देशले फेरि जल्नु नपरोस्

लेखक :- डा. राधिका बुढ्थापा – देशले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । सर्वप्रथम नेपालकै विकट जिल्ला जुम्लाकी महिलाको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु ।
प्रधानमन्त्री सुशीला कार्कीज्यू, स्वार्थ बोकेका बग्रेल्ती पार्टी, यिनका नेता, कार्यकर्ता र सधैं अशान्तिको चाहना राख्ने छर-छिमेकको कर्के नजरका बीचमा तपाईंको कार्यकाल शुरु भएको छ । जर्जर अवस्थाको देश र रेमिट्यान्सको भरमा बाँचेको अर्थतन्त्रले तपाईंको कार्यकालमा सन्तोषको सास फेर्ने र रोजीरोटीका लागि संसारभर छरिएर रहेका हाम्रा सन्ततिले कुशल अभिभावकका रूपमा सदा सम्झिने सबैको अपेक्षा छ ।
तपाईंले नेपाली महिला सक्षम छन्, आवश्यकता पर्दा चुल्हो-चौकोबाट बाहिर निस्केर देश हाँक्ने क्षमता राख्छन् भन्ने प्रमाणित गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।
समाजमा जरा गाडेर बसेको परम्परागत सोच, वर्तमानको दलगत संरचना, अन्तरपार्टी गुटबन्दी आदिका कारण राज्यका निकायहरूमा भएको भनिएको महिला प्रतिनिधित्व यिनीहरूमा विद्यमान कार्यक्षमता, भूगोल, योग्यता, वर्गभन्दा पनि शीर्ष नेताहरूको चाकडीको घेराभन्दा बाहिर आउन सकेन, यो जगजाहेरै छ ।
विडम्बना, कसैको दया–मायामा नभई जनताको बलिदानीबाट प्राप्त अधिकार समेत यस्तै यस्तै अनेकौं कारणले ओझेल पार्दै लग्यो । यही परिवेशले महिलालाई कार्यकारी नेतृत्वमा पुग्न मात्र हैन पुरुष सरहको सामान्य जीवन जिउन समेत सधैं बाधा पुर्याइरह्यो । यही छट्पटीको अवस्था हाम्रा कलिला भावी सन्ततिमा समेत वर्षौं कायम रहिरह्यो । फलस्वरूप, धनजनको अथाह क्षतिका साथ महासङ्कट आइलाग्यो ।
नेपाल आमाका सपुतहरूको त्याग र बलिदानले आज देशलाई एकपटक फेरि सोच्न र सकारात्मक निकास निकाल्न बाध्य बनायो । दुई दिनमै यस ज्वालामुखीले प्रत्येक दलहरूमा हालीमुहाली गरेर आसन जमाएकाहरूको गद्दी नराम्रोसँग हल्लाइदियो । जो आफ्नो ज्यानको बाजी लगाएर मैदानमा उत्रे अनि यी ‘बादशाहहरू’ लाई घोडाबाट झारेरै छाडे ।
वर्षौंदेखि जरा गाडेर बसेका प्रत्येक पार्टीका नवसामन्तहरू मुख देखाउन नसकेर सैनिक सुरक्षा घेराभित्र लुक्न बाध्य भए । मुलुकका खलपात्रहरूले अब या त परिवर्तनलाई आत्मसात् गर्नुपर्छ या चुप लाग्नुपर्छ । अँध्यारा कोठामा लुकेर षडयन्त्रका तानाबाना बुनेर पटक–पटक देशमा आगो लगाउने र लगाउन लगाउने काम बन्द गर्नुपर्छ ।
सबैलाई ज्ञात नै छ, यसपटकको रक्तपात घमण्ड र पालोपालो देशलाई कंगाल बनाउन पल्केकाहरूको सहमतिमा सरकारी बन्दुक बहुलाएर सिर्जना भएको हो । कैयौं कलिला युवायुवतीको निधार र छाती ताकी–ताकी गोली हानिएको छ ।
