गोसाइँकुण्ड घुम्न गएका चार जना खोलामा बगेर बेपत्ता
रसुवा, १९ असोज ।
शनिवार भक्तपुरबाट रसुवाको गोसाइँकुण्ड घुम्न जाँदै गरेका ४ जना गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोलामा बगेर बेपत्ता भएका छन् ।
बाढीले बगाएर बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ, भक्तपुर नगरपालिका १० का २८ वर्षका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।
रसुवाका डीएसपी हेम शाहीका अनुसार भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना बेरिङ खोलाले बगाएर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार १६ मध्ये ८-८ जनाको समूहमा हिँडेको उनीहरूको एउटा समूहबाट ४ जनालाई एक्कासि आएको खोलाको बाढीले बगाएको हो ।
डीएसपी शाहीले वर्षा नरोकिएका कारण उनीहरूको खोजीका लागि कठिनाइ भइरहेको बताए ।
