संभावनालाई साकार पार्ने समय
सुदूरपश्चिमका संभावनालाई उजागर गर्ने अभियानका रुपमा शुरु गरिएको सुदूर पश्चिम महोत्सव १९ औं संस्करण आज उद्घाटन हुदैछ । यो महोत्सव मात्र होईन, एउटा आन्दोलन हो, अभियान हो । राज्यलाई घच्घच्याउने एउटा माध्यम हो ।
देशका विशिष्ट व्यक्तित्वले उद्घाटन गर्दै आएको महोत्सव यस पटक अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्दैछन् । नेपालको अर्थतन्त्र सूक्ष्म ढंगले बुझेका खनाल, जसलाई यो देशका आर्थिक समस्याको जानकारी मात्र छैनन्, समाधानका उपाय पनि थाह छ । संयोगले उनी ती समस्या समाधान गर्न सक्ने पदमा छन् । उनी जुन प्रकृयाबाट त्यो पदमा पुगेपनि उनको नियुक्तिले आम व्यवसायीमा उत्साह भरेको छ । यस पटक महोत्सवमा उनलाई खाँदा माला लगाएर सम्मान गर्ने मात्र होईन, सुदूरपश्चिमको संभावना, अवसर र चुनौतीसंगै सरकारसंग यस प्रदेशका जनताले राखेका अपेक्षाका बारेमा उनको ध्यानाकर्षण गराउन चुक्नु हुदैन् ।
गेटा मेडिकल कलेजको सञ्चालन, धनगढी बिमानस्थलको स्तरोन्नती, सुख्खा बन्दरगाहको दु्रत गतिमा निर्माण, गौरवका आयोजनाहरु : सडक अन्तर्गत, महाकाली कोरिडोर, सेती लोकमार्ग र खुटिया–दीपायल द्रुत मार्गको निर्माणका लागि पर्याप्त बजेट बिनियोजनका लागि अर्थमन्त्री खनाललाई दवाव दिन आवश्यक छ ।
महत्वाकांक्षी रानीजमरा कुलरिया सिंचाई आयोजना र महाकाली सिंचाईको निर्माण यथाशिघ्र सम्पन्न गर्न दवाव दिन जति आवश्यक छ, त्यति नै आवश्यक छ, जुन कृषियोग्य जमीनमा सिचाईका लागि यी आयोजनाहरु निर्माण भईरहेका छन्, ती आयोजना सम्पन्न हुनुअघि, त्यो भूमि प्लटिङ भएर शहरीकरण नहोस, त्यसका लागि कृषि योग्य जमीन जोगाउन सरकारको ध्यानाकर्षण गर्न आवश्यक छ ।
विकास जति तराईमा । लगानी जति तराईमा । पहाड खाली हुदैछ । लगानी र बसाईसराईका हिसावले हेर्ने हो, कैलाली र अन्य जिल्लाको तुलनै हुदैन् । विकास विकेन्द्रित हुनुपर्छ । बजेटको न्यायोचित र सन्तुलित वितरण हुनुपर्छ भन्ने कुरा अर्थतन्त्रका ज्ञाता खनाललाई बुझाईरहनु पर्दैन, तर पनि उनलाई सुदूरपश्चिमको खाली भईरहेको पहाडको वस्तुस्थिति र भयावह पलायनका बारेमा जानकारी दिन आवश्यक छ । सिंह दरवारले काठमाण्डौंलाई मात्र देश नठानोस, तिंकर, बिछ्या र रुगिन यही देशभित्र पर्छ भन्ने कुरा बुझोस, यो कुरा खनालले पनि बुझुन । र, उनले ल्याउने बजेटमा सुदूर पश्चिमले न्याय पाओस ।
गरीव झन गरीव हुदै जाने । धनी झन धनी हुदै जाने । हुने खानेभन्दा पनि हुदा खाने बर्गको संख्या बढ्दै जाने हो भने देश विकराल द्वन्द्वको दुस्चक्रमा फस्ने छ, जेन जी आन्दोलनबाट अर्थमन्त्री भएका खनालले यो कुरा बुझेर अवको बजेट बनाउने छन् भन्ने विश्वास गर्नु अन्यथा हुने छैन् । गरीव मास्ने होईन, राज्यको नीति गरिवी मास्ने हुनुपर्छ । त्यसमा सरकार सचेत होस ।
पर्यटन होस वा जलविद्युत होस । कृषि होस वा औद्योगिकरण होस । सुदूरपश्चिमका सबै क्षेत्रको अवस्था निराशाजनक छ । देशमा १२ लाख पर्यटक भित्रिदा सुदूरपश्चिममा मुस्किलले त्यो संख्या सय पुग्छ । हजारको त कल्पना पनि गर्दैन्, सुदूरपश्चिम । तर सरकार यही खुशीमा उत्सव मनाउछ । त्यो उत्सवमा सहभागी हुन पाउने सुदूरपश्चिमको पनि अधिकार हो भन्ने कुरा खनाल नबिर्सिउन् । पोखरा, लुम्बिनी, सौराहा र एभरेष्ट भन्दा पर पनि नेपाल छ, भन्ने सरकारलाई ज्ञान होस । त्यहाँ पर्यटक किन धेरै भए भन्ने गुनासो नै होईन, त्यहाँ अझै बढि पर्यटक आउन । तर सुदूर पश्चिमका पर्यटकीय गन्तव्यको विकास, प्रवद्र्धन र प्रचार प्रसारमा सरकारले कञ्जुस्याई नगरोस । सरकार सुदूरपश्चिमका अपि, साईपाल, खप्तड, शुक्लाफाँटा, रामारोशन, त्रिपुरा, उग्रतारा, शैलेश्वरी, सिद्धनाथ र बैद्यनाथको पर्यटकीय महत्व कम नआकोस । ¥याफ्टिङका लागि कर्णाली, काली र सेती सुदूरपश्चिममा छन्, सबैतिर यो सन्देश पु¥याईदेओस । खनाल मार्फत सरकारका कानमा यो कुरा पुगोस ।
यो देशका सबै अन्तर्राष्ट्रिय बिमानस्थल र थप गर्न लागिएका अन्तर्राष्ट्रिय १५ देखि २० मिनेटको हवाई दूरीमा छन् । पोखरा र भैरहवा बिमानस्थल किन सफल हुन सकेनन् ? किन सञ्चालनमा नआउदै बन्द भए ? सरकार अनभिज्ञ छैन । तर उसका नजरमा धनगढी परेन । १५/२० मिनेटको हवाई दूरीमा रहेका भूगोल मात्र देश होईन, सुदूरपश्चिम पनि यही देश भित्र छ भन्न कुरा बुझेको भए आज धनगढी विमानस्थल क्षेत्रीय बिमानस्थलमा स्तरोन्नती भईसक्थ्यो । सत्ता सञ्चालकहरु जहाँ कमिसन, त्यही रमाउदा, धनगढी बिमानस्थल उनीहरुको प्राथमिकतामा परेन । अर्थमन्त्री खनालले यो कुरा बुझेर फर्किनेछन् ।
सुदूर पश्चिमलाई अथाह जलस्रोतको भण्डारका रुपमा व्याख्या मात्र नगरोस । यो अथाह भण्डार भनेर प्रचार गरिएको सुदूरपश्चिममा १७१ मेगावाट विद्युत उत्पादन हुदा देशभरी ३८७८ मेगावाट विद्युत उत्पादन भएको तथ्य प्रति सरकार आँखा नचिम्लियोस । सरकारको नीति खराव कि नियत ? नियम भएन कि सोच भएन ? किन सुदूरपश्चिमलाई पञ्चेश्वर, पश्चिम सेती, अपर कर्णालीले सधै गिञ्जाईरह्यो । हिजोका लाई नभन्ने ? हामीलाई यो प्रश्न किन गरेको भनेर नपञ्छियोस । हिजो पनि यी प्रश्नहरु उठे । अहिले पनि उठ्दैछन्, हिजोका लागि जे गल्ती गरे, त्यो गल्ती यो सरकारले नदोह¥याओस, यो सरकारसंगको आग्रह हो ।
सुदूर पश्चिमको मौनतालाई अहिलेसम्म राज्य सञ्चालकहरुले कमजोरी ठाने, त्यसैले हरेक क्षेत्रमा सुदूर पश्चिम ठगियो । उपेक्षित भयो । यो मौनता विद्रोहमा नबदलियोस । नहोस, बिष्फोट । त्योभन्दा पहिले राज्य सञ्चालकहरुले सुदूरपश्चिमको न्यायोचित माग सम्बोधन गरोस । यसमा बिलम्ब नगरोस । न्यायमा बिलम्ब गर्नु पनि अन्याय गर्नु नै हो, सरकारले यसको हेक्का राखोस ।
