डोटीबाट प्रतिनिधि सभाको निर्वाचनका लागि बिष्टको नाम सिफारिस

द एभरेष्ट पोष्ट
२८ मंसिर २०८२ ७:५८
डोटीबाट प्रतिनिधि सभाको निर्वाचनका लागि बिष्टको नाम सिफारिस

धनगढी, मंसिर ।
नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ गोरख बहादुर बिष्ट (आनन्द) को नाम सिफारिस गरेको  छ ।

नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य सहित १७ जनाको नाम सिफारिस गरेको हो ।

डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा जन्मिएका विष्ट जन सम्पर्क समिति अमेरिकाका सभापति हुन् ।

भारतको देहरादुनमा अध्ययनका क्रममा रहेका बिष्टले प्रजातन्त्रको पुनस्र्थापनाका लागि २०४६ को आन्दोलनमा नेपाल विद्यार्थी संघको सदस्यका रुपमा आन्दोलनमा भाग लिएका थिए । त्यसयता निरन्तर रुपमा लोकतन्त्र, मानवअधिकार र नागरिकको मौलिक हकका लागि लड्दै आएका बिष्टले २०६२/६३ मा नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा भएको जनआन्दोलनको अमेरिकामा नेतृत्व गरेका थिए ।

बिष्टकै नेतृत्वमा अमेरिकामा रहेका नेपालीहरुले नेपालमा भईरहेको जनआन्दोलनको पक्षमा संयुक्त राष्ट्र संघ, क्यापिटल हाउस, ह्वाईट हाउस, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको कार्यालय र वासिङटन डिसीस्थित नेपाली दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

विश्वभरी नेपाली काँग्रेसको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बिष्टले नेपालमा २०७२ मा गएको भूकम्पबाट प्रभावितहरुको राहतका लागि प्रवासबाट महत्वपूर्ण सहयोग गरेका थिए । ठूलो आर्थिक सहयोग जुटाएर पार्टीलाई पठाएका बिष्ट स्वयम पनि भूकम्प प्रभावित जिल्लाहरुमा पुगेर प्रभावितहरुको राहत र उद्दारमा खटिएका थिए ।

त्यसबाहेक कोभिड १९ मा अमेरिकामा रहेका नेपालीहरुको जीवन रक्षाका लागि अहोरात्र खटिएका बिष्टले नेपाली विद्यार्थीहरु र रोजगारी गुमाएकाहरुलाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका थिए । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका बिष्ट अढाई दशकदेखि प्रवासमा नेपाली समुदायको हीतमा काम गर्दै आएका छन् ।

प्रवासबाट डोटी जिल्लाको शैक्षिक तथा सामाजिक क्षेत्रमा उनले महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् । विपन्न परिवारका बालबालिकाहरुको शिक्षा तथा जीवन यापनमा सहयोग गर्दै आएका बिष्टले विरामी तथा सुत्केरी महिलाहरुको उपचारका लागि डोटीका विभिन्न पालिका तथा संघसंस्थाहरुलाई एम्बुलेन्सहरु प्रदान गरेका छन् ।

त्योसंगै बिष्टले सुदूरपश्चिमको दार्चुला, अछाम, बझाङ लगायतका जिल्लामा बाढीपहिरोबाट विस्थापितहरुलाई राहत सामग्री प्रदान गरेका छन् ।

२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचन र त्यसयता भएका प्रतिनिधि सभा र स्थानीय निकायको निर्वाचनमा डोटीमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन भूमिका निर्वाह गर्दै आएका बिष्ट डोटीका नौ वटै पालिकाका नेता, कार्यकर्ता तथा आमजनतासंग निकट रहेर काम गर्दै आएका छन् ।

नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बिष्टले पार्टीद्धारा सञ्चालित बिभिन्न अभियान र निर्वाचनमा कमाण्डरका रुपमा बिभिन्न जिल्लाको कमाण्डरको भूमिका समेत निर्वाह गरेका छन् ।

बिष्टले नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ आफ्नो नाम  सिफारिस गरेकोमा धन्यवाद दिए ।

प्रवासमा रहेर सधै देश, पार्टी र जनताका पक्षमा काम गर्दै आएको छु, मेरो त्यही योगदानको मूल्यांकन गर्दै पार्टीले प्रतिनिधि सभाको निर्वाचनका लागि मेरो नाम सिफारिस गरेको ठानेको छु, उनले भने, जनताबाट निर्वाचित भई देश र जन्मभूमिको सेवा गर्ने म भित्रको हुटहुटी यस पटक पुरा हुने विश्वास गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस