दीनदुःखीका नारायण (भाग-५)

२३ मंसिर २०८२ १९:२९
दीनदुःखीका नारायण (भाग-५)

नारायण, जसलाई सपनाले पछ्यायो

मान्छेहरु सपना पछ्याउछन् । उनी अपवाद थिए । उनले सपना पछ्याएनन । सपनाले उनलाई पछ्यायो । उनले कुनै सपना देखेनन् । बरु सपनाले भन्यो, उठ म तिम्रो दैलोमा छु ।

उनले जे सोचे, त्यो पाए । धर्म र अध्यात्ममा विश्वास गर्छन् । उनी हिन्दु धर्ममा हुर्किए । बुद्धको परमोधर्म पछ्याए । क्राईष्टबाट उनले क्षमा र करुणा सिके । सबै धर्म मान्छन् । भगवानप्रति आस्था राख्छन् । तर भन्छन्, भाग्य त आफैले बनाउने हो । कर्म गर । फलको आसा नगर । गीताको यही सार, उनको मूल मन्त्र हो । न प्रचार । न लोभ । न गुम्ने चिन्ता । न प्राप्तिको आशक्ति । बस्, कर्म गरिरहन्छन् । निष्काम कर्मयोगी ।

हुन् पनि उनले जीवनमा कहिल्यै फर्केर हेर्नु परेन । उनले हण्डर खाएनन् । उठ्नु अघि उनी नटुटुन, सायद भगवानले यही चाहे । उनी त टुटेकाहरुलाई उठाउन जन्मिएका । जसको कोही छैन्, त्यसका लागि उनी भन्छन्, म छु नि । हो उनी धेरैका भरोसा हुन् ।
उनको संगतले उठेकाहरुको फेहरिस्त लामो छ । त्यसैले त भनिन्छ, संगतले सोच बदलिन्छ । सोचले सपना । र, सपनाले जिन्दगी । उनको संगतले जिन्दगी बदलिएकाहरुको अनुभवले यही भन्छ ।

उनमा धन थुपार्ने लालसा छैन् । उनको मुठी खुला छ । जति आउछ, त्यति बाड्छन् । अक्षय पात्र जस्तो, कहिले खाली नहुने त्यो मुठी । बाड्न तिनैलाई पुगेको छ, जसले मुठी खोल्छन् । सायद त्यसैले होला, न उनलाई भोलीको चिन्ता भयो । न सन्ततीको ।

उनले जे जोडे । जे आर्जे । सफल हुनुमा कस्को हात छ ? औपचारिकता पुरा गर्न सोधिने यो प्रश्नमा उनले पहिले बिराम लाईदिए । पहिल्यै भनिदिए, म जे छु । त्यो सबै सृजनाको देन हो । जे छ, त्यो साझा हो । सफलता । यश । कृति । बैभव । सबै, सबै । संघर्षमा छाया बनिन्, सृजना । रोकिदा, उर्जा भरिन । उनी त्यो पत्नी होईनन, संकल्पमा कुम छोए मात्र पुग्ने । उनले त नारायणका सबै बोझ उठाउने संकल्प लिईन् ।

श्रीमतीको बलियो साथ हुने कहिल्यै कमजोर हुदैनन् । उनी त्यो भाग्यमानी हुन् । संसारलाई खुशी बनाएपनि घरमा श्रीमती दुःखी भए, मनमा शान्ति हुन सक्दैन । यो पनि सत्य हो । जहाँ विश्वासको संकट हुन्छ । त्यो सम्बन्ध बलियो हुदैन् । उनको उर्जाको स्रोत त्यही बलियो साथ र सम्बन्ध हो ।

एक बारको जुनीमा मुठी बन्द राख्नेहरुले जोगाएर के लगे ? छोडर जाने कृति बाहेक के छ ? जसले मुठी खोलेर बाडे । तिनलाई कहिल्यै अभाव भएन । भगवान पनि तिनकै । भाग्य पनि तिनकै । साक्षी, नारायण छन् ।

उनको जिन्दगी कहिल्यै सरल हिडेन । नदी जस्तो । जता गयो, त्यतै बाटो बनायो । उनी अरुण हेरेर हुर्किए । कही खुम्चिनु । कही फैलिनु । बगिरहनु । नरोकिनु । अरुणका यी गुण उनमा सरे । अरुण सुसेली हाल्छ । उ बगिरहेको छ, थाह दिन्छ । उनी चुपचाप कर्म गरिरहन्छन् । अरुण र उनमा फरक यति छ ।

हृदयमा सेवाभाव । मुटमा नेपाल । शीरमा सगरमाथा । उनी नेपाली । छोराछोरी अमेरिकन । बुहारी बोलिभियन । ज्वाई ब्रिटिश । यस्तो लाग्छ, उनको उनको परिवार आफैमा एउटा विश्व हो । त्यसैले उनको सेवा एउटा देशमा सिमित भएन । फैलियो, नेपाल हुदै अफ्रिका ।

उनी नेपाली समुदाय र अमेरिकी सरकारको बीचका सेतु हुन् । कँग्रेसम्यान, सिनेटर, मेयरसंग उनको सोझो सम्पर्क र पहूँच छ । उनले त्यो सम्बन्ध नेपाली समुदाय र नेपालको हीतमा सदुपयोग गर्दै आएका छन् ।

उनले नै ललितपुर उपमहानगरपालिका र ब्रुमफिल्ड, काठमाण्डौं महानगर र बोल्डर, खाँदवारी र सुपरयिर नगरबीच भगिनी सम्बन्ध जोडिदिएका हुन् ।

उनी ठान्थे, जागीर खानेले ठूलो सपना देख्न सक्दैन । सपनाको आयतन असिमित हुन्छ । जागीरको दायरा सिमित । जागीरले बाध्छ । उनी निर्वन्ध उड्न खोज्ने । बाँधिन तयार भएनन् । रोजे व्यवसाय । र दिए, सयौलाई रोजगारी ।

उनले फेर्ने सास । धमनीमा बग्ने रगत । उनले बाँचेको जीवन । तिनमा खाँदवारीको सुवास छ । आभारी छन्, त्यो माटो प्रति । र धन्य छन्, बुवा आमाप्रति । जसले सबैथोक दिए,–यश, कृति, बैभव ।

उनी उमेरले ७४ पुगे । अमेरिका आएको पनि ४८ वर्ष भएछ । बृद्ध हुदै गएको काया । जोश उस्तै छ । न थाक्छन् । न रोकिन्छन् । अर्को महिना अमेरिकी चिकित्सकहरुको टीम लिएर नेपाल जादैछन् । आफ्नो स्वास्थ्यको चिन्ता छैन् । चिन्ता छ त, नेपाली दाजुभाईको स्वास्थ्यको । भन्छन्, शरीरमा तागत रहेसम्म यसैगरी सेवा गरिरहनेछु ।

शुरुमा आफ्नै लागि सोचे । र, अमेरिका पुगे । जव अलिकति कमाए । परिवारका लागि सोचे । जव पैसासंगै मान्छे कमाए । त्यो पैसा । र, ती मान्छे । आफ्नो भेग र भूगोलको हीतका लागि प्रयोग गरे । देशको दूर दराजका नागरिक यतिबेला उनको सेवाबाट लाभान्वित भईरहेका छन् ।

उनले नेपालबाट चार हजार भन्दा बढि मान्छे अमेरिका ल्याएका छन् । उनको परिवारका मात्र १५० भन्दा बढि सदस्य अमेरिकामा छन् । खाँदवारी बजारका कतिपय परिवारका त पुरै सदस्यलाई उनले अमेरिका ल्याए ।

देश जल्दा, उनको मन पोल्छ । जव पुरिन्छन्, पहिरोमा घरहरु । उनी बेचैन हुन्छन् । सुत्न सक्दैनन् । भुईचालोमा घरसंगै मान्छेहरु ढले । उनी मल्हम लगाउन पुगे ।