जनताका करबाट बनेका अर्बाैं खर्बाैंका सम्पत्ति एक दिनमै जलेर खरानी भयो । कलिला स्कूले बालकहरू विद्यालयको पोशाक र झोला बोकेरै सडकमा उत्रिएर गोली खाएपछि आजको यस भयावह परिवेशमा भत्केका भौतिक संरचना र बिग्रेको हाम्रो मानसिकतालाई ठिक ठाउँमा ल्याउने गहन जिम्मेवारी एक जना महिलाको काँधमा आएको छ । अक्षम पुरुषहरूका कारण आगोमा परिणत भएको देशमा शान्ति ल्याउने र चहर्याइरहेका घाउमा मल्हम लगाउने गम्भीर जिम्मेवारी महिलाले बहन गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्रीज्यू, ऐतिहासिक यो जिम्मेवारी जनताको रगत–पसिनाले आर्जेको सम्पत्तिले नेताहरूको भण्डार भरिएपछि, नेपो बेबीहरू राजकुमार र राजकुमारी बन्न थालेपछि, दलका नेता र कार्यकर्ताहरू भ्रष्टाचारको आहालमा डुबुल्की मार्न थालेपछि, वर्षौंदेखि गुम्सिएर बसेको असन्तुष्टि भयानक ज्वालामुखी भएर विस्फोट भएको हो । जनताको यो नासोको हेक्का सधैं भइरहोस् ।
राज्यका प्रत्येक तहमा धमिराले खाएर जर्जर पारेकोे हाम्रो राज्यप्रणाली पक्कै जानकारी होला । जेन–जीको स्वत:स्फूर्त आन्दोलन दुई दिन पनि पुग्न पाएन सरकार डङ्रङ्गै ढल्यो । कसैले टेकोसम्म दिएन, दिन पाएन । यो पक्कै यसै ढलेको होइन ।
जनता आजको कर्मचारीतन्त्रसँग वाक्क छन्, हिजोका दिनसम्म देशकै जिम्मा लिएर बसेका राजनीतिक पार्टीहरूसँग दिक्क छन्, आफ्नो तीनपुस्ते सपार्न गजधम्म बसेका सबैखाले खलपात्रहरूसँग दिक्क छन् । यो नै आजको कटु यथार्थ हो । यिनले त आफन्त र आफ्ना दामदातालाई नियुक्ति दिलाउने काम मात्र गरे यतिका वर्ष । यस देशका प्रत्येक उमेर समूहका जनता चाहन्छन्, अब फेरि यस कुप्रवृत्तिले टाउको नउठाओस्, कुनै नेपालीले पनि संसारका कुनै कुनामा पनि नेपालमा जन्मेको कारणले हीनताबोध गर्न नपरोस् ।
यतिका वर्षसम्म देश र जनताको तत्कालीन आवश्यकता, जनजीविका, राष्ट्रियता आदि जस्ता अत्यन्त गम्भीर सवालमा कहिल्यै पनि कोही पनि गम्भीर भएनन् । इतिहास साक्षी छ, यिनीहरूले आफ्नो कुर्सी डगमगाएको अवस्थामा बाहेक अन्य राष्ट्रिय सवालहरूमा कहिल्यै पनि छलफल गरेनन् ।
१२ कक्षा उत्तीर्ण भएपछि हाम्रा विद्यालयका कक्षाकोठाहरू खाली हुन्छन् । एक दिनमा करीब दुई हजार नेपाली युवाहरू त्रिभुवन विमानस्थलबाट मात्र श्रम गर्न बाहिरिन्छन् । अरू मार्गको बाटो गरेर बाहिरिनेहरूको त लेखाजोखा नै छैन । यहाँका श्रममन्त्री देशका युवा कुन देशमा पठाउँदा देशमा धेरैभन्दा धेरै रेमिट्यान्स भित्रिन्छ भन्ने धुनमा हुन्छन् । विमानस्थलबाट नेपालीका लासहरू नभित्रिएको दिन हुँदैन । यस समस्याको समाधान निकाल्न कुनै नेता जिम्मेवार देखिंदैनन् ।
देशभरि विकास निर्माणका कामहरूको बिजोग छ । सरकारी योजनाहरू सबै भागबन्डामा हुने गर्छन् । कामको गुणस्तरको के कुरा गर्नु ! चुनावको समयमा मौखिक विकास र रकम बाँड्न गाउँमा देखा पर्ने नेता र कार्यकर्ता अर्को चुनावसम्म गाउँमा देखा पर्दैनन् । राज्यका तीन अङ्गको कार्यक्षमता र यहाँ हुने गरेको भ्रष्टाचारको के कुरा गरौं ।
गाउँ–गाउँमा सिंहदरबार हैन, भ्रष्टाचारले जरा गाडेको छ । सरकारी कार्यालयहरूमा अड्केका फाइलहरू विना पैसा एक पाइला सर्दैनन् । अरू बेला बर्खाको च्याउ झैं देखिने र आफू–आफू काटाकाट गर्न समेत पछि नपर्ने गाउँघरका पार्टीका कार्यकर्ताहरू बाँडफाँटका सवालमा एकठाउँ उभिन्छन् । आश्चर्यजनक रूपमा यिनीहरूका बीच एकता हुन्छ ।
ठूलाठूला डिग्री बोकेका बुद्धिजीवीहरू भनिनेहरू आफ्नाले गरेका गलत काम कहिल्यै देख्दैनन् । सधैं भक्ति गीत गाउँछन् । आफ्नो नेताले राजनीतिक नियुक्तिमा पद लिलाम गरेको, नेता र उनका परिवारले विश्वविख्यात ब्रान्ड कार्टिएरको चस्मा, रोलेक्सको घडी, लुइस भुइटनको जुत्ता, अर्मानीको लुगा लगाएको, गणतन्त्र प्राप्तिको संघर्षमा सिन्को नभाँचेका उनका आफन्त पद प्रतिष्ठा र धनधान्यले भरिपूर्ण भएको, दुबईमा घर किनेको, विदेशमा लगानी गरेको देख्दैनन् ।
शहीद परिवारप्रति राज्यबाट गरिएको व्यवहारको के कुरा गर्नु ! युद्ध र आन्दोलनका घाइते परिवार मृत्यु पुकार्दै बसेका छन् । शरीरमा गोलीका छर्रा लिएर हिंड्ने व्यक्ति, अपाङ्ग शरीर र दु:खका बेला आफ्नो जीवन धरापमा राखेर गाँसबास दिनेलाई आजका नेता र यिनले बनाएका नीतिले चिन्दैनन् ।
यी सबैखाले असन्तुष्टि र असमानताले विगतमा झैं यसपटक पनि हाम्रो देशमा ठूलै भुइँचालो निम्त्यायो । विगतका सपनाहरू तुहिए झैं यसपटक नतुहियोस् । जनताका कलिला नानीहरूले बगाएको रगत खेर नजाओस् । हाम्रा पुराना मान्यता, मानसिकता, कार्यशैलीमा आमूल परिवर्तन आओस् । हाम्रा पुर्खाले मिहिनेत गरेर आर्जेको देशले पटक-पटक जल्न नपरोस् । यही हामी सबै नेपालीको साझा सपना हो ।
हो, चुनौतीका चाङमाथिको यो सरकारका सीमा धेरै छन् । समय सीमित छ । तर यसका बाबजुद जनताका अपेक्षा धेरै छन् । इतिहासमा सुनौला अक्षरले नाम लेख्ने अवसर सबैलाई हुन्छ तर इतिहास रच्ने अवसर धेरै कम मात्र हुन्छ ।
त्यसैले, यस्तो अवस्थामा नेपालकी पहिलो महिला प्रधानमन्त्रीज्यू, तपाईंलाई इतिहासमा सुनौलो अक्षरले लेख्ने अवसर मिलेको छ । विगतका आन्दोलनहरू झैं शहीदका सपना खेर नजाउन्, अब पनि नेपालले पटक–पटक जल्न नपरोस् । जुम्लाकी एउटी महिलाको तर्फबाट धेरै-धेरै शुभकामना ।