सिंगापुरबाट देउवाको निर्देशन– विशेष महाधिवेशन नगर्नू

द एभरेष्ट पोष्ट
१९ कार्तिक २०८२ १३:०४
सिंगापुरबाट देउवाको निर्देशन– विशेष महाधिवेशन नगर्नू

काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् ।

गत आइतबारको केन्द्रीय कार्यसमिति नियमित महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएपछि स्थगित भएको थियो । त्यसपछि बसेको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् ।

त्यो बैठकमा सहभागी भएका एक नेताले भने, ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाले विशेष महाधिवेशन नगर्न सभापतिज्यूको निर्देशन छ । नियमित महाधिवेशनमा सहमतिको प्रयास गरौँ भन्ने धारणा राख्नुभयो ।’ देउवा हाल उपचारका क्रममा सिंगापुरमा छन् । सिंगापुरबाटै देउवाले खड्कालाई यस्तो निर्देशन दिएका हुन् ।

ती नेताका अनुसार कार्यवाहक सभापति खड्कामात्रै होइन सहमहामन्त्री किशोरसिंह राठोरले पनि आफूलाई सिंगापुरबाट देउवाले टेलिफोन गरेर विशेष महाधिवेशन नगर्ने वातावरण निर्माण गर्न भनेको बताएका थिए । देउवाले आफू निकटका अरू पदाधिकारीलाई विशेष महाधिवेशनले पार्टीलाई राम्रो नगर्ने भन्दै त्यसतर्फ पार्टीलाई नलैजान भनेको उनको दाबी छ ।

सभापति देउवा श्रीमती डा.आरजु राणा देउवासँग कात्तिक १० गते सिंगापुर गएका थिए ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका दम्पतीले करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।

कुटिएपछि पहिलो पटक असोज २८ गते सानेपास्थित पार्टी कार्यालयको केन्द्रीय समिति बैठकमा सार्वजनिक रूपमा देखिएका देउवाले बैठकमा लिखित मन्तव्य दिँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

त्यसपछि जारी केन्द्रीय समिति बैठक खड्काको सभापतित्वमा बसिरहेको छ । बैठकमा केन्द्रीय महाधिवेशन कहिले गर्ने र नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । यही परिस्थितिमा नेताहरू अनिर्णीत बनिरहेको बेलामा सभापति देउवाले विशेष महाधिवेशन नगर्न र नियमित महाधिवेशनको मितिमा सहमति गर्न नेताहरूलाई निर्देशन दिएका हुन् ।

नियमित महाधिवेशन पनि कहिले गर्ने भन्नेमा विवाद छ । संस्थापन पक्षले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभापछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ।

सोमबार राजधानीमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले त वैशाख २५ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्नुपर्ने निर्णय नै गरेको छ । अर्कोतर्फ डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

दुई पक्षको कुरा नमिल्ने संकेत देखिएपछि महामन्त्री शर्माले पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । त्यो प्रस्तावमा पनि कुरा मिल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस