सुदूरपश्चिम रोयल्सका लिन र ब्रोन फर्किए, अर्का दुई विदेशी खेलाडी अनुबन्धित

द एभरेष्ट पोष्ट
२३ मंसिर २०८२ १३:२२
सुदूरपश्चिम रोयल्सका लिन र ब्रोन फर्किए, अर्का दुई विदेशी खेलाडी अनुबन्धित

काठमाडौं । अस्ट्रेलियाका ब्याटर क्रिस लिन नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण खेलेर स्वदेश फर्किएका छन् ।

एनपीएलको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले आइतबार (मंसिर २१) लिन स्वदेश फर्किएको जनाएको छ । यो सिजन लिनले सुदूरबाट लिग चरणका ६ खेल खेले ।

उनले ६ खेल खेल्दा एक अर्धशतकसहित कुल १४३ रन जोडे । चितवन राइनोजविरुद्धको खेलमा उनले अर्धशतक प्रहार गरेका थिए ।

उनीसँगै सुदूरले टिमका अर्का ब्याटर जोस ब्रोन पनि स्वदेश फर्किएको जनाएको छ । अस्ट्रेलियाका ब्रोनले पनि यो संस्करण सुदूरबाट ६ खेल खेले । त्यसक्रममा उनले एक अर्धशतकसहित १०१ रन जोडे । ब्रोनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए ।

सुदूरले सोमबार (मंसिर २२) योसँगै दुई विदेशी खेलाडीलाई भित्र्याइएको जनाएको छ । सुदूरले भारतका विकेटकिपर ब्याटर शेल्डन ज्याक्सनलाई भित्र्याएको हो ।

ज्याक्सनले भारतको राष्ट्रिय ‘ए’ टिमबाट खेलिसकेका छन् । उनले सन् २०१३ मा ‘ए’ टिमबाट वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । उनले घरेलु क्रिकेटमा एक हजार ८१२ रन बनाएका छन् ।

सुदूरले ज्याक्सनसँगै पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मुख्तार अहमेदलाई भित्र्याएको छ । प्लेअफका निम्ति मुख्तारलाई अनुबन्ध गरिएको सुदूरले जनाएको छ ।

अहमद पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा ओपनिङ ब्याटर हुन् । अहमदले पाकिस्तानको घरेलु क्रिकेटमा एक हजार ३७० रन बनाएका छन् । उनले पाकिस्तानको राष्ट्रिय ‘ए’ क्रिकेट टिमबाट पनि खेलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस