जेन-जी आन्दोलनपछि पहिलो पटक ओली-देउवा भेट
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ। एमाले अध्यक्ष ओली अहिले देउवालाई भेट्न उनको अस्थायी निवास महाराजगञ्ज पुगेका छन् । देउवालाई भेट्न ओली महाराजगञ्ज पुग्दा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का उनकै निवासमा नेताहरूसँग छलफलमा छन् ।
स्रोतका अनुसार शुक्रबारको भेट जेन-जी आन्दोलनमा देउवामाथि भएको गम्भीर आक्रमणपछि पहिलो राजनीतिक संवादका रुपमा भएको हो। ओली र देउवाबीच महाराजगञ्जमा एक्ला एक्लै वार्ता भइरहेको छ। एमालेबाट महाराजगञ्ज पुगेका अन्य नेताहरूबारे केही खुलेको छैन । ‘महाराजगञ्जमा अध्यक्ष ओलीसहितका नेताहरू र सभापति देउवाबीच भेटवार्ता भइरहेको छ’, कार्यवाहक सभापति खड्कानिकट स्रोतले भन्यो , ‘आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे छलफल होला।
त्यस्तै फागुन २१ गते तोकिएको आमनिर्वाचनबारे पनि त्यहाँ कुरा हुने बुझिएको छ।’ एमाले अध्यक्ष ओलीनिकट स्रोतहरू अध्यक्ष देउवाको स्वास्थ्यअवस्था बुझ्न उनी महाराजगञ्ज पुगेका हुन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि दुई शीर्ष नेताहरू पहिलोपटक भेट भएका हुन् । ‘आन्दोलनको राजनीतिक फेरबदलपछि भेट भएको थिएन । सन्चो बिसन्चो सोध्न पनि हाम्रा अध्यक्ष देउवा निवास जानुभएको हो’, एमालेका एक नेता भन्छ्न, ‘दुई नेताहरूबीच भेटघाट भएपछि पछिल्लो राजनीतिक अवस्थाबारे त छलफल भई नै हाल्छ।’
