उग्रवादी समूहको धम्कीपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा
काठमाडौं- काठमाडौं उपत्यकाको सुरक्षा सतर्कता कडा पारिएको छ। उपत्यका प्रहरी कार्यालय काठमाडौंले ‘मेट्रो’ मातहतका सम्पूर्ण कार्यालय तथा निकायलाई बिहीबार एक पत्र पठाउँदै सुरक्षा व्यवस्थामा निगरानी गर्न र कडाइ गर्न निर्देशन दिएको हो। मेट्रोका एसपी सीताराम रिजालको हस्ताक्षर भएको उक्त पत्र काठमाडौंका सम्पूर्ण प्रहरी कार्यालय तथा निकायमा पुगेको छ। प्रहरी कार्यालय, विभाग, वृत्त तथा प्रभागहरूले मेट्रोको निर्देशनअनुसार सम्भावित ठाउँहरूको सुरक्षा व्यवस्थामा कडाइ गरेका छन्। सिभिल ड्रेसमा समेत प्रहरी खटाएर निगरानी बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार केही दिनदेखि विभिन्न व्यक्तिलाई ज्यान मार्नेसम्मको धम्की आयो भन्ने समाचारहरू बाहिरिएका थिए। विभिन्न संगठनका नाममा आएको भन्दै सूचना र चिठी सार्वजनिक भएको थियो। उपत्यकाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निगरानी बढाइएको हो।
ईजीएन गुप्रका नाममा लेखिएको एक पत्र विभिन्न सरकारी कार्यालयमा समेत पुगेको थियो। उक्त चिठी अतिवादी समूहले पठाएको हुन सक्ने प्रहरी अनुमान छ। उक्त पत्रमा १० जना भीआईपी व्यक्तिहरूको ज्यान लिने धम्कीपूर्ण सूचना प्रवाह भएको थियो। अतिवादी समूहका नाममा एउटा अज्ञात पत्र सरकारी संयन्त्रमा प्रेषित भएपछि प्रहरीले सतर्कता बढाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारिक मेलमा नै यो धम्कीपूर्ण पत्र पठाइएको थियो। जहाँ अख्तियार प्रमुख राईको ज्यान लिने विषय लेखिएको थियो।
अतिवादी समूह भनेर सार्वजनिक भएको उक्त चिठीमा अख्तियारका प्रमुख आयुक्त, पूर्वप्रमुख आयुक्तदेखि आयल नियमका पूर्वप्रमुख, पूर्वगृहमन्त्रीहरू, पूर्वआईजीपीसहित १० जनाको नाम उल्लेख गरिएको छ। जसमा अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्की, आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, दुर्गा प्रसाईं, प्रेमकुमार राई, रमेश लेखक, सुडान काण्डमा घोटाला गर्ने ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी, आरजु राणा र बालकृष्ण खाँणको ज्यान लिने भन्दै धम्क्याइएको छ।
प्रहरी स्रोतका अनुसार, चिठीमा नाम उल्लिखित भीभीआईपीहरूको सुरक्षामा निगरानी गरिएको छ। उनीहरूको निवास, भ्रमण मार्ग र कार्यक्रमस्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ। नाम उल्लिखित भीभीआईपी बस्ने एरियाका प्रहरी कार्यालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।
उक्त एरियामा आपराधिक गतिविधि हुन नदिन, शंकास्पद गतिविधि निगरानी गर्ने र रोक्ने तथा तीव्र रूपमा गस्ती बढाउने, पेट्रोलिङ, खबर संकलनलगायत सादा पोसाकमा समेत प्रहरी परिचालन गरी गोप्य रूपमा सूचना सम्प्रेषण गर्ने र त्यहाँ कार्यालय वडा एरियाअन्तर्गत बसोबास गर्ने अन्य विशिष्ट व्यक्तिहरूको पनि भरपर्दो व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराई भन्छन्, ‘प्रहरी कार्यालयलाई कुनै समूहले बेग्लै पत्र पठाएको हैन। तर सामाजिक सञ्जाल तथा मिडियातिर धम्कीपूर्ण पत्रहरू सार्वजनिक भइरहेका छन्। हामी अलर्ट भएका मात्रै हौं। कुनै पनि सूचनालाई हामीले नजरअन्दाज गर्न मिल्दैन नि।’ प्रहरीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार, सोही एरिया र स्थानहरूमा विशेष निगरानी बढाइएको हो। यसको वरिपरिका स्थान र शंकास्पद गतिविधिहरूलाई प्रहरीले नियालिरहेको छ। –अन्नपुर्ण
