कांग्रेसमा महाधिवेशनबारे दुई समूहका छुट्टाछुट्टै प्रस्ताव
काठमाडाैं १९ कार्तिक । कम्युनिस्ट पार्टीहरूमा मात्र होइन, विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा पनि महाधिवेशनको मिति र प्रक्रियालाई लिएर आन्तरिक भाँडभैलो मच्चिएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा लामो प्रयास र शीर्ष नेताहरूबिचको अनौपचारिक संवादपछि पनि समझदारी नबनेपछि केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षले महाधिवेशनको अलग–अलग मिति र कार्यतालिका प्रस्ताव गरेका छन् ।
बैठकमा महामन्त्री गगन थापाले आगामी १६ देखि १९ पुसमा १५ औँ महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गरेका छन् । जबकि संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले २७ देखि ३० वैशाख ०८३ मा महाधिवेशन आयोजना गर्ने कार्यतालिका पेस गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिने भए पनि विधानअनुसार एक वर्ष लम्ब्याउन सम्भव हुन्छ ।
बैठकमा प्रस्तावहरू महामन्त्रीले पेस गर्ने अभ्यास रहे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले थापाले पेस गरेको प्रस्तावलाई औपचारिक एजेन्डा बनाएका छैनन् । उनले थापा र यादव दुवैलाई महाधिवेशनका सम्बन्धमा धारणाका रूपमा अलग–अलग कार्यतालिका पेस गर्न अनुमति दिएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयको विज्ञप्तिमा बैठकमा कुन एजेन्डामा छलफल भयो भन्ने खुलाइएको छैन, धारणा राख्ने नेताको मात्र नाम उल्लेख छ ।
कांग्रेसमा संस्थापन पक्ष वैशाख र महामन्त्री थापा र विश्वप्रकाश शर्मा तथा शेखर कोइराला पक्ष पुसभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुवै समूहबिच अलग–अलग र केन्द्रीय कार्यसम्पादन समितिमा समेत सहमति नजुटेपछि कार्यवाहक सभापति खड्काले बहुमत–अल्पमत विधिबाट महाधिवेशनको मिति टुंगो लगाउने गरी छलफल अगाडि बढाएका छन् । संस्थापन पक्ष केन्द्रीय समितिमा बहुमतको बलमा इतर समूहलाई गलाउने रणनीतिमा छ । इतर पक्षले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई दबाबको हतियार बनाएको छ । तैपनि दुवै पक्ष सहमतितिर उन्मुख छैनन् ।
बैठकपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री थापा र सहमहामन्त्री यादवले व्यक्तिगत रूपमा महाधिवेशनको कार्यतालिका पेस गरेको बताए । उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एजेन्डाबारे केही बताएका छैनन् । ‘कार्यवाहक सभापतिले महामन्त्री र सहमहामन्त्री दुवैलाई व्यक्तिगत धारणाका रूपमा महाधिवेशनको कार्यतालिका राख्न दिनुभएको हो, पार्टीका तर्फबाट कहिले महाधिवेशन गर्ने सवालमा औपचारिक एजेन्डा प्रस्तुत भएको होइन,’ नेता सिटौलाले भने, ‘कार्यवाहक सभापतिले केही पनि बोल्नुभएको छैन, अहिलेलाई छलफल प्रक्रिया मात्र अगाडि बढेको छ ।’
महाधिवेशनलाई आत्मसमीक्षा र पुनर्जन्मको अवसरका रूपमा अथ्र्याउँदै महामन्त्री थापाले १६ पुसमा नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनको विकल्प नहुने बताए । ‘राष्ट्रिय राजनीतिमा आएको उथलपुथलपछि हुन लागेको महाधिवेशनलाई साधारण अधिवेशनजस्तो केवल आन्तरिक प्रक्रिया ठान्न मिल्दैन । यो नै हाम्रो नैतिक पुनर्जन्मको अवसर हो,’ थापाले प्रस्ताव राख्दै भनेका छन्, ‘त्यही मञ्चबाट हामी देशलाई भन्न सक्छौँ–हामीले गल्ती गरेका थियौँ, हामीले जनआवाज सुनेका छौँ, अब हामी सुधार गर्न तयार छौँ । र, यो अधिवेशनमार्फत कांग्रेसले सन्देश दिन सक्छ– अब पार्टीभित्र भ्रष्टाचार र स्वार्थको कुनै स्थान छैन, पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनेछ, नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण नियमित र स्वाभाविक हुनेछ ।’
प्रतिनिधिसभा निर्वाचनअगावै महाधिवेशन गर्नुपर्नाका कारण खुलाउँदै थापाले मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन् भनेर पर्खेर नबस्ने बताए । साथै उनले दुई महामन्त्रीले भाग नलिने सर्तमा भए पनि महाधिवेशन आयोजना गर्नुपर्ने भन्दै चुनौतीको भाषा प्रयोग गरेका थिए । ‘यदि तिमीहरू दुईजनाले यसपटकको महाधिवेशनको रेसमा भाग लिन पाउँदैनौ भनेर महाधिवेशनतिर लैजाने हो भने पनि हामी तयार छौँ । त्यो कुराले गाँठो खुल्छ भनेर वाचाबन्धन गरेर जाऊँ,’ बैठकमा उनले भनेका थिए ।
