सूचकहरु निराशाजक, आशा समृद्धिको
द एभरेष्ट पोष्ट ।
पछिल्ला केही वर्ष सुदूरपश्चिमको उद्योगी र व्यवसायीका लागि निराशाजक रहे । बन्द हुदै गएका उद्योग, व्यवसाय पलायन हुदै गएका व्यवसायी, नयाँ लगानी गर्न डराईरहेका व्यवसायीहरुको मनोदशा सुखद मान्न सकिदैन् ।
कैलालीको लम्कीमा रहेको सबैभन्दा ठूलो दाना उद्योग डल्फिन कोहलपुरमा सारियो । मेघा श्री गुट्खा उद्योग बन्द भयो । धनगढीको चौलानी डिपार्टमेण्टल स्टोर बन्द भयो । अरु पनि थुप्रै डिपार्टमेण्टल स्टोरहरु बन्द भए । धनगढी भन्सारमा रहेको फनपार्क बन्द भयो । धनगढी बजारको विस्तारका क्रममा दर्जनौ व्यवसायीहरु विस्थापित भए । कतिपय चुपचाप पलायन भए । कतिपयको जायजेथा लिलाम भयो । बैंकको किस्ता र करचुक्ता गर्न नसकेका कति व्यवसायीहरु सकसमा छन्, गर्ने के ? जाने कहाँ ? व्यवसायीहरु असमञ्जस्यमा छन् ।
बैंक तथा वित्तिय संस्थाको लगानी खुम्चिदो छ । निक्षेप बढ्दो छ । गरीवी बढ्दो छ । उद्योगको उत्पादन घट्दो छ ।
नेपाल राष्ट्र बैंक धनगढीका अनुसार २०८१ असार मसान्तको तुलनामा बैंक तथा वित्तिय संस्थामा निक्षेप संकलन १६.३० प्रतिशतले वृद्धि हुदा कर्जा प्रवाह भने २.९८ मात्र वृद्धि भएको छ ।
बैंक तथा वित्तिय संस्थासंग निक्षेप एक खर्ब ७३ अर्व ८३ करोड ९ हजार रुपैया पुगेको छ । ती बैंक तथा वित्तिय संस्था मार्फत कर्जा एक खर्व ५७ अर्व ४० करोड ४ लाख रुपैया प्रवाह भएको छ ।
अझ डरलाग्दो तथ्यांक के भने विकास, लगानी र व्यवसाय प्रबद्र्धन एउटै जिल्लामा भएको देखिन्छ । त्यो पनि कैलालीमा मात्र । सुदूरपश्चिमको प्रवाह भएको कुल कर्जाको ६६.३५ प्रतिशत कैलालीमा लगानी भएको छ । कञ्चनपुरमा २०.२३ प्रतिशत कर्जा प्रवाह भएको पाईएको छ । बाँकी सात जिल्लामा चार प्रतिशतभन्दा कम कर्जा प्रवाह छ । बझाङ, बैतडी र बाजुरामा दुई प्रतिशत भन्दा कम कर्जा प्रवाह छ ।
कृषिमा लगानी घट्दो छ । २०८१ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले ह्रास आई १५ अर्व ९६ करोड ४२ लाख पुगेको छ । सुदूरपश्चिममा लगानी भएको कुल कर्जाको १०.४१ प्रतिशत मात्र कृषि क्षेत्रमा प्रवाहित राष्ट्र बैंकको तथ्यांक छ ।
त्यस्तै उद्योग क्षेत्रमा १६.९७ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । २०८१ असार मसान्तको तुलनामा उद्योगमा ४.३७ प्रतिशतले कर्जा बृद्धि भएको छ । सुदूरपश्चिममा उद्योग क्षेत्रमा २६ अर्व ७२ करोड ३ लाख कर्जा प्रवाहित छ ।
सुदूरपश्चिममा कुल कर्जाको ७२.८८ प्रतिशत सेवा क्षेत्रमा कर्जा प्रवाह गरिएको देखिन्छ । सेवा क्षेत्र अन्तर्गत नमूना होटलका रुपमा छनौट गरिएका होटलको अकुपेन्सी ३६.४० प्रतिशत रहेको छ ।
यो अवधिमा घर तथा रजिष्ट्रेशन संख्या ३७.५० प्रतिशतले बढेको छ । जसको राजस्व ३७.६२ प्रतिशतले बृद्धि भएको छ । एक अर्व २६ करोड राजस्व संकलन भएको छ ।
कैलालीमा एक हजार पाँच सय २१ घर भवनको नक्सा पास यो । तर यही अवधिमा बाजुरा र बैतडीमा नक्सा पाएन भएन । यसको अर्थ पहाड खाली हुदैछ । तराईमा बसाईसराई थेग्न नसक्ने गरी बृद्धि हुदैछ । यो असन्तुलित विकासको कारण भएको हो ।
विकासका नाममा कंक्रिटको शहर बनाएर शासकहरु आत्मरतीमा रमाईरहेका छन् । रोजगारीका अवसर सृजनामा त उनीहरुको ध्यान जानै सकेको छैन् । सर्वसाधारण र व्यवसायीका समस्याप्रति उनीहरु बेखबर छैनन्, तर उनीहरुलाई यी मुद्दासंग सरोकार नै छैन् ।
