छिमेकीबाटै बलात्कारपछि अंशुको ह’ त्या, पक्राउ पर्ने डरले बालिकाको खोजीमा आफैं सक्रिय

द एभरेष्ट पोष्ट
२३ मंसिर २०८२ १२:४१
छिमेकीबाटै बलात्कारपछि अंशुको ह’ त्या, पक्राउ पर्ने डरले बालिकाको खोजीमा आफैं सक्रिय

विराटनगर : प्रहरीले मोरङको लेटाङमा १२ वर्षीया बालिका अंशु गौतमको हत्यामा संलग्नको पहिचान गरेको छ। लेटाङ नगरपालिका–२ की अंशुको बलात्कारपछि हत्या भएको घटनामा डेढ महिना लामो सघन अनुसन्धानपछि प्रहरीले सफलता पाएको हो।

शरीर र टाउको अलग गरिएको तथा सडेर दुर्गन्धित भएको बीभत्स अवस्थामा बेलबारी–चिसाङ साझेदारी वनभित्र कात्तिक ७ गते दिउँसो उनको शव फेला परेपछि स्थानीय स्तब्ध बनेका थिए। घटनापछि परिवार, छिमेकी र प्रहरीले भोगेको अनिश्चितता, आशा र पीडाको लामो यात्रासँगै अन्ततः हत्यामा संलग्न पक्राउ परेका छन्।

बलात्कारपछि हत्या गरिएको अपराधमा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिएर मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ। अंशु हराएको करिब दुई महिना र पहिचान नै गर्न नसकिने गरी कुहिएको अवस्थामा शव फेला परेको ४४ दिनपछि प्रहरीले उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो।

शव फेला परेपछि घटनामा संलग्नको पहिचान एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को संयुक्त टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो। टोलीले यस अभियानलाई ‘जस्टिस फर अंशु गौतम’ अर्थात् ‘अपरेशन जग’ नाम दिएको थियो। प्रारम्भदेखि नै घटनालाई सामान्य रूपमा लिनु हुँदैन भन्ने निष्कर्षमा पुगेर मिहिन एवं गम्भीर ढंगले अनुसन्धान अघि बढाउँदा अभियुक्त पक्राउ गर्न सम्भव भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। घटनाको अनुसन्धानमा कटवाल आफैं सक्रिय थिए।

उनका अनुसार अंशुले मोबाइल प्रयोग नगर्ने, घटना प्रत्यक्षदर्शी नहुनु र घटनास्थल आसपासका प्रमाण अत्यन्तै सीमित हुँदा अनुसन्धान निकै चुनौतीपूर्ण बनेको थियो। ‘असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु छिमेकी साथीसँग स्कुल चोक आसपासमा खेलिरहेकी रहिछन्। त्यत्तिकैमा छिमेकी पदमबहादुर त्यहाँ पुगेछन्,’ एसपी कटवाल भन्छन्, ‘अंशुसँग खेलिरहेकी बालिकालाई ५ रुपैयाँ दिएर अन्तै पठाएछन्। अंशुलाई भने घाँस काट्न सघाएबापत पैसा दिने बहानामा सुनसान जंगलतर्फ लगेर बलात्कारपछि हत्या गरेको पत्ता लाग्यो।’

घटनापछि पदमबहादुरले आफू जोगिन अनेक उपाय लगाएको तथ्य पनि प्रहरीले खुलाएको छ। प्रहरीका अनुसार आफू शंकाको घेरामा नपर्नलाई उनी परिवारसँगै अंशुको खोजीमा सक्रिय भएका थिए। प्रहरीमा उजुरी दिनेदेखि जंगल क्षेत्रमा अंशुको खोजीमा परिवार र आफन्तसँगै सक्रिय बने। पदमबहादुरले देखाएको सद्भाव र गरेको सहयोगका कारण सुरुमा प्रहरीले उनीमाथि कुनै शंका गरेन।

तर, घटनामा उनी आफैं संलग्न रहेको तथ्य प्रहरीले पत्ता लगायो। सुरुमा प्रहरीको प्रारम्भिक अनुसन्धान अन्तै मोडिएको थियो। अंशुको हत्या पदमबहादुरले नै गरेका हुन् भन्ने यकिन गर्न एउटा संयोगजन्य परिस्थितिले सबैभन्दा निर्णायक भूमिका खेलेको देखिन्छ। पदमबहादुरका छोरा जबरजस्ती करणी सम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका थिए। कात्तिक १८ गते उनी जेलमुक्त भई घर फर्किए। भोलिपल्टै घरपरिवारसँग सल्लाह नगरी पदमबहादुर भारततर्फ प्रस्थान गरेको तथ्य प्रहरीले पत्ता लगायो।

