मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
काठ्माण्डौ- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री यादवले आगामी शुक्रबार दिउँसो ४ बजे विश्वास मत लिनका लागि प्रदेशसभामा पत्र पठाउन लागेका हुन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेसका यादवलाई मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्री यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिसहित ७ दलका ७७ जना सांसदले समर्थन रहेको छ।
मुख्यमन्त्री यादवसँगै बिना विभागीय मन्त्रीको सपथ ग्रहण लिएका जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी तोकेपनि कांग्रेसका जंगीलाल राय र नेपाल कम्युनिष्ट पार्टीका कनिष पटेलको जिम्मेवारी तोकिएको छैन।
मुख्यमन्त्री यादवलाई समर्थन गरेका लोसपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छैन। विश्वासको मत प्राप्त गर्न नसकेर यसअघिका दुई मुख्यमन्त्री प्रदेशसभाबाट राजीनामा दिएका थिए।
लोसपाका जितेन्द्र प्रसाद सोनल र एमालेका सरोज कुमार यादवले प्रदेशसभामा पत्र पठाएपनि विश्वासका लागि मतदान प्रक्रिया जानुअघिनै राजीनामा गर्न बाध्य भएका थिए।
