एक नम्बर हुनबाट हाम्रो पार्टीलाई कसैले रोक्न सक्दैन : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक नम्बरको पार्टी बनाउन कसैले रोक्न नसक्ने बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको पार्टी बन्ने बताएका हुन् ।
‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला । नलागे नलागोस् । तर यसो भनेर अहङ्कारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ’, उनले भने ।
कार्यक्रममा प्रचण्डले पार्टीभित्र देखिएको नेतृत्व हस्तान्तरणको बहसलाई एउटा नयाँ विचार र विधि बनाएर हस्तान्तरण गर्ने स्पष्ट पारे ।
‘अहिले सबै पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चलेको छ । नेतृत्वमा एउटै पदमा बसिराख्नु जरुरत छैन । नेतृत्वलाई अन्य भूमिकामा व्यवस्थापन गर्न सकिन्छ । महाधिवेशनसम्म बहस र छलफल गर्न सकिन्छ’, उनले भने, ‘मैले भूमिगत कालमा नमरुन्जेल नेतृत्वमा बसिराख्नुपर्छ भन्ने छैन भनेर दस्ताबेज लेखेको थिएँ । अब समय आएको छ, २१ औँ शताब्दीमा कम्युनिस्टलाई सधैँ जीवित राख्ने गरी नयाँ विचार र विधिको विकास गर्नुपर्छ । यसबारे माधवजी र मैले छलफल गरिरहेका छौँ ।’
