इजरेली गुप्तचर निकाय मोसादका सफल र विफल गोप्य कार्वाहीहरू

ती आक्रमण आकासबाट गरिएका छन् तर निसाना पत्ता लगाउन र तीविरुद्धका प्रहारहरू निर्देशित गर्न इजरेली गुप्तचरी निकाय मोसादको खास भूमिका रहेको ठानिन्छ।
उदाहरणका लागि इरानमा लुकाइछिपाइ पुर्याइएका ड्रोनहरूको प्रयोग गरेर मोसादका एजेन्टहरूले इरानको बाँकी बचेका हवाई प्रतिरक्षा प्रणालीमा लक्षित कारबाही गरिरहेका छन् भने इरानी अधिकारीहरूले यसअघि आफ्ना सुरक्षा फौजभित्र इजरेली खुफिया घुसपैठ भएको शङ्का रहेको स्वीकारेका थिए।
जुन १३ मा इजरेली आक्रमण सुरु भएयता उल्लेखनीय सङ्ख्यामा महत्त्वपूर्ण सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरू लक्षित सफल कारबाही भएका छन्, जसले इजरेलसँग पहिले नै तिनको ठेगानाको खुफिया जानकारी उपलब्ध रहेको सङ्केत गर्छ।
घटनाक्रमहरूमा मोसादको भूमिकाको विश्लेषण गर्नु सजिलो छैन – उक्त सङ्गठनको गतिविधिबारे इजरेलले विरलै टिप्पणी गर्छ अनि खुफिया जानकारी सङ्कलन गर्ने इजरेलका अरू निकाय पनि छन् – तर उक्त निकायले विगतमा गरेका उल्लेखनीय कारबाहीहरू बारे हामीलाई थाहा भएको विषय यहाँ प्रस्तुत छ।

तस्बिर स्रोत,Anadolu via Getty
हमासका नेता इस्माइल हानियको हत्या
इरानको राजधानी तेहरानस्थित एक गेस्ट हाउसमा बसिरहेका बेला सन् २०२४ को जुलाई ३१ मा हमासका राजनीतिक प्रमुख इस्माइल हानिय मारिए।
सुरुमा इजरेलले हत्याको जिम्मा सकारेन तर महिनौँपछि रक्षामन्त्री इजरेल कात्जले उक्त हत्याका पछाडि इजरेलको हात रहेको बताए।
हानियको मृत्युको परिस्थितिबारे स्पष्टता अझै छैन।
हमासका एक वरिष्ठ अधिकारी खलिल अल-हय्याले एक प्रेस सम्मेलनमा बोल्ने क्रममा प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै क्षेप्यास्त्रले सिधै हानियमा प्रहार भएको बताए।
न्यूयोर्क टाइम्समा आएको समाचारमा चाहिँ – जसमा सातजना अधिकारीहरूलाई उद्धृत गरिएको छ – उनी बसेको भवनमा घटनाभन्दा दुई महिना अगावै जडान गरिएको बम पड्काएर हानिय मारिएको जनाइएको छ।
बीबीसीले ती दुवै दाबी पुष्टि गर्न सकेको छैन।
हमासले सन् २०२३ को अक्टोबर ७ मा दक्षिण इजरेलमा गरेको आक्रमणपश्चात् इजरेलले उक्त समूहका हानियलगायत कैयन् नेताहरूलाई मारिदिएको छ जसमा गाजास्थित हमासका नेता याह्या सिनवार, उनका भाइ मोहम्मद, हमासका सैन्य इकाइ प्रमुख मोहम्मद देइफ तथा उनका उपप्रमुख मार्वान इसा छन्।
हिज्बोल्लाह पेजर विस्फोटन

तस्बिर स्रोत,Getty Images
सन् २०२४ को सेप्टेम्बर १७ मा लेबनन भरि हजारौँ पेजरहरू एकैपटक पड्कन थाले, खासगरी हिज्बोल्लाहको बलियो उपस्थिति रहेका क्षेत्रहरूमा। ती विस्फोटनले कतिपय पेजर प्रयोगकर्ता मारिए वा घाइते भए। तिनको नजिकै रहेका मानिसहरूको पनि हताहती भयो जसले त्रास र अन्योल फैलियो।
अर्को दिन उसैगरी वाकीटकी पड्किए। थप सयौँ मारिए वा घाइते भए।
उक्त आक्रमणको समयमा इजरेल र हिज्बोल्लाहबीच लडाइँ चर्किएको थियो। ७ अक्टोबरको हमास हमलापश्चात् इजरेली ठेगानामा हिज्बोल्लाहले प्रहार गरेपछि उक्त द्वन्द्व निरन्तर बढिरहेको थियो।
दुई महिनापछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ती विस्फोटन गराउन इजरेल जिम्मेवार भएको बताएको त्यतिखेर इजरेली सञ्चार माध्यममा आएको थियो।
बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएससँगको अन्तर्वार्तामा दुई पूर्व एजेन्टहरूले उक्त कारबाहीको बारे बोलेका थिए। वाकीटकीका ब्याट्रीभित्र विस्फोटक पदार्थ लुकाइएको उनीहरूले बताए। प्रयोगकर्ताले ती वाकीटकी सामान्यतया तिनको भेस्टमा राखेका हुन्थे जो तिनको मुटुनजिकै हुन्थ्यो।
१० वर्ष अगाडि एउटा नक्कली कम्पनीमार्फत् १६ हजार वाकीटकी ‘राम्रो मूल्यमा’ पाएपछि अञ्जानमा हिज्बोल्लाहले किनेको ती एजेन्टले बताए। साथै पछि उसले ५ हजार पेजर पनि किन्यो।
विस्फोटनका घटनाले लेबनन भरि त्रास फैलिएको थियो। सुपरमार्केटसहित विभिन्न ठाउँमा अकस्मात् र लगालग ती विस्फोट भएका थिए।
घाइतेले अस्पताल भरिभराउ भएका थिए। कैयन् अपाङ्ग भए।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले ती आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका थिए।
मोहसेन फक्रिजादेहको हत्या

तस्बिर स्रोत,EPA
सन् २०२० को नोभेम्बरमा इरानका सबभन्दा चर्चित परमाणु वैज्ञानिक मोहसेन फक्रिजादेह सवार गाडीहरूको लस्करमा तेहरानदेखि पूर्व रहेको अबसार्द नगरमा गोली प्रहार हुन्छ।
आर्टिफिशल इन्टलिजन्सको मद्दतले रिमोट कन्ट्रोलबाट सञ्चालित मेशीन गनबाट प्रहार भएको गोली लागि फक्रिजादेह मारिन्छन्।
“त्यसरी नियन्त्रित ढङ्गबाट चलिरहेको निसानालाई अन्य गैरसैनिक हताहती नहुने गरिकन हत्या गर्न सक्षम हुनका लागि स्थलबाट ताजा खुफिया जानकारी हासिल भइरहेको हुनुपर्छ,” त्यतिखेर बीबीसी पर्सिअनका जियार गोलले लेखेका थिए।
सन् २०१८ को एप्रिलमा नेतन्याहुले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित भन्दै दर्जनौँ दस्तावेज प्रस्तुत गरेका थिए। ती दस्तावेज महिनौँ अगाडि मोसादका एजेन्टहरूले गरेका कारबाहीमा तेहरानभन्दा ३० किलोमिटर पर रहेको स्थलबाट चोरिएका थिए (जसलाई पछि इरानी राष्ट्रपति हसन रुहानीले पुष्टि गरे)।
विशेषरूपमा आयोजित्र पत्रकार सम्मेलनमा इजरेली प्रधानमन्त्रीले ती दस्तावेज प्रस्तुत गर्दै इरानको अघोषित परमाणु अस्त्र कार्यक्रममा मोहसेन फक्रिजादेहको भूमिका उल्लेख गरेका थिए।
“डा मोहसेन फक्रिजादेह… यो नाम स्मरण रहोस्,” नेतन्याहुले भनेका थिए।
यसअघि पनि इरानले सन् २०१० र २०१२ को बीचमा चार अन्य इरानी परमाणु वैज्ञानिकहरूको हत्या गरेको आरोप इजरेलमाथि लगाएको थियो।
महमूद अल-माबहू: पहिले करेन्ट अनि घाँटी थिचेर हत्या

तस्बिर स्रोत,Getty Images
सन् २०१० मा हमासका वरिष्ठ सैन्य नेता महमूद अल-माबहूको दुबईस्थित एउटा होटलमा हत्या गरिएको थियो।
सुरुमा उनको मृत्यु अस्वाभाविक लागेन। तर दुबई प्रहरीले सीसीटीभी फुटेज हेरेर ज्यान लिने समूहको पहिचान गरेको थियो।
प्रहरीले अल-माबहूलाई बिजुलीको करेन्ट लगाएर अनि त्यसपछि घाँटी थिचेर मारिएको खुलासा गर्यो।
उक्त कारबाहीको योजना मोसादले बनाएको आशङ्का गरिएको थियो। यूएईले उक्त घटनाप्रति कूटनीतिक रोष व्यक्त गरेको थियो।
इजरेली कूटनीतिज्ञहरूले मोसादसँग उक्त आक्रमणको सम्बन्ध भएको कुनै प्रमाण नरहेको बताएका थिए।
तर इजरेली अधिकारीहरूले आफ्नो संलग्नता अस्वीकार गरेनन्। त्यस्ता घटनामा ‘अस्पष्टता’ कायम राख्ने इजरेली नीति रहँदै आएको छ।
हमासका बमनिर्माता याह्या अय्याश र फोन विस्फोटन

