगर्ने अडान लिइन् ।
बेहुला र बेहुली पक्षका मानिसले सम्झाउन हरसम्भव प्रयास गरे पनि बेहुलीले विवाह गर्न अस्वीकार गरेको बताइएको छ । बेहुली राति नै एमडी रोडस्थित प्रहरी थानामा पुगेर बेहुलाविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उक्त उजुरीबारे कारबाही सुरु गरेको बताइएको छ ।
