राजीनामा माग गर्दै अख्तियार प्रमुख राईलाई जेन-जीको दबाबपत्र
काठमाडौँ : संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थानहरूमा फैलिएको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य हुनुपर्ने मागसहिन जेन-जीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरुको राजीनामा माग गरेको छ ।
आज अख्तियार कार्यालय टंगाल पुगेको जेन-जी समूहले प्रमुख आयुक्त राईलाई दबाबपत्र बुझाएको छ । जेनजी मुभमेन्ट अलायन्सले बुझाएको पत्रमा अख्तियारका सबै आयुक्तको सार्वजनिक सुनुवाइ गरी आवश्यक परे पदमुक्त गर्नुपर्नेसहित माग राखेको छ ।
राजनीतिक दल तथा प्रशासनिक क्षेत्रमा लागेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचार ठहर भए सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने पनि माग राखिएको छ ।यस्तै, आयोगले ९० दिनभित्र नेपालका सबै संसदीय दलका प्रमुख, पूर्व मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, संघीय संसद्का अध्यक्ष, सभामुख, सर्वोच्च अदालतका न्यायाधीश, सबै सचिव, विशिष्ट श्रेणीका पदाधिकारी र तिनका संयुक्त परिवारको सम्पत्ति र स्रोतको छानबिन गरी सार्वजनिक सुनुवाइ गरी अधियोजन प्रक्रिया सुरु गर्नुपर्ने पनि उनीहरुको माग छ ।
