विप्लव भन्छन्: आजको दिनमा प्रत्यक्ष कार्यकारी सम्भव छैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारीको सम्भावना नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन्।
‘नेपालका उत्पीडित वर्ग, नेपालको किसानले अहिलेसम्म संसद्मा जान पाएको छैन। मजदुरले भाग लिन पाएको छैन। नेपालको युवाले भाग लिन पाएको छैन। नेपालको बुद्धिजीवीले भाग लिन पाएको छैन। त्यसैले यो राज्यलाई बदल्नुपर्छ,’ विप्लवले भने, ‘त्यसपछि अनि बल्ल चुनाव गर्नुपर्छ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको एक पटक। जे होस त्यो फरक पर्दैन।’
प्रत्यक्ष जनताले चुन्ने कार्यकारी प्रमुखमा जानै पर्ने उनले बताए। तर, आजको दिनमा भने त्यो सम्भव नभएको विप्लवको भनाई छ। ‘आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने पैसाको बलमा एनजिओ डाँकाहरू विदेशी डलर ल्याएर नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशको विरुद्धमा उत्तेजना फैलाउने एनजिओलाई पनि प्रतिबन्ध लगाउनुपर्नेछ,’ उनले भने। यी सबै कुरा भएपछि मात्र प्रत्यक्ष कार्यकारीको चुनाव निष्पक्ष हुनसक्ने उनले बताए।
उनले अगाडि भने,‘विदेशीको दाना खानेले निष्पक्ष चुनाव दिन सक्दैन। विदेशीको गुलामी गर्ने शासकले नेपालमा निष्पक्ष चुनाव गर्न सक्दैन।’
