सुदूरपश्चिम महोत्सवको आज देखि
धनगढी २२ मंसिर । ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार : समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ धनगढीमा सुदूरपश्चिम महोत्सव आजबाट शुरु हुदैछ ।
धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा आज शुरु हुने महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले आज दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले जानकारी दिए ।
त्यसैगरी महोत्सव उद्घाटन सत्रमा विशिष्ट अतिथिका रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको उपस्थिति रहने जनाईएको छ ।
महोत्सव उद्घाटन अघि धनगढीमा सोमबार बिहान ११ बजे प्रभातफेरीको आयोजना गरिने संघले जानकारी दिएको छ ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा २ करोड भन्दा बढी रुपैया खर्च हुने संघको अनुमान छ । त्यस्तै महोत्सव अवधीभरी १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष ओझाले बताए ।
संघका अध्यक्ष ओझाले महोत्सवमा प्रवेशमा संघ सदस्य व्यवसायी, अपांग, बृद्ध, फरक क्षमता भएका व्यक्तिहरुलाई निःशल्क, खेलाडी, विद्यार्थीहरुलाई ५० प्रतिशतको छुट व्यवस्था गरेको जानकारी दिए ।
महोत्सवमा कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि लगायतका ५ सय ५० स्टल रहने कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्दले बताए ।
चन्दले महोत्सवमा आउने दर्शकहरुका लागि रमाईलो मेलामा फिलिपिन्सबाट ल्याइएको जलपरी मुख्य आकर्षक रहने जानकारी दिए ।
चन्दका अनुसार १९ औं संस्करणको सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ ।
यस पटक महोत्सवमा ५ लाख भन्दा बढि अवलोकनकर्ता आउने अनुमान गरिएको छ ।
