मधेशमा कांग्रेस नेतृत्वको सरकार, यादव बने मुख्यमन्त्री

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ ९:३९
मधेशमा कांग्रेस नेतृत्वको सरकार, यादव बने मुख्यमन्त्री

काठमाडौं २० मंसिर ।  संघीय संरचना कार्यान्वयनमा आएको नौ वर्षमा कांग्रेसले मधेश प्रदेशमा पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । कांग्रेस नेता कृष्णप्रसाद यादव शुक्रबार मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस, जसपा, जनमत, लोसपा, माओवादी र एकीकृत समाजवादीको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

यादव मधेशका छैटौँ मुख्यमन्त्री बनेका छन् । यहाँ संसद्को अघिल्लो पाँचवर्षे कार्यकालमा जसपा नेपालका लालबाबु राउत तथा दोस्रो कार्यकालको तीन वर्षमा जसपा नेपालका सरोजकुमार यादव, जनमतका सतिशकुमार सिंह, लोसपाका जितेन्द्र सोनल र एमालेका सरोजकुमार यादव मुख्यमन्त्री बनिसकेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अब मधेशमा स्थिर र लोकतान्त्रिक सरकार गठन भएको बताए । ‘धेरै उथलपुथलपछि यो सरकार गठन भएको छ,’ उनले भने, ‘विगतमा देखिएका विकृति–विसंगतिलाई सच्याउँदै प्रदेश सरकार आर्थिक समृद्धिका साथै संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन अगाडि बढ्छ ।’

पछिल्लोपटक २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका एमाले नेता सरोजकुमार यादव नेतृत्वको सरकार २२ दिनमै ढलेपछि गत बुधबार नयाँ सरकार गठनको आह्वान भएको थियो । मधेश प्रदेशमा हाल कायम १०४ जना प्रदेश सभा सदस्यमध्ये ७७ जनाको समर्थनमा यादवले शुक्रबार दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीका लागि लोसपाका जितेन्द्र सोनलको पनि दाबी थियो । तर, जसपा नेपाल र माओवादी कांग्रेसको पक्षमा खुलेपछि लोसपा पछि हटेको हो । कांग्रेसले जसपालाई सभामुख दिने भनेर आन्तरिक सहमति गरेको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

दीनदुःखीका नारायण (भाग-२)

२० मंसिर २०८२ २१:०९

दीनदुःखीका नारायण

२० मंसिर २०८२ ८:५०

खोज्नुहोस