लुम्बिनी लायन्स एनपिएलको दोस्रो संस्करणको च्याम्पियन
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलोपटक एनपिएल उपाधि आफ्नो नाममा लेखायो।
फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै चार विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका लागि दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा पाँच छक्का र एक चौकासहित ४२ रन बनाए।
कप्तान रोहितकुमार पौडेलले १६, डार्सी सर्टले १४ तथा निरोशन डिकवेलाले अविजित ११ रन जोडे।यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो।
उसका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए भने शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान तीन–तीन विकेट हात पारे।
उपाधिसँगै लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ।
