प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ १५:२८
प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्। शनिबार ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले देशको वर्तमान परिस्थितिलाई निकास दिन प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले नयाँ पुस्ताको चाहना सेवा प्रवाहमा चुस्ततासहित सुशासनको माध्यमबाट मुलुकको विकास गर्दै यही व्यवस्थामा मात्र भविष्य सुरक्षित छ भन्नेमा भरोसा जागृत गराउनुपर्ने बताए। उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पुरा गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले पूर्वाधार निर्माण मात्रै नभई नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको धारणा राखे।

राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली  पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। सम्पदा सहरको नाममा देश विदेशमा प्रख्यात ललितपुर महानगरले सम्पदा पुनर्निर्माण तथा संरक्षणमा गरेको अथक प्रयाससँगै हासिल गरेको उपलब्धिले यस क्षेत्रमा नयाँ आशा जगाएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस