यु–१९ एसीसी कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको सामान्य लक्ष्य
काठमाडौं– यु–१९ पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपालले श्रीलंकालाई ८३ रनको लक्ष्य दिएको छ ।
युएईको दुबईस्थित द सेभेन्स रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै ८२ रन बनाएको छ ।
नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रनको योगदान दिए । यस्तै, साहिल पटेलले १२ तथा निरज कुमार यादवले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
श्रीलंकाका सेथमिक सेनेभिरत्नेले सर्वाधिक ५ विकेट लिए । यस्तै, रसिथ निम्सारा, भिग्नेश्वरन अकास, दुल्नित सिगेरा र चमिक हीनातिगलाले एक–एक विकेट लिए ।
नेपाल आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।
प्रतियोगितामा समूह ‘ए’ बाट भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
नेपालले दोस्रो खेल आगामी सोमबार बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।
