अविरल वर्षापछि काठमाण्डौं जोड्ने सडकमा तीनदिनसम्म आवागमनमा रोक, हवाई सेवा पनि प्रभावित
काठमाण्डौं, १८ असोज ।
अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि काठमाडौ भित्रिने र बाहिरिने सडकमा आवागमनमा तीन दिनका लागि रोक लगाईएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङ सहित अविरल वर्षा हुने भएपछि असोज १८ देखि २० गतेसम्म काठमाण्डौं जोड्ने मार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाएको हो ।
मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म पानी परिरहने अनुमान गरेको छ। अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेकोले यात्रा नगर्न सर्वसाधारणलाई सचेत गरिएको छ ।
त्यस्तै शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान बन्द गरिएको छ।
लगातारको झरीले उडान गर्ने अवस्था नभएपछि बिहानबाट अहिले १० बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको विमानस्थलले जनाएको छ।
१० वजेपछि मौसम हेरेर उडान सञ्चालनको अनुमती दिने वा नदिने निर्णय गरिने विमानस्थलले जनाएको छ ।