तस्बिर स्रोत,EPA
सन् १९९६ मा हमासका एक प्रमुख बमनिर्माता याह्या अय्याशको ज्यान गयो। उनको हत्या गर्न मोटोरोला अल्फा मोबाइल फोनमा ५० ग्राम विस्फोटक पदार्थ राखिएको थियो।
अय्याश हमासको सैन्य सङ्गठनका प्रमुख नेता थिए। बम बनाउने विशेषज्ञता र इजरेलीहरूसँग सम्बन्ध भएका स्थानमा जटिल आक्रमणको योजनाकारका रूपमा उनी चर्चित रहेका थिए। उनी इजरेली सुरक्षा निकायले सर्वाधिक खोजेका व्यक्तिमध्ये थिए।
सन् २०१९ को अन्त्यतिर इजरेलले उनको हत्यासँग सम्बन्धित निश्चित विवरणहरू सार्वजनिक नगर्ने रोक फुकुवा गरेको थियो। इजरेलको च्यानल१३ टेलिभिजनले अय्याशले आफ्ना पितासँग गरेको अन्तिम फोन कलको रेकर्डिङ सार्वजनिक गरेको थियो।
अपरेशन ब्रदर्श

तस्बिर स्रोत,Raffi Berg
सन् १९८०को दशकको प्रारम्भतिर छक्क्याएर गरिएको एउटा अभूतपूर्व कारबाहीमा मोसादले ७,००० इथिओपियाली यहुदीहरूलाई लुकाइछिपाइ सुडान हुँदै इजरेल पुर्याइएको थियो। उक्त काम तात्कालिक प्रधानमन्त्री मेनाखेम बेगिनको निर्देशनमा भएको थियो।
त्यसका लागि नक्कली ‘डाइभिङ रिसोर्ट’ को आवरण प्रयोग गरिएको थियो।
सुडान अरब लीग अन्तर्गतको एउटा शत्रुराष्ट्र थियो। त्यही भएर गोप्य रूपमा काम गर्नका लागि सुडानमा लालसागरको तटीय क्षेत्रमा मोसादले एउटा रिसोर्ट स्थापना गरेको थियो। इजरेली गुप्तचरहरूले त्यसलाई आफ्नो शिविर बनाएका थिए।
इजरेली गुप्तचरहरू दिनमा होटलका कर्मचारी बनेर काम गर्थे भने रातिको समयमा यहुदीहरूलाई सुडानबाट बाहिर पठाउने गतिविधिमा संलग्न हुन्थे।
छिमेकी इथिओपियाबाट गोप्य रूपमा हिँडाएर, हवाई र समुद्री मार्ग प्रयोग गर्दै मोसादले उनीहरूलाई इजरेल पुर्याउँथ्यो। सो कारबाही पाँच वर्षसम्म चलेको थियो र त्यसबारे पत्ता लाग्दासम्म मोसादका गुप्तचरहरू भागिसकेका थिए।
म्युनिख ओलिम्पिक्स बन्धक प्रकरणपछि लिइएको बदला

तस्बिर स्रोत,Getty Images
सन् १९७२ मा प्यालेस्टिनी विद्रोही समूह ‘ब्ल्याक सेप्टेम्बर’ले म्युनिख ओलिम्पिक्समा इजरेली ओलिम्पिक टोलीका दुई सदस्यको हत्या गरिदिएको थियो भने अन्य नौ जनालाई बन्धक बनाएको थियो।
पश्चिम जर्मनीको प्रहरीले बन्धकहरू मुक्त गराउने प्रयास गरेको थियो। तर त्यस क्रममा ती खेलाडीको मृत्यु भयो।

तस्बिर स्रोत,Getty Images
त्यसपछि मोसादले ‘प्यालेस्टिनी लिबरेशन अर्गनाइजेशन’का कैयौँ सदस्यहरूलाई निसाना बनायो।
मोसादका गुप्तचरहरूको निसानामा पर्नेमध्ये महमुद हमशारी पनि थिए।
मोसादले प्यारिसस्थित उनको निवासमा जडित फोनमा विस्फोटक पदार्थ राखिदिएको थियो।
विस्फोटनमा परेर सुरुमा उनले एउटा खुट्टा गुमाए। तर चोटपटकका कारण पछि उनको ज्यान गयो।
एन्टेबी अपरेशन : विमान अपहरणमा परेका इजरेलीहरूको उद्धार

तस्बिर स्रोत,Getty Images
सन् १९७६ मा युगान्डामा सञ्चालित ‘एन्टेबी अपरेशन’ इजरेलको सबैभन्दा सफल सैन्य अभियानमध्ये एउटा हो।
त्यसका लागि मोसादले गुप्तचरी सूचना दिएको थियो भने इजरेली सेनाले उक्त कारबाही सञ्चालन गरेको थियो।
तेल अभिभबाट प्यारिस हुँदै एथेन्स जाने क्रममा रहेको यात्रुवाहक विमानबाट बन्धक बनाइएका १०० जनालाई इजरेली कमान्डोहरूले सफलतापूर्वक उद्धार गरेका थिए। उक्त विमानमा १०३ इजरेलीसहित २५० यात्रु थिए।
अपहरणकर्ताहरूमध्ये दुई जना ‘पप्युलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन’ र दुई जना उनीहरूका जर्मन सहयोगी थिए। उनीहरूले उक्त विमानलाई युगान्डातर्फ लगे।
यो प्रकरणमा तीन बन्धकको ज्यान गयो। अपहरणकर्ताहरू मारिए, युगान्डाका कैयौँ सैनिकहरूको पनि ज्यान गयो। अहिलेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूका दाइ योनाथन नेतन्याहूको पनि मृत्यु भयो।
नाजी अधिकारी अडोल्फ आइख्मनको खोज

तस्बिर स्रोत,Getty Images
सन् १९६० मा आर्जेन्टिनाबाट नाजीकालका एक अधिकारीलाई कब्जामा लिएर इजरेल पुर्याइएको घटनालाई मोसादको सफलतम कारबाहीहरूमा गनिन्छ।
अडोल्फ आइख्मन नाम गरेका ती अधिकारीलाई ‘होलोकस्ट’ का योजनाकार मानिन्थ्यो।
उनी द्वितीय विश्वयुद्धताका नाजीहरूले बनाएका ‘कन्सन्ट्रेशन क्याम्प’मा यहुदीहरूमाथि भएको दमनका लागि जिम्मेदार थिए। त्यति बेला नाजी जर्मनीले ६० लाख यहुदीको हत्या गरेको थियो।
आइख्मन एउटा देशबाट अर्को देश भाग्दै आफूलाई लुकाउन खोज्दै थिए। उनी अन्ततः आर्जेन्टिनामा बस्न पुगेका थिए।
मोसादका १४ गुप्तचरहरूको समूहले उनलाई फेला पारेर अपहरण गरेको थियो।
इजरेलमा उनीमाथि मुद्दा चलाइयो र दोषी ठहर गर्दै मृत्युदण्ड दिइयो।
कैयन् सफलताहरूका बाबजुद मोसादका सबै कारबाही सफल भएनन्। उसले केही खुफिया विफलता पनि बेहोरेको छ।
७ अक्टोबर २०२३को हमला

तस्बिर स्रोत,AFP
सन् २०२३ को अक्टोबर ७ मा हमासले गाजासँगको सीमानजिकै रहेका इजरेली नगरमा गरेको आक्रमणले इजरेल स्तब्ध भयो।
त्यस्तो हमला हुँदैछ भनेर कुने सुइँको नपाउनुलाई मोसादको ठूलो विफलता मानियो। हमासलाई त्यस्ता दुस्साहस गर्नबाट रोक्ने इजरेली नीतिमा कमजोरी रहेको विश्लेषकहरूले औँल्याए।
अक्टोबर ७ मा भएका आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो। मृतकमध्ये अधिकांश सर्वसाधारण र केही विदेश नागरिक थिए। करिब २५१ जनालाई बन्धक बनाएर गाजामा लगिएको थियो।
हमासको कारबाहीको जबाफ दिन इजरेलले गाजा क्षेत्रमा आक्रमण गर्यो। इजरेली कारबाहीमा परेर अहिलेसम्म गाजामा ५५,००० जनाभन्दा बढीको ज्यान गएको छ। मारिनेमा बहुसङ्ख्यक गैरसैनिक रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योम किपुर युद्ध

तस्बिर स्रोत,Getty Images
ठिक ५० वर्ष अगाडि पनि इजरेल उसैगरी आश्चर्यजनक आक्रमणको सिकार हुनु परेको थियो।
सन् १९७३ को अक्टोबर ६ मा इजिप्ट र सिरियाले साइनाई प्रायःद्वीप र गोलन हाइट्स नियन्त्रणमा लिने उद्देश्यसहित इजरेलमाथि अप्रत्याशित आक्रमण गरेका थिए।
यहुदीहरूको पर्व ‘योम किपुर’को दिन भएको उक्त हमलाले लडाइँका प्रारम्भिक दिनहरूमा इजरेललाई रनभुल्लमा पारिदिएको थियो।
इजिप्ट र सिरियाले इजरेललाई दुइटा मोर्चाबाट आक्रमण गरेका थिए। अपेक्षा गरेभन्दा निक्कै थोरै क्षति बेहोरेका इजिप्टका फौजहरूले स्वेज नहर पार गरेका थिए भने सिरियाली सैनिकहरू इजरेली घेरा तोड्दै गोलन हाइट्समा प्रवेश गरेका थिए।
सोभियत सङ्घले सिरिया र इजिप्टलाई बन्दोबस्तीका सामान सहयोग गरेको थियो। अमेरिकाले इजरेललाई अत्यावश्यक सामग्रीहरू उपलब्ध गराएको थियो।
इजरेल ती फौजहरूलाई फिर्ता पठाउन समर्थ भयो। लडाइँ अक्टोबर २५ मा अन्त्य भयो। त्यसको चार दिनअघि संयुक्त राष्ट्रसङ्घले लडाइँ अन्त्यको एउटा प्रस्ताव अनुमोदन गरेको थियो।
हमासका नेता महमूद अल-जहरको हत्याको विफल प्रयास

तस्बिर स्रोत,Getty Images
सन् २००३ मा इजरेलले गाजामा रहेका हमास नेता महमूद अल-जहरको घरलाई निसाना बनाउँदै हवाई हमला गरेको थियो।
उक्त आक्रमणबाट उनी बाँच्न सफल भए पनि उनकी पत्नी र उनका छोरा खालिदको ज्यान गयो। उक्त घटनामा अन्य कैयौँ मानसको मृत्यु भयो।
बम आक्रमणमा उनको निवास पूरै क्षतिग्रस्त भएको थियो। उक्त घटनाले घना बस्तीमा सैन्य कारबाही गर्दाको गम्भीर परिणाम देखाइदिएको थियो।
हमास नेता खालिद मशालको विफल हत्या प्रयास

तस्बिर स्रोत,Getty Images
सन् १९९७ मा एउटा घटनाले इजरेलका लागि एउटा ठूलो कूटनीतिक सङ्कट निम्त्याएको थियो। त्यति बेला हमासको राजनीतिक विभागका प्रमुख खालिद मशाललाई विष दिएर जोर्डनमा उनको हत्या गर्ने प्रयास भएको थियो।
सो घटनामा इजरेली गुप्तचरहरू पक्राउ परेपछि उक्त अभियान विफल भएको थियो।
त्यस बेला मशालको जीवनरक्षार्थ उक्त विष निष्क्रिय बनाउने औषधि उपलब्ध गराउन इजरेल बाध्य भएको थियो।
मोसादका तात्कालिक प्रमुख ड्यानी याटोम त्यतिबेला मशालको उपचारमा सघाउन जोर्डन जानु परेको थियो। उक्त प्रकरणले इजरेल र जोर्डनबीचको सम्बन्धमा चिसोपन बढाएको थियो जबकी केही समयअगाडि मात्र दुई देशबीच शान्ति सम्झौता भएको थियो।
लभन प्रकरण

तस्बिर स्रोत,Getty Images
सन् १९५४ मा इजिप्टका अधिकारीहरूले इजरेलले सञ्चालन गरेको ‘अपरेशन सुजाना’ नामक एउटा गुप्त अभियान विफल पारिदिएका थिए।
उक्त योजनाअन्तर्गत इजिप्टस्थित अमेरिकी र ब्रिटिश स्थलहरूमा बम राख्ने र स्वेज नहरमा तैनाथ ब्रिटिश सैनिकहरूको उपस्थितिलाई निरन्तरता दिन यूकेलाई दबाव दिने रणनीति लिइएको थियो।
इजरेली तत्कालीन रक्षामन्त्री पिन्हास लभनको नामबाट उक्त प्रकरण चर्चित भयो। त्यसको योजना बुन्न लभन संलग्न रहेको ठानिएको थियो।
वीवीसीबाट ।