ओलीको निर्णयप्रति प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’
काठमाडौं । एमालेको ११ औं महाधिवेशनका प्रतिस्पर्धात्मक हुने भएपछि अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरूको प्यानल बनाउन केही दिन अघि नै गृहकार्य गरिरहेका थिए । त्यही गृहकार्यबाट तयार भएको उम्मेदवारहरूको एउटा प्रस्तावित नामावली सोमबार बिहानै बाहिर आयो ।
जुन नामावलीमा प्रदीप ज्ञवालीको नाम उपाध्यक्ष पदका लागि प्रस्तावित थियो । उनी महासचिव पदका आकांक्षी थिए । तर ओलीले अहिलेकै महासचिव शंकर पोखरेललाई अघि सार्ने भएपछि ज्ञवालीले ओलीलाई उनकै निवास गएर भेटे र प्रस्तावित उम्मेदवारी नदिने आफ्नो निर्णय सुनाए ।
सुरुमा प्रस्तावित नामवलीको सूचीमा रहेका दुई लेखराज भट्ट र भानुभक्तको नाम ओलीले फेरबदल गरे । अहिले नै सचिव रहेका भट्टलाई दोहोर्याउने प्रस्ताव गरिएको थियो । यता अहिले पदाधिकारी नै नरहेका भानुभक्त ढकाललाई एकपटक उपमहासचिव बनाउने तयारी थियो । यो कुरामा भट्टले असहमति जनाएपछि ओलीले भट्ट र ढकालका लागि प्रस्तावित पद हेरफेर गरिदिए ।
तर ओलीले प्रस्तावित उपाध्यक्षको पदमा नजाने ज्ञवालीको मागको भने सुनुवाइ गरेनन् । शंकर पोखरेललाई नै महासचिव बनाउने अन्तिम निर्णय लिए । केपी ओलीको यी निर्णयमाथि प्रदीप ज्ञवालीले सोमबार ‘मौन विद्रोह‘ गरेका छन् ।
लामो समयदेखि ओलीलाई साथ दिँदै आएका ज्ञवालीले यसपटक उनले भनेको मानेनन् । स्वाभाविक रूपमा महासचिव हुने अडानको पक्षमा उभिए । र उनले सुरुदेखि नै ओलीलाई भन्दै आएको वचन पूरा गरे- म महासचिवको उम्मेदवार नहुने भएँ भने कुनै पनि पदाधिकारीको पदमा बस्दिनँ, केन्द्रीय सदस्यको रुपमा मात्र पार्टी रहन्छु ।’
उनले अपरान्ह उम्मेदवारी दिने समय घर्किन लाग्दा भृकुटीमण्डप पुगेर केन्द्रीय कमिटी सदस्यको रूपमा मात्र उम्मेदवारी हालेर फर्केका छन् । त्यसपछि उनी करिब चुपचाप बसेका छन् ।
निकट र अत्यन्तै विश्वास पात्र रहेका ज्ञवालीले जाहेर गरेको यो भद्र असहमतिले एमालेको जारी ११ औं महाधिवेशनका क्रममा ओली समूहमा हलचल ल्याएको छ । महाधिवेशनको सम्भावित परिणामहरूमा पनि केही बदलाव आउनसक्ने आंकलन पनि भइरहेको छ ।
ओलीका निकै विश्वास पात्र मानिने ज्ञवालीले किन मौन विद्रोह गर्ने अवस्था आयो ? ओली समूहकै नेताहरूका अनुसार ज्ञवालीले हरेक राजनीतिक घटनाक्रमहरूमा ओलीको रक्षाकवचको रूपमा उभिँदै आएका थिए ।
उनका राजनीतिक दस्तावेजहरू तयार गर्नेदेखि ओलीमाथि पार्टी बाहिरबाट उठ्ने प्रश्नहरूको पनि उनी बचाउ गर्थे । राजनीतिक योगदानको रूपमा पनि शंकर पोखरेल भन्दा आफ्नै अझै लामो योगदान थियो भन्ने उनको दाबी थियो ।
तर अवसरका दिने सवालमा विगतमा शंकरभन्दा केही पछि पारेकाले अहिले शंकरलाई नदोहोर्याएर आफूलाई एकपटक कार्यकारी भूमिकाको पदमा बसेर काम गर्न दिनुस् भन्ने प्रस्ताव गरेका थिए ।
लुम्बिनी प्रदेशका उनी निकट एक नेताका अनुसार यो विषयमा ज्ञवालीले करिब आधा दर्जन पटक ओलीसँग छुट्टाछुट्टै संवाद पनि गरेका थिए । भेटका क्रममा ओलीले हुन्न कहिल्यै भनेका थिएनन् । काम गर्दै जाने हो भन्ने जवाफ दिने गरेका थिए । तर ज्ञवालीले यसपटक चाहिँ आफ्नै निर्णय नबदलिने र महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने आफ्नै अडान दोहोर्याएका थिए ।
तर, सोमबार उम्मेदवारी दिने बेलामा ओलीले ज्ञवालीलाई उपाध्यक्षमा ल्याएर पोखरेललाई नै महासचिव बनाउने निर्णय गरे ।
