१५ हजार रुपैयाँ तिरेर भारतमा मेस्सीसँग फोटो खिच्न पाइने
काठमाडौँ । विश्वविख्यात फुटबल स्टार लियोनेल मेस्सीलाई प्रत्यक्ष भेट्ने र तस्बिर खिचाउने भारतीय फ्यानहरूको सपना पूरा हुने भएको छ । तर यसका लागि उनीहरूले ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ । मेस्सीसँगको विशेष भेटघाट र तस्बिरका लागि फ्यानले ९ लाख ९५ हजार भारतीय रुपैयाँ (करिब १५ हजार २०० नेपाली रुपैयाँ) र अतिरिक्त जीएसटी तिर्नुपर्ने न्युज १८ ले जनाएको छ ।
यो प्रिमियम फोटो-अप सेसन भारतको हैदरावादस्थित फलकनुमा प्यालेसमा आयोजना हुनेछ । आयोजकका अनुसार यो विशेष अवसर सीमित १०० जनाका लागि मात्र उपलब्ध गराइएको छ, जसको टिकट ‘डिस्ट्रिक्ट एप’ (District app) मार्फत बिक्री गरिएको छ ।
तालिका अनुसार मेस्सी शनिबार साँझ ४ बजे हैदरावाद अवतरण गर्नेछन् । त्यसपछि साँझ ७ बजे उप्पल रंगशालामा आयोजना हुने तीन घण्टाको विशेष कार्यक्रममा सहभागी हुनेछन् । यो भ्रमणमा मेस्सीसँगै अर्जेन्टिनाका अर्का स्टार रोड्रिगो डी पल र उरुग्वेका स्ट्राइकर लुइस स्वारेज पनि सहभागी हुनेछन् ।
मेस्सीले त्यहाँ ‘सिंगारेनी आरआर-९’ र ‘अपर्णा मेस्सी अल स्टार्स’ बिच हुने २० मिनेटको मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । उक्त खेलको अन्तिम ५ मिनेटमा तेलंगानामा मुख्यमन्त्री रेवन्थरेड्डी पनि खेलाडीका रूपमा मैदानमा उत्रिनेछन् । यसबाहेक मेस्सीले बालबालिकालाई फुटबल सीप सिकाउने ‘फुटबल क्लिनिक’ मा भाग लिने र मुख्यमन्त्री रेड्डीबाट सम्मानित हुने कार्यक्रम समेत तय भएको छ ।
मेस्सीको भ्रमण तालिकामा रहेको अर्को सहर कोलकातामा का लागि पनि भव्य तयारी गरिएको छ । अर्जेन्टिना फुटबल फ्यान क्लब कोलकाताले साल्ट लेकस्थित एकतान क्लबमा ‘होला मेस्सी’ नामक कार्यक्रम आयोजना गर्दै छ ।
फ्यान क्लबले मेस्सीको सम्मानमा अमेरिकाको मियामीस्थित उनको घरको हुबहु नक्कल गरी विशेष संरचना तयार पारेको छ । त्यहाँको इन्टेरियरलाई मेस्सीको करियर झल्काउने सङ्ग्रहालयका रूपमा विकास गरिएको छ ।
उक्त स्थानमा मेस्सीले जितेका ला लिगा, च्याम्पियन्स लिग, कोपा अमेरिका, विश्वकप, बालोन डी’ओर र गोल्डेन बुट जस्ता ट्रफीका रेप्लिकाहरू राखिएका छन् । साथै, मेस्सीले आफ्नो करियरमा गोल गरेको सङ्ख्यालाई जनाउने गरी सिलिङमा ८९६ ओटा फुटबल सजाइएको छ । आगन्तुकका लागि मेस्सीको दुई दशक लामो फुटबल यात्रा समेटिएको भिडिओ देखाउन २०० मिटर लामो एलईडी वालसमेत जडान गरिएको छ ।
