पुस ७ गतेदेखि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्ने
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) पुस ७ गतेदेखि खुल्ने भएको छ । कम्पनीले मङ्सिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण सेयर बिक्री गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गरेको थियो । वैदेशिक रोजगारमा रहेकालाई खुलिसकेपछि पुस ७ गतेदेखि भने सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणका लागि कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर खुल्न लागेको छ । कम्पनीको कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये एक लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारमा रहेकालाई र बाँकी सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्टाएको छ ।
सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय भएको छ । यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पनेछ ।
नेपालमा बुक बिल्डिङ विधिबाट मूल्य तय भई आईपीओ निष्कासन हुनेमा यो दोस्रो कम्पनी हो । यसअघि शिवम् सिमेन्टको आईपीओ मूल्य बुक बिल्डिङ विधिबाट तय भएको थियो । रिलायन्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
