कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डाै – कांग्रेस नेता एवम् निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । चालिसेले काठमाण्डौको गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए । चालिसेले २०७९ जेठ ८ गतेदेखि २०७९ असार ३२ गतेसम्मको अवधिमा आर्जन गरेको सम्पत्तिको अनुसन्धान गर्दा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ ७१ पैसाको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले स्रोत नखुलेको रकम बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले चालिसेकी श्रीमती मन्दिरा, छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाएको छ ।
२०७९ सालको प्रतिनिधिसभा चुनावा काठमाण्डौ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका चालिसे प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि बनेका थिए ।