खराव कुराको चर्चा गर्न त अरु छदैछन् । उनी त सधैं राम्रो कुराको चर्चा गर्छन् । स्वर्गका रुपमा नेपालको बयान गर्छन् । र, विदेशीहरुलाई घुम्न लोभ्याईरहन्छ । गिजोलिएको राजनीति । अस्थिर सरकार । पलायन भईरहेका युवा । यो देखेपछि खिन्न हुन्छन् । र, लेख्छन्, यस्तै छ मेरो देश । उनी त आशावादी । त्यसलाई विर्सिन्छन्, निमेषमै । र, हृदयमा अटेसमटेस देश प्रेम पोख्छन्, त्यही प्रेम छचल्किएर बन्छ, मेरो नाम । उनी थामिदैनन्, जीवनले दिएका सुन्दर पलहरुलाई लेखिदिन्छन्, अर्को पुस्तक, अ लाईफ अफ गिभिङ । यसरी उनका तीन वटा पुस्तक जन्मिए । र, चौथौ पुस्तक प्रकाशनोन्मुख छ ।

अमेरिकी समाज । सफलताको मानक मानिने ग्याँस स्टेशन, रेष्टुरेण्ट र स्टोरको संख्या । त्यसले जोडिने सम्बन्ध । र, साथीहरु । उनी त्यसैको पछि कुदेको भए, आज दर्जनौ स्टोरका मालिक हुन्थे । उनलाई छु मतलव । उनलाई मालिक होईन, सेवक हुनु थियो । त्यसैले त सबै व्यवसाय दाजुभाई र आफन्तलाई सुम्पिए । र, बने फकिर । एउटा व्यवसाय पत्नी सृजनाका लागि बाँकी राखे, त्यो वल्र्ड तिब्बत गिफ्ट हाउस, जो उनको जीवनको पहिलो व्यवसाय थियो, जसलाई ३९ वर्षअघि उनले किनेका थिए ।

कोलोराडोमा जव कुनै नेपाली कानूनी उल्झनमा पर्छन् । जव आईपर्छ, व्यवसायिक झञ्झट । आपत विपत्मा सबैले सम्झिने नाम हो, नारायण श्रेष्ठ । अझ नेपाल र अमेरिकी समुदायका उनी सेतु हुन् ।

जहाँ शीर निहुरिन्छ, त्यही मन्दिर । उनको शीर निहुरिन्छ, बुवाआमाका अघिल्तिर । बुवाआमा दुबै रहेनन् । उनले घरको मूलद्वारको छेउमा राखे, बुवाआमाको बडेमान मूर्ति । र, त्यही अघिल्तिर उभिएर हरेक विहान शीर निहुराएर नमन गर्छन् ।

मान्छेहरुको काँध चढेर मन्दिर जानेहरुलाई लिएर महाकवि देवकोटाले गिज्याएको ‘कुन मन्दिरमा जान्छौ’ यात्री कविताबाट प्रभावित उनी नास्तिक होईनन् । बरु मन्दिरमा गरिने पूजाभन्दा बढि दीनदुःखीको सेवाबाट मिल्ने आर्शिवादमा विश्वास गर्छन् । र त, सबैले उनलाई भन्छन्, दीनदुःखीका नारायण ।

(आजको अंकमा अमेरिकाको कोलोराडोमा बस्दै आएका समाजसेवी नारायण श्रेष्ठको प्रेरणादायी संघर्ष, सफलता र समाजसेवाको कथाको पाँचौ भाग प्रकाशित गरेका छौ । हाम्रो अनुमती बिना द एभरेष्टमा प्रकाशित कुनै पनि सामग्री साभार गर्न मनाही छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

दीनदुःखीका नारायण (भाग -४)

२२ मंसिर २०८२ २०:३८

खोज्नुहोस