यही घटनालाई अनुसन्धान टोलीले महत्वपूर्ण आधार बनाएर उनको गतिविधि, सम्पर्क र हिँडडुललाई गहिरोसँग नियाल्न सुरु गर्‍यो। छोरा जेलबाट छुट्नु र बाबु लगत्तै भाग्नुलाई प्रहरीले गम्भीरतापूर्वक लियो। यही विन्दुबाट अनुसन्धान पदमबहादुरमा केन्द्रित भयो। भारतको मेघालय पुगेर गाई फार्ममा काम गरिरहेको अवस्थामा पदमबहादुरलाई प्रहरीले आफन्तमार्फत नेपाल फर्कन आग्रह गरेको थियो। सुरुमा आनाकानी गरेका उनी अन्ततः मंसिर १८ गते घर फर्किए।

फर्किएलगत्तै नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक सोधपुछमा उनले इन्कार गरे पनि पछि मानसिक दबाब, घटनासम्बन्धी स्मृति र आत्मग्लानीका कारण आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। सोधपुछका क्रममा उनले विगतदेखि नै अंशुका अभिभावकसँग रहेको असमझदारी, तत्कालीन भावनात्मक आवेग र परिस्थितिजन्य कमजोरीका कारण गलत कदम चालेको बयान प्रहरीसमक्ष दिएका छन्।

अनुसन्धानका क्रममा तीन सयभन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गरिएको एसपी कटवालले बताए। उनका अनुसार जंगल क्षेत्रमा नियमित रूपमा जाने व्यक्तिहरूको छुट्टै अभिलेख तयार पारिएको थियो। अंशुका विद्यालयका साथीहरू, शिक्षकहरू, छिमेकी र आफन्तहरू सबैलाई अनुसन्धानको दायरामा ल्याएर प्रहरीले सोधपुछ गरेको थियो।

शव कुहिएर चिन्नै नसकिने अवस्थामा थियो। घटनास्थलबाट प्रहरीले अंशुको चप्पल, कालो हाफपाइन्ट, कालो घडीलगायत फेला पारेको थियो। घटनास्थलमा फेला परेका सामग्रीका आधारमा अभिभावकले शव अंशुकै रहेको भनेर सनाखत गरिदिएका थिए। प्रहरीका अनुसार ‘घाँस काट्न सघाएमा पैसा दिन्छु’ भनेर अंशुलाई पदमबहादुरले जंगलतर्फ लिएर गएका थिए। केही परको सुनसान स्थानमा पुगेर उनले बालिकामाथि जबरजस्ती करणी (बलात्कार)को प्रयास गरे। बालिकाले प्रतिकार गर्दा समेत उनले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसपछि पोल खुल्ने डर र अभिभावकसँगको पुरानो रिसइबीको भावना मिसिएपछि पदमबहादुरले अंशुको घाँटी थिचे। घाँटी थिच्दा मृत्यु भइसकेकोमा शंका लागेपछि उनले साथमा रहेको हँसियाले घाँटी रेटेर बीभत्स हत्या गरेको एसपी कटवाल बताउँछन्। उनका अनुसार हत्यापछि शवलाई त्यहीँ छाडेर पदमबहादुर घाँसको भारी बोकी घर फर्किए।

‘हत्यापछि पदमबहादुरले चलाखीपूर्ण व्यवहार देखाए। साँझसम्म बालिका घर नफर्किएपछि उनी स्वयं परिवारसँगै खोजीमा जुटे। आफूमाथि शंका नहोस् भनेर प्रहरीमा उजुरी दिँदादेखि शव भेट्टाउने काममा समेत उनी सक्रिय देखिएका थिए,’ कटवाल भन्छन्। उनका अनुसार भागेर भारतको मेघालय पुगेका पदमबहादुरले गाई फार्ममा काम गर्न थालेका थिए।

गाई दुहुने क्रममा बाल्टीमा रगत देखेपछि अंशुको हत्या गरेको बीभत्स दृश्य याद आएको र निकै आत्मग्लानी भएको पदमबहादुरले प्रहरीलाई बताएका छन्। ‘बाबुआमासँगको पुरानो रिसइबी र तत्कालको आवेशका कारण घटना घटाएको हुँ, अहिले मलाई पश्चाताप छ,’ अधिकारीले सोधपुछका क्रममा प्रहरीलाई भनेका छन्।

पदमबहादुरविरुद्ध जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट आइतबार ७ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी कटवालले बताए। अभियुक्तको शंकास्पद गतिविधि, भारत पलायनको कारण र पारिवारिक पृष्ठभूमि समेतलाई जोडेर प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।

न्यायको पूर्ण अनुभूति नहुन्जेल आफ्नो छोरीको शव नबुझ्ने अडान अंशुको परिवारले लिएको थियो। हाल उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। शवको पोस्टमार्टम पनि बीपीमै भएको थियो। प्रहरीका अनुसार यो घटना एउटा परिवारको पीडामा मात्रै सीमित नभएर समाजमा बालबालिकाको सुरक्षाको अवस्थादेखि छिमेकीसँगको सम्बन्धलगायतका बारेमा गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीको लामो अनुसन्धान यात्रा, मिहिनेत, ‘अपरेशन जग’को समर्पण र अन्ततः अभियुक्त पक्राउ हुनु पीडित परिवारका लागि मात्रै नभएर समाजका लागि न्यायतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 -अन्नपुर्ण 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस