चुनावबारे सुरक्षा ब्रिफिङ : दल र जेनजीबीच हुनसक्ने झडप मुख्य चुनौती

द एभरेष्ट पोष्ट
१ पुष २०८२ १४:१७
चुनावबारे सुरक्षा ब्रिफिङ : दल र जेनजीबीच हुनसक्ने झडप मुख्य चुनौती

काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्न सकिनेबारे सुरक्षा निकायले ब्रिफिङ गरेका छन् ।

तालुक गृह मन्त्रालयलाई सुरक्षा निकायका प्रमुखहरूले केही दिनअघि मात्रै यसबारे ब्रिफिङ गरेका हुन् । चुनावको मिति नजिकिएसँगै चुनावी सुरक्षा रणनीतिमा गृह मन्त्रालयले तीव्र रूपमा काम गरिरहेको छ ।

तर, केही राजनीतिक दलले भने २१ फागुनमै चुनाव गर्न सुरक्षाका दृष्टिले निकै संवेदनशील रहेको दाबी गर्दै आएका छन् ।

कारागारबाट फरार कैदी, हिरासतका थुनुवा, ठूलो मात्रामा लुटिएका हतियार र हराएका गोलीगट्ठाका कारण चुनाव चुनौतीपूर्ण हुने भन्दै २१ फागुनमा चुनाव गर्दा सुरक्षा चुनौती बढ्ने दलहरूले बताउँदै आएका छन् ।

तर, सुरक्षा निकायहरूले यसलाई ठूलो सुरक्षा चुनौतीको रूपमा लिन नहुने तर्क गरेका छन् । नेपाल प्रहरीका १ हजार २७१ हतियार लुटिएकोमा अहिले धेरै हतियार फिर्ता आइसकेको बताइएको छ ।

अहिले फेला नपरेका हतियारमध्ये केही भने प्रदर्शनकारीहरूले खोलानाला तथा झाडीतिर फालेको र केहीले मात्रै न्यून मात्रामा लुकाएर राखेको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

‘धेरै हतियार फिर्ता आइसकेका छन् । केही हतियार हराएका छन् । तीमध्ये केही हतियार कुनै आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएका होलान् । बाँकी हतियार भने फालिसकेको विश्लेषण हामीले गरेका छौं,’ मन्त्रालयमा ब्रिफिङ गर्ने क्रममा एक सुरक्षा प्रमुखले भने ।

त्यसैगरी, अहिले कागारबाट फरार कैदीहरूलाई पनि ठूलो सुरक्षा चुनौतीको रूपमा लिइएको छ । यसबारे पनि सुरक्षा निकायको धारणा फरक छ ।

करिब १४ हजार कैदीबन्दी फरार भएकोमा करिब १० हजारको हाराहारीमा नियन्त्रणमा आइसकेका छन् । अहिले पाँच हजारभन्दा कम कैदी बन्दी मात्रै फरार छन् । ती मध्ये केही भारतलगायत विदेशी कैदी पनि छन् ।

उनीहरूबाट चुनावमा सुरक्षा चुनौती हुनसक्ने विश्लेषण सुरक्षा निकायको छैन । बाँकी रहेका नेपाली कैदीहरूबाट चुनावमा भन्दा पनि अन्य दुई पक्षलाई बढी सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ । जसमा जाहेरवाला तथा पीडित पक्ष र अर्को भनेको न्याय क्षेत्रका व्यक्ति तथा न्यायाधीहरू हुन् ।

‘धेरै कैदी नियन्त्रणमा आइसकेका छन् । फरार रहेकामध्ये केहीले देश छाडिसकेका छन् । यतै बस्ने पनि लुकेर बसेका छन्, अहिले पनि बाहिर निस्कन सक्ने अवस्था छैन । यदि चुनावको बेला बाहिर निस्के सुरक्षा निकायले तत्कालै समाइहाल्छ । जसका कारण फरार कैदीहरूबाट जाहेरवाला पक्ष र न्याय क्षेत्रका व्यक्तिमाथि मात्रै थ्रेट छ,’ सुरक्षा निकायको ब्रिफिङ छ ।

कैदी र हतियारभन्दा पनि चुनावमा दल र जेनजीहरूबाटै बढी सुरक्षा चुनौती रहेको सुरक्षा निकायको बुझाइ छ । चुनावमा भाग लिने-नलिने भन्ने दलहरू, जेनजी समूहबीच हुनसक्ने झडप नै अहिलेको ठूलो सुरक्षा चुनौती रहेको सुरक्षा निकायको बुझाइ छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि २१ फागुनमा चुनावको विकल्प नरहेको बताउँदै आएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री अर्यालले सोमबार भने, ‘तोकिएकै मितिमा चुनाव सम्पन्न गर्दै निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस