निवर्तमान सांसद सन्तोष चालिसेको परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा

पाँच वर्ष मेयर छँदा १० ठाउँमा घरजग्गा खरिद

द एभरेष्ट पोष्ट
३० मंसिर २०८२ ७:१७
निवर्तमान सांसद सन्तोष चालिसेको परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा तीन करोड ६८ लाख रुपैयाँ अवैध आर्जन गरेको अभियोगमा कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं– ३ का निवर्तमान सांसदसमेत रहेका चालिसेविरुद्ध पदको दुरुपयोग गरी अकुत आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कमिसन लिएर जग्गा प्लटिङको अनुमति दिएको तथा आफू निकटस्थहरूलाई ठेक्का दिएर लाभ लिएको उजुरीका आधारमा अख्तियारले छानबिन गरेको थियो । यसक्रममा उनीसँग आठ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । त्यसमध्ये तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेकाले सोबराबरको सम्पत्ति जफत र सोहीबराबरको जरिवाना सजाय मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

अकुत सम्पत्ति श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर चालिसे र सञ्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेलको नाममा रहेकाले उनीहरूलाई समेत सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए । अकुत सम्पत्ति उनले मेयर भएको समयमा कमाएको अख्तियारले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा शपथ लिएको दिन ८ जेठ ०७४ देखि ३२ असार ०७९ सम्मको पाँच वर्षको सम्पत्ति जाँच गर्दा अस्वाभाविक वृद्धि भेटिएको हो । ०७९ को संसदीय निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी संसद्को अर्थ समितिको सभापतिसमेत थिए । तर, संसद् भएपछिको उनको सम्पत्ति भने छानबिन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